जसपाको नेतृत्वमा सरकार बनाउन ठाकुरको ‘लबिङ’

Mahanth_Thakur_Rajendra_Mahato
  • 433
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा राखेका छन्। बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको रिसोर्टमा लगेका हुन्। स्रोतका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा सांसदलाई राखिएको हो।

जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विकल्पमा छलफल गरिरहेका छन्। नयाँ सरकार गठनका लागि दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमा सकिनै लाग्दा अध्यक्ष ठाकुर र नेता महतोले विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन्।

देउवाले त्यस विषयमा पनि सोच्न सकिने भनेपछि अहिले ठाकुर र महतो आफू पक्षीय सांसदहरूसहित छलफलमा जुटेका छन्। छलफलमा सबै विषयमा कुराकानी भइरहेको वरिष्ठ नेता महतोले जानकारी दिए। ‘विभिन्न अप्सनहरू आएका छन्। अरूलाई समर्थन गर्ने भन्ने मात्रै होइन, हामीले भन्ने गरेको हाम्रै नेतृत्वमा समेत सरकार गठन हुने विकल्पमा पनि छलफल चलिरहेको छ,’ उनले भने, ‘अहिले हामी अरूसँगको भेटघाट सकेर आन्तरिक छलफलमा जुटेका छौँ। केही घण्टा बाँकी छ, अहिले नै निष्कर्ष के निस्किन्छ भन्न सकिन्न।’

उनले आफूले मात्रै चाहेर नहुने भएकाले सबैको छलफलले दिने निष्कर्ष नै अन्तिम हुने भन्दै सबै विकल्पमा छलफल भइरहेको बताए। संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले तोकेको समयसीमा सकिन केही घण्टा मात्रै बाँकी रहँदा मुलुकको राजनीतिक वातावरण तातेको छ। बिहानैदेखि सत्ता समीकरणका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफलहरू चलिरहेका छन्।

प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भनेपछि माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले साथ दिने बताएको छ। त्यतिले मात्रै संसद्को अङ्कगणित नपुग्ने भएपछि जसपाकै महन्थ-राजेन्द्र पक्ष र एमालेको असन्तुष्ट पक्ष झलनाथ खनाल तथा माधव नेपाल पक्षलाई सहयोग गर्न देउवाले आग्रह गरेका छन्। त्यसमा सहमति जुट्न सकेको छैन।

अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल चलिरहेको छ। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच पनि छलफल चलिरहेको छ। यसपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। जसपाको महन्थ-राजेन्द्र पक्षको छलफल पनि जारी नै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्