जनताको बहुदलीय जनवाद प्रगतिशील कार्यक्रम थियाे, मार्क्सवादी विचार थिएन : लेखनाथ न्यौपाने

  • 1.3K
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। मा‌ओवादी (केन्द्र) का नेता लेखनाथ न्याैपानेले मदन भण्डारीले प्रस्तुत गरेकाे जनताको बहुदलीय जनवाद माक्र्सवादको सिर्जनात्मक विकास नभएकाे र  यसको नेपालमा प्रयाेग गर्ने एमाले र मदन भण्डारी नै पहिलो पार्टी वा नेता नभएकाे विचार व्यत्त गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भण्डारीले राष्ट्रियताको विषयमा जुन विचार र पहल प्रस्तुत गरे त्याे  देशभक्त नेपालीले उनलाई सम्झने र सम्मान गर्ने विषय बनेको पनि उल्लेख गरेका छन् ।

यस्ताे छ उनकाे विचार:-

जेठ ३ गते दुई प्रसंग। रुपमा केही फरक देखिए पनि सारमा कांग्रेसीकरण भइसकेका नेपालका संसदवादी कम्युनिस्टहरुभन्दा मदन भण्डारीले भनेको जनताको बहुदलीय जनवाद प्रगतिशील विचार थियो भन्न सकिन्छ। तर जवजको सिद्धान्त न मार्क्सवादको सिर्जनात्मक विकास थियो, न त यसको नेपालमा प्रयाेग गर्ने एमाले र मदन भण्डारी नै पहिलो पार्टी वा नेता थिए। दुनियाँका धेरै देशका कम्युनिस्ट पार्टीहरुले आफूलाई पूँजीवादी संसदीय प्रणालीभित्र हुल्न चोर बाटोको रुपमा प्रयोग गरिएको विचारलाई नेपालमा एमालेले मदन भण्डारीमार्फत प्रवेश गराएको मात्र हो। परम्परागत संसदीय प्रणालीको सीमा र बदमासीप्रति मदन भण्डारी कसरी उपस्थित हुन्थे भन्ने विषय पूर्ण रुपमा हेर्न/देख्न वा परीक्षण हुन बाँकी छँदै उनको भौतिक जीवन गयो।

तर मदन भण्डारीले राष्ट्रियताको विषय मुख्यतः टनकपुरमा कांग्रेस (२०४८ मंसीर १९—२५ गतेसम्म भारत भ्रमणमा रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको टनकपुर सन्धि) ले गरेको राष्ट्रघातका विरुद्ध जुन विचार र पहल प्रस्तुत गरे, मुख्यतः २०४९ चैत २४ गते मदन भण्डारीले संसदलाई गरेको सम्बोधन दीर्घकालसम्म सार्वभौम नेपाल र देशभक्त नेपालीले उनलाई सम्झने र सम्मान गर्ने विषय बनेको/बनिरहने छ।

राष्ट्रवादी अडानकै कारण पनि उनको रहस्यमय मृत्यु (हत्या ?) भयो भन्ने प्रश्न र विश्लेषणसँगै त्यसपछिको एमाले यसरी विचलित भयो कि काँग्रेस र पूर्वपञ्चहरुकाे राप्रपासँग मिलेर टनकपुरभन्दा डरलाग्दो र घिनलाग्दो महाकाली सन्धि गर्‍याे, जसको कारणले समेत महाकाली नदीको मुहान र लिपुलेकसम्मको हाम्रो भूमिमाथिको नेपालको दावीलाई कमजोर बनाइदियो। त्यो कदम मदन भण्डारीको राष्ट्रवादी विचार र छवी विरुद्धको कदम मात्र थिएन, उनको उत्तराधिकारी भन्ने वा बन्ने विषयको पनि अन्त्यको विषय प्रसङ्ग थियो।

यस अर्थमा मदन भण्डारीप्रति सम्मान छ ! मदन र जीवराजप्रति हार्दिक श्रद्धान्जली !!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्