विश्व कम्युनिस्ट आन्दोलनको इतिहास

Bisheswor Kattel
  • 1.4K
    Shares
लोकपाटी न्यूज

– विश्वेश्वर कट्टेल

१. इतिहास के हो ? – इतिहास समाज विज्ञानको महत्वपूर्ण कडी हो। विगतले छोडेका पदचापहरूलाई हामी इतिहास भन्दछौं। इतिहास युग बोध हो। समयक्रमका महत्त्वपूर्ण घटना र त्यसले सिर्जना गरेका मोड र विन्दुहरूको अध्ययन नै इतिहासको अध्ययन हो।

२. इतिहासको अध्ययन किन ?

हामीले भोगिरहेको समय वर्तमान हो। भोगिसकेको समय इतिहास हो र भोग्ने समय भविष्य हो। वर्तमान आज हो, भूत हिजो हो र भविष्य भोलि हो। हामी को हौं, आज कहाँ छौं, कस्तो परिवेशमा कहाँ छौं भनेर बुझ्न। भोलि कस्तो भएर कहाँ जाने भनेर थाहा पाउन हिजो कहाँ के थियौँ भनेर जान्न र बुझ्न इतिहासको अध्ययन आवश्यक छ। यसर्थ हिजोको ज्ञानका आधारमा आजको समाज र वस्तुगत जगतलाई जस्ताको तस्तै बुझी आजको समय सजाउन र भोलिको भविष्यको सुनिश्चितताका लागि इतिहासको वस्तुनिष्ठ अध्ययन आवश्यक पर्दछ। यसरी इतिहासलाई अध्ययन गर्न जुन साधन प्रयोग गर्दछौं, त्यसलाई ऐतिहासिक द्वन्दात्मक भौतिकवाद भन्दछौं।

३. कम्युनिस्ट लिग गठनपूर्वको अवस्था

३.१. बेलायती औद्योगिक क्रान्ति (१७६०–१८३०) र फ्रान्सको राज्यक्रान्ति १७८९ देखि १७९९ सम्म भएको थियो। औद्योगिक क्रान्तिले सामन्ती उत्पादन सम्बन्धको आर्थिक आधार र फ्रान्सेली राज्यक्रान्तिले सामन्तवादको राजनीतिक प्रणालीमाथि धावा बोलेको थियो।

३.२. सर्वहारा वर्गका महान् गुरुहरु कार्ल मार्क्सको जन्म ५ मे १८१८ र फ्रेडरिक एंगेल्सको जन्म २८ नोभेम्बर १८२० मा भएको थियो। उहाँहरूले समकालीन समाजको द्घन्दात्मक ऐतिहासिक विश्लेषणका आधारमा मार्क्सवादको आविस्कार गर्नुभयो।

४. कम्युनिस्ट लिग गठनपूर्वको क्रान्ति

४.१. स्वाधिनताको घोषणापत्र र अमेरिकी स्वतन्त्रता – सन् १७५६ देखि १७७३ सम्म इङ्ग्ल्याण्ड र फ्रान्सबिच ठूलो युद्ध भयो। युद्धमा फ्रान्स हारेको कारण अमेरिका, अफ्रिका र एसियाका धेरै मुलुकहरू नै इंङ्ग्ल्याडको नियन्त्रणमा गए। इङ्ग्ल्याण्डको उपनिवेशविरूद्ध सङ्घर्षरत अमेरिकी जनताले सन् १७७६ मा एक स्वाधिनताको घोषणापत्र प्रकाशित गरी अमेरिका स्वाधीन भएको घोषणा गरे। स्वाधीनतापछिको आमनिर्वाचनमा जर्न वासिङ्गटन प्रथम राष्ट्रपतिमा निर्वाचित भए।

४.२. चार्चिस्ट आन्दोलन

बेलायतमा मजदुरहरूको जीवन दिन प्रतिदिन कहालिलाग्दो बनिरहेको अवस्था थियो। एकपछि अर्को मेसिन थपिन्थ्यो। पहिलेभन्दा झन् कामको समय घट्न पुग्दथ्यो। ज्याला मजदुरी घट्न पुग्दथ्यो। भोकमरी फैलिदै गयो। काम र ज्यालाको माग राख्दै मजदुरहरु आन्दोलित भए। मजदुरलाई यो नयाँ मेसिनले नै हाम्रो ज्याला कम गरेको भन्ने सोच थियो। मेसिनमाथि रिस पोखे, आगो लगाए, तोडफोड गरे। त्यो नेता र नीतिबिहीन र आन्दोलन थियो। आन्दोलन अनियन्त्रित भयो। मजदुरलाई अमानवीयपूर्वक दबाइयो। मेसिनविरूद्धको लुडाइट आन्दोलनबाट मजदुरले हामीलाई शोषण गर्ने, मेसिन होइन रहेछ, पूँजीपति रहेछन् भन्ने ज्ञान पाए।

सन् १८३० बाट मात्र बेलायतमा सचेतपूर्वक मजदुर राजनीति आन्दोलन शुरू भयो। फ्रान्सको राज्यक्रान्तिको प्रभाव बेलायतमा पनि पर्‍यो। त्यहाँका मजदुरहरूले १८२० देखि १८३० सम्म दिनको १० घन्टा कामको आवाज उठाए र विभन्न आन्दोलनहरू गरे। आन्दोलनको क्रममा मजदुर सङ्गठनमाथि प्रतिबन्ध लगाइयो। पछि संसदले त्यसलाई अवैध ठहर गर्‍यो। मजदुरहरूले आफ्नो अधिकार र मजदुरमाथि भएको अमानवीय व्यवहारका विरूद्ध पिपुल चार्टर तयार गरी तीनपटकसम्म संसदमा बुझाए। पचास लाख मजदुरहरूले हस्ताक्षर गरेको चार्टर बुझाउन गएका मजदुहरूमाथि सरकारले निर्मम दमन गर्‍यो। धेरै दमन गरे पनि त्यहाँको मजदुर आन्दोलन अगाडि बढिरह्यो। आन्दोलन नभएको कुनै शहर भएन। यो लामो र सक्रिय आन्दोलनलाई विश्व इतिहासले चार्चिस्ट आन्दोलन भनेर नाम दिएको छ।

४.३. फ्रान्सको राज्यक्रान्ति (१७८९–१७९९)

४.३.१. फ्रान्सको राजतन्त्र अत्यन्त निरङ्कुश थियो। लुई सोह्रौंदेखि आफ्नै सिनेट सदस्यहरूसमेत असन्तुष्ट थिए। राजा र राष्ट्रिय एसेम्बलीबिच तीब्र सङ्घर्ष हुन पुग्यो। सन् २१ सेप्टेम्बर १७९२ मा राष्ट्रिय सभा बोलाएर देशलाई पहिला गणतन्त्र घोषणा गरियो। लुई सोह्रौंमाथि मुद्दा चलाइयो र उनको शीर छेदन गरी मृत्युदण्ड दिइयो।

४.३.२. फ्रान्समा राज्यक्रान्ति भएर पनि स्थीरता रहेन। अस्थीरताको फाइदा उठाई सन् १७९६ मा नेपोलियन बोनापार्ट सत्तामा पुगे र आफूलाई बादशाह घोषणा गरे। करीब १८ वर्षपछि सन् १८१४ मा नेपोलियनको पतन भयो, उनको ठाउँमा बोर्वेन सत्तामा आए। उनलाई पनि जनताले फालेपछि लुई फिलिप संवैधानिक राजा भए। उनीदेखि पनि जनता खुसी भएनन्, त्यसपछि सन् १८४८ मा फ्रान्सलाई पुन गणतन्त्र घोषणा गरियो। यसैलाई हामी फ्रान्सको राज्यक्रान्ति भन्दछौं।

४.३.३. फ्रान्सको राज्यक्रान्तिले स्वाधीनता, स्वतन्त्रता र भातृत्वजस्ता तीन सिद्धान्तको मानव अधिकार सम्बन्धी घोषणापत्र तयार गरी लोकतन्त्रको मार्ग अवलम्वन गर्‍यो। यही क्रान्तिपछि मात्र युरोपमा सामन्तवादी युग समाप्त भई पूँजीवादी युगको शुरूवात भयो, यसको प्रभावपछि जर्मन लगायत युरोपेली मुलुकमा पूँजीवादी प्रजातन्त्र आयो।

४.४. जर्मनको पूँजीवादी क्रान्ति

जर्मनमा भुरेटाकुरे राजाहरू थिए। गाउँका साहु सामन्तहरू उनीहरूका सहयोगी थिए। चर्चका पादरीहरू धर्म गुरूको रूपमा थिए। उनीहरूले भनेअनुरूप शासन व्यवस्था चल्दथ्यो। धार्मिक अन्धविश्वास र शोषणको चपेटामा खासगरी ग्रामीण किसान, मजदुर र सर्वहारा वर्ग परेका थिए। नेपोलियन बोनापार्टको पतनपछि जब राइन प्रान्त जर्मनले मुक्त गर्‍यो। त्यहाँ फ्रान्सेली राज्यक्रान्तिको प्रभाव परेको थियो। त्यसबेलासम्म जर्मन संगठित राज्यको रूपमा विकास भइसकेको थिएन। भूरेटाकुरे राजा रजौटा प्रथा कायम नै थियो।

४.५. राजनीतिक जागरण शुरू

घरेलु उद्योगको विकास हुने क्रममा शहर बजारमा नयाँ–नयाँ मेसिन कलकारखाना खुल्दै गए। यसले उनीहरूको सीप क्षमता र चेतनामा पनि बृद्धि हुन पुग्यो। जर्मनका पूँजीपतिहरूले सामन्तविरूद्ध आन्दोलनमा मजदुरको साथ लिन नहुने बरू सामन्तसँग मिलेर मजदुर दवाउने पक्षमा लागे। यस्तो अवस्थामा क्रान्ति कसरी सम्भव छ भनेर सोच गरी मार्क्स र एंगेल्सले “औद्योगिक सर्वहारा वर्ग नै त्यस्तो वर्ग हो, जसले पूँजीवादविरूद्ध निर्णायक संघर्ष गर्दछ र समाजवादको ढोका खोल्दछ, सामाजिक गठबन्धनको जालो तोड्दछ’’ भन्ने मान्यता अघि सार्नुभयो। यही मान्यताका आधारमा मार्क्स र एंगेल्सले मजदुर शक्तिशाली संगठनको महत्व बुझ्नुभयो।

५. कम्युनिस्ट लिगको गठन

बेलायतको औद्योगिक क्रान्तिका प्रभावले मानवीय श्रम शक्ति विस्थापन हुँदै गयो। मेसिनरी र प्रविधि उत्पादन तथा परिचालनबाट मजदुरहरू बेरोजगार बन्न पुगे। सस्तोमा श्रम बेच्न बाध्य भए। देशका सारा सम्पत्ति कारखानाका मालिक, व्यापारी, साहु, महाजन र बैङ्क होल्डरहरूको हातमा थुप्रिँदै गयो। जनतामा भोकमरी र गरिबी फैलिन पुग्यो।

कारखानामा थप नयाँ मेसिनहरू जडान भई मजदुरको ज्याला र अवसरहरू गुम्न पुग्यो। आफ्नो रोजीरोटी जोगाउन र मजदुरमाथि गरिएको अमानवीय काम र व्यवहारविरूद्ध आवाज उठाउनका लागि सामन्त र पूँजीपतिविरूद्धको अनिवार्य आन्दोलनको विश्वव्यापीकरण गर्ने सोचका साथ सन् १८४७ मा गोप्य रूपमा कम्युनिस्ट लीग नामक सङ्गठन स्थापना भयो। खास कारणले मार्क्स सहभागी हुन नसके पनि एंगेल्स त्यस कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। लीगले मार्क्स र एंगेल्सको विचार बोकेर अगाडि बढ्ने निर्णय गर्‍यो र पछि उहाँहरूसँग सम्पर्क गरी सक्रियता बढायो।

सन् १८४७ मा प्रुधोंको ‘दरिद्रताको दर्शन’ नामकको भ्रान्तिपूर्ण सोच बोकेको विचारविरुद्ध मार्क्सले ‘दर्शनको दरिद्रता’ भन्ने ग्रन्थको रचना गर्नुभयो। यसमा उहाँले पहिलोपटक ऐतिहासिक भौतिकवादको स्पष्ट व्याख्या गर्नुभयो। यस पुस्तकबाट विश्वमा कम्युनिस्ट विचारको दरिलो नयाँ आधार प्राप्त भयो। यसले कम्युनिस्ट लिग गठनका लागि वैचारिक आधारसमेत तयार गर्‍यो।

लीग गठन भएको केही महिनाभित्र नै प्रथम महाधिवेशनको रूपमा त्यसको गृष्म बैठक गुप्त रूपमा नै सम्पन्न भयो। महाधिवेशनले प्राथमिक (अल्पकालिक) लक्ष्यको रूपमा पूँजीवादको अन्त गरेर सर्वहारा वर्गको सत्ता अर्थात् समाजवाद स्थापना गर्नु र दीर्घकालिक लक्ष्यको रूपमा साम्यवादमा पुग्नु हो भनी किटान गर्‍यो। मध्यमवर्गीय र पूँजीपतिहरूको बाहुल्यता रहेको कारणले गर्दा कम्युनिस्ट लीग विवादमा फस्यो। सन् १८५२ मा विघटन नै हुन पुग्यो।

६. कम्युनिस्ट घोषणापत्र

६.१.    सन् १८४८ फेब्रुअरी १२ का दिन कम्युनिस्ट घोषणापत्र जारी भयो। यसको पहिलो खण्डमा पूँजीपति र सर्वहारा वर्गको उत्थान र पतनका बारेमा लेखिएको छ। दोस्रो खण्डमा मजदुर र कम्युनिस्टबिचको आपसी सम्बन्ध र तेस्रो खण्डमा काल्पनिक समाजवाद भनेको के हो ? त्यो किन यथार्थसमेत छैन भनेर लेखिएको छ। अन्तिममा कम्युनिस्ट समाजमा बेला मौकामा देखापर्ने सबै किसिमका क्रान्तिकारी आन्दोलन र सङ्घर्षहरूलाई समर्थन गर्नुपर्ने सम्बन्धमा स्पष्ट व्याख्या गरेको छ।

घोषणापत्र संक्षिप्त छ। तर, यो अत्यन्त गहन, वैज्ञानिक र सारगर्भित छ। घोषणापत्र त्यसबेला युरोपियन मजदुरको क्रान्तिको वैचारिक हतियार वा साधन मात्र बनेर आज पनि संसारभरिका सर्वहारा एवं श्रमजीवी जनताको मार्गदर्शक दस्तावेजको रूपमा स्थापित छ।

७. प्रथम अन्तर्राष्ट्रिय

सन् १८६४ मा स्थापित प्रथम अन्तर्राष्ट्रिय मजदुर एवं श्रमजीवी वर्गको आन्दोलनलाई अगाडि बढाउन विश्वभरिका कम्युनिस्टहरु सम्मिलित एक संगठन थियो। त्यसबारे यहाँ संक्षेपमा प्रकाश पारिएको छ।

७.१. प्रथम अन्तर्राष्ट्रियको गठन

अन्तर्राष्ट्रिय सर्वहारा वर्गको पहिलो सङ्गठनको रुपमा सन् १८६४ को सेप्टेम्वरमा लन्डनको सेन्टमार्टिन हलमा प्रो. विस्लीको अध्यक्षतामा भएको सम्मेलनले अन्तर्राष्ट्रिय श्रमिकका सङ्घ गठन भयो, जसलाई प्रथम अन्तर्राष्ट्रिय भनेर भन्न थालियो। जुन अन्तर्राष्ट्रिय श्रमिक सङ्घ नै विश्व सर्वहारा वर्गको पहिलो अन्तर्राष्ट्रियको सङ्गठन थियो।

विश्वका देशभर रहेका सर्वहारा र मजदुरहरू आफ्नो नै देशको मुक्तिका लागि संघर्ष गर्ने र सबै सर्वहारा मजदुरहरूको समस्या एकै भएकाले एक देशका सर्वहाराहरूले अर्को देशका सर्वहारालाई पनि सकेको सहयोग गर्ने नीति लिएको थियो। सुरुमा त्यस सङ्घले मार्क्सलाई त्यति महत्त्व दिएको थिएन। तर पछि मार्क्स त्यसको प्रमुख नै बन्न पुग्नुभयो।

७.२. प्रथम अन्तर्राष्ट्रियको प्रभाव

यो समयसम्म प्रथम अन्तर्राष्ट्रियको प्रभावबाट विश्वका पूँजीवादीहरू आतंकित भइसकेका थिए। यसको दमन मात्र एक उपाय हो भन्ने निष्कर्षमा पुगी दमनका योजना बनाउँदै थिए। तेस्रो महाधिवेशनमा आएर बाकुनिन पनि सक्रिय हुन थाले। किनकि उनी प्रथम अन्तर्राष्ट्रियले कम्युनिस्ट लिगको बारेमा आलोचना गरेको भनी अलग भएर ‘अन्तर्राष्ट्रिय मैत्री’ नामक बेग्लै सङ्गठन निर्माण गरेर बसेका थिए।

निःसर्त प्रथम अन्तर्राष्ट्रियमा पुनः सामेल उनले भएर मार्क्सलाई ‘तिमी महान हौ र म तिम्रो शिष्य हुँ’ भन्ने पत्रसम्म लेख्न पुगे भने अर्कोतर्फ मार्क्स र प्रुधोंका विचारको अध्ययन गरी दुवैमा रहेको कमी पूरा गर्ने महत्वाकांक्षा बोकेर खिचडी पकाउन थाले। कामको सिलसिलामा सरकारबाट गिरफ्तार भएपछि उनले आत्मसमर्पण गर्न पुगे।

दमन प्रक्रिया यूरोप, ब्रिटेन अमेरिका, फ्रान्स, जर्मनी सबैतिर तीव्र हुन थाल्यो। जर्मनमा सक्रिय मार्क्स–एंगेल्सको आइजेनेख (सामाजिक जनवादी मजदुर पार्टी) बाध्य भएर मध्यदक्षिणपन्थी लासालपन्थीसँग तल्लो तहमा कार्यगत एकता हुँदै विचारमा धेरै ठूलो मत भिन्न भए पनि दमनको अवस्थासमेतलाई दृष्टिगत गरी वैचारिक सवाललाई खास महत्त्व नदिई एकीकरण हुन पुग्यो।

पेरिस कम्युनको अन्तपछि प्रथम अन्तर्राष्ट्रियका दुश्मनहरूको सङ्ख्या बढ्न पुग्यो। त्यसले पनि मतभेद उत्पन्न भयो। १८७२ मा हेगमा ६१ देशका प्रतिनिधिको उपस्थितिमा भएको ५ औं महाधिवेशनसम्म आइपुग्दा पनि मार्क्सले त्यसका लागि समय दिन सक्नुभएन। महाधिवेशनले मार्क्सले तयार गर्नुभएको प्रतिवेदन नै पारित गर्‍यो।

७.३. अन्तर्राष्ट्रियमा वैचारिक संघर्ष

अन्तर्राष्ट्रियमा मार्क्स, बर्नस्ट्रिन र बाकुनिनबिच तीब्र वैचारिक संघर्ष थियो। मार्क्स समाजवादलाई कम्युनिस्ट समाजको पहिलो खुड्किलोका रुपमा संश्लेषण गर्दै उक्त सत्ताले सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। यता बर्नस्ट्रिनले मार्क्सवादका मूल मान्यताहरु पूँजीपति वर्गका निम्ति स्वीकार्य नभएकाले मार्क्सवादी मान्यतामाथि संशोधनको वकालत गर्दथे। त्यसैगरी अर्का नेता बाकुनिन राज्यसत्ता नै शोषणको संयन्त्र भएकाले सर्वहारा वर्गले क्रान्तिमार्फत् प्राप्त गर्ने सत्तालाई स्वतन्त्र छोडिदिनुपर्ने मान्यता राख्दथे। यसरी अन्तर्राष्ट्रिय मार्क्सको क्रान्तिकारी धारा, बर्नस्ट्रिनको संशोधनवादी धारा र बाकुनिनको अराजकतावादी धाराबिच संघर्ष तीब्र भएको थियो।

७.४. प्रथम अन्तर्राष्ट्रियका उपलब्धिहरू

७.४.१. पूँजीवादको उदयपछि अवशेषको रूपमा रहेको अमेरिका र ब्रिटेनमा चलेको दास विद्रोह सफल तुल्याउन महत्वपूर्ण भूमिका खेलेको।

७.४.२. मजदुरको श्रमको घण्टा २० बाट १० घण्टा र १० घण्टाबाट ८ घण्टामा झार्नका लागि अन्तर्राष्ट्रियले महत्वपूर्ण भूमिका खेलेको।

७.४.३. टुटफुटबाट मजदुर आन्दोलनलाई जोगाउँदै सङ्घर्षलाई बचाउँदै विश्वव्यापी कम्युनिस्ट सर्वहाराको एकीकृत मुद्दालाई उठाउन सफल भएको। विश्वमा समाजवादी शक्तिको लहर उठाउन अन्तर्राष्ट्रियले महत्वपूर्ण भूमिका खेल्यो।

८. पेरिस कम्युन

८.१. सन् १८७०–७१ सम्म फ्रान्समा नेपोलियन तृतीयले शासन गरेका थिए। मजदुर आन्दोलन बेजोडले चलेको थियो। जर्मनसँग युद्धको भारी मार परिरहेको थियो। बाहिरी र भित्री चापमा परेका राजाले मजदुरसँग पनि मिलेमतो गरेजस्तो गर्ने र पूँजीपति सामन्तहरूको पृष्ठपोषण गर्न पनि नछाड्ने द्वैध चरित्रको नीति अख्तियार गरे। राजाले केही काला कानुनहरू हटाएका थिए। सार्वजनिक भेला गर्ने, सभा सम्मेलन गर्ने स्वतन्त्रता दिएका थिए। तर, पनि मजदुरहरूको मुक्तिका लागि कुनै पनि कार्यक्रम ल्याइएन। सामन्त र पूँजीपतिका अधिकार कटौती गरेका थिएनन्। यसैबिच फ्रान्स र जर्मनबिच भर्सेलिस सन्धि भयो। जसमा फ्रान्स जर्मनलाई प्रतिवर्ष ५ हजार करोड फ्रयाङ्क जरिवाना तिर्नुपर्ने भयो।

सन् १८७० को अक्टोबर ३१ र १८७१ को जनवरी २२ मा गरी मजदुरले दुईपटकसम्म अत्यन्त कठोर संघर्ष गरे। तर असफल भए। यस सङ्घर्षले फ्रान्सेली सरकार भयभीत थियो। सर्वहारा वर्गलाई दवाउन सहयोग पुग्ने उद्देश्यले फ्रान्सले जर्मनसँग उक्त सम्झौता गरेको थियो। सर्वहारा मजदुर, किसान र अन्य निम्नस्तरका सर्वसाधारण थप उत्साहित भएर जर्मनसँग पनि आवश्यकताअनुसार प्रतिवाद गर्ने सोचका साथ क्रान्तिको लागि जटिल सङ्घर्षको तयारीमा लागि रहेका थिए।

भर्सेलिज सन्धिको विरोधमा पेरिसबासी रूष्ट थिए। यसैबेला मदजुरहरूले गरेको आन्दोलन सशस्त्र क्रान्तिको रूपमा बदलिन पुग्यो। जनलहरले भरिएको आन्दोलन दवाउन र नियमित सेनाले राष्ट्रिय गार्डलाई निःशस्त्र पार्न १८७१ मार्च १८ मा प्रयत्न गर्‍यो। यसको प्रतिरोधस्वरूप सर्वहारा मजदुर वर्गले पेरिसमा जुन क्रान्ति गरे, त्यसलाई पेरिस क्रान्ति भन्ने गरिन्छ।

८.२. क्रान्ति कसरी भयो ?

८.२.१. १८७१ मार्च १८ कै दिन पेरिसका होटल द भिलेज लगायत महत्वपूर्ण स्थानहरू मजदुरले कब्जा गर्न पुगे। झन्डै १५ लाखभन्दा बढी सर्वहारा मजदुर र सर्वसाधारण यो क्रान्तिमा सहभागी भएका थिए। पेरिसका जनरल थियर भागेर भर्साइल पुगे। नगरको सत्ता राष्ट्रिय गार्ड केन्द्रीय समितिको अस्थायी सरकार बन्यो। संसारको इतिहासमा मजदुर वर्गको पहिलो सरकार बन्न पुग्यो। मार्क्सकै शब्दमा भन्दा ‘मानिसलाई वर्ग शासनबाट सदाका लागि मुक्त गर्ने महान सामाजिक क्रान्तिको प्रभात उदायो।’

८.२.२. पेरिसका वीर मजदुरहरूले ‘प्रतिक्रियावादीहरूको स्वर्गमा धावा बोले’पछि मजदुरहरूले कम्युनको स्थापना गरे। त्यसको पाँच दिनपछि जर्मन सेनाको सहायताले पेरिस कम्युनविरुद्ध फौजी कारबाही शुरु गर्‍यो। मजदुरहरूले वीरतापूर्वक प्रत्याक्रमण गरिरहे। विश्वका कतिपय प्रतिक्रियावादी सरकारहरू पनि पेरिस कम्युनको विरुद्ध खनिएर लागे। विश्वका प्रतिक्रियावादीहरू एकजुट हुँदाको अवस्थामा ७२ दिनपछि पेरिस कम्युनले हार खानुपर्ने अवस्था आयो। १८७१ मे २८ मा पेरिस कम्युनको अन्त भयो।

८.२.३. यस क्रान्तिमा सत्ताइस हजारभन्दा बढीले ज्यान गुमाए। तीस हजारभन्दा बढी घाइते भए। राष्ट्रिय गार्डको पोसाकमा हुनेलाई देख्नेबित्तिकै गोलीले उडाइयो। पेरिस कम्युनको पक्षमा बोलेको सुन्नेबित्तिकै गोलीले उडाइयो। कम्युनका नेताहरू खोजी खोजी मारियो। पेरिस कम्युनको पहिलो दिनमा नै प्रथम अन्तर्राष्ट्रियले त्यसको समर्थन गरेको थियो। अमेरिका तथा युरोपका मजदुर सङ्गठनले पनि त्यसको समर्थन गरेका थिए।

८.३. पेरिस कम्युन असफलताका कारण

८.३.१. विद्रोहमा योजनावद्ध तयारी हुन पाएन। शक्ति आंकलन नगरी अगाडि बढ्ने काम भयो। अपर्झट र तत्काल उठेको आन्दोलनलाई क्रान्तिको दिशामा लानु लगियो। आफ्नो सेना गठन हुन सकेन।

८.३.२. सत्ता कब्जासँगै मजदुरहरुले सेनाको व्यवस्था गर्न सकेनन्। राष्ट्रिय गार्डलाई सेनाको रूपमा ढालेर सैन्य र सुरक्षा भर्ना शुरु गरिएन। राज्यका अंगमा सर्वहारा वर्गको नेतृत्व स्थापित हुन सकेन। किसान वर्गसँग एकता कायम गर्न नसक्नु सकेन। वर्गीय अधिनायकत्व कायम गर्न नसक्नु प्रमुख कमजोरी रहे।

८.३.३. बैङ्कहरू कब्जा गर्न नसक्नु, कम्युन गठनमा पूँजीपतिहरूको बाहुल्यता रहनु पनि कम्युन ढल्नुका कारण थिए। विद्रोहपूर्व नै मार्क्सले क्रान्तिका लागि परिस्थिति परिपक्व भइनसकेको निष्कर्ष निकाल्नुभएको थियो। तर, पेरिसका मजदुरहरुमा ब्ल्यांकीको प्रभाव बलियो रहेका कारण उनीहरुले मार्क्सको कुरा सुनेनन्। ब्ल्यांकी त्यस्ता नेता थिए, जो सर्वहारा वर्गको एकीकृत र दीर्घजीवी शक्ति होइन, षड्यन्त्रपूर्वक सत्ता हत्याउने कुरामा विश्वास गर्दथे। तर, क्रान्ति सुरु भएपछि मार्क्सले सम्पूर्ण निष्ठाका साथ पेरिस विद्रोहको समर्थन गर्नुभएको थियो।

८.४. पेरिस कम्युनले पारेको प्रभाव

८.४.१. पेरिस कम्युनले दास युगको बर्वर र आततायी यातना, सामन्तवादी र पूँजीवादी युगको चरम शोषणको छेदन गरिदियो।

८.४.२. पेरिस कम्युनले विश्व सर्वहारा वर्गलाई पहिलो वर्गीय शासन स्थापनाको ढोका खोल्यो। अन्यायविरूद्ध लड्ने तागत प्रदान गर्‍यो।

८.४.३. पेरिस कम्युन नै वैज्ञानिक समाजवादको स्थापनाको पहिलो र सर्वहारा वर्गले अधिनायकत्व प्राप्त गरेको पहिलो ऐतिहासिक परिघटना हो।

८.४.४. पेरिस कम्युनबारे मार्क्स भन्नुहुन्छ – ‘‘प्रमुख रुपमा पेरिस कम्युन एउटा मजदुर वर्गीय सरकार थियो। चुसाहा वर्गको विरुद्ध उत्पादक वर्गको संघर्ष उपज थियो। श्रमको आथिकण मुक्तिका लागि आखिरमा पत्ता लगाइएको राजनीतिक रुप थियो।’’ (मार्क्स र एंगेल्स चुनिएका रचनाहरु भाग १, पष्ठ ४७३।) पेरिस कम्युनको अन्त्यपछि प्रथम अन्तर्राष्ट्रियमा मतभेद देखा पर्न थाले र गतिविधिमा निस्क्रियता पैदा हुन थाल्यो। पेरिस कम्युनको समर्थन हतारमा गरिएको भनी आरोप प्रत्यारोप पनि भए।

८.५. पेरिस कम्युनको स्थापना र सुरक्षामा धेरै देशका मजदुरहरूले पनि भाग लिएका थिए। कम्युनको निर्वाचन आयोगको घोषाणापत्रमा लेखियो कि ‘कम्युनको झण्डा विश्व गणतन्त्रको झण्डा हो।’ यसरी पेरिस कम्युनले विश्व सर्वहारा अन्तराष्ट्रियतावादको झण्डा उठाएको थियो।

९. गोथा कार्यक्रम

सन् १८७५ मार्चमा मार्क्स देश निकाला भएको र एंगेल्स पनि नभएको समयमा उहाँहरूको सक्रियतामा गठन गरिएको जर्मनको जर्मन सामाजिक जनवादी मजदुर पार्टी (आइजनेख) र लासालपन्थी पार्टी मिलेर सामाजिक जनवादी क्रान्तिको नाममा एकीकृत कार्यक्रमको रूपमा गोथा कार्यक्रमको घोषणा गर्‍यो।

कार्यक्रम घोषणापूर्व एंगेल्सले आइजनेखका नेता वेवेललाई लेखेको पत्रमा भनिएको छ – ‘गोथा कार्यक्रमको स्वरूपलाई यदि स्वीकार गरियो भने मार्क्स र मैले यो पार्टीलाई कुनै पनि हालतमा समर्थन गर्ने छैनौँ।’ तर, उहाँको कुराको कुनै सुनुवाइ भएन। विश्व सर्वहारा वर्गको नेतृत्व दिनुपर्ने पार्टीले गोथा जस्तो कार्यक्रम स्वीकार गरेपछि मार्क्स निकै दुखित र आक्रोशित हुनुभयो। गोथा कार्यक्रम मूलतः प्रतिक्रियावादी कार्यक्रम थियो।

मार्क्सले ‘जर्मन श्रमजीवी पार्टीको कार्यक्रमप्रति आलोचनात्मक टिप्पणीहरु’ शीर्षकमा दस्तावेज लेख्नुभयो, यही दस्तावेज नै गोथा कार्यक्रमको आलोचनाका नामले विश्वप्रसिद्ध छ। दस्तावेजमा मार्क्सको जोड थियो – गोथा कार्यक्रम समग्र रूपमै आपत्तियोग्य कार्यक्रम हो, जसले पार्टीको शीर झुकाउँछ। राज्य सहयोगमार्फत् समाजवादको स्थापनालाई स्वीकार गर्नु सर्वहारा क्रान्तिको विसर्जन गर्नु हो, समाजवादलाई ‘‘राज्य सहयोग’मा ढाल्दै ‘स्वतन्त्र राज्य’का लागि संघर्षलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहयोगमार्फत् समाजवाद स्थापना गर्ने लासालवादी विचारप्रति समर्थन गर्नु सर्वहारा वर्गको अधिनायकत्वको परित्याग हो।

१०. अन्तर्राष्ट्रिय श्रमिक दिवस

१०.१. अमेरिकामा मजदुरमाथि यातना थियो। २० घण्टासम्म काम गर्नुपर्दथ्यो। साहुले जति ज्याला दिन्छ, त्यतिमै चित्त बुझाउनुपर्दथ्यो। मजदुरलाई कुनै राजनीतिक अधिकार थिएन। अत्यन्त कष्टकर जीवन बिताउन बाध्य थिए। सहनै नसक्ने अवस्था भएपछि विश्वव्यापी बनेको मजदुर क्रान्तिबाट त्यहाँका मजदुर पनि जाग्रत हुँदै थिए। कम्युनिस्ट घोषणापत्र र प्रथम अन्तर्राष्ट्रियको प्रभाव पनि परिरहेको थियो। पेरिस कम्युनमा अमेरिकी मजदुर पनि सहभागी थिए। यावत अवस्थाले क्रान्तिको वातावरणा बनिरहेको थियो।

यसै सिलसिलामा सन् १८६६ अगस्ट २० मा बाल्टिमोरामा ६० वटा मजदुर सङ्गठनका प्रतिनिधिहरूको भेलाले राष्ट्रिय श्रम सङ्गठन गठन गर्‍यो। सन् १८८४ मा अमेरिकामा नेशनल लेवर युनियन नामको मजदुर सङ्गठनले दिनको आठ घन्टा कामको माग राख्दै आन्दोलन बढाए।

१०.२. सन् १८८६ मेका दिनदेखि अमेरिकाको सिकागो सहरमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन शुरू भयो। पहिलो हप्तामा भएको मजदुर आन्दोलनमा ६ जना मजदुर मारिए र कयौं घाइते भए। उक्त दिनको सम्झनास्वरूप १ मईको दिनलाई मे दिवसको रूपमा मनाउन थालिएको हो। सो अवधिमा अमेरिकामा मात्र १५७२ भन्दा बढी मजदुर हड्ताल भए। यसमा ६ लाखभन्दा बढी मजदुरले भाग लिए। मजदुर आन्दोलन जति धेरै भयो, पूँजीपतिहरूले विभन्न सुधार र अवसरको नाममा आफ्नो किल्ला झन् मजबुत बनाउँदै लगे।

११. दोस्रो अन्तर्राष्ट्रिय

११.१. सन् १८८६ को अमेरिकाको सिकागो सहरमा भएको मजदुर आन्दोलन, ब्रिटेन, जर्मन, फ्रान्समा भएका ठूला ठूला मजदुर आन्दोलनले विश्वका मजदुरलाई हाम्रा पनि अधिकार रहेछन्, हामी पनि अरूसरह बोल्न, लेख्न, पढ्न पाउने रहेछौँ भन्ने चेतना जागृत गरायो। यसको परिणामस्वरूप सन् १८८९ मा ब्रिटेनमा भएको सडक मजदुरहरूको हडताल जस्ता मजदुर आन्दोलन हरेक देशमा जोड रूपले अगाडि बढ्न गयो।

११.२. विभन्न देशहरूमा मजदुर वर्गका पार्टीहरू पनि आन्दोलनसँगै सङ्गठित हुँदै र विभिन्न देशमा मजदुर वर्गको प्रतिनिधित्व गर्ने सोसल डेमोक्रेटिक पार्टीहरु निर्माण हुँदै गयो। सन् १८७२ सम्ममा पनि मार्क्सले त्यता समय दिन भ्याउनुभएन भने १८७४ मा त एंगेल्सले नै अन्तर्राष्ट्रियको समय प्रायः समाप्त भएको बताएसँगै प्रथम अन्तर्राष्ट्रिय निस्क्रिय र समाप्त हुन पुग्यो।

११.३. मजदुर वर्गको पार्टी स्थापना हुँदै जाँदा विवादमा फसिरहेको प्रथम अन्तर्राष्ट्रियले मागलाई थेग्न र समस्याको समाधान गर्न सक्ने तागत नभएको कारण सन् १८८९ मा पेरिसमा २० देशका ३९१ प्रतिनिधिहरूको उपस्थितिमा दोस्रो अन्तर्राष्ट्रियको गठन हुन पुग्यो। सो अवसरमा दार्शनिक तथा नेताहरू क्लारा जटकिन, प्लेखानोभ, बर्नस्ट्रिन जस्ता तमाम नेताहरूले भाग लिएका थिए।

११.४. दोस्रो अन्तर्राष्ट्रियको गठन

११.४.१. सन् १८८९ मा फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो। महाधिवेशनले दिनको ८ घण्टा कामको मागलाई लिएर विश्वभरिका कम्युनिस्टहरुलाई आन्दोलनमा उत्रिन आव्हान गर्‍यो। पछि एंगेल्सको उपस्थितिमा भएको तेस्रो महाधिवेशनले त झन् वर्ग समाप्त पार्ने दिशातर्फ सर्वहारा मजदुरहरूलाई अघि बढ्न निर्णय गर्दै आव्हान गर्‍यो।

११.४.२. दोस्रो अन्तर्राष्ट्रियमा फ्रान्सको कम्युनिस्ट पार्टीको बलियो प्रभाव थियो। तर, सन् १८९४ मा कम्युनिस्ट पार्टीका नेता मिलेराँ आफ्ना दर्जनौं नेताहरुसहित बुर्जुवा संसदमा सहभागी भए, जसलाई संसदवादका जन्मदाता मानिन्छ। रोजा लक्जेम्वर्गले मिलेराँको कदमको कडा आलोचना गरेकी थिइन्। त्यसपछि दोस्रो अन्तर्राष्ट्रियमा फ्रान्सको कम्युनिस्ट पार्टीभन्दा रुसी सामाजिक जनवादी पार्टीको प्रभाव बिस्तार हुँदै गयो।

११.४.३. सन् १८९५ अगस्ट ५ मा एंगेल्सको मृत्यु भएपछि अन्तर्राष्ट्रियमा नेतृत्वको गम्भीर सवाल पैदा भयो। सन् १८९६ मा एडवर्ड बर्नस्ट्रिनले दोस्रो अन्तर्राष्ट्रियभित्र मार्क्सवादका विरूद्ध पहिलोपटक संशोधनको प्रस्ताव पेश गरे। त्यसैले बर्नस्ट्रिनलाई शास्त्रीय संशोधनवादका जन्मदाता भनिन्छ।

११.४.४. दोस्रो अन्तर्राष्ट्रियमा पनि पूँजीवादी घुसपैठ सुरु भयो। दोस्रो अन्तर्राष्ट्रियका कयौँ नेताहरू पूँजीवादको चरित्रलाई ठीक ढङ्गले मूल्याङ्कन गर्न सकेनन् र उल्टो संशोधनवादीहरूको पक्षमा देखिन थाले। मजदुर वर्गका सोसल डेमोक्रेटिक पार्टीहरूमा पनि पूँजीवादीहरूप्रति नरम दृष्टिकोण देखा पर्न थाल्यो। सङ्घर्षबाट सत्ता कब्जा गर्नेभन्दा वर्ग समन्वयको सिद्धान्ततर्फ आकर्षित भए। बहुमतबाट सत्ता कब्जा गर्न सकिने अवधारण अगाडि ल्याएर कम्युनिस्ट आन्दोलनलाई धोका दिन पुगे।

११.४.५. सन् १९०० पेरिसमा दोस्रो अन्तर्राष्ट्रियको पाँचौ महाधिवेशन सम्पन्न भयो। रोजा लग्जेम्वर्ग क्रान्तिकारीको पक्षमा थिइन्। काट्स लगायत केही नेताहरू सुधारवादका पक्षमा थिए। महाधिवेशनमा दक्षिणपन्थीको बहुमत भयो। त्यसले मार्क्सवादका आधारभूत सिद्धान्त गलत ठहर्‍याउन पुग्यो। दोस्रो अन्तर्राष्ट्रिय पतनको दिशामा अगाडि गयो।

११.५. दोस्रो अन्तर्राष्ट्रियको पतन

११.५.१. सन् १९१३ मा जर्मन सोसलिष्ट पार्टीका नेता वेवेलको जेलमै हत्या भयो र उनीपछिका अरू नेताहरूले साम्राज्यवादी युद्धको समर्थन गरे।  दोस्रो अन्तर्राष्ट्रियको सोसलिस्ट ब्युरोको अन्तिम बैठक सन् १९१४ जुलाई २९ मा ब्रसेल्समा बसेको थियो। त्यस बैठकले मजदुरहरूले आ–आफ्नो देशका नेताहरूलाई दबाब दिनुपर्ने निर्णय गर्‍यो। तर, त्यसको पालना कुनै पनि देशले गरेको पाइएन।

११.५.२. सन् १९१४ मा ब्रिटेनको लेबर पार्टीले साम्राज्यवादी आक्रमणको विरोध गरे पनि पछि समर्थन गर्न पुगेको थियो। यसैगरी फ्रान्सीसी, जर्मनी, अस्ट्रियन सोसलिस्ट पार्टीहरूका साथै बेल्जियम लेबर पार्टी र साउथ अफ्रिकन लेबर पार्टीले पनि आफ्नो देशको समर्थन गर्न पुगे। यसरी सबै क्षेत्रबाट भएको गद्दारीका कारण दोस्रो अन्तर्राष्ट्रिय पतन हुन पुग्यो।

१२. भ्लादिमिर लेनिन (१८७०–१९२४)

रूसको राजनीतितर्फ जान खोज्दा लेनिनबारे केही कुरा बुझ्न अवश्यक छ भनेर यो विषय समावेश गरेको छु। यहाँ लेनिनबारे संक्षेपमा चर्चा गरिन्छ।

१२.१. लेनिनको जन्म सन् १८७० मा रुसको सिम्वक्र्स सहरमा भएको थियो। उहाँका दाजु अलेक्सान्डरलाई जारशाहीले फासीको सजाय दिएकोले सानै उमेरदेखि उहाँको मनमा प्रतिक्रियावादीहरूप्रति विद्रोही भावना विकास हुन पुगेको थियो। १८९३ सम्ममा उहाँ एक परिपक्व मार्क्सवादी बनिसक्नुभएको थियो। सेन्टपिटरवर्गमा गठन भएका विभिन्न मार्क्सवादी समूहहरूमा उहाँले राम्रो प्रभाव पार्नुभएको थियो। फलस्वरूप सन् १८९५ मा २० वटा मार्क्सवादी मण्डली मिलाएर मजदुर वर्गको मुक्तिका लागि संघर्ष लीग नामक सङ्गठन बनाउनुभयो। सो सङ्गठन मजदुर वर्गको मुक्ति दिनसक्ने एक मात्र र पहिलो सङ्गठन भएको बताउनुभयो।

१२.२. सैद्धान्तिक बहस चलाउनकै लागि प्रवासमा रहँदा नै लेनिनले इस्क्रा नामक पत्रिका पनि प्रकाशित गर्नुभयो।  साथै मजदुर मुक्ति दलका नेताहरूसँग पनि सम्बन्ध बढाउनुभयो। मजदुर मुक्ति नामक सङ्गठन सन् १८३३ मा जे.वि प्लेखानोवको नेतृत्वमा गठन भएको थियो। यसले पनि रुसमा मार्क्सवादको व्यापक प्रचारप्रसार गरेको थियो।

१२.३. सन् १९०५ मा भएको मजदुर क्रान्ति उठाउन उहाँले नेतृत्वदायी भूमिका खेल्नुभयो। प्रथम विश्वयुद्धमा समाजवादी आन्दोलन व्यवस्थित गर्नुभयो। हरेक आन्दोलनको वस्तुगत अवस्थालाई बुझेर क्रान्तिको झण्डा उठाउनुभयो। क्रान्तिलाई क्षति हुनबाट जोगाउँदै अगाडि बढाउनुभयो। अक्टोबर क्रान्तिको सफलतापछि जर्मनसँग सम्झौता गरी देश लुटाएको आरोपमा सन् १९१८ मा उहाँलाई क्याप्लिनले गोली हानी घाइते बनाएका कारण १९२४ मा उहाँको निधन भयो।

१३. रूसमा क्रान्ति

१३. १. रूसी कम्युनिस्ट पार्टी – सन् १८९८ मा रूसी कम्युनिस्ट पार्टीको स्थापना भयो, जसलाई रुसी सामाजिक जनवादी पार्टी भनिन्थ्यो। सन् १९०३ मा भएको पार्टीको महाधिवेशनमा पार्टीको चरित्र र संगठनात्मक स्वरुपको पक्षलाई लिएर पार्टीभित्र मतभेद भयो। वोल्सेभिक र मेन्सेभिक गरी दुई धारमा पार्टी विभाजन भयो। लेनिनले पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ताको रूपमा उभ्याउनुभयो, प्लेखानोव र मार्तोभ खुला र पूँजीवादपरस्त नीतिको पक्षमा रहे।

१३.२. महाधिवेशनले सर्वहारा श्रमजीवी वर्गको वास्तविक मुक्तिको वस्तुवादी कार्यक्रम पारित गर्‍यो। त्यस कार्यक्रमको आधारमा पार्टी सङ्गठन तीब्र विकास हुन पुग्यो। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसको व्यापक प्रभाव पर्न गयो। जर्मनको सामाजिक पार्टीभन्दा अन्तर्राष्ट्रिय स्तरमा यो पार्टी अब सर्वहारा वर्गको पहिलो पार्टी बन्न पुग्यो।

१३.३. पार्टी सङ्गठनमा रणनीति कार्यनीतिको अभाव देखेर लेनिनले सङ्गठनको स्पष्ट ढाँचाबारे लेख्नुभएको ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ नामक पुस्तक सन् १९०४ मा प्रकाशित भयो।

१३.४. सन् २००४ जनवरीमा जापानले रुसमाथि आक्रमण गर्‍यो र जारशाहीको हार भयो। देशमा बढ्दै गएको अन्याय अत्याचार सहन बाध्य सर्वहारा मजदुर किसान र अन्य सर्वसाधारण जनतालाई साथ लिएर सरकार कमजोर भएको अवस्थामा आन्दोलन चर्काउने योजनाअनुरूप २००५ जनवरी ३ मा सेन्ट पिटर्सवर्गमा भएको मजदुर हडतालमाथि जारशाहीले घोर दमन गर्‍यो। मजदुरहरूले राजालाई बिन्तीपत्र चढाउने निधो गरे र ९ जनवरीका दिन १ लाख ४० हजारभन्दा बढी जनताको जुलुसका साथ मागपत्र लिएर जारशाहीको राजदरबारतिर जाँदा मजदुरमाथि निर्मम र क्रुर दमन गर्‍यो। एक हजारभन्दा बढी मजदुर मारिए, हजारौँ घाइने भए। यो दमनले मजदुर आन्दोलन रोकिनुको बदला सहरबाट ग्रामीण क्षेत्रका किसानसम्म पुग्यो।

१३.५. सामाजिक जनवादी मजदुर पार्टीको १९०५ अप्रीलमा तेस्रो महाधिवेशन भयो। उक्त महाधिवेशनमा संशोधनवादका पक्षधर मेन्सेभिकहरुले भाग लिएनन्। बोल्सेभिक र मेन्सेभिकका अलगअलग महाधिवेशन भए। लेनिनले प्रस्तुत गरेको ‘जनवादी क्रान्तिमा सामाजिक जनवाद’ नामक दस्तावेज पारित भयो।

१३.६. जनवादी क्रान्तिमा सामाजिक जनवाद नामक दुई दस्तावेज सर्वहारा वर्गको तात्कालिक कार्यक्रम थियो। यी दस्तावेजमा वर्तमान क्रान्ति पूँजीवादी क्रान्तिको कार्यक्रम भए पनि त्यसको नेतृत्व मजदुर वर्गले गर्नुपर्छ भन्ने धारणा थियो। मेन्सेभिकहरुको भने यसको ठीक उल्टो मत थियो। कार्यक्रमको अधिकतम लक्ष्य समाजवाद तथा साम्यवाद थियो भने न्यूनतम लक्ष्य जारशाहीको अन्त र गणतन्त्रको स्थापना थियो। त्यसमा लेनिनले समाजवादी क्रान्तिपूर्व पूँजीवादी क्रान्ति गर्नु अनिवार्य छ। तर, पूँजीवादी क्रान्तिको नेतृत्व पनि सर्वहारा वर्गले नै गर्नुपर्दछ, जनताको अधिनायकत्व भएको राज्यव्यवस्था स्थापित गर्नुपर्दछ भन्ने मान्यता राख्नुभएको थियो।

१३.७. पार्टी एकता र त्यसको प्रभाव

१३.७.१. पार्टीहरू मिल्नुपर्ने जनदबाब बढिरहेकाले सन् १९०६ मा भएको सम्मेलनले दुवै पार्टीलाई एक गर्‍यो। सैद्धान्तिक मतभेद भने यथावत नै थियो। रुसको सहर र गाउँ–गाउँमा आन्दोलन फैलिरहेको थियो। आन्दोलनको प्रभाव जारशाहीको सेनाभित्र पनि पर्‍यो। आन्दोलन मत्थर पार्न जारशाहीले दूमाको निर्वाचन गराउने घोषणा गरी तयार गरेको निर्वाचन कानुनले लाखौँ जनतालाई भोट दिने अधिकार खोसिएको भनी त्यसको धुँवाधार विरोध हुन थाल्यो। वोल्सेभिकले चुनावको बहिस्कार गरे।

१३.७.२. जारशाहीले सन् १९०६ मा पुनः दोस्रो दूमा निर्वाचन घोषणा गर्‍यो। पहिला त यो पनि वोल्सेभिकले बहिष्कार गर्‍यो। पछि लेनिनले दूमा बहिष्कार गर्नु गल्ती भएको भन्दै गल्ती स्वीकार गरी दूमामा भाग लिने निर्णय गर्नुभयो। लेनिनले भन्नुभयो, ‘‘त्यो मानिस मानिस होइन, जसले गल्ती गर्दैन, त्यो मानिस पनि मानिस होइन, जसले गल्ती महसुस गरेर सच्याउँदैन।’’

१३.७.३. प्रतिक्रियावादी सरकारलाई निरपेक्ष रूपले बहिस्कार गर्न पनि हुँदैन र स्वीकार गर्न पनि हुँदैन। आन्दोलन जोडले बढिरहेको बेला बहिस्कार गर्नुपर्दछ र आन्दोलन उतारचढावको समयमा निर्वाचनलाई क्रान्तिकारी ढङ्गले उपयोग गर्नुपर्दछ भन्ने धारणा लेनिनले राख्नुभयो।

१३.८. रूसी कम्युनिस्ट पार्टीमा सङ्कट

१३.८.१. सन् १९०८ सम्म आइपुग्दा जारशाहीले पार्टीभित्र र बाहिरबाटै तीव्र आक्रमण गरी पार्टी र आन्दोलनमा भ्रम सिर्जना गर्दै कमजोर तुल्याउन सफल भयो। यस्तो अवस्थामा मेन्सेभिकहरु विसर्जनवादी खाडलतिर खस्न पुगे। वोल्सेभिकमा पनि कतिपय पक्षहरू चुनाव बहिष्कार गर्नुपर्ने पक्षमा थिए। उनीहरू दूमाबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनुपर्नेमा जोड दिइरहेका थिए। लेनिनले उपर्युक्त दुवै पक्षका विचारविरुद्ध संघर्ष गर्दै दूमामार्फत् गर्न सकिने कामका बारेमा प्रष्ट पार्नुभयो। पार्टीभित्रका तमाम विसर्जनवादी, बहिस्कारवादी र अर्थवादीविरुद्ध संघर्ष गर्दै आउनुभयो।

१३.८.२. सन् १९१२ को प्राग सम्मेलनमा पार्टीले आफ्नो नामको पछाडि वोल्सेभिक राख्यो, मेन्सेभिकहरुलाई पार्टीबाट सदाका लागि निस्काशन गर्‍यो।

१३.९. क्रान्तिमा तीब्रता

१३.९.१. पार्टीभित्र र बाहिर बसेर पार्टीका नाममा पार्टीलाई बदनाम गर्ने तत्त्वहरूलाई अलग्याएपछि उतारचढावको अवस्थालाई अन्त्य गर्दै पार्टीले आन्दोलनको गतिलाई सक्रियताका साथ अगाडि बढायो। जारशाहीको अत्याचार त्यतिकै बढ्दै थियो। त्यसै समयमा हुन गएको उद्योगधन्दाको केन्द्रीकरणका कारण सर्वहारा वर्गको सङ्ख्या तीब्र वृद्धि हुन पुग्यो।

१३.९.२. सन् १९१२ देखि १९१४ सम्ममा रुसका विभिन्न कारखाना, यातायात, रेल्वे, खानी र गाउँ–गाउँमा पुँजीपति तथा जमिनदारविरुद्ध व्यापक संघर्ष शुरु हुन थाल्यो। आन्दोलनको प्रभाव विस्तार विस्तार सेनामा पनि पर्न गयो। उनीहरू भित्रैबाट विद्रोह शुरु हुने अवस्था सिर्जना भयो। पत्रपत्रिकाहरुले पनि जनआन्दोलनको पक्षमा सुनियोजित प्रचारप्रसार शुरु गरे। प्राब्दा त्यसबेला बोल्सेभिक पार्टीको दैनिक मुखपत्र थियो।

१३.९.३. सन् १९१२ मा चौंथो दूमाको निर्वाचन घोषणा भयो। बेल्सेभिक पार्टीले दूमामा सक्रियपूर्वक भाग लिने निर्णय गर्‍यो। चौंथो दूमामा बोल्सेभिकका ६ जना सदस्य चुनिए। उनीहरूले सरकारको भण्डाफोर गर्दै गलत काम कारबाहीको विरोध गरेर क्रान्ति र क्रान्तिकारीहरूको मनोबल उँचा तुल्याउने काम गरे।

१३.१०. साम्राज्यवादी युग र विश्वयुद्ध

१३.१०.१. उन्नाइसौँ शताब्दिको अन्ततिर आइपुग्दा पूँजीवाद स्पष्टसँग विश्व साम्राज्यवादमा परिणत भइरहेको थियो। उसले पूँजी निर्यातका साथै अन्य विभिन्न तरीकाले संसारका विभिन्न देशहरूमा प्रत्यक्ष र परोक्ष रूपले हस्तक्षेप र नियन्त्रण अघि बढाइरहेको थियो। साम्राज्यवादी मुलुकहरूबिच पनि आफ्नो साम्राज्य विस्तार र उपनिवेश विभाजनका सवाललाई लिएर अन्तर्विरोध चर्किंदै थियो। अन्तर्विरोधले आपसी गुटको सिर्जना गरेको थियो।

१३.१०.२. एउटा गुटमा जर्मन, बेलायत र अमेरिका थिए भने अर्को गुटमा जर्मन, जापान र इटाली थिए। यही गुटको कारण सन् १९१४ मा प्रथम विश्वयुद्ध हुन पुग्यो। प्रथम विश्वयुद्धको सुरुमा नै जर्मन सेनाले रुसमाथि आक्रमण गरेको र जारशाही एकपछि अर्को गर्दै युद्धमा हारिरहेको थियो। उसलाई फ्रान्स र ब्रिटेनको समर्थन थियो।

१३.११. समाजवादी क्रान्तिपूर्वको अवस्था

१३.११.१. पूँजीवादको परिवर्तित चरित्रलाई स्पष्ट पार्ने उद्देश्यले सन् १९१६ मा लेनिनले ‘साम्राज्यवाद पूँजीवादको चरम अवस्था’ भन्ने पुस्तक लेख्नुभएको थियो। पुस्तकमा उहाँले समाज विकास असमान किसिमले हुने भएकाले कुनै एक देशमा मात्र पनि समाजवादी क्रान्ति र समाजवाद निर्माण सम्भव हुन्छ भन्नुभयो।

१३.११.२. ट्राटस्कीले लेनिनको उक्त भनाइको खण्डन गर्दै एक देशमा मात्र समाजवादको विकास सम्भव छैन भन्ने तर्क अघि सारेका थिए। जसको कुनै वैज्ञानिक आधार नभई केवल लेनिनको विचारविरुद्ध कूप्रचार र भ्रम सिर्जना गर्न खोजिएको थियो।

१३.१२. फेब्रुअरी क्रान्ति

१३.१२.१. फेब्रुअरी क्रान्ति सन् १९१७ फेब्रुअरी २४–२६ सम्म भएको थियो। शान्ति, जमीन र रोटीको नारासहित सन् १९१७ मा देशमा विभिन्न भागका मजदुरहरूका ठूल–ठूला हडताल र जुलुस प्रदर्शन भए। जनवरी ९ तारिखको हड्तालको सिलसिलामा पेड्राग्राड, मास्को बाकु र निज्नी नोगादोरमा प्रदर्शनहरू भए। दुई हजार जनसमुदायको प्रदर्शनलाई घोडचढी पुलिसले तितरवितर पारिदिए। पेट्रोग्रार्डको विबोर्ग सडकमा भएको प्रदर्शनमा सिपाहीहरू पनि सहभागी भए।

१३.१२.२. सन् १९०५ को जारशाहीविरूद्ध भएको असफल क्रान्तिदेखि आन्दोलित भएका जनतालाई यस आन्दोलनले सम्पूर्ण सहर र गाउँलाई नै जुरूक्कै उठायो। फेब्रुअरी १२ तारिखका दिन दूमामा मजदुहरूको एउटा जुलुस लैजानुपर्दछ भनेर मेन्सेभिकहरुले प्रस्ताव राखे। उनीहरूको कुरा नसुनी मजदुरहरुले वोल्सेभिकलाई साथ दिएर दूमामा नगई आन्दोलनका लागि प्रदर्शनमा निस्किए।

१३.१२.३. मेन्सेभिकहरूले सत्ता पुँजीपतिलाई नै दिनुपर्दछ भन्ने कुरामा जोड गर्न लागे। पार्टीले उनीहरूको कुरा नसुनेपछि मेन्सेभिक जति त्यसबाट छुट्टिए र जनसमुदायबाट अलग्गिन पुगे। पार्टी विभाजनपछि बोल्सेभिकहरु मात्र रहेको समाजवादी क्रान्तिकारीहरूको पार्टी गठन हुन पुग्यो। देशका कैंयौँ ठाउँमा सोभियतहरूको गठन गरे। यसले द्वैधसत्ताको अवस्था देखा पर्न थाल्यो।

१३.१२.४. सन् १९१७ फेब्रुअरी १८ मा पेट्रोग्राडको पसतिलोभ कारखानामा हड्ताल भयो। रुसी मितिअनुसार फेब्रुअरी २३ (८ मार्च) मा पेट्रोग्राड बोल्सेभिक पार्टीको आयोजनामा महिला दिवशको दिन श्रमजीवी महिलाहरू भोक युद्ध र जारशाहीविरूद्ध प्रदर्शन गर्न सडकमा निस्किए। राजनीति हड्तालले जारशाही व्यवस्थाविरूद्ध राजनीतिक प्रदर्शनको रूप लिन पुग्यो।

१३.१२.५. सन् १९१७ फेब्रुअरी २४ देखि बेजोडले बलेको आन्दोलन २६ फेब्रुअरीको बिहान मजदुरहरूले प्रहरीबाट हतियार खोसेर आफूलाई सशस्त्र पारे। फेब्रुअरी २७ सम्म आइपुग्दा पूँजीवादी जनवादी क्रान्ति उच्च शिखरमा पुग्यो र  जारशाहीलाई झुकाउन सफल भयो। अब सन् १९०५ को क्रान्तिले बनाएको सोभियत १९१७ को क्रान्तिले बोल्सेभिकहरूको अग्रसरतामा मजदुर र सैनिक प्रतिनिधिको रूपमा सोभियतको जन्म दियो।

१३.१३. क्रान्तिका उपलब्धि

१३.१३.१. यसले रुसमा समाजवादी क्रान्तिका लागि पृष्ठभूमि तयार पार्‍यो। जनतालाई क्रान्तिकारी बाटोमा अगाडि बढ्न प्रेरणा प्रदान गर्‍यो। जारशाहीलाई हटाउन सफलता प्राप्त गर्‍यो।

१३.१३.२. सन् १९१७ फेब्रुअरी २७ मा सरकारी सेनाले मजदुरमाथि गोली चलाउन इन्कार गर्‍यो। २४ घन्टामा ६ लाखभन्दा बढी सेना विद्रोहको समर्थनमा उत्रिए।

१३.१३.३. पेन्टागन क्रान्तिको सफलतापछि देशभरि क्रान्तिको लहर नै छायो। अस्थायी सरकारको असफलता र बोल्सेभिकको शक्ति सुदृढिकरण हुदै जाँदा त्यसको ८ महिनामै लेनिनको नेतृत्वमा सन् १९१७ अक्टोबर २५ मा क्रान्ति सम्पन्न भई संयुक्त अस्थायी सरकार पदच्युत गरी समाजवादी सरकार स्थापना गर्‍यो।

१३.१४. रुसको अस्थायी सरकार

१३.१४.१. यसले मजदुर र किसानका समस्यालाई एकातिर पन्छाएर साम्राज्यवादी युद्धलाई सघाउ पुर्‍याउनका साथै जारशाहीसँग सम्झौतापरस्त नीति अपनायो। बोल्सेभिकले थाहा नपाउने गरी क्रान्ति रोक्न सामाजिक जनवादी शक्ति र मेन्सेभिक मिलेर नयाँ अस्थायी सरकार गठन गरी समर्थनका लागि आह्वानसमेत गरे। त्यसबेलासम्म बोल्सेभिकको आत्मगत अवस्था सुदृढ भइसकेको थिएन। पूँजीपति वर्गको हातमा सत्ता गयो। कैयौं जनता भ्रममा परेर अस्थायी सरकारको समर्थन गर्न पुगे। शान्ति, जमीन र रोटीको माग पूरा गर्न नसकेपछि मेन्सेभिकप्रति जनतामा विश्वास गुम्न पुग्यो।

१३.१४.२. फेब्रुअरी क्रान्ति अघिसम्म भूमिगत रहेको पार्टी खुला भएकाले बोल्सेभिकहरुले प्राप्त सीमित अधिकारको उपयोग गर्दै पार्टीलाई व्यापक रूपमा जनस्तरसम्म पुर्‍याउने काम गरे।

१३.१४.३. पार्टी खुला भएका कारण अनुशासन र अराजकता बढ्ने र विवाद पनि बाहिर छताछुल्ल हुने अवस्था आयो। अस्थायी सरकारप्रति झुकाव राख्नेहरू खुल्न पुगे। पार्टीलाई शुद्धीकरण गर्न पनि सहज भयो। पार्टी खुला भएपछि लेनिन पनि निर्वासनबाट फर्किन पाउनुभयो। पार्टीमा खुलेर काम गर्न लाग्नुभयो। लाखौँ जनतालाई सम्बोधन गर्दै लेनिनले समाजवादी क्रान्तिका लागि तयार रहन सबै जनतामा अपील गर्दै सम्पूर्ण सत्ता सोभियतहरूमा हस्तान्तरण गर ! भन्ने नारा अघि सार्नुभयो।

१३.१४.४. लेनिनले तत्काल संयुक्त सरकार ढाल्नुपर्दछ भन्ने नारा दिनको बदला शक्ति सञ्चयको नीति अवलम्बन गर्ने रणनीति तयार गर्नुभयो। सामाजिक जनवादी मजदुर पार्टीको नाम फेरेर कम्युनिस्ट पार्टी बनाउन र कम्युनिस्ट अन्तर्राष्ट्रियको स्थापनामा जोड दिनुभयो। ठूल–ठूला प्रदर्शनहरू भए। सरकारले दमनको नीति अपनायो। पार्टी पुनः भूमिगत हुन पुग्यो।

१३.१५. बोल्सेभिकको छैटौँ महाधिवेशन

सन् १९१७ जुलाई २६ देखि पेट्रोग्राडमा सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेभिक) को छैटौँ सम्मेलन भयो। पार्टीमाथि प्रतिबन्ध लागेको र लेनिन कडा भूमिगतमा बस्नु भएकाले सम्मेलनमा भाग लिन नसके पनि दमनबाट पार्टी पंक्ति निःसार नभएको निष्कर्ष निकाल्दै लेनिनको सोचअनुसार पार्टी सशस्त्र सङ्घर्ष गर्ने र त्यसको तयारीमा जुट्ने निर्णय गर्‍यो। यस अधिवेशनले पार्टीलाई समाजवादी क्रान्तिको दिशातर्फ अगाडि बढायो। अक्टोबर १६ मा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले सशस्त्र विद्रोह सञ्चालन गर्न स्टालिनको नेतृत्वमा एउटा टिम निर्माण गर्‍यो। पाटीभित्रका केही तत्वहरूले सशस्त्र विद्रोहको विरोध गरे पनि उनीहरू अल्पमतमा परे।

१३.१६. अक्टोबर समाजवादी क्रान्ति

१३.१६.१. सित दरबारमाथि हमला – रुसमा समयसमयमा ठूल–ठूला आन्दोलन र क्रान्तिहरू भए पनि अक्टोबर २४ देखि २६ सम्मको विद्रोहले देशको स्थितिमा आमूल परिवर्तन ल्यायो। अक्टोबर २५ का दिन लेनिनको नेतृत्वमा क्रान्तिकारीले सित दरबारमाथि हमला गरी विजय प्राप्त गरे। यसरी विश्वमै पहिलोपल्ट रुसी समाजवादी क्रान्ति सम्पन्न भयो। विद्रोहको अन्तिम अवस्थामा पुगेको यो आन्दोलन तुलनात्मक रूपमा कम हिंसात्मक बन्यो। रुसमा क्रान्तिपछि भने लाखौँ जनताले बलिदान गर्नुपर्‍यो।

१३.१६.२. सत्तामा पुगेपछि रुसले अरूको जमिनमा हस्तक्षेप नगर्ने, कुनै दण्ड जरिवाना नलगाउने र सबै पराधीन जातिलाई आत्मनिर्णयको अधिकार दिने नीति अख्तियार गर्यो। त्यसका विरुद्ध जर्मनले तुरुन्त रुसमाथि आक्रमण गर्‍यो। लेनिनले जारशाहीको शासनकालमा कब्जा गरिएका कैयौं भूभाग मित्र राष्ट्रहरुलाई फिर्ता गरिदिएका थिए, त्यसमध्ये चीन पनि एक थियो। चीनमा कम्युनिस्ट पार्टीका स्थापना हुनुमा यो पनि एउटा प्रेरणा थियो।

१३.१७. जर्मनसँग सम्झौता

१३.१७.१. गृहयुद्धबाट तहसनहस भएको समयमा जर्मनसँग युद्ध गर्नुभन्दा सम्झौता गर्न ठीक ठानेर लेनिनले सो प्रस्ताव अगाडि सार्नुभयो। त्यसको चौतर्फी विरोध मात्र भएन, स्वयं पार्टीमा पनि अल्पमतमा पर्नुभयो। वास्तविक सत्य त्यही थियो। किनकि, युद्धको कारण रसिया नै जर्मनको बन्न पुग्ने अवस्था थियो। पछि पार्टीले पनि सो कुरा महशुस गरी सम्झौताको पक्षमा उभियो। ट्राटस्की भने युद्ध जारी राख्नुपर्ने पक्षमा थिए, उनलाई जिनानोभ, कामानोभ लगायतका नेताहरुले साथ दिएका थिए। उनीहरुको ‘उग्रवामपन्थी’ अडानले अन्ततः जर्मनसँग सुरुमा सम्झौता गर्दा गुमाउनुपर्ने भन्दा बढी भूभाग गुमाएको थियो।

१३.१७.२. सन् १९१८ मार्च ३ मा ब्रेस्तालितोब्स्कमा सन्धि सम्पन्न भयो। त्यसमा रुसले ६ करोड ५० लाख जनसङ्ख्या र ५ लाख किलोमिटर क्षेत्रफल भएको भूभाग (फिनल्याण्ड, पोल्याण्ड, ल्यूथिनिया र युक्रेन) गुमाउनुपर्‍यो। तर, रुसले आफ्नो भूभाग फिर्ता ल्याएको थियो।

१४. अक्टोबर क्रान्तिको प्रभाव

१४.१. रुसी समाजवादी सरकार समाप्त पर्ने देशी विदेशी पूँजीवादी र बिस्तारवादीहरूबाट ठूलो आक्रमण भयो। रुसले आफूलाई संयमपूर्वक अगाडि बढायो। रुसी समाजवादको प्रभाव युरोपभरि पर्न पुग्यो। जर्मन, अस्ट्रिया, हंगेरी, इटाली लगायत तमाम युरोपियन देशमा मार्क्सवादी पार्टीहरूको व्यापक विकास भयो। सन् १९१८ मार्च ६ मा पार्टीले नाम परिवर्तन गरी रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) राख्यो।

१४.२. जर्मन–रुस शान्ति सम्झौताले ब्रिटेन, फ्रान्स, जापान, अमेरिका आदि देशहरूमा त्रास उत्पन्न भयो। साम्राज्यवादीहरुले समाप्त पार्न चाहेको सोभियत सत्ता यो सन्धिले टिकिराख्ने उनीहरूको ठहर भयो। सोभियत समाजवादी सत्ता अपदस्त गर्न सोभियत प्रतिक्रियावादीलाई हतियार सप्लाई गरेको भनी झुठो आरोप लगाए र हस्तक्षेप शुरु गरे। साम्राज्यवादी शक्तिहरु रुसलाई नाकाबन्दीसम्म लगाउन पुगे।

१४.३. यस्तो विषम परिस्थितिमा रुसी कम्युनिस्ट पार्टीले आम जनतालाई पितृभूमिको सुरक्षाका लागि लड्न आव्हान गर्‍यो। सरकारले सम्पूर्ण उद्योग कलकारखाना आफ्नो नियन्त्रणमा लियो, जसलाई युद्ध साम्यवाद भनियो।

१४.४. ब्रिटेन, फ्रान्स लगायतका साम्राज्यवादी शक्तिले रुसमा मात्र होइन, जर्मनमाथि पनि आक्रमण गरे। यस्तो अवस्थामा रुससँग जर्मनले गरेका सन्धिअनुसारका ठाउँ फिर्ता गर्न जर्मन बाध्य भयो। जर्मनले सबै शक्तिसँग सम्झौता गरी ठूलो जनधन क्षति व्यहोर्दै प्रथम विश्वयुद्ध अन्त भयो।

१४.५. अक्टोवर क्रान्तिको सफलतापछि सन् १९१८ मा जर्मन कम्युनिस्ट पार्टी, सन् १८२१ मा चिनियाँ कम्युनिस्ट पार्टी, सन् १८२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भयो। रुसी क्रान्ति र चीनको जनयुद्धको प्रेरणाले सन् १८४९ अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो।

१४.६. सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायदीपः को युद्ध, १९६५ देखि १९७३ सम्मको भियतनामको युद्ध जस्ता ठूला युद्धहरु अक्टोबर क्रान्ति कम्युनिस्ट आन्दोलनसँग जोडिएर भए।

१५. तेस्रो अन्तर्राष्ट्रिय

रुसी समाजवादी क्रान्तिको विजयपछि सन् १९१९ मार्च ४–८ मा गठन गरिएको तेस्रो अन्तर्राष्ट्रियलाई प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रिय पनि भनिन्छ। यसबारे संक्षेपमा चर्चा गरिएको छ।

१५.१. अन्तर्राष्ट्रियका आधारहरू

१५.१.१. दोस्रो अन्तर्राष्ट्रियका बहुमत पार्टीहरूले अन्तर्राष्ट्रिय सिद्धान्तमाथि गद्दारी गरेर साम्राज्यवादीहरूको सेवा गर्न पुगे। यसबाट साम्राज्यवादविरोधी राष्ट्र शक्तिहरू मजबुत बन्ने अवसर प्राप्त भयो। प्रथम विश्वयुद्धको सुरुको अवस्थाबाट नै कतिपय समाजवादी राष्ट्रहरूले साम्राजयवादीको युद्धमा साथ दिए र प्रतिक्रियावादीको गुलामी गर्न पुगे।

१५.१.२. रुसमा सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेभिक) ले आफ्नो नाम बदलेर कम्युनिस्ट पार्टीको नामबाट नयाँ कार्यक्रम अघि सारेपछि त्यसको प्रभाव अन्य देशहरूमा पनि पर्न गयो र सबै देशहरूमा कम्युनिस्ट  सङ्गठन निर्माण हुन पुगे। दोस्रो अन्तर्राष्ट्रिय बचाउन सुरुमा त लेनिनले प्रयत्न गर्नुभयो। तर, त्यो सम्भावना नदेखेपछि उहाँले नै विघटनको आवश्यकता भएको महसुस गर्नुभयो। त्यतिबेलासम्म विभिन्न देशहरूमा कम्युनिस्ट पार्टी गठन भइसकेकाले कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउन पूर्वाधार तयार हुन पुगेको थियो।

१५.२. तेस्रो अन्तर्राष्ट्रिय गठन

१५.२.१. दोस्रो अन्तर्राष्ट्रियका उपलब्धी समेट्दै सन् १९१९ मार्च ४–८ मा मस्कोमा नयाँ अन्तर्राष्ट्रिय स्थापनाका लागि सम्मेलन भयो। सम्मेलनमा विभिन्न देशका ११ वटा कम्युनिस्ट पार्टी, ५ वटा सोसलिस्ट पार्टी तथा मतदानका अधिकार नभएका भारत ब्रिटेन, चीन, चेकोस्लोभाकिया, फ्रान्स, हल्याण्ड, कोरिया, फ्रान्स, तुर्की, युगोस्लाभिया आदि देशबाट पर्यवेक्षकहरू उपस्थित थिए। सम्मेलनको आयोजना रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) ले गरेको थियो। सम्बन्धित देशका सरकारको नाकाबन्दीका कारण कतिपय देशका प्रतिनिधिहरू उपस्थित हुन सकेनन्।

१५.२.२. उक्त सम्मेलनमा लेनिनले साम्यवादको व्याख्या गर्नुको साथै पूँजीवाद जनवाद र सर्वहारा वर्गको अधिनायकत्व तथा सोभियत सत्ताबारे स्पष्ट पार्नुभयो। सम्मेलनले संसारभरि वर्गीय संघर्ष अगाडि बढाउन आव्हान गर्दै एउटा कार्य समिति गठनसहित घोषणापत्रसमेत पारित गर्‍यो।

१५.३. अन्तर्राष्ट्रियको महाधिवेशन

१५.३.१. सन् १९२० अगस्टमा तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशनले विधान पारित गर्‍यो। लेनिनले सुधारवादी नेतालाई पार्टीबाटै हटाउन सल्लाह दिनुभयो। जसअनुसार दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी, सामाजिक अन्धराष्ट्रवादी तथा निम्न पूँजीवादी दोषहरूलाई निकालेर फालिदियो र त्यसले सर्वहारा अधिनायकत्व लागू गर्न शुरू गर्‍यो।

१५.३.२. दोस्रो अन्तर्राष्ट्रियको त्यसका नेता सोर्रातीले त्यो कुरा स्वीकारेनन्। क्रान्ति गरिँदैन, बरु आफैँ हुन्छ भन्ने तुराकीहरुको मत बोकेका सुधारवादीहरू आन्दोलन चर्किंदै गएको बेला वर्गसमन्वय गरेर आन्दोलनलाई नै असफल पारिदिए पनि हरेक देशमा कम्युनिस्ट पार्टी खुल्ने क्रम तीव्र रह्यो। सन् १९२१ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको तेस्रो महाधिवेशनले ‘जनताबिच जाउ’ भन्ने नारा अघि सार्‍यो। महाधिवेशनले पहिलोपटक संयुक्त मोर्चाको नारा दियो। यसले कार्यनीतिक सङ्गठनको दस्तावेज पनि पारित गर्‍यो।

१५.३.३. सन् १९२२ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको चौंथो महाधिवेशनमा लेनिन आफू अस्वस्थ रहदारहँदै पनि ‘रुसी क्रान्तिको ५ वर्ष र विश्व क्रान्तिको सम्भावना’ नामका दुई दस्तावेज पेश गर्नुभयो। यो नै उहाँको मजदुर आन्दोलनसँगको अन्तिम भेट र सम्बोधन हुन पुग्यो। उक्त कार्यक्रमको छलफलसम्म पनि उहाँ सक्रिय भाग लिन सक्नुभएन। संयुक्त सम्मेलनको प्रयासस्वरूप १९२२ अप्रिलमा कम्युनिस्ट अन्तर्राष्ट्रिय र दोस्रो अन्तर्राष्ट्रियका नेताहरूबिचको यो सम्मेलनमा दुवै पक्षका नेताहरूको जमघट भएको थियो।

१५.३.४. कम्युनिस्ट प्रतिनिधि मण्डल (क्लारा जेट्किन, रैकडे, बुखारिन) ले निम्न प्रस्तावसहित पेश भएका थिए, (क) पूँजीवादी आक्रमणबाट रक्षा, (ख) प्रतिक्रियावाद विरुद्धको संघर्ष, (ग) नयाँ साम्राज्यवादी युगको विरुद्ध तयारी, (घ) रुसी सोभियत गणतन्त्रको पुनःनिर्माण र, (ङ) रुसी सोभियत गणतन्त्रको सहयोगसम्बन्धी।

१५.३.५. यसरी भियना युनियनको प्रतिनिधि मण्डलमा फ्रेडरिक अडलर, लांगिएह मार्तोभ) दोस्रो अन्तर्राष्ट्रियका नेता÷प्रतिनिधिहरू वाण्डरवेल, रैमजे मैकडोनालले उक्त प्रस्तावको विरोध गर्दै रुसलाई बोल्सेभिक साम्राज्यवादको संज्ञा दिए। छलफलका क्रममा विवाद धेरै चर्किंदै गए पनि अन्तिममा आएर बोल्सेभिक साम्राज्यवाद भन्ने भनाइलाई इन्कार गरे र सबै मिलेर संयुक्त मजदुर संघर्ष चलाउने साझा सहमतिमा पुगे।

१५.४. टाट्रस्कीपन्थीहरुको विरोध

१५.४.१. सहमतिबारे लेनिनलाई चित्त बुझेको थिएन। निर्णय भइसकेकोले कार्यान्वयन गर्नुपर्दछ भनी उहाँले जोड दिनुभयो। दोस्रो अन्तर्राष्ट्रियले व्यवहारमा संयुक्त संघर्ष गर्नुपर्दछ भन्ने निर्णय कार्यान्वयन गर्ने पक्षमा देखिएन। यसलाई असफल पारिदिएको कारण विश्व मजदुर आन्दोलनलाई ठूलो नोक्सान भयो।

१५.४.२. लेनिनले अघि सार्नुभएको नयाँ आर्थिक नीतिलाई (नेप) टाट्रस्कीपन्थीहरुले यो गलत नीति हो भनेर भ्रम फैल्याइरहेका र बोल्सेभिक नेताहरुलाई पतनउन्मुख भन्न थालेका थिए। तर, उनीहरूको कुरा कसैले पत्याएका थिएनन्।

१५.४.३. यसैबिच १९२४ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै स्टालिनले टाट्रस्कीपन्थीहरुको गलत नीतिको व्यापक भण्डाफोर गर्नुभयो।

१५.४.४. यस महाधिवेशनले स्टालिनको भनाइको समर्थन गर्दै टाट्रस्कीपन्थीहरुको विश्वस्तरबाटै विरोध गर्ने नीति तयार गर्‍यो।

१५.४.५. सन् १९२८ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको छैटौँ महाधिवेशन सम्पन्न भयो। ट्राटस्कीले उक्त महाधिवेशनमा आफू कम्युनिस्ट अन्तर्राष्ट्रियमा प्रवेश गर्ने आवेदन दिए पनि त्यसलाई स्वीकार गरिएन।

१५.५. अन्तर्राष्ट्रियको सातौँ महाधिवेशन

१५.५.१. सन् १९३५ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको सातौँ महाधिवेशन भयो। सो महाधिवेशनमा ६५ कम्युनिस्ट पार्टीका ५१० जना प्रतिनिधि उपस्थित थिए, यो अहिलेसम्मकै ठूलो महाधिवेशन थियो।

१५.५.२. यसले फासिज्म र युद्धको विरोध गर्ने नीति पारित गर्‍यो। त्यसविरुद्ध कसरी संघर्ष भन्ने स्पष्ट दिशा तय गर्‍यो। महाधिवेशनमा ज्यार्गी दामित्रोभले प्रतिवेदन पेस गर्नुभएको थियो।

१५.५.३. उक्त प्रतिवेदनमा उहाँले संसारभरिका सर्वहारा वर्ग र तिनीहरूका पार्टी र उत्पीडित राष्ट्रहरू एकजुट भएर फासिस्ट हमलाविरुद्ध संघर्ष गर्न आह्वान गर्नुभएको थियो।

१५.६. सातौँ महाधिवेशनको प्रभाव

फ्रान्समा कम्युनिष्ट पार्टी र सोस्लिस्ट पार्टीको संयुक्त सरकार बन्यो। पार्टी कम्युनिस्ट पार्टी सरकारबाट अलग भए पनि फासिज्मविरुद्धको मोर्चा भने कायमै रह्यो। स्पेनमा कम्युनिस्ट पार्टी, सोसलिस्ट पार्टी र अन्य तमाम सङ्गठन मिलेर संयुक्त जनमोर्चा निर्माण गरे। चीनमा साम्राज्यवादविरोधी राष्ट्रिय मोर्चा कायम भयो। ब्रिटेन, अमेरिका लगायत संसारका कैयौँ देशहरूमा कम्युनिस्ट पार्टीले अन्य पार्टीहरुसँग मिलेर मोर्चा निर्माण गरे।

१६. चिनियाँ जनवादी क्रान्ति

चीनमा सन् १९४९ मा सम्पन्न जनवादी क्रान्ति विश्वकै नयाँ मोडेलको क्रान्ति मानिन्छ। माओत्सेतुङको नेतृत्वमा सम्पन्न उक्त क्रान्तिबारे संक्षेपमा प्रकाश पारिएको छ।

१६.१. कुओमिन्ताङमा सहभागी

१६.१.१. सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीको स्थापना भयो। सो अवस्थासम्म पनि पार्टी वैचारिक र सङ्गठनात्मक दृष्टिले पार्टी अत्यन्तै अत्यन्त कमजोर थियो। सन् १९२३ मा डा. सन् यात्सेनले सोभियत संघसित मित्रता कायम गरे। १९२४ सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिकका विशेषज्ञहरूको सहयोगमा कुओमिन्ताङ (राष्ट्रिय जनता पार्टी) को पुनर्गठन भयो। कुओमिन्ताङमा कम्युनिस्ट पार्टीलाई पनि प्रवेश दिने नीति पारित गरियो भने चिनियाँ कम्युनिस्ट पार्टीको १९२३ को तेस्रो कांग्रेसले पार्टीका प्रत्येक सदस्यले कुओमिन्ताङ पार्टीको पनि सदस्यता लिएर काम गर्ने निर्णय गरी १९२४ को कुओमिन्ताङको पहिलो राष्ट्रिय कांग्रेसमा कम्युनिस्ट पार्टीलाई सामेल गरियो।

१६.१.२. देशको पुनःनिर्माणका लागि सन् यात्सेनले अपनाएका राष्ट्रियता, जनतन्त्र र सोभियत संघको सहयोग जस्ता तीन सिद्धान्त नै कम्युनिस्ट पार्टीको तात्कालिक कार्यक्रम थियो। कामको सिलसिलामा कम्युनिस्ट पार्टीका नेताहरू पनि कुओमिन्ताङको उच्च पदमा पुगे। माओत्सेतुङ कुओमिन्ताङ केन्द्रीय कमिटी उम्मेदवार सदस्य तथा आन्दोलन र प्रचार विभाग प्रमुख हुनुभयो। रुसी फौजी अफिसरहरूले कम्युनिस्ट पार्टी र कुओमिन्ताङलाई सैनिक तालिम दिन थाले। च्याङ्काइसेक निर्देशक र चाउएनलाई त्यसका सचिव थिए। १९२५ मा सन् यात्सेनको मृत्युले राष्ट्रिय पुनःनिर्माण कार्यमा निकै ठूलो धक्का लग्यो। क्रान्तिको तयारी कार्य भने जारी रह्यो।

१६.२. संयुक्त सेनाको उत्तरी अभियान

१६.२.१. कम्युनिस्ट पार्टी र कुओमिन्ताङको संयुक्त सेनाले सन् १९२६ मा ऐतिहासिक उत्तरी अभियान शुरु गरे। सन् १९२७ सम्ममा पेकिङ्का सामन्ती तानाशाहहरू समाप्त पार्ने काम भयो। चिनियाँ कम्युनिस्ट पार्टीको आव्हानमा देशभर ठूल–ठूला आम हड्ताल भए। सांघाई कब्जा गर्न चाउएनलाइलाई जिम्मा दिइयो। त्यहाँ ठूलो सफलता प्राप्त भएपछि वुहान सरकार गठन हुन पुग्यो।

१६.२.२. त्यतिखेर कुओमिन्ताङले गद्दारी गर्दै कम्युनिस्ट पार्टीलाई आफ्नो दलबाट हटाएको घोषणा गर्‍यो र, वुहान सहरमा अर्को छुट्टै समानान्तर आफ्नो नानकोङ् सरकार गठन गर्‍यो। कुओमिन्ताङको अध्यक्ष च्याङ्काइसेक भए। कुओमिन्ताङ दलाल, जमिनदार तथा नोकरशाही पुँजीपति वर्गसँग मिल्न पुग्यो। प्रगतिशील भूमिका निर्वाह गरेको कुओमिन्ताङ एकाएक अवसर पाउनासाथ प्रतिक्रियावादी बन्न पुग्यो। कुओमिन्ताङ पार्टीले साम्राज्यवादको चाकडी गर्ने र कम्युनिस्टविरुद्ध मोचाबन्दी गर्ने काम थाल्यो। पार्टी महासचिवको कार्यभार सम्हाल्दै अएका ‘छन्त्युस्यु’ले पनि निम्नपूँजीवादी चिन्तन प्रकट गर्दै कुओमिन्ताङको बाटो अपनाई चतुर वाकपटुताबाट पार्टी सदस्यहरूलाई समेत भड्काए।

१६.३. सशस्त्र विद्रोह शुरु

१६.३.१. सन् १९२७ अगस्त ७ तारिखमा चिनियाँ कम्युनिस्ट पार्टीको असाधारण बैठक बस्यो। बैठकले नयाँ महासचिवमा ची च्यू–पाइलाई निर्वाचित गर्‍यो। त्यतिखेर माओत्सेतुङलाई पार्टीले आन्दोलन सञ्चालन गर्न चाङ्सा (छाङ्सा) मा खटाएको थियो। हुवान प्रान्तीय कमिटीसमेत परिचालन गरेर माओले सेप्टेम्बर १९२७ मा मजदुर र किसान सेनाको प्राथमिक युनिट गठन गर्नुभयो। त्यसबाहेक हुवान कमिटीलाई परिचलन गरी उसैको स्वीकृतिमा अन्य दुई शैन्य दल गठन गरी विभिन्न स्थानमा सशस्त्र विद्रोह शुरु गर्नुभयो। त्यस विद्रोहलाई शरद फसल विद्रोह भन्ने गरिन्छ। उक्त विद्रोहमा निकै क्षति भएको थियो।

१६.३.२. त्यो विद्रोह सेना गठन पार्टी केन्द्रीय कमिटीको निर्णयमा भएको थिएन। पार्टी निर्माणमा अलग्गै किसिमले काम गरेको भनी पार्टीले उहाँलाई जिम्मेवारीबाट हटायो। आफ्ना सहयोगी साथी लिएर माओले चिङकाङसान पर्वतीय क्षेत्रमा पार्टी काममा जुट्नुभयो। चिङकाङसान क्षेत्रमा माओले गठन गरेको सेनाले प्रतिक्रियावादी सेनालाई पटकपटक हराएर बलियो आधार क्षेत्र बनाएका थिए। मई १९२८ मा चुतेहले आफ्नो सेना लिएर चिङकाङसाङ आइपुगे। माओ र चुतेहको नेतृत्वमा ६ जिल्ला भएको अञ्चल आधार कायम गरेर कार्य सञ्चालन भयो। सन् १९२८ को कम्युनिस्ट अन्तर्राष्ट्रियले उनको कामको समर्थन गर्‍यो। त्यसपछि पार्टी काम अझ तीब्रताका साथ अगाडि बढ्न पुग्यो।

१६.३.३. १९२८ को सम्मेलनपछि किसानहरूको मन जितेर समर्थन प्राप्त गर्न निकै प्रयास गरे। त्यतिखेर लालसेनाका लागि तीनवटा साधारण नियम पालना गर्न अनिवार्य बनाएको थियो, जसमा १. आफ्ना सबै कामका गतिविधिमा आदेशको कडाइसाथ पालना गर्नु  २. किसान र मजदुरका कुनै पनि वस्तु उनीहरूको इच्छाविरूद्ध नलिनु ३. जमिन्दारबाट जफत गरिएका सबै सामान आफ्नो सरकारमा जम्मा गर्नु। त्यसबेला एकातर्फ लालसेनाले अनुशासनहिन काम गरेको भनी कम्युनिस्ट पार्टीलाई बदनाम र लालसेनामाथि आरोप थियो। त्यसैले अनुशासनका ८ नियम पनि कडाइका साथ लागू गरियो।

१६.४. सहर कब्जा गर्ने नीति

सन् १९२९ मा ची च्यु–पाइलाई महासचिवबाट हटाएर उनको स्थानमा लिलिसान महासचिव भए। १९२९ देखि १९३१ सम्म पार्टीमा उनको बोलवाला चल्यो। उनले लालसेनालाई बलियो बनाएर पहिला सहर कब्जा गर्ने नीति पारित गरे। त्यसमा गाउँले छापामारहरूको हतियार पनि लालसेनालाई उपलब्ध गराउने निर्णय गराए। माओ यस निर्णयमा सहमत थिएनन्। आफ्नो जिम्मेवारी भने कुशलतापूर्वक निभाएका थिए। सन् १९३० मा चाङ्पा र नानचाङ् कब्जा गर्ने योजना बनाए। ठूलो नोक्सानी सहेर असफलता मात्र हात लाग्यो। लिलिसानको लाइन व्यवहारबाटै गलत प्रमाणित भयो, १९३१ मा उनलाई पार्टी महासचिव र पोलिट्व्यूरोबाट हटाइयो।

१६.५. लङ्मार्च (लम्बे अभियान)

१६.५.१. क्याङ्सी (कान्सु) प्रान्तमा कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आघार इलाका कायम गरेको थियो। प्रतिक्रियावादी सेनाले क्याङ्सी प्रान्तलाई घेराउमा पारेर कम्युनिस्ट सखाप पार्ने योजना बनाएको थियो। प्रतिक्रियावादी सेनाको तुलनामा लालसेनाको शक्ति कमजोर भएकाले ९० हजार जति सेना लिएर १६ अक्टोबर १९३४ का दिन माओत्सेतुङ उत्तर रुसको सीमानातिर लाग्नुभयो।

१६.५.२. एक वर्षमा ८ हजार माइल दूरी पार गरी १९३५ २० अक्टोबरका दिन बचेका ३० हजार लाल सेनासहित उत्तरी सेन्सी प्रान्त नजिक पुगेर माओले आफ्नो एक वर्षे यात्रा पूरा गरे। अब कम्युनिस्ट पार्टीले सेन्सी प्रान्तलाई आफ्नो आधार इलाका बनाई काम गर्न शुरू गरेपछि पार्टी तीब्र रूपले विकास हुन पुग्यो।

१६.५.३. लङ मार्चकै क्रममा १९३५ जनवरीमा चुनइमा पार्टीको राजनीतिक ब्युरोको विस्तारित बैठक बस्यो। बैठकले माओलाई पार्टीको महासचिवमा निर्वाचित गर्‍यो। त्यसले पार्टीभित्र भएका कमजोरीहरूको आलोचना आत्मालोचना पद्धतिबाट सच्यायो, माओलाई पार्टीको अगुवा नेता छान्यो, पार्टीका आन्तरिक तथा बाह्य समस्या समाधान गर्दै अगाडि बढेको लालसेनाको अभियानबाटै माओले पार्टीमा जापानी साम्राज्यवादी पञ्जाबाट देशलाई मुक्त गर्ने कुरा प्रधान भएको विचार राख्नुभयो। त्यसको लगत्तै रेडियोबाट ‘घरेलु युद्ध बन्द गर, जापानको विरुद्ध लड्न तयार होऊ’ भन्ने वक्तव्य जारी गर्नुभयो।

१६.६. क्रान्तिबारे माओका विचार

माओले चीनको स्थिति र चिनियाँ क्रान्तिबारे स्पष्ट पार्दै भन्नुभयो, ‘‘चीन एउटा अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुक भएकाले यहाँ गरिने क्रान्ति सामन्तवाद र साम्राज्यवादविरोधी नयाँखाले जनवादी क्रान्ति हो। यो क्रान्ति न १९१७ को रुसमा भएको अक्टोबर क्रान्ति (सर्वहारा समाजवादी क्रान्ति) जस्तो हुन्छ, न पूर्वी युरोपमा सम्पन्न भएको पूँजीवादी जनवादी क्रान्ति जस्तो हुन्छ। हरेक देशको आफ्नै विशिष्टता हुने भएको हुनाले क्रान्तिको चरित्र पनि त्यही विशिष्टताअनुरूप भिन्ने किसिमले हुन्छ भन्नुभयो। यसले चिनियाँ पार्टी र चिनियाँ जनतालाई मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनलाई पनि स्पष्ट मार्गदर्शन गर्‍यो।

१६.७. च्याङकाइसेक सेनाबाट विद्रोह

१६.७.१. च्याङकाइसेक पहिला कम्युनिस्ट खतम पार्ने त्यसपछि जापानी सेनासँग लड्ने नीतिमा थियो। उसको यो नीति स्वयं उसका सेनालाई पनि मन परेको थिएन। सन् १९३७ सेप्टेम्बरमा च्याङकाइसेक आफ्ना सेनासहित सियान् पुगेको थियो। राति एउटा महलमा सुतिरहेका बेला उसकै ३०० जति सेनाले बन्दी बनाएर राखे। च्याङकाइसेकबाट विद्रोह गरेका सेनासँग चाउएनलाइले वार्ता गर्नुभयो। वार्तामा जापानसँगको संयुक्त मोर्चामा विभिन्न नीति पारित भए।

१६.७.२. सम्झौताअनुसार लालसेनाले तत्काल जमिनदारको जमीन कब्जा गर्ने नीति छाड्यो भने उनीहरुले पनि कम्युनिस्टउपर आक्रमणको नीति छाडे। कैयौँ बन्दीहरू छाडिए। जापानविरोधी ठूल–ठूला आमसभाहरू हुन थाले। केही समयपछि माओले बन्दी च्याङकाइसेकसँग कुरा गर्न ‘चाउएनलाइ’लाई पठाउनुभयो। वार्तापछि च्याङकाइसेक जापानविरोधी मोर्चामा सहभागी हुने भए। जापान विरुद्ध सङ्घर्षले निर्णायक मोड लिन पुग्यो।

१६.७.३. मार्च १९४३ मा माओत्सेतुङ पार्टी केन्द्रीय समिति राजनीतिक ब्यूरोको अध्यक्ष चुनिएपछि सिद्धान्तलाई ब्यवहारका साथ जोड्ने, जनतासँग घनिस्ट सम्बन्ध कायम राख्ने तथा आत्मालोचना र आलोचनालाई नियमित बनाउने तीन महत्वपूर्ण कायशैली अपनाउनेबारे व्याख्या गरे।

१६.८. संयुक्त मोर्चा विघटन

१६.८.१. पार्टीभित्र संयुक्त मोर्चाको विरोध गर्ने उग्रवाम विचार बोकेका नेता वाङमिङले दक्षिणपन्थी नीति अपनाई जापानसँग लड्ने नेतृत्वको जिम्मा कुओमिङ्ताङलाई दिनुपर्दछ भन्ने प्रस्ताव ल्याए। उनको विचार पारित भएन, र पार्टीमा गुटबन्दी गर्न थाल्नुभयो। पार्टीभित्र केही समय अन्यौलता छाए पनि पछि पार्टीले बुद्धिमत्तापूर्ण समाधान बाटो लियो।

१६.८.२. जापानविरोधी मोर्चामा होमिएको च्याङकाइसेकको सेनाले कतिपय स्थानमा हार खाँदै थियो। आखिर च्याङकाइसेकले जापानी मोर्चाविरुद्ध आत्मसमर्पण गरी कम्युनिस्टविरुद्ध लाग्ने प्रतिवद्धता गर्‍यो। यसरी संयुक्त मोर्चाको अस्तित्व समाप्त भयो। यसै समय जर्मनको हिटलर सेनाले सोभियत संघमाथि आक्रमण गरेको थियो। दोस्रो विश्वयुद्ध चुलिँदै थियो। जापान कमजोर बन्न सक्ने अवस्थाबारे माओ सचेत हुनुहुन्थ्यो। देशभित्र भने समाजका आफूलाई बुद्धिजीवी भन्ने र मान्ने समाजवादीहरू पनि पार्टीका नीतिविरूद्ध बोल्न थालेका थिए। यसरी पार्टीभित्र र बाहिर देखा परेको समस्याका कारण तत्काल निर्णय लिन आवश्यक देखियो।

१६.९. समस्याबारे माओत्सेतुङ

१६.९.१. कमरेड माओ भन्नुहुन्थ्यो – मार्क्सवाद, लेनिनवाद, मार्क्स, एंगेल्स, लेनिन र स्टालिनले वास्तविक तथ्यको आधारमा निर्माण गर्नुभएको सिद्धान्त हो। त्यो ऐतिहासिक र क्रान्तिकारी अनुभवको आधारमा निकालिएको साधारण निष्कर्षको रूपमा छ, हामीले यो सिद्धान्तलाई केवल पढ्यौं मात्र, ऐतिहासिक तथा क्रान्तिकारी वास्तविकताको सम्बन्धमा अनुसन्धानको आधार बनाएनौँ, चीनको वास्तविक आवश्यकताअनुरूप यस्तो सिद्धान्त निर्माण गरेनौँ, जो हाम्रो निजी र खास स्वाभावको छ। यस्तो अवस्थामा हामीले आफू मार्क्सवादी सिद्धान्तकार हो भन्नु गैरजिम्मेवारी कुरा हुन्छ।

१६.९.२. जापानपछि च्याङकाइसेकले अमेरिकासँग पनि मैत्रीपूर्ण सम्बन्ध कायम राख्यो। दोस्रो विश्वयुद्ध चलिरहेको बेला अमेरिकाले जापानबाट आफूलाई ठूलो खतरा भएकोले ऊ कम्युनिस्टसँग मिलेर भए पनि जापानविरुद्ध लाग्न रुजवेल्टले सल्लाह दिए। यो कुरा कम्युनिस्ट पार्टीले स्वीकारे पनि च्याङकाइसेकले स्वीकारेन। पुनः संयुक्त सरकार बन्ने कुरा असफल भयो।

१६.१०. पार्टीको सातौं महाधिवेशन

१६.१०.१. चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशन १९४५ अप्रील २४ मा भयो। त्यस बेलासम्म पार्टीसँग ९ लाख जनसेना १२ लाख १० हजार पार्टी सदस्य भए पनि जापानसँग लड्न सक्ने तागत थिएन। महाधिवेशनमा माओले पार्टी कार्यक्रमलाई आम र ठोस भनी वर्गीकरण गर्नुभयो। माओले प्रस्तुत गर्नुभएको विचारलाई चिनियाँ कम्युनिस्ट पार्टीको विचारधाराको रूपमा माओविचारका रुपमा संश्लेषण गर्‍यो।

१६.१०.२. पार्टी सङ्गठन उतारचढावबिच अगाडि बढ्दै जाँदा धेरै शक्तिशाली र विशाल बनिसकेको अवस्था थियो। सन् १९४९ अप्रिल २८ मा सांघाई कब्जा हुन पुग्यो। त्यसपछि क्रान्ति थप बिस्तारित भयो। प्रतिक्रियावादीहरुले ठूलो क्षति पुर्‍याए पनि उनीहरूको पनि ठूलै क्षति हुन पुग्यो र अन्ततः अक्टोबर १ तारिख १९४९ मा माओले केन्द्रीय सत्ता कब्जा गरी सरकार गठन गर्नुभयो।

१६.११. कम्युनिस्ट सरकार र समाजवाद

१६.११.१. जनवादी सुधारका कार्यक्रम – सरकार गठनपछि देशलाई आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा उन्नत बनाउँदै चिनियाँ जनताको एक मात्र पार्टीको कम्युनिस्ट पार्टी रहन पुग्यो। लोक गणराज्य स्थापना भएको पहिलो तीन वर्षमा चिनियाँ कम्युनिस्ट पाटीको केन्द्रीय जनसरकारले माओत्सेतुङको नेतृत्वमा राष्ट्रव्यापी भूमिसुधार र अन्य महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक लागू गर्‍यो।

१६.११.२. चीनमा समाजवादको प्रयोग – जनवादी क्रान्ति भएको सात वर्षपछि चीनमा समाजवादी अभ्यास शुरु गरियो। आर्थिक क्षेत्रमा काम गर्ने उच्च अधिकारीहरूलाई आर्थिक सिद्धान्त, आर्थिक नीति र आर्थिक स्थितिमाथि अध्ययन र ध्यानकेन्द्रित गर्न आह्वान गरेअनुसार काम अगाडि बढ्यो।

१६.११.३. सन् १९५४ को सेप्टेम्बर महिनामा आयोजित पहिलो राष्ट्रिय जनप्रतिनिधि सभाले चिनियाँ लोक गणराज्यको संविधान स्वीकार गरेर माओत्सेतुङलाई प्रथम अध्यक्ष चुन्यो। यो पदमा माओत्सेतुङ १९५९ सम्म रहे। डिसेम्बर १९४९ मा चाउएनलाई र अन्य सहयोगीहरूसहित माओत्सेतुङले रूसको भ्रमण गराउनुभयो। भ्रमणका क्रममा स्टालिनका साथ चीन–सोभियत मैत्री र पारस्परिक सहयोगको सम्झौतामा हस्ताक्षर गरेर फेब्रुवरी १९५० मा स्वदेश फर्किए।

१६.११.४. सन् १९५४ देखि देशमा निजी स्वामित्वलाई सामूहिकीकरण र औद्योगीकरणतिर लग्ने सङ्क्रमणकालीन कार्यदिशा केन्द्रीय कमिटीले पारित गरेको थियो। त्यो समाजवादी रूपान्तरणको कार्यदिशा थियो।

१६.११.५. विश्वको अर्थराजनीतिक इतिहास तथा समाजवाद प्रयोगको हिसाबले यो अभ्यास अर्को महत्वपूर्ण रहन गयो। यसलाई चीनको विकास प्रक्रियाको हिसाबले प्रारम्भिक समाजवाद र देशीय विशेषताका आधारमा चिनियाँ प्रकृतिको समाजवाद भन्न रुचाउँछन्। समाजवादलाई प्रवर्धन गर्न बजार संयन्त्रलाई पद्धतिगत रूपमा प्रयोग गरिएकोले यसलाई ‘बजार समाजवाद’ पनि भन्ने गरिएको पाइन्छ।

१७. रुस–चीन महाविवाद

सन् १९५७ मा मस्कोमा भएको विभिन्न देशका कम्युनिस्ट पार्टी र मजदुर पार्टीका प्रतिनिधिहरूको सम्मेलन भयो। सम्मेलनमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीद्वारा शान्तिपूर्ण सङ्क्रमणको संसदीय बाटो नामक राजनीतिक घोषणापत्र पेस भयो। घोषणापत्रमा मात्र शान्तिपूर्ण सम्भावनाको सवालबारे व्याख्या गरिएको थियो। तर सशस्त्र क्रान्तिबारे कुनै उल्लेख थिएन।

त्यही विषयलाई लिएर चिनियाँ प्रतिनिधिमण्डलले शान्तिपूर्ण सङ्क्रमणको सवालबारेमा आफ्नो पार्टीको भिन्न दृष्टिकोण प्रस्तुत गर्‍यो। चिनियाँ कम्युनिस्ट पार्टीको जिकिर थियो कि, ‘‘शान्तिपूर्ण सङ्क्रमणको दृष्टिकोण कार्यनीतिक रूपले ठीक हुन सक्छ। तर, शान्तिपूर्ण सङ्क्रमणको सवाललाई आवश्यकताभन्दा बढी जोड दिनु गलत हुन्छ। प्रतिक्रान्तिकारी प्रहारको प्रतिक्रान्ति गर्न पार्टी हरदम तयार रहनुपर्दछ। क्रान्तिको अन्तिम अवस्थामा मजदुर वर्गले राज्यसत्ता कायम गर्न लागेको बेला पूँजीपति वर्गले जनक्रान्तिलाई दबाउनका लागि सशस्त्र शक्ति अवश्य लगाउँछ। त्यस बेला सशस्त्र मुकाबिला गर्न पार्टी तयार रहनैपर्दछ।’’

संसदीय सङ्घर्षको सवालमा पनि आफ्नो दृष्टिकोण राख्दै चिनियाँ कम्युनिष्ट पार्टीले– ‘सङ्घर्षको संसदीय रूपको पूर्ण उपयोग गर्नुपर्दछ। तर, त्यसको भूमिका सीमित छ। सबैभन्दा महत्वपूर्ण सवाल भनेको क्रान्तिकारी शक्ति सञ्चय गर्दै कठिन कार्यमा लाग्नु हो। शान्तिपूर्ण सङ्क्रमणको अर्थ केवल संसदीय बहुमतद्वारा मात्र सङ्क्रमण हो भन्ने अर्थ लगाउनु हुँदैन। मुख्य प्रश्न राज्यसत्ता हो, अर्थात् पूरानो राज्यतन्त्रलाई नष्ट गरेर नयाँ राज्यतन्त्रको स्थापना गर्नु हो।’

यसबारे सम्मेलनमा व्यापक बहस विवाद भयो। साझा सहमतिको घोषणा तयार भयो। सो पत्रमा कतिपय देशमा संसद् बाहिर जनसङ्घर्ष चलाउँदै जाने र सकेसम्म संसद्मा बहुमत ल्याएर श्रमजीवी जनताको हितका लागि त्यसलाई एउटा उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुराको साथै कहीँ हिंसात्मक तरिका पनि अपनाउनुपर्नेबारे उल्लेख गरिएको थियो। यी दुवैलाई अनिवार्य र सार्वभौम नियम भने मानिएको थिएन। यसरी कतिपय कुरामा आपसी समझदारी कायम गरी साझा निष्कर्ष निकालियो।

सन् १९६० मा मस्कोमा ८१ विभिन्न देशका कम्युनिस्ट र मजदुर पार्टीका प्रतिनिधिहरूको सम्मेलनमा पनि रुसले आफ्नो पहिलेकै धारण अघि सार्‍यो। चिनियाँ पक्षले १९५७ को साझा सहमतिको सवाललाई जोड दियो। अन्तिममा सोहीअनुरूप शान्तिपूर्ण र हिंसात्मक दुवै रूपहरू प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्षका साथ सम्मेलन टुङ्गियो।

१८. क्युवाको क्रान्ति

१८.१. जनताको जनवादी गणतन्त्र कायम – बाटिस्टा सरकारको आततायी र क्रुर शासनविरूद्ध चलिरहेको आन्दोलनलाई व्यवस्थित गर्दै सन् १९५३ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा सशस्त्र संघर्ष शुरु भयो। दिन प्रतिदिन संघर्ष विविध क्षेत्रमा फैलिँदै गयो। सशक्त संघर्ष दवाउन भनी अमेरिकी साम्राज्यवादपरस्त क्युवाको बाटिष्टा सरकारले पक्राउ परेका क्रान्तिकारीका लासहरू टुक्राटुक्रा पारी सडकपेटी तथा समुद्र किनारमा फाल्ने हदसम्म पुगेर दमन गर्‍यो। क्रान्तिकारीहरूको छापामार संघर्ष र न्यायपूर्ण जनताले विभिन्न स्थानमा सभा, जुलुस प्रदर्शन हडताल तीब्र बनाउँदै लगे। दमन गर्न बाटिस्टा सरकार असफल भयो र भाग्न विवश भयो।

१८.२. सन् १९५९ जनवरी १ मा फिडेल क्यास्ट्रो र चे–ग्वेभाराको नेतृत्वमा अमेरिकी कठपुतली सरकार बाटिस्टालाई पराजित गरी त्यहाँ जनताको जनवादी गणतन्त्र कायम भयो। सन् १९६१ मा क्यास्ट्रो क्युवाली कम्युनिस्ट पार्टीका प्रथम महासचिव। क्युवामा जनवादी सरकार कायम भएपछि अमेरिकाले अनेकौँपटक त्यहाँ आक्रमण गर्‍यो। तर, सफल हुन सकेन। क्युवा समाजवादको बाटोतर्फ अग्रसर हुँदै गयो। १९६१ मा क्यास्ट्रो कम्युनिस्ट पार्टीको महासचिव बने। उनले त्यहाँका राष्ट्रवादी त्यहाँ तीन वटा पार्टी मिलाएर मार्क्सवादी लेनिनवादी दृष्टिकोणका आधारमा सरकार चलाउन थाले। उनले पहिला अमेरिकी तत्कालिन निक्सन सरकारसँग सम्बन्ध सुधार गर्ने प्रयास गरे।

१८.३. अमेरिकी हस्तक्षेप असफल – अमेरिकाले क्युवाको ‘वे अफ पिक्स’मा आक्रमण गर्‍यो। अमेरिकी हस्तक्षेपलाई असफल पारिदिएपछि बारम्बार क्यास्ट्रोलाई अपदस्त गर्न, मार्न कारमा बम विस्फोट गराउने, सुटर प्रयोग गर्ने जस्ता कैयौं प्रयास गर्‍यो। क्यास्ट्रोले पनि सोभियत मिसाइल राख्न दिए। यसको असर विश्व राजनीति ध्रुवीकरणतिर गयो। शीतयुद्ध अझ गहिरिन पुग्यो। आज पनि क्युवामा वामपन्थी सरकार नै छ।

१९. भारतीय कम्युनिस्ट आन्दोलन

१९.१. भारतीय कम्युनिस्ट पार्टी गठन सन् १९२५ डिसेम्वर २६ कानपुरमा भएको थियो। तर, यसले भारतीय जनतालाई खास प्रभावित तुल्याउन सकेन। खासगरी भारत बेलायतको उपनिवेशमा थियो। कम्युनिस्ट पार्टीले राष्ट्रिय आन्दोलनको नेतृत्व गर्न सकेन। बरू महात्मा गान्धी, डा. राजेन्द्र प्रसाद र पछि जबहरलाल नेहरू लगायतका नेताले राष्ट्रिय आन्दोलनको नेतृत्व गर्न पुगे। चीनमा माओले जापानीहरूसँग र स्थानीय सामन्तहरूसँग जसरी क्रान्ति छेड्नुभएको थियो, त्योभन्दा अनुकूल अवस्था थियो, भारतीय कम्युनिस्ट पार्टीलाई। राष्ट्रियताको आन्दोलनमा प्रभावकारी भूमिका खेल्न नसकेको कारण भारतीय कम्युनिस्ट पार्टी जनताबिच त्यति लोकप्रिय हुन सकेन।

१९.२. भारतीय कम्युनिस्ट पार्टीमा विभाजनको श्रृङ्खला चलिरह्यो। भाकपा मार्क्सवादी हुँदै नक्साल आन्दोलनसम्म विभिन्न रूपमा विभाजितसमेत हुनले पछि पश्चिम बंगालको अनुकूल राजनीतिबाट समेत हटिरहेको अवस्था छ।

१९.३. नक्सालवादी आन्दोलनको पृष्ठभूमि – प्रभाव र सक्रियता फैलिँदै गएकाले भारतीय कम्युनिस्ट पार्टीलाई १९३४ मा ब्रिटिस सरकारले प्रतिबन्ध लगायो। कांग्रेसका युवा नेताहरू भने समाजवादप्रति आकर्षित भइरहेको अवस्थालाई कम गर्न सन् १९३४ मा जयनारायणको नेतृत्वमा समाजवादी कांग्रेस पार्टी स्थापना गरियो। सन् १९३५ मा कम्युनिस्ट र कांग्रेस ट्रेड युनियन मिलेर बनाएको साम्राज्यवादविरोधी मोर्चाका कारण भारतमा समाजवादको अपूर्व माहोल सिर्जना हुन पुग्यो।

१९.४. सन् १९४० मा भाकपाले भारतमा साम्राज्यवादी शासनलाई खतम गरेर जनवादी गणतन्त्रको स्थापना गर्ने आव्हान गर्‍यो। विद्रोह सबैतिर पुग्दा १२ अगस्ट १९४६ मा ब्रिटिस सरकारले जबहरूलाल नेहरुलाई अन्तरिम सरकार बनाउन आह्वान गर्‍यो। भारतमा ब्रिटिस सरकारले १९४७ मा पाकिस्तान छुट्याउने निर्णयको विरोध गर्दै आन्ध्रप्रदेशको तिलंगनाबाट सशस्त्र किसान विद्रोह शुरू गरियो। १९४८ मा भाकपाप्रति ब्रिटिस सरकारले प्रतिबन्ध लगायो। भूमिगत रूपमा काम गर्न थाल्यो।

१९.५. क्रान्तिबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै जाने कि क्रान्ति जारी राख्ने भन्नेबिच भाकपामा मार्क्सवादी पार्टी माले हुँदै विभाजन र विद्रोहको बिचबाट आन्दोलन निरन्तरताको रूपमा नक्सालवादी आन्दोलनले संस्थागत अवस्था ग्रहण गर्न पुग्यो।

१९.६. नक्सालवादी आन्दोलन – नक्सालवादी आन्दोलन नयाँ जनवादी क्रान्तिद्वारा प्रेरित चरु मजुमदारले नेतृत्व गर्नुभएको कम्युनिस्ट आन्दोलन थियो। खासगरी किसानहरूको बाहुल्यता रहेको यो आन्दालनले सामन्तहरूको जमीन कब्जा गरी गरिब र सुकुम्वासी किसानहरुलाई बितरण गरिएको थियो। सङ्घर्षले मुख्यगरी उडिसा, पञ्जाब, उत्तरप्रदेश र केरलाका (किसानका आवादी क्षेत्र) प्रदेशका केही इलाकाहरूमा फैलियो र आफ्नो प्रभाव जमायो। चरम शोषणमा परेका किसानहरूमाझ लोकप्रिय रहन पुग्यो। आन्दोलनको प्रभाव भारतभरि पर्‍यो। भारतीय पूँजीवाद र प्रतिक्रियावादीको मुटु धड्किने अवस्था बन्यो।

१९.७. आन्दोलनको वैचारिक पक्ष

नक्सालवादी आन्दोलन सन् १९५६ को रुस–चीन विवादमा चिनियाँ धुरीमा रहेका कम्युनिस्टले नेतृत्व गरेको आन्दोलन थियो। यस आन्दोलनको निष्कर्ष थियो – भाकपा मार्क्सवादी संशोधनवादी पार्टी हो। यसका विरुद्ध वैचारिक प्रतिरोध गर्नुपर्दछ। भारतले चीनको कार्यदिशा अङ्गाल्नुपर्दछ, चीनले हाल अख्तियार गरेको बाटो सही छ, त्यो बाटोबाट मात्र भारतीय जनताको मुक्ति सम्भव छ भन्यो। चारु मजुरदारले चीनको अध्यक्ष हाम्रा पनि अध्यक्ष हुन्, मार्क्सवाद, लेनिनवाद र माओविचारधाराको आलोकमा दीर्घकालीन जनयुद्धको मान्यता अगाडि सारेका थिए। यसमा चिनियाँ पार्टीका नेताहरूको पनि सरसल्लाह थियो। पछि चीनले चिठी नै लेखेर कुनै देशमा हुने क्रान्ति त्यही देशको आफ्नै अनुभवको सार हो। संशोधनवादको विरोधमा भएको लडाइँमा हामीले विचारको आदानप्रदान गर्नुपर्दछ। तर, हस्तक्षेप गर्न मिल्दैन। गरे विराम हुन्छ भनेको थियो।

१९.८. आन्दोलनका कमजोरी र शिक्षा

१९.८.१. नक्सालवादी आन्दोलनले विचारधारात्मक तयारी र कामको महत्वलाई जति गम्भीरतापूर्वक लिनुपर्दथ्यो, त्यसरी लिन सकेन।

१९.८.२. जनतालाई क्रान्तिको आवश्यकता र क्रान्तिकारी सङ्घर्षको महत्व वैचारिक रूपमा बुझाउन सकेन। चेतना नजागी गरेका कामले समस्या पर्दा आशा गरेअनुरूप परिणाम दिन सक्दैन भन्ने शिक्षा दिएको छ।

१९.८.३. भाकपा (माले) लाई संशोधनवादी पार्टीको रूपमा विश्लेषण गरेको नक्सालवादी आन्दोलनभित्र दीर्घकालीन जनयुद्ध कि सशस्त्र संघर्ष भन्ने प्रश्न पेचिलो बन्दै गयो। अन्तर्जनवादलाई सही ढंगले परिचालन गर्न सकेन।

१९.८.४. चिनियाँ कम्युनिस्ट पार्टीले मजुमदारलाई क्रान्तिलाई निर्यात नगर्न र आफ्नै देशको विशेषतामा टेकेर क्रान्तिलाई अगाडि बढाउन सुझाव दिएको थियो। क्रान्ति रहर र लहडबाट सम्भव छैन, यो त आवश्यकताको उपज हो। क्रान्ति आवश्यक छ भनी पीडितको मनभित्रबाटै पैदा हुनपर्छ।

१९.८.५. स्पष्ट नीति तय गर्न नसक्दा र पार्टीभित्र दीर्घकालीन कि अल्पकालिक संघर्ष गर्ने भन्ने दुई पक्षको विवादका कारण सन् १९६९ को देखि नै नक्सालवादी आन्दोलनको उर्भरता कमजोर हुँदै गयो।

२०. चीनको साँस्कृतिक क्रान्ति

२०.१. चीनको कम्युनिस्ट पार्टीले शुरू गर्न लागेको समाजवादी कार्यक्रम असफल पार्न र पार्टीलाई सुधारवादी धारमा लैजान पार्टीभित्र र बाहिरका प्रतिक्रियावादीहरूबाट षड्यन्त्र हुन थालेपछि साथै वैचारिक, सामाजिक एवं सांस्कृतिक रूपमा पनि संशोधनवाद हावी हुने अवस्थालाई यसै छोडिदिने हो भने चिनियाँ जनताले लडेर ल्याएको समाजवाद त्यसै सेलाउने ठानेर माओ एउटा कठोर निर्णयमा पुग्नुभयो र साँस्कृतिक क्रान्ति हुन पुग्यो।

२०.२. चिनियाँ समाजवादी क्रान्ति चीनका लागि आफैंमा नौलो थियो। हजारौँ वर्षदेखिको परम्परागत सामन्तवाद र पूँजीवादविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीले शुरु गरेको महाअभियान अनुभवका हिसाबले नयाँ र नौलो नै थियो। यसका कतिपय पक्ष र सन्दर्भलाई हेर्दा यो सैद्धान्तिक राजनीतिक अन्यौलतामा भड्किएको जस्तो पनि लाग्दथ्यो। यसले अन्तर्जनवादको राम्रो अभ्यास नसकेको अनुभूति हुन्थ्यो।

२०.३. चिनियाँ जनताको आर्थिक र चेतनाका हिसाबले कमजोर अवस्था र पुरातन सोचाई बलियो रहेको परिवेशमा पाटीभित्रैबाट बारम्बार कम्युनिस्टविरोधी सुधारवादीहरू पैदा भइरहेकाले पनि माओले आन्तरिक सुधार गरी बाहिरी समाजवादी आन्दोलनलाई मजबुत तुल्याउन नसकिने ठहर निकाल्नुभयो। सोहीअनुरूप चिनियाँ कम्युनिस्ट पार्टीको चिनियाँ जनताप्रतिको महान अभिभार पूरा गर्न सबैभन्दा पहिले पार्टीभित्रै छद्मभेषीको रूपमा रहेको तत्व फाल्न र सामाजिक सांस्कृतिक पक्षमा देखिएका नकारात्मक पक्षविरुद्ध संघर्ष गर्न उपयुक्त ठानी सांस्कृतिक क्रान्ति शुरु भयो।

२०.४. माओले सञ्चालन गर्नुभएको सांस्कृतिक क्रान्तिको ध्येय आन्तरिक र बाह्य दृष्टिकोण एवं विचारधाराको समस्या समाधान गर्नु थियो। स्टालिनको मृत्युपश्चात् ख्रुश्चोभले सोभियत रुसलाई पूँजीवादी धारतर्फ मोडेको र अन्तर्राष्ट्रियमा समेत त्यसको प्रभाव परेको अवस्थामा एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई संशोधनवादी धारबाट बचाएर खु्रश्चोवको प्रस्तावको सैद्धान्तिक आधारसहित विरोध गर्ने मुख्य राष्ट्र चीन भएकोले आफ्ना पक्ष राष्ट्रहरूबिच मजबुत बन्नु पनि थियो।

२०.५. अर्कोतिर सन् १९५६ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले पार्टीका तत्कालीन महासचिवको संशोधनवादी धार प्रस्तुत गरी पूँजीवादीसँग मिलेर जाने प्रस्तावबाट पारित गरेबाट देखिएको विचलन हटाई कम्युनिस्ट आन्दोलन जोगाउन सांस्कृतिक क्रान्तिका लागि माओले १६ बुँदे घोषणापत्र जारी गर्नुभयो। घोषणापत्रले – क्रान्तिकारी सिद्धान्तका आधार सांस्कृतिक क्रान्ति भएको र पार्टीभित्र र बाहिरका सुधारवादी एवं पूँजीवादी शक्तिविरुद्ध संघर्ष गर्न अपील र यसमा जोडिन सबैलाई आव्हान गर्‍यो।

२०.६. पूँजीवादी चिन्तन, जनतामाथि गर्ने शासन, निजी सम्पत्तिको मोह, पूरानो सोच चिन्तन र प्रचलन बोकेर बसेकालाई उक्त चिन्तनउपर विजय हासिल गर्न र पूँजीवादी चिन्तन बोकेर बसेका सत्तासीनहरूलाई पराजित गर्न, प्रतिक्रियावादी चिन्तन बोकेर बसेका बुद्धिजीवीहरूको आलोचना गर्न, शिक्षा संस्कृति, साहित्य लगायत आद्येयका क्षेत्रमा समाजवादी रूपान्तरण गर्न साथै समाजवादी आर्थिक प्रणालीसँग मेल नखाने सम्पूर्ण संरचनाहरू बदल्न, र पार्टीभित्र र बाहिरका सम्पूर्ण पूँजीवादी शक्तिलाई पराजित गरी समाजवादको रक्षा गर्न अपील गरिएको थियो।

२०.७. कार्यक्रम कसरी अघि बढ्यो ?

२०.७.१. सन् १९६७ सम्ममा सम्पूर्ण चीनमा क्रान्तिकारी जनसङ्गठन समितिहरू गठन भइसकेको थियो। केन्द्रीय कमिटीका ३५ जना नेता गिरफ्तारीमा परे। सांस्कृतिक क्रान्तिले युवा पुस्तालाई नेतृत्वमा ल्यायो।

२०.७.२. चिनियाँ कम्युनिस्ट पार्टीको १९६९ मा नवौँ महाधिवेशनले सांस्कृतिक क्रान्तिको उच्च मूल्याङ्कन गर्दै सङ्घर्षलाई तीव्रता दिने निर्णय गर्‍यो। लिनपियाओले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनलाई माओको उत्तराधिकारीको रुपमा लिन थालियो। यसले माओमा समेत भ्रम छर्न र हत्या षड्यन्त्र गर्नसमेत सफल भए। लिनपियाओ पछि उनी नै माओको सबैभन्दा कट्टरविरोधी भए। पछि एक प्लेन एक्सिडेन्टमा उनको मृत्यु भयो।

२०.७.३. सन् १९७३ मा दसौँ महाधिवेशन भयो। त्यसमा ‘चाउएनलाइ’ले लिनपियाओको षड्यन्त्रकारी चरित्रको भण्डाफोर गरे। राजनीतिक प्रतिवेदन पेस गरे। महाधिवेशनले सांस्कृतिक क्रान्ति जारी राख्ने निर्णय गर्‍यो। तर, चाउएनलाइको उदारवादी तथा मध्यपन्थी नीतिका कारण सांस्कृतिक कालमा पदच्युत गरिएका ल्यूसाओचि र देङ्स्याओपिङलाई पुनः जिम्मेवारीमा ल्याउने काम गर्‍यो। चाउएनलाइको मृत्युपछि देङले उनको शोकसभामा माओको विचारधाराविरुद्ध भाषणमार्फत् धुँवादार विरोध गरे। पछि उनलाई पार्टीबाट हटायो। माओ आफू कमजोर हुँदै गएको अवस्थामा आफ्नो उत्तराधिकारीको रूपमा ‘ह्वाकोफेङ’लाई छान्नुभयो।

२०.७.४. सन् १९७६ मा माओको निधन भयो। ह्वाकोफेङ् सरकार प्रमुख बने। त्यसको एक महिना नपुग्दै चीनको सत्ता पूँजीवादीहरूको हातमा गयो। माओका समर्थक र सहयोगीहरूलाई दमन गर्नेसम्म काम भयो।

२१. भियतनामी क्रान्ति

दक्षिणपूर्वी एसियामा अवस्थित भियतनाम पहिलेदेखि नै फ्रान्सको अधीनमा रहँदै आएको मुलूक हो। सन् १९४१ सम्म भियतनाम लाओस र कम्बोडिया फ्रान्सको अधीनमा थिए। जसलाई फ्रेन्च इण्डो चाइना भनिन्थ्यो। सन् १९४५ को अगस्टमा होचि मिन्हको नेतृत्वमा भियतनाम मुक्त भयो। १९४५ मा भएको जेनेभा सम्मेलनले कम्युनिस्टहरू नबढून् भनेर भियतनामलाई उत्तर र दक्षिण गरी टुक्रा पारिदियो। जसअनुसार भियतनाम जनसेना १७ औँ समानान्तर रेखादेखि उत्तर रहनुपर्ने भयो। तर, पछि दक्षिणमा पनि क्रान्तिकारीहरूले  विजय प्राप्त गरे।

फ्रान्सबाट मुक्त हुनासाथ जापानको अधीनस्थ हुन पुगे। दोस्रो विश्वयुद्धमा अमेरिकी हमलाले जापानको साम्राज्य ढलेपछि दक्षिण क्षेत्रमा रहेको जापानी सेनाले कब्जा गरेको स्थानमा रहेका जापानी सेनाले ब्रिटिस सेनासँग आत्मसमर्पण गर्‍यो भने उत्तरी क्षेत्रमा रहेको सेनाले चीनको जनमुक्ति सेनासँग आत्मसमर्पण गरी भियतनाम टुक्रिन पुग्यो।

सन् १९४६ मा फ्रान्सले भियतनाम आफ्नै कब्जामा राख्न गरेको प्रयासविरुद्ध भियतनाम जनताले संघर्ष शुरु गरे। चीन भियतनाम जनताको स्वतन्त्रताको पक्षमा उभियो। १९४१ देखि नै भियतनाम कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वतन्त्रताको माग राख्दै होचि मिन्हको नेतृत्वमा सशस्त्र युद्ध शुरु गरेको थियो। लाओस र कम्बोडियालाई समेत लिएर होचि मिन्हले फ्रान्सविरुद्ध प्रतिरोध संघर्ष शुरु गरे। १९४५ मा फ्रान्स पराजित भएपछि उक्त जेनेभा सन्धि भएको थियो।

उत्तरी भियतनाम होचि मिन्हको नेतृत्वमा रुस र चीनको सहयोगमा कम्युनिस्ट सरकार अगाडि बढ्यो भने दक्षिण भियतनाम अमेरिका र बेलायतको आश्रयमा निगो डिंगाको शासन चल्यो। समाजवादी र साम्राज्यवादी धुरीमा विभाजित विश्वअनुसार भियतनाम पनि विभाजन भयो।  दक्षिण भियतनाममा कम्युनिस्ट पार्टीले डिंगाको अत्याचारी शासनविरुद्ध आफूलाई संघर्षमा होम्यो। अत्याचारबाट आजित जनताले कम्युनिस्ट पार्टीलाई साथ दिए। उता अमेरिका भने उत्तरी भियतनाम पनि कब्जा गरेर विश्व कम्युनिस्ट आन्दोलनलाई सबक सिकाउने र सिङ्गो कम्बोडिया आफ्नो पक्षमा पार्ने दाउमा थियो।

२२. अमेरिकी युद्ध र भियतनाम

२२.१. अमेरिकाले उत्तरी समुन्द्र तटमा आफ्नो पानीजहाजमाथि आफैँले बम विस्फोट गराएर उत्तरी भियतनाममाथि आक्रमणको योजना बनाई उत्तरी भियतनाम नरसंहार मच्चायो। करिब १५ देखि ३० लाख भियतनामले जीवन गुमाउनुपर्‍यो भने अपाङ्ग नहुने त प्रायः भियतनामी नै नहुने जस्तोसम्म अवस्था आयो। अमेरिकाले कम्युनिस्ट दमनको नाममा नरसंहार गर्‍यो।

२२.२. प्रत्येक ३० मिटरमा एउटा बम पड्कियो। अमेरिकी अत्याधुनिक हतियार सबै प्रयोग हुन पुग्यो। बम, गोला र जङ्गलहरू नेपाम नामक आगो लगाउने बमले ध्वस्त भए। प्रायः आक्रमणको सामना नगरेका कुनै भियतनामी भएनन्। एजेन्ट ओरेन नाम रसायनहरू प्रयोग गरियो, जसको प्रभावले भियतनाम लामो समयसम्म वातावरण प्रदूषित बनिरह्यो।

२२.३. अमेरिकी हमलामा भियतनाम कम्युनिस्ट पार्टीले घरलु हतियार बोकेर पनि दृढतापूर्वक प्रतिरोध गरिरह्यो। अमेरिकी हवाई हमलाविरुद्ध सुरुङ युद्ध शुरु गरे। अमेरिकीहरू भूगोलबारे अनविज्ञ रहेकाले पनि युद्धमा क्रान्तिकारीहररूले बढी फाइदा लिने अवस्था बन्यो। भियतनामी कोङ्का सिपाहीहरूले आधुनिक हतियारविरुद्ध घरेलु हतियार, अरिङ्गालका गोला जस्ता विविध युद्धकलाले अमेरिकी सेनाले सोच्न बाध्य भयो। हवाई आक्रमण कम गरी ट्याट अफेन्सिभ युद्ध नीति तय गर्‍यो। भियतनामीहरुका लागि यो नै टर्निङ प्वाइन्टको रूपमा देखा पर्‍यो।

२२.४. यसैबिच कोङ्का सिपाहीहरूले दक्षिण भियतनामको सैनिक अखडामाथि हमला गरे। अमेरिकी दूतावास र सरकारी कार्यालयमाथि हमला शुरु भयो। भियत कोङ्को युद्धकलाले विश्व तरङ्गित भयो। हतियारको दम्भ बोक्न अमेरिकीले नयाँ शिक्षा प्राप्त गरे। अमेरिकाका पचासौँ हजार सैनिक कहाँ कसरी मरे भन्नेबारे आजसम्म अमेरिका अनविज्ञ छ। हारको पीडाले अमेरिकी सेना हिंस्रक बन्न पुग्यो। हत्या बलात्कारका घटनामा उत्रन पुग्यो। यसले अमेरिका विश्वमा बदनाम बन्न पुग्यो।

२२.५. हारसँगै अमेरिकाले रणनीतिक सम्बन्धका लागि चीनसँग १९७२ शीतयुद्धका बेला मैत्री सम्बन्ध कायम गर्‍यो। १९७३ को पेरिस सम्झौतासँगै अमेरिका भियतनामबाट पूरै बाहिरियो। अमेरिका फर्किएपछि उत्तर भियतनामले दक्षिण भियतनामसँग युद्ध शुरु गर्‍यो। सन् १९७५ मा भियतनाम एकीकरण भयो।

२३. पेरुको जनयुद्ध

२३.१. विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगिरहेको, अमेरिकाको सबैभन्दा नजिक रहेको अमेरिकी देशहरूमध्येको पेरुमा गुज्मान गोञ्जालोको नेतृत्वमा सन् १९८१ मा पेरु कम्युनिस्ट पार्टीले जनयुद्धको घोषणा गर्‍यो। गाउँबाट सहर घेर्ने दीर्घकालिन जनयुद्धको कार्यदिशा बोकेर नयाँ जनवादी सत्ता स्थापना गर्ने कार्यक्रमका साथ क्रान्तिमा होमिएकाले साम्राज्यवादी शिविरमा ठूलो भूकम्प ल्याइदियो।

२३.२. दीर्घकालीन जनयुद्धले प्रायः सबै ग्रामीण भूभागमा कब्जा जमाई दुईवटा मुख्य सहर कब्जा गरेपछि जनयुद्ध राजधानी कब्जा गर्ने लक्ष्यका साथ साइनिङपाथ गुरिल्लाहरू अगाडि बढे र राजधानीलाई चारैतिरबाट घेराबन्दी गरे। यसैबिच १९९२ सेप्टेम्वर १२ मा फुजिमोरी सरकारले राजधानी लिमा शहरको एक घरबाट आन्दोलनका नेता प्रो. गोञ्जालोलाई पक्राउ गरी थुनामा राख्यो। क्रान्तिकारीहरुको दमन गर्‍यो। कब्जा गर्ने सम्भावना हुँदाहुँदै राजधानी कब्जा हुन सकेन। पेरुको कम्युनिस्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्‍यो।

२३.३. गोञ्जालोको गिरफ्तारीपछि कार्यदिशामा रूपान्तरणको अन्यौलता, उत्तराधिकारी विकासको समस्या र विचारधारात्मक कार्यदिशामा मौलिक मोडल प्रस्तुत गर्न नसकेको कारण विजय सुनिश्चित गराउँदा गराउँदै हार खाएर आज जेनतेन जागिरहेको अवस्था छ।

२४. लाओसको क्रान्ति

२४.१. दक्षिण एसियामा सत्तासीन हुन सफल कम्युनिस्ट पार्टीमध्ये भियतनाम, लाओस र कम्बोडिया मात्र हो। लाओस नेपालजस्तै भूपरिवेष्ठित मुलूक हो। यो मुलुक सन् १८९३ मा फ्रान्सको अधीनमा रहन पुग्यो। सन् १९१८ मा यहाँ मजदुर विद्रोह भयो। धेरै मजदुर नेताहरू पक्राउ परे। त्यसपछि यहाँ साम्राज्यवादका विरुद्धको संघर्ष निरन्तर जारी रह्यो। होचि मिन्हको नेतृत्वमा गठित हिन्द चीन कम्युनिष्ट पार्टी फैलिँदै जाने क्रममा २२ मार्च १९५५ मा लाओसमा पाथेतलाओ (लाओ भूमि) का नामबाट छुट्टै कम्युनिस्ट पार्टी गठन भयो। यसअघि सन् १९५४ मा लाओसले स्वतन्त्रता प्राप्त गरी संवैधानिक राजतन्त्र स्थापना भइसकेको थियो।

२४.२. सन् १९५५ पछि कम्युनिस्ट प्रभाव बढ्दै गयो।  राजतन्त्रले अमेरिकी सरकार बोलाएर कम्युनिस्टविरुद्ध गृहयुद्ध छेड्न लगायो। अमेरिकासमेत मिल्दा पनि त्यहाँ कम्युनिस्ट दवाउन नसकेपछि १९६१ पछि जेनेभामा सम्मेलन भयो। त्यसले विदेशी सेना देशबाट हटाउने निर्णय गर्‍यो। सन् १९६२ पछि लाओ सम्मिलित संयुक्त सरकार गठन भयो। सरकारमा रहेका पार्टीहरूबिच मतभिन्नता भएपछि पाथेत् लाओले पुनः संघर्ष शुरु गर्नुभयो। यस सङ्घर्षलाई चीनले पनि साथ दियो। सन् १९७५ पुग्दा नपुग्दै यस सेनाले लाओसका प्रायः सबै भूभाग कब्जा गरिसकेको थियो। यस युद्धमा २० देखि ३० हजारसम्म नागरिकले ज्यान गुमाएका थिए।

२४.३. सन् १९७५ डिसेम्बर ३ मा लाओस प्रजातान्त्रिक जनगणतन्त्र घोषणा गरियो। तत्कालिन सरकारका मन्त्री तथा सैनिक अधिकृतहरू थाइल्यान्डतिर भागे। राजपरिवारलाई कुनै दण्ड सजाय भएन। राजालाई प्रथम राष्ट्रपति सौफानोउ भौङको सल्लाहकार बनाइयो। युवराज भोङ् साभाङ सर्वोच्च क्रान्तिकारी जनपरिषद्मा मनोनीत भए। राजाका अर्का छोरा भागेर पेरिस पुगे। यतिखेर कम्युनिस्ट पार्टीका नेता चौमली सायासोन राष्ट्रपति र थोम्सिङथाम्सोङ प्रधानमन्त्री छन्।

२५. कोरियाली क्रान्ति

२५.१. दोस्रो विश्वयुद्धभन्दा पहिले कोरिया जापानी फासिस्टहरूको नियन्त्रणमा थियो। दोस्रो विश्वयुद्धको अन्ततिर कोरियाली जनताले जापानीहरूलाई त्यहाँबाट भगाए। जापानको पलायनपश्चात् अमेरिकाले तुरुन्त त्यहाँ आफ्नो सेना राख्न थाल्यो।

२५.२. किम इल सुङको नेतृत्वमा कोरियाली जनताले अमेरिकी सेनाविरुद्ध कठोर संघर्ष सञ्चालन गरे। सन् १९४५ मा उत्तर कोरियामा गणतन्त्रात्मक सरकार गठन भयो।

२५.३. कोरियाको दक्षिण भूभाग भने अमेरिकी सेना कायमै रहे। दक्षिणमा नियन्त्रण कायम गरेर अमेरिकाले उत्तर कोरियासँग युद्ध शुरु गर्‍यो। सन् १९५० देखि १९५३ सम्म तीन वर्ष कोरियाली जनताले अमेरिकी साम्राज्यवादसँग कडा मुकाबिला गरिरहे।

२५.४. लडाइँमा अमेरिकाको हार हुँदै गएपछि अमेरिकाले युद्धविराम गरी सम्झौता गर्ने प्रस्ताव अघि सार्‍यो। सोहीअनुसार सन् १९५६ जुलाई २७ तारिख दिन अमेरिका र उत्तर कोरियाबिच युद्ध बन्द गर्ने सम्झौता भयो। दक्षिण कोरियामा भने आजसम्म पनि अमेरिकी सेना कायमै छ र अमेरिकी पिछलग्गु सरकार छ।

२५.५. उत्तर कोरियालाई विश्वको पाँचौं समाजवादी मुलुकमध्ये एक मानिन्छ। यहाँ किम इल सुङको जुछे विचारधाराको रूपमा मार्क्सवादको व्याख्या गरी समाजवादी व्यवस्था अपनाइएको छ।

पूर्वी एसियाका क्रान्तिहरू

पूर्वी एसियामा पनि कैयौं देशहरुमा समाजवादी राज्यसत्ता स्थापनाका निम्ति क्रान्तिहरु भए, ती क्रान्तिहरुबारे संक्षेपमा चर्चा गरिन्छ।

२६. थाइल्यान्ड

थाइल्यान्डमा कम्युनिस्ट पार्टीको गतिविधिमा सन् १९२७ मा शुरु भए पनि १९४२ पछि मात्र तीव्रता लियो। सन् १९८२ पछि भने अस्तित्व मेटिने अवस्था आयो।

२७. बर्मा

पहिलो विश्वयुद्धपश्चात् बर्मामा कम्युनिष्ट आन्दोलन शुरु भयो। युद्धपश्चात् तेल कारखानामा कार्यरत मजदुर ब्रिटिस उपनिवेशविरुद्धको आन्दोलनमा सक्रिय रहन पुगे। किसानले पनि कर नतिर्ने र जङ्गललाई निर्बाध रूपमा उपभोग गर्ने पाउने माग राख्दै आन्दोलनमा सहभागी भए। त्यसै बेला देशभक्त युवाहरूले हाम्रो बर्मा भन्ने सङ्गठन बनाएर आन्दोलन अघि बढाए। सन् १८४८ जनवरी ४ मा बर्मा स्वतन्त्र भयो।

२८. मलेसिया

मलेसियामा सन् १९२५मा दक्षिण सामुद्रिक कम्युनिस्ट पार्टी गठन भयो। पछि १९३० मा मलाया कम्युनिस्ट पार्टीको गठन भयो।

२९. लाओस

लाओस दक्षिणपूर्वी एसियामा क्रान्तिमार्फत सत्तारुढ हुन सफल देशहरूमा भियतनाम, लाओस र कम्वोडिया मात्र हुन्।

 ३०. फिलिपिन्स

कम्युनिस्ट आन्दोलन बिस्तार हुन सकेको अर्को मुलुक फिलिपिन्स हो। सन् १९३० मा नै कम्युनिस्ट पार्टी स्थापना भइसकेको थियो। दोस्रो विश्वयुद्ध सुरु भएपछि फिलिपिन्स जब जापानको नियन्त्रणमा गयो, त्यतिबेला पार्टीले उपनिवेशविरुद्ध ठूलो आन्दोलन र विद्रोह गर्‍यो।

३१. सिंगापुर

दक्षिणपूर्वको अर्को मुलुक सिंगापुरमा श्रम गर्न गएका चिनियाँहरू यसमा सङ्गठित हुन पुगेका थिए। सिंगापुरमा १९४५ देखि १९६३ सम्म कम्युनिस्ट गतिविधि तीब्र भएको थियो।

३२. इन्डोनेसिया

इन्डोनेसिया कम्युनिष्ट पार्टी त रुस, चीनपछिको विश्वकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बन्न पुग्यो। यसको स्थापना डच समाजवादी स्निभलिटले गरेका हुन्। यसको नाम कम्युनिस्ट पार्टीका रुपमा नामकरण १९२४ मा मात्र भयो। सुरुमा डचहरूकै हाबी भए पनि दुइ वर्षभित्र इन्डोनेसिया जनताको हाबी पार्टीमा हुन पुग्यो। दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि यो पार्टीले जापानको उपनिवेशकी सरकारविरुद्ध आन्दोलन गर्‍यो।

३३. ब्रुनाइ

ब्रुनाइ दक्षिणपूर्वी एसिया कम्युनिस्ट आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउन ठूलो प्रयास उत्तर कालिमान्तर कम्युनिस्ट पार्टीले पनि गरेको छ। यसले १९६२ देखि १९९० सम्म मलेसियामा छापामार आन्दोलन सञ्चालन गर्‍यो। १९६२ मा ब्रुनाइमा असफल विद्रोह पर्‍यो। जनवादी गणतन्त्र चीनसँग नजिकको मित्रता राखी उत्तर वोर्नियाको सारवाक प्रान्तमा छापामार युद्ध सञ्चालन गर्‍यो।

३४. सोभियत संघको विघटन

सोभियत संघको विघटन विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठूलो धक्का थियो। त्यसयता समाजवाद विश्वमै रक्षात्मक अवस्थामा संघर्षरत छ।

३४.१. सोभियत सङ्घ विघटनको पृष्ठभूमि

३४.१.१. विश्वमा सबैभन्दा पहिला सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएको देश सोभियत सङ्घ हो। सुरुमा यसले विश्व कम्युनिस्ट आन्दालनलाई अगाडि बढाउन, विभिन्न देशको मुक्ति आन्दोलन, स्वतन्त्र आन्दोलन र क्रान्तिलाई सहयोग पुर्‍यायो। हरेक देशका विपन्न जनतालाई प्रभावित तुल्याएको साम्राज्यवाद र पूँजीवादलाई कमजोर तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आयो।

३४.१.२. रूसको समाजवादी (कम्युनिस्ट) आन्दोलनले लेनिन स्टालिन जस्ता नेता उत्पादन गरेको थियो भने ख्रुश्चोभ जस्ता संशोधनवादी नेता पनि जन्मायो। ख्रुश्चोभ नेतृत्वमा आएपछि १९६४ मा अत्यन्त छोटो कालमा नै उनलाई शान्तिपूर्ण तरिकाले पदच्युत गरी ब्रेझनेभ नेतृत्वमा आए।

३४.२. ख्रुश्चोभको नीति र विघटनको आधार

३४.२.१. स्टालिनको मृत्यु हुनासाथ ख्रुश्चोभ सोभियत रुसको शक्तिमा आए। सुरुदेखि नै उनले तीन नीति अख्तियार गरे। पहिलो नीति, स्टालिनको धुँवाधार विरोध गर्ने। दोस्रो नीति, शब्दमा कम्युनिस्ट, समाजवाद जस्ता कुरा राखेर जनतालाई सर्वोपरी मान्यता दिएको भ्रम छर्दै जनसमर्थन लुट्ने। तेस्रो नीति, समाजवादी मुलूकहरुको मानमर्दन गरी उनीहरुमा फुट, गुट र समाजवादी राष्ट्रहरूबिचमा नै आन्तरिक युद्ध तयार गरी विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव निस्तेज पार्ने र प्रतिक्रियावादीहरूको सेवा पुर्‍याउने काम भयो।

३४.३. यसरी सोभियत सङ्घको विघटन स्टालिनको मृ्त्युशैयाबाट उनकै उत्तराधिकारीका रूपमा रहेका खु्रश्चोभबाट उदय हुन पुग्यो। सोभियत समाजवादी कम्युनिस्ट पार्टीको २२ औँ बैठकले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न गरेको निर्णय नै अन्ततः सोभियत युनियन विघटनको आधार बन्यो।

३४.४. दक्षिणपन्थी बाटोको अवलम्बन

३४.४.१. सन् १९६१ मा भएको रुसी कम्युनिस्ट पार्टीको २२ औं महाधिवेशनले अल्वानियाली श्रमिक पार्टीविरुद्ध खुलेर लाग्यो र सो पार्टीका नेता अनवर होक्जा र मेहमद शेदुलाई हटाउन आव्हान गर्‍यो।

३४.४.२. महाधिवेशनले  शान्तिपूर्ण सङ्क्रमणको संसदीय बाटो लियो। वर्गसंघर्ष छोडिदियो। पार्टीले ख्रुश्चोभको ‘सबै जनताको पार्टी र सबै जनताको राज्य’ भन्ने मान्यता अघि सार्‍यो। अमेरिकासँग शान्ति तथा मित्रता साथै २० वर्षमा साम्यवादको प्राप्तिको लक्ष्य तय गर्‍यो। महाधिवेशनले विकासको गैरपूँजीवादी बाटोजस्ता धारणा अघि सारेर अन्तर्राष्ट्रियको निर्णय खुल्ला रूपमा उलङ्घन गर्‍यो।

३४.५. सोभियत सङ्घको विघटन

३४.५.१. सन् १९८५ मा मिखाइल गोर्भाचोभ नेतृत्वमा आए। उनले ‘पेरेस्त्रोहिका’ र ‘ग्लासनोस्त’ जस्ता महत्वाकाङ्क्षी र मनोगत नीतिबाट सोभियत सङ्घलाई उन्नत प्रजातान्त्रिक मुलूक बनाउने सपना देखे।

३४.५.२. उनका सोचाइहरू ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित नभई मनोगत धारको उपज थियो। उनले त्यसबेलाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्विरोधलाई ठीक ढङ्गले बुझ्ने प्रयास नै गरेनन्।

३४.५.३. मार्क्सवाद लेनिनवादलाई वास्ता नगरी अघि बढ्ने कोसिस गरे। उनको यस्तो प्रवृत्ति देखेर विश्वका साम्राज्यवादी र पूँजीवादीहरूले उनका हरेक कदमको आँखा चिम्लेर समर्थन गर्ने र प्रशंसाका पुलहरू बाँध्न थाले।

३४.५.४. हुँदाहुँदा देश यस्तो विकराल अवस्थामा आइपुग्यो कि क्षेत्रीय विभाजन, जातीय द्वेष, अनैतिकता, कालोबजारी, घुसखोरी बढ्दै जाँदा राष्ट्रिय सङ्कटको स्थिति देखा पर्‍यो।

३४.५.५. सन् १९९१ अगस्टमा ऐनाएभपन्थीहरुले गोर्भाचोभलाई अपदस्त गर्ने प्रयास असफल भएपछि बोरिस यत्सीनजस्ता गद्दारहरु सत्तामा आए।

३६. कम्युनिस्ट आन्दोलनका शिक्षाहरु

३६.१. विश्वमा समाजवादको बनिबनाउ नमूना हुन सक्दैन। (क) सबै देशमा उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास एकरूपले भएको हुँदैन। (ख) हरेक देशको आन्तरिक चरित्र आम (सार्वभौम) हुँदैन। विशिष्ट हुन्ने हुँदा भिन्नभिन्न हुन्छ र भिन्नभिन्न चरित्रले भिन्नभिन्न अवस्थाको सिर्जना गर्दछ। (ग) विश्वका सबै मुलुकमा शोषणको आम चरित्रमा समानता भए पनि विशिष्ट चरित्र भने बेग्लाबेग्लै हुन्छ। (घ) देशको भूगोल र इतिहासले पनि त्यसको चरित्रमा प्रभाव पारेको हुन्छ। (ङ) हरेक देशमा भिन्नभिन्न प्रकृतिका आर्थिक तथा राजनीतिक ढाँचा हुन्छन्। त्यही ढाँचाअनुरूप समाज सक्रिय रहन्छ।

३६.२. क्रान्तिको विशिष्ट चरित्रमा पनि भिन्नता हुन्छ। (क) क्रान्तिको विशिष्ट चरित्रमा पनि भिन्नता हुने हुनाले जनताको जनवादी क्रान्तिको कार्यक्रम साथै समाजवादको निर्माण र विकास आ–आफ्नै किसिमले हुन्छ। (ख) प्रत्येक देशको समाज विकासमा मार्क्सवादी निषेधको निषेध नियम लागू हुन्छ। यसअनुरूप कुनै पनि समाजको गर्भबाट नै त्यसलाई समाप्त गर्ने नयाँ उत्पादन शक्ति र उत्पादन सम्बन्धको विकास हुन्छ। (ग) समाजवाद पनि पूँजीवादकै गर्भबाट जन्मिने भएकाले कतिपय अवशेषहरूलाई पूर्ण निषेध गर्न नै सक्दैन। वर्तमान अवस्थामा पनि चीन, उत्तर कोरिया, भियतनाम क्युबा जस्ता कतिपय मुलुकमा उत्पादन साधनमाथि सामूहिक स्वामित्वको अवस्था विद्यमान नै छ।

३६.३. जनवादको जनवादी अधिनायकत्वको महत्वपूर्ण पक्षको रूपमा रहेको मजदुर वर्गको नेतृत्व, योग्यताअनुसार काम र कामअनुसार दाम वितरण प्रणाली हो। यसलाई मार्क्सवादी दृष्टिकोणका आधारमा हेर्नुपर्दछ।

३६.४. चीनमा सन् १९७६ मा सांस्कृतिक क्रान्ति ढलेपछि पूँजीवादको अभ्यास गर्न थालिए पनि वर्तमानसम्म आइपुग्दा राज्यको चरित्रमा गुणात्मक परिवर्तन भएको छ। हाल चीनमा निजी स्वामित्व रहे पनि उक्त स्वामित्व राज्यको निगरानीमा रहेको र सन् २०३० सम्म पूर्ण सामाजिक स्वामित्वको संकल्प गरिएका कारण त्यसलाई समाजवादी मुलूक मानिन्छ। चीनले माओत्सेतुङ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ।

३७. समाजवादी मुलुकका शिक्षाहरु

३७.१. समाजवादको वास्तविक यथार्थलाई जबर्जस्ती उलङ्घन गर्न सकिँदैन। पद्धतिलाई बुझेर सोहीअनुरूप यसलाई व्यवस्थापन गर्न जरुरी हुन्छ।

३७.२. यो कुरा सोभियत क्रान्ति हुनासाथ लेनिनले शुरु गर्नुभएको थियो। सबै देशको मौलिकतालाई सम्मान गर्दै सोभियत युनियन बन्न पुगेको थियो।

३७.३. चीनले पछि आएर यो कुरालाई बुझ्यो। आज विश्वको सर्वश्रेष्ठ मुलुक बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ। एकाधिकार पूँजीवादका हरेक हत्कण्डाहरू तोड्दै र फोड्दै चीन अघि बढिरहेको छ।

३७.४. अहिले क्युवा र भियतनामले पनि यसलाई सच्याएको अवस्था छ। क्युवा र भियतनामले पनि आफ्ना सीमाहरु बुझ्दै अघि बढेका कारण समाजवादको सफल प्रयोग गरिरहेको छ।

३७.५. समाजवादी देशहरुले विकास भइहाल्छ भनेर निच मारेर बस्न पनि भएन। अर्को आफूलाई छिटो चाहिएको छ भन्दैमा प्रकृतिको पद्धतिलाई गलत ढंगले मानव विरूद्ध हुने गरी चुनैतिर दिएर अगाडि बढ्न पनि भएन। वस्तुगत परिवेशले माग गरेको सन्तुलनको आधारमा विकासलाई स्थीर रहन नदिई उसको भरपुर सक्रियताको फाइदा लिन सक्ने गरी विकास हाँक्नुपर्छ भन्ने ज्ञान समाजवादी मुलुकले अहिले पाएको छ।

३८. आर्थिक र प्राविधिक चुनौती

३८.१. आज विश्वको पुँजी एकीकृत हुँदैछ। पुँजी एकीकृत हुनु भनेको समाजवादलाई थन्क्याउनु हो।

३८.२. यसका लागि विश्व पूँजीवादले एकाधिकार पूँजीवादको रूप धारणा गर्न पुगेको छ। विश्व बैङ्क, एसियन विकास बैङ्क जस्ता संस्थाले यसको सफल परीक्षण गरिरहेका छन्।

३८.३. खुला अर्थव्यवस्थाको नाममा साना राष्ट्रहरूको पहिचान नै गुम्न अवस्था आइपुगेको छ। उनीहरूको सीप प्रविधि, संस्कृति र सभ्यता धरापमा पारेर विश्व साम्राज्यवाद हाम्रा घरआँगन खेतवारी, बन जङ्गल पाखापखेरा लुट्न आइरहेको छ।

३८.४. मानिसलाई मन भाँड्ने, मानिसलाई बराल्ने काममा विश्व प्रभुत्ववादले नाफाको व्यापार गरिरहेछ। नाफाको सेवा गरिरहेछ। नाफामा मानिस लुटिरहेको छ। रगत र पसिना निचोरिरहेको छ।

३८.५. प्रविधिले त झन् मानिसलाई कङ्गाल र विकंगाल तुल्याउँदै छ। प्रगति पनि छ, अधोगति पनि छ। सुख पनि छ, दुःख पनि छ। फाइदा दिने लोभमा पैसा पनि लुटेको छ, अस्तित्व पनि लुटेको छ। भोलि ऊबाट त्यो नपाउँदा उसले जे भन्यो उसको पाउमा पर्नुपर्ने अवस्था सिर्जना गर्दैछ। प्रविधिको एकाधिकार अन्त गरी यसको अत्याधिक फाइदा सिर्जनशील मनव सभ्यताको विकास आजको आवश्यकता बनेको छ। प्रविधिको प्रयोगले कतै मानिस आफ्नो प्रकृति त लोप गराउँदैन भन्ने प्रश्न उठेको छ।

३९. कम्युनिस्ट आन्दोलनको जोखिम

३९.१. यसरी आजको विश्वको राजनीतिक, आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा ठूलो जोखिममा पुगेको छ। यसबाट बच्ने एक मात्र साधन भनेको वैज्ञानिक समाजवाद हो। यसलाई बढीभन्दा बढी व्यवहारमा लागू गर्नसक्ने सरकार र राज्यसत्ता निर्माण गर्नु आजको समाजवादीहरूको काम र कर्तव्य हो।

३९.२. विश्व प्रभुत्ववादको चङ्गुलबाट बचेर आफ्नो अस्तित्व रक्षाका लागि मौलिक विकासका बारेमा सोच्ने यो मार्क्सवादी दर्शनभन्दा अन्य शक्तिशाली हतियार समाजवादीहरूका लागि अरू छैन।

३९.३. कहिले विस्तारवादका नाममा कहिले खुला अर्थतन्त्रका नाममा कहिले उदारवादीका नाममा त कहिले बिस्तारवादका नाममा र कहिले एकाधिकार पूँजीवादका नाममा विभिन्न नाम गरेर समाजवादलाई पाखा लगाउने र शोषक वर्गको रजाइँ चलाउने काममा एकाधिकार पूँजीवाद लागिपरेको छ।

३९.४. यसका हरेक चाल र जाललाई चिर्दै विश्वलाई वैज्ञानिक साम्यवाद दिन सकिने कुरामा विश्वास जगाएर अघि बढ्न आवश्यक छ। इतिहासका कमजोरीहरूबाट सिकेर सकारात्मक पक्षको अनुशरण गरेर अघि बढ्न आवश्यक छ।

४०. कम्युनिस्ट आन्दोलनका प्रवृत्तिहरू

४०.१. सामाजिक अन्तर्विरोधलाई ठीक ढङ्गले पहिचान गर्ने र त्यसको कुशल व्यवस्थापन गर्न नसक्नु, जसका कारण २१ औं शताब्दीको क्रान्तिको कार्यदिशा विकासमा चुनौती देखिएको छ।

४०.२. विश्व कम्युनिस्ट आन्दोलनमा सिर्जनात्मक र रचनात्मक भन्ने नाममा हाबी भइरहेको संसाधनवादलाई निरुत्साहित गर्न नसक्नु, जसले मार्क्सवादको आत्मामाथि नै प्रहार गरिरहेको छ।

४०.३. कम्युनिस्ट आन्दोलनको रूपमा मार्क्सवादलाई जडसुत्रका रुपमा प्रयोग गरी मार्क्सवादलाई शास्त्रीय चिन्तनमा सीमित गर्नु, जसले क्रान्तिका लागि जोखिम उठाउनुभन्दा तर्कबितर्कमा रमाउने गरेको छ।

४०.४. कुनै पनि देशको नक्कल गरेर क्रान्ति सम्पन्न गर्न खोज्नु। क्रान्ति कुनै आयात निर्यातका विषय नभए पनि विश्वका कम्युनिस्ट पार्टीहरुले आफ्नै विशिष्टतामा क्रान्तिको कार्यदिशा विकास गर्न नसक्ने प्रवृत्ति पनि आन्दोलनमा देखिएको छ।

४०.५. उत्पादन शक्तिअनुरूप उत्पादन सम्बन्धको विकास गर्न नसक्नु। उत्पादन सम्बन्ध र उत्पादन शक्तिबिचमा पनि तालमेल नभएर अन्यौलता र अन्याय पैदा हुनु। साथै उत्पादक शक्तिको विकासमा समूचित ध्यान नदिने प्रवृत्ति पनि विद्यमान छ। अस्तु…।

१ जेठ २०७८, गोरखा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्