नेताहरुको दौडधुप जारी : देउवा निवासमा प्रचण्ड

  • 455
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका छन्। केही बेर अघि प्रचण्ड देउवा निवासमा पुगेका हुन्। भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि रहेको स्रोतले जानकारी दियो।

बहुमतको सरकार बनाउन आह्वान भएको तीन दिनको समय आज राति सकिँदैछ। त्यसै विषयमा दुई नेताबीच छलफल भइरहेको बताइएको छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरुको दौडधुप जारी छ।

विशेषगरी विपक्षी गठबन्धनहरु देउवा नेतृत्वमा नयाँ सरकार बनाउन लागिपरेका छन्। यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर देउवालाई भेटेर फर्किएका थिए। ठाकुर र देउवाबीच के कुरा भयो भन्ने बाहिर आएको छैन।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारका पक्षमा छन् भने ठाकुर र महतो कुनै पनि सरकार निर्माणमा संलग्न नभएर तटस्थ बस्ने लाइनमा छन्। जसपा दुई धारमा विभाजित भएपछि काँग्रेसले बहुमतको दाबी पेस गर्ने नगर्ने अन्योल छ। काँग्रेसलाई बहुमतको दाबी गर्न एकीकृत जसपा आवश्यक छ।

त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठस्थित एक व्यपारीको घरमा वार्ता भइरहेको छ। त्यसअघि एमाले स्थायी समिति बैठकले नेता नेपाल सहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्