दर्शन के हो, समाजमा दर्शन कसरी अभिव्यक्त हुन्छ ?

internet marxism science
लोकपाटी न्यूज
1 Shares

दर्शनशास्त्र : समष्टिमा

दर्शनको परिभाषा विभिन्न विद्वानहरूले विभिन्न किसिमले गरेका छन्। तर, मेरो विचारमा दर्शनबारे सामान्य रूपमा (In Generalized form) भन्नुपर्दा- दर्शनशास्त्र विश्वब्रह्माण्डीय संरचनाभित्र ‘समष्टि’रूपमा अभिव्यक्त रहेको ‘अस्ति’ (Being) अर्थात् त्यो सब जे अस्तित्ववान छ, अथवा अर्को शब्दमा भत्रुपर्दा ‘भूत तत्त्व’ (सृष्टिका चेतन, अचेतन, दृश्य, श्रव्य, स्पश्र्य, ग्राह्य, व्यक्त, अव्यक्त सबै पदार्थ)- दर्शनमा ‘प्राकृतिक समष्टि’को लागि प्रयोग गरिने समष्टिबोधक शब्द (Being) र आफ्नो नैसर्गिक गतिमा रहेको, मानव र मानव चेतना आदि ‘समष्टि’को यावत बाह्य प्रकृति, तिनको चरित्र, रूप र सार, तथा तिनको बिचका नैसर्गिक आन्तरिक सम्बन्ध, तिनको पारस्परिक निर्भरता र सापेक्षिक स्वायत्तता, पारस्परिक परिपूरकताबारे सामान्यीकृत (Generalized) अवधारणाहरूबाट निर्मित हुने सैद्धान्तिक विश्व दृष्टिकोण (Sistem of world outlook) नै दर्शन हो। जसले ब्रह्माण्डीय ‘अस्ति’ (Being), विषयवस्तु (Object) तथा परिघटना (Phenomenon) हरूको व्याख्या गर्नुका साथै प्रकृति, मानव र मानव समाजको बीचका नैसर्गिक सहसम्बन्ध, तिनको गतिशीलता तथा पारस्परिक परिपूरकताका चरित्रको व्याख्या गर्न सामान्यीकृत रूपमा (In Generalized form) चेतनाद्वारा बोध गरिएको सैद्धान्तिकृत चिन्तन प्रणाली (A system of highly generalized theoretical views of the world) भन्नु नै यथार्थबोधक परिभाषा हुने छ।

द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धति समाज विज्ञानको फाँटमा समाज र व्यक्तिबीचका सहसम्बन्ध, पारस्परिक निर्भरता, सामाजिक जीवन पद्धति, मानव चेतना, सामाजिक आस्था, नैतिकता तथा मनोविज्ञानका सहसम्बन्ध, सामाजिक-आर्थिक संरचना, राजनीतिक चिन्तन प्रणाली, आर्थिक संरचना तथा वैज्ञानिक अवधारणाहरूको पारस्परिक अनुकूलन आदि यावत सामाजिक सम्बन्धहरूबारे सुनिश्चित आम अवधारणद्वारा व्यक्त गर्दछ भने मानव र समाज बाहिरको प्रकृतिको गति, कारण, आदि कारण तथा मानव सहित समष्टिका अन्तर सम्बन्धको निरूपण गर्ने काम गर्छ।

जब मानिसलाई आफू र आफू बाहिरको प्रकृति बीचका सहसम्बन्ध र त्यसमाथिको निर्भरताबारे बोध हुन थाल्यो। त्यसै प्रक्रियामा मानिसको चेतनाले आफू र आफूबाहिरको ‘अस्ति’ (Being) का सम्बन्ध र तिनको कारण बारे सोच्न थाल्यो र मानव र प्रकृतिबीयचको यस अन्तरक्रिया सँगसँगै दर्शनका विविध धारहरू पनि अगाडि आए। स्पष्ट छ मानव विकासको त्यस चरणसम्म आफू भन्दा बाहिर अवस्थित प्रकृतिका विविध रूप र आफूभन्दा बाहिर रहेका, सूर्य, चन्द्र, तारा, असिना, पानी चट्याङ तथा विविध परिघटनाहरूका लागि अज्ञात, अदृश्य, आफूमाथिको ब्योममा कुनै ‘अज्ञेय’शक्तिको अवस्थिति र आफ्नो जीवन कसैको देन र कृपाको रूपमा हेर्ने बाहेक अन्यथा सोच्न सक्ने चेतनाको विकास र क्षमता मानिसले प्राप्त गरिसकेको थिएन। र, उ अज्ञात शक्तिको शरण पुग्न गयो। त्यस ‘अज्ञेय’ कारकप्रतिको आस्था र अवधारणा नै दर्शनका विविध धारहरूको कारण बन्न पुग्यो।

सजीव प्राणीलाई बाच्नका लागि प्रकृति प्रदत्त हवा पानी बाहेक उसलाई भोजनको आवश्यकता रहन्छ। यसका लागि प्रत्येक जीवित प्राणी जस्तै आदिमानवलाई पनि बाच्नका लागि जीविकोपार्जनका सामाग्री प्राप्त गर्नु पर्ने प्राकृतिक आवश्यकता (Natural Necessity) थियो। परिणाम स्वरूप प्रकृति प्रदत्त कन्दमूलको खोज तथा संकलनको अवस्था हुँदै प्राकृतिक गुणवत्ताको ज्ञान हासिल गर्दैगएपछि जीविकोपार्जनका साम्राग्रीको आफै उत्पादन गर्ने चरणमा प्रवेश गर्‍यो। त्यही चरण उसलाई सामाजिक जीवनमा प्रवेश गराउने पहिलो महान् क्रान्ति थियो। यस क्रान्तिले नै उसलाई सामान्य पशुमानवको अवस्थाबाट अलग्याएर चैतन्य मानवको रूपमा स्थापित गर्नुका साथै दार्शनिक चिन्तनको चरणमा पनि प्रवेश गरायो। उत्पादन प्रक्रियाको विकाससँगै उसको भाषा, कौशल, ज्ञान तथा चेतनाको विकास पनि हुँदै गयो। मानवमा चेतनाको विकसँगै रहश्यको रूपमा उसको अगाडि आएको पहिलो प्रश्न थियो आफू (व्यक्ति) र आफूबाहिरको ‘अस्ति’ अर्थात्, प्रकृति जगत र ‘म’ (आफू) बिचको साइनो (सम्बन्ध) के ? र, पहिलो प्रतिक्रिया थियो त्यस बाह्य जगतको उत्पत्ति र निरन्तर परिवर्तनको रहश्य जान्ने बुझ्ने प्रयास। यही जान्ने बुझ्ने प्रयासमा कालान्तरमा विभिन्न चिन्तकले विभिन्न निचोड निकाल्दै माथिका प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरे र आफ्नो विचार प्रस्तुत गरे। कालान्तरमा यिनै विचारहरूबाट तिनका दार्शनिक प्रस्थापना र सिद्धान्तको रूपमा विभिन्न दार्शनिक पद्धतिहरूको जन्म भयो।

दर्शनशास्त्रको जन्म र विकास

जब हामी ‘स्व’ (Self) भन्दा बाहिर अस्तित्ववान प्रकृतिको विहंगम अवलोकन गर्छौ र त्यसलाई बोध गर्छौ अथवा मानव जातिको इतिहासलाई हेर्छौ अथवा आफ्ना बौद्धिक क्रियाकलापको विगत र वर्तमानलाई हेर्छौं। त्यहाँ सर्वप्रथम हामी सर्वत्र अनन्त प्रकारका पारस्परिक सम्बन्ध, पारस्परिक क्रिया, प्रतिक्रियाहरूको व्यापक सञ्जाल पाउँ छौं, जसमा कुनै पनि कुरा हिजो जे-जस्तो थियो आज बिलकुल त्यही अवस्थामा हुँदैन। दिन छन् रात छन्, केही नयाँ विषयवस्तु अस्तित्वमा आउँछन् केही विलुप्त हुन्छ, केही बाह्य परिवर्तन आँखाबाट तत्काल देखिन्छन् केही समय परिवर्तनसँगै अनुभव गरिन्छन् आदि इत्यादि। अर्थात् सम्पूर्ण कुरा परिवर्तनशील छ, गतिमान छ। प्रकृतिको यही त्यो पक्ष हो जसले मानव चेतनालाई प्रकृति र आफू बिचको सम्बन्ध, परिवर्तनको कारण, विश्व ब्रह्माण्डको आदि कारण बुझ्न प्रेरित र आकर्षित गर्‍यो। यसका साथै मानवको ज्ञान दर्शनको क्षेत्रमा प्रवेश गर्‍यो। अनेकौं पूर्वीय ऋषि मुनि तथा हेरेक्लीटस् जस्ता प्राचीन ग्रीक दार्शनिकले यस विषयमा सर्वप्रथम प्राचीन तर अत्यन्त महत्त्वपूर्ण विश्वदृष्टिकोण प्रतिपादन गरेका छन्।

दर्शनशास्त्र कहिले जन्मियो भन्ने प्रश्न अनुत्तरित प्रश्न हो। तर यति निश्चित हो कि यसको जन्म कुनै एक ऐतिहासिक परिघटना विशेषबाट वा दिन विशेषमा वा कुनै अप्राकृतिक अज्ञातको वाणिविशेषबाट भएको होइन बल्की प्रकृति र मानवको सहजीवन र क्रिया-प्रतिक्रियाले जन्माएको र मानव जीवनसँगै विकसित भएको ज्ञानश्रृंखला हो। जब मानव आम जीवजन्तुको अवस्थाबाट परिवर्तन तथा क्रमिक विकासको लामो चरण पार गर्दै जीविकोपार्जनका साधन उत्पादन गर्ने र बाच्ने उपाय बारे सोच्न सक्ने चेतना सहितको आदिम सामाजिक चरणमा प्रवेश गर्‍यो, प्रकृतिसँग त्यसको निरन्तरको क्रिया-प्रतिक्रिया तथा प्राकृतिक विविधता तथा अज्ञात परिघटनाहरूले निरन्त उब्जाउने प्रश्नहरू आदि अवस्थाले उसको चेतनलाई कुनै अज्ञात र सर्वशक्तिमान अस्तित्वप्रति आकर्षित गर्दै रह्यो। अज्ञात शक्ति प्रतिको यही विश्वास र त्यसलाई खोज्ने र बुझ्ने प्रयास नै कालान्तरमा दर्शनको रूपमा विकसित हुन पुग्यो। यस अर्थमा मानवका विश्व दृष्टिकोणको सर्वाधिक आदिम रूप, जसबाट कालान्तरमा दर्शनशास्त्रको जन्म भयो, त्यो थियो मानिसको अज्ञात प्रतिको आस्था, विश्वास र त्रासबाट जन्मिएको धर्म अर्थात् माइथोलौजी। आफूभन्दा वाह्यजगतमा विद्यमान प्रकृतिको यस विविधताले मानिसको ‘चेतनामा’ पैदा गरेको उत्प्रेरणा तथा ‘अज्ञेय’ बारे ‘ज्ञान’ प्राप्त गर्ने चाहना र यसले ‘मन-मस्तिष्क’मा उत्पन्न गरेको ज्ञानपिपासा र कल्पनाशीलताबाट जन्मिएको विश्वास थियो माइथोलोजी वा धर्म। यसै धार्मिक विश्वास वा आस्था वा कल्पना, जससँग मानिसले आफू र बाह्य प्रकृतिलाई जोड्दै गयो त्यसबाट उ एउटा काल्पनिक अदृश्य आत्मा र भगावान जोडिन पुगे। यस प्रकार मानिसमा ‘अन्तिम’ र ‘पर’ अन्तिम सत्यलाई खोज्ने र बुझ्ने प्रयासमा जन्मिएका विभिन्न अवधारणाहरू बाटै दार्शनिक पद्धतिहरूको जन्म भएको हो। यथार्थमा भन्ने हो भने दर्शनशास्त्र सैद्धान्तिक ज्ञानको पहिलो रूप हो।

यद्यपि दर्शनको जन्म र विकास सभ्यताको उषाकालमा भारत, चीन तथा मिश्रमा भएको मानिन्छ र पश्चिमा चिन्तकहरू यसले व्यवस्थित शास्त्रीय रूप सर्वप्रथम प्राचीन ग्रिसमा लिएको मान्छन्। तर, प्राचीन पूर्वीय दार्शनिक परम्परा, विशेष गरेर इण्डो-इरानियन दार्शनिक परम्परा अनुसार चार वेद तथा दर्शनका छ वटा पद्धति- सांख्य, योग, न्याय, पूर्वमिमांसा, वैशेषिख र उत्तर मिमांसा (वेदान्त) जस्ता दार्शनिक परम्परा ९क्अजयय (School of thought) लामो विगतदेखि नै अस्तित्वमा थिए र आज पनि जीवित छन्। यिनले ऐतिहासिक विकासको लामो परम्परा र कालखण्ड ओगटेका छन्। यसको इतिहास ग्रीक सभ्यता भन्दा पहिलेको हिन्द-इरानी सभ्यता र सरस्वती तटीय सभ्यतासँग जोडिएको छ। यस कुरामा, केही अपवाद बाहेकका, सबै अनुसन्धाता सहमत पनि देखिन्छन्। केही पश्चिमा विद्वानहरूले दर्शनशास्त्रको प्रारम्भ इसापूर्व दुई सहस्राब्दीको उत्तरार्द्धमा भएको मानेका छन्। तर मेरो विचारमा यो समय सामाजिक उत्पादनको पहिलो चरणका साथै प्राकृतिक सामाजिक कार्य विभाजनसँगै स्थापित हुँदै गरेका नयाँ उत्पादन सम्बन्धहरूको स्थापनाको चरण दर्शनको व्यवस्थित अध्ययनको प्रारम्भिक काल हो, जुन समय ईसापूर्व चार पाँच सहस्राब्दी भन्दा पहिले पर्छ। यद्यपि आज लाखौं वर्ष पहिले अस्तित्वमा रहेका सभ्यताहरूको पनि अनुमान र खोजी पनि गरिँदै छ।

सारांशमा भत्रुपर्दा, दर्शनका जन्मको आरम्भ मानिसले दुई हात मुक्त गरी आफ्नो जीविकोपार्जनका साधन जुटाउन थाले देखी नै क्रमिक रूपमा भएको उसको चेतनाको विकाससँगै आफू र आफूभन्दा बाहिरको परिवेश र बाह्य संसारलाई बुझ्ने, त्यससँग तादात्म्य स्थापित गर्न प्रकृतिसँग अनुकूलनको प्रयास गर्दै आफूलाई बाच्ने र बचाउने अभ्यासको दौरान प्रकृतिसँग उसका सहसम्बन्ध स्थापित हुँदै गएको क्रममा प्रकृतिका विविध पक्ष र परिधटनाहरूसंग उसको सम्बन्ध बुझ्ने प्रयाससँगै दर्शनको पनि विकास भएको हो। यसका ऐतिहासिक विकासको क्रम र प्रक्रिया जटिल तथा परस्पर विरोधाभासपूर्ण अवस्थाबाट अगाडी बढेको छ र यसको विकाससँग जीवनका सम्पूर्ण पक्ष- जीवनका लागि प्रकृतिसँग संघर्ष, सामाजिक संरचना, सामाजिक सम्बन्धहरूमा क्रमिक परिवर्तन, मानव समाजको वर्गीय विभाजन आदि यावत कुरा, अभित्र रूपले जोडिएका छन्। यस ऐतिहासिक विकास प्रक्रियाले दार्शनिक प्रश्नका यावत् पक्ष, दर्शनको विषयवस्तु, सामाजिक व्यवहार र यिनको प्रभाव आदि यावत परिवर्तनहरूलाई आफूभित्र समेटेको छ।

यो ऐतिहासिक तथ्य हो कि समष्टिमा दर्शनशास्त्रको जन्म अचानक कुनै एक दिनमा वा एउटा अनायास परिघटना वा व्यक्तिको अपौरुषेय चिन्तन वा कुनै ईश्वर, अल्लाह, इसा, पैगम्बर वा अवतार आदिका उपदेश वा निर्देशनबाट भएको नभइ मानव सभ्यताको लामो विकास प्रक्रियामा संश्लेषसित हुँदै गएको ज्ञान, सामाजिक जीवनको लामो यात्राका अनुभव, सामाजिक उत्पादनको प्रक्रियागत विकासबाट प्राप्त ज्ञान र अनुभवका साथै निरन्तर परिवर्तन हुँदै आएका मानिसका आस्था, विश्वास र प्रकृतिसँगको निरन्तरको सहवास र क्रियाकलाप, मानव र प्रकृतिको सहसम्बन्ध आदिको लामो ऐतिहासिक विकासको क्रमसँगै भएको हो। त्यसैले दर्शनशास्त्रलाई ज्ञानको विशिष्ट रूप पनि मानिन्छ।

प्रचीनकालामा दर्शनशास्त्रलाई विज्ञानको विज्ञान भन्ने गरिन्थ्यो र यसले प्राकृतिक विज्ञानदेखि खगोलशास्त्र, पञ्चमहाँभूतदेखि मानव र मानवसमाज आदि प्राकृतिक तथा सामाजिक जीवनका विविध पक्षको अध्ययनको क्षेत्र ओगटेको थियो। तर, आजको युगमा, जहाँ विज्ञानको तीव्र विकास भइरहेको छ र यसले ज्ञानका विभिन्न फाँटहरू, जस्तै इतिहास, भूगोल, समाजशास्त्र, प्रकृति विज्ञानका विभिन्न शाखा, गणित, खगोल, आदि जस्ता यावत् अध्ययनका फाँटहरूलाई विषयगत रूपमा विभाजित गरी विशिष्टीकृत अध्ययनको क्षेत्र बनाएको छ र यावत प्राकृतिक भूतत्त्वका विविध पक्ष, चरित्र, स्वभाव तथा गुणधर्मको अध्ययन प्रकृति विज्ञानका विभिन्न शाखा प्रशाखाहरूले गर्दै आएका छन्, यसको अध्ययन क्षेत्र साँगुरिएको छ। यसै पृष्ठभूमिमा केही समालोचक दर्शनशास्त्रको विशिष्टता र उपादेयता समाप्त भइसकेको र अब यो विषय प्रयोजन विहीन भइसकेको तर्क पनि प्रस्तुत गर्छन्। तर, यत्तिकैमा दर्शनको महत्त्व समाप्त हुन सक्दैन र भएको पनि छैन।

यो सत्य हो, आज मानवले ज्ञानको विकाससँगै प्रकृति विज्ञानका विभिन्न अध्ययन क्षेत्रहरू, जस्तै जीवविज्ञान, भौतिक विज्ञान, वनस्पति विज्ञान आदिलाई विभिन्न फाँटहरूमा विभाजित गरी ती विशिष्टीकृत क्षेत्रमा अध्ययन गर्दै छ र तिनका विशिष्टीकृत नियम र अवस्थाहरूको अध्ययनका साथै तत्तत् क्षेत्रका आम नियमहरू प्रतिपादन पनि गर्दै छ, तर, विज्ञानका ती नियमहरू अध्ययनको त्यस फाँटमा मात्र लागु हुन्छन् र तत्तत् क्षेत्र विशेषको गुणधर्मितालाई मात्र परिभाषित गर्न सक्छन्। ती समष्टिगत रूपमा प्रकृति ‘समष्टि’को गतिका साझा नियामक सिद्धान्त होइनन्। बायोलौजी, भौतिक शास्त्र आदिका भित्र चरित्रका आफ्ना नियम छन्, तर ती सब अन्तरद्वन्द-गति-परिवर्तनको सार्वभौम नियमबाट नियन्त्रित र निर्देशित भए पनि तिनका नियमबाट यो सार्वभौम नियम नियमित छैन। त्यस्तो कुनै प्राकृतिक विज्ञान छैन जसका आम नियमहरू प्रकृति, समाज, मानव चेतनाका साथै प्रकृतिका यावत् तत्त्व र परिघटना आदिको एकमुष्ट व्याख्या गर्न सकोस् र ती नियमहरू सर्वत्र समान रूपमा लागु भएका होउन्। केवल द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्रको शाश्वत द्वन्द्वात्मक गुणधर्मिता र तिनको द्वन्द्वात्मक गतिका आम नियमहरू मात्र सार्वत्रिक रूपमा लागू हुन्छन्। यसका साथै विश्वब्रह्माण्डमा ‘म’ अर्थात् मानव ‘स्वात्त’ र आफूभन्दा बाहिर चारैतिर व्याप्त भूतत्त्व (सम्पूर्ण भौतिक अस्तित्व)- अर्थात् विविध गुणधर्मा प्रकृतिको चारित्रिक सार के हो ? पञ्च महाभूत- प्रकृति र ‘म’ आत्मतत्व, चेतना र भूतत्त्व (पदार्थ) बिच के सम्बन्ध छ ? मानव के हो र यस जगतमा उसको स्थान के हो ? के मानव यस संसारलाई बुझ्न र अरूलाई बुझाउन सक्षम छ ? यदि यो सम्भव छ भने यसलाई कार्यरुपमा कसरी बुझ्ने ? जस्ता प्रश्नहरूको अध्ययन र अनुसन्धानको पक्ष दर्शनको मूल विषयवस्तु विगत देखी आजसम्म रहँदै आएको छ रहने छ । द्वन्द्वात्मक भौतिकवादले यसको उत्तर दिएको छ। भौतिकवादी द्वन्द्ववाद, प्रकृति, समाज, मानव चेतनाका यिनै सार्वत्रिक र सार्वभौमिक नियमहरूको अध्ययन र व्याख्या गर्दछ। परिवर्तन र विकासको यस प्रक्रियामा नै पदार्थ आफ्ना विशिष्ट चरित्र र सार सहितका आफ्ना नयाँ नयाँ रूपमा नयाँ अन्तरसम्बन्ध सहित रूपान्तरित हुँदै रहन्छन् र विभिन्न रूपमा प्रकट हुन्छ। यहाँ सम्म कि काल र ब्योम पनि, भौतिक तत्त्व जस्तै, आफ्ना सम्पूर्ण अन्तरद्वन्द्वसहित यिनै नियम अन्तरगत गतिमान छ।

दर्शनशास्त्रको अध्ययन क्षेत्र र मूल प्रश्न

विभिन्न समयका सामाजिक व्यवस्था, जाति, समूह आदिका विविध जीवनशैली, विविध सामाजिक संरचना, चेतनाको स्तर आदिले दर्शनशास्त्रको विकासमा आफ्नो प्रभाव त पार्छ नै तर, यी सबका बाबजूद दर्शनको सार्वत्रिक र सर्वकालिक मूल प्रश्न- आफू र आफूभन्दा बाहिरको ‘भूतत्त्व’ (सम्पूर्ण भौतिक अस्तित्व अर्थात् प्रकृति) वा सम्पूर्ण ‘अस्ति’ (being), सँग उसको साइनो र सृष्टिका गुणधर्मको ‘ज्ञान’ (Cognition) र मानव चेतनाको बाह्य प्रक्रितिसंगको सम्बन्ध दर्शनशास्त्रको मूल प्रश्न सबै कालमा समान रूपले दार्शनिक चिन्तकको विषय रहेको हो र आज पनि छ र सायद कुनै न कुनै रूपमा कालान्तर सम्म रहिरहने छ। यी नै ती प्रश्नहरू हुन् जसमा सधैँ ‘भौतिकवाद’ (Materialism) र ‘अध्यात्मवाद’ (Idealism) बिच निरन्तर विवाद रहेको हो। तर मानव सभ्यताको ऐतिहासिक विकाससँगै मानवको आत्मिक विकासमा आएको परिवर्तन, विज्ञानको विकास र चिन्तनको विकास सँगसँगै दर्शनका अध्ययनको क्षेत्र र विषय बस्तुमा पनि परिवर्तन हुँदै आएको छ।

भौतिकवादी दर्शन अनुसार आफूभन्दा बाहिरको यावत् ‘अस्ति’ अर्थात् प्रकृति वा पदार्थ मानवबाट स्वतन्त्र अस्तित्व हो जबकि मानव त्यसको एउटा अंश हो। अर्थात् प्रकृति ‘अंशी’ हो र मानव त्यसको ‘अंश’। र मानव चेतना मानवद्वारा प्रकृतिसँग गरिने अन्तरक्रियाको परिणाम स्वरूप प्राप्त हुने ज्ञानको कारण विकसित हुने मानव मस्तिष्कको विशिष्ट गुण हो । यो गुण उसले बाह्य जगतसंगका क्रिया- प्रतिक्रियाको दौरान प्राप्त गर्छ। तर, मानव ‘समष्टि’ (अर्थात् प्रकृति)को सामान्य अंग मात्र नभै विशिष्ट अङ्ग हो जसले सोच्न सक्छ र त्यस ‘समष्टि’ (प्रकृति)लाई, जसको यो एउटा अंश हो, बुझ्ने प्रयास गर्दछ, बुझ्न सक्छ, त्यसलाई आफ्नो सीप र ज्ञानको स्तर अनुसार आफू सापेक्ष परिवर्तन गर्नसक्द, उपयोग गर्न सक्छ र आफू अनुकूल बनाउने निरन्तर प्रयास गर्न सक्छ। द्वन्द्वात्मक भौतिकवादले यसै आधारमा ‘समष्टि’ र ‘विशिष्ट’ बीचका सम्बन्ध र ‘अस्ति’ र ‘चेतना’ बिचको सम्बन्ध, ‘अहम्’ (Subject. Self) र ‘दृग्विषय’ (Object and phenomenon) बीचका सम्बन्ध, चेतना र पदार्थ बीचका सम्बन्ध, आत्मा र प्रकृति बीचका सम्बन्ध, प्रकृति र मानव समाज बीचका सम्बन्ध र समाज र व्यक्तिबीचका सम्बन्धहरूको निरूपण गर्छ।

दर्शनशास्त्रको अर्को मुख्य पश्न हो- हाम्रो चेतना (Consciousness)को बाह्य जगतसँग के सम्बन्ध छ ? के हामी आफ्नो ‘मानस’मा यस बस्तु जगतलाई यसको यथार्थ रूपमा प्रतिबिम्बित गर्न सक्छौ र बुझ्न सक्छौ ? धेरै दार्शनिकहरू यस प्रश्नको नकारात्मक उत्तर दिन्छन् र संसारलाई अज्ञेय रूपमा लिन्छन्। तर, द्वन्द्वात्मक भौतिकवाद अनुसार संसार बोधगम्य छ र बोधगम्य भएर नै मानिसले आफ्ना दैनिक क्रियाकलाप सम्पन्न गर्छ, उही रूपमा तिनको पुनरावृत्ति गर्न सक्छ, ज्ञानको हस्तान्तरण गर्न सक्छ, विगतलाई हेर्न सक्छ र भविष्यको रेखांकन गर्न सक्दछ। अन्यथा मानव र मानवसमाजमा भइरहने परिवर्तन वोधगम्य हुने थिएनन्।

हाम्रो चेतना बाहिरी भौतिक वस्तुगत सत्यलाई उही रूपमा प्रतिबिम्बित गर्छ भनेर मार्क्सवादले दुई वटा अविभाज्य र एक अर्काका परिपूरक आधारभूत परिपुष्टि प्रस्तुत गरेका छन्। पहिलो- वस्तुगत भौतिक जगत यथार्थ सत्य हो त्यस कारण हाम्रा ज्ञानेन्द्रीयहरूको माध्यमबाट हाम्रो मस्तिष्कमा पर्ने त्यसको प्रतिविम्ब, जसबाट हामी ती बस्तु वा घटनाको ज्ञान हासिल गर्दछौ र तिनको पुनरावृत्ति वा पुनरउत्पादन त्यही रूपमा पटक-पटक गर्न सक्दछौं र यस प्रक्रियाबाट हाम्रो चेतना र ज्ञानको विकास गर्छौ। यस प्रक्रियामा त्यस विषयवस्तु वा परिघटना बारे प्राप्त हुने ज्ञान वा चेतना त्यस प्रतिबिम्बनको परिणाम हो अर्थात् कारण भौतिक जगत हो र परिणाम हाम्रो चेतना। दोस्रो कुरा- यसले बस्तु जगतको अज्ञेयता अर्थात् संसार अज्ञेय छ र यसको यथार्थ ज्ञान हामी गर्न सक्दैनौ भन्ने अज्ञेयवादी चिन्तनको खण्डन गर्दछ। सत्य के हो भने यदि हामी संसारलाई बुझ्न नसक्ने भए वा ज्ञान प्राप्तिको क्रममा हामी संसारलाई र यसमा घटित हुने परिघटनाहरूलाई यथार्थ रूपमा बुझ्न नसक्ने भए हामी तिनको त्यही रूपमा पुनरावृत्ति वा पुनरउत्पादन गर्न सक्दैन थियौ र त्यसको ज्ञान नयाँ पीढीलाई हस्तान्तरण गर्न सक्ने थिएनौ। र, संसार अज्ञेय भएको भए यी यावत सामाजिक, वैज्ञानिक, वैचारिक र ऐतिहासिक परिवर्तनहरूलाई कुनै चमत्कारको रूपमा मान्दै समाज जडतामा पुग्ने थियो होला। जुन सत्य होइन। हामी प्राकृतिक संसारको गुणधर्मलाई बुझ्दछौं र बुझ्दै आएका छौं। मानव जीवनका लागि तिनको उपयोग गर्दै छौं। ज्ञान र कर्मको विकास गर्दै छौँ र गर्दै रहने छौं। नयाँ पीढी यसमा उभिएर नै नयाँ गन्तव्य पहिल्याउँछ। यही सत्य हो।

समष्टिगत रूपमा, दर्शनशास्त्र सामाजिक चेतनाको एउटा विशिष्ट फाँट हो जसमा प्राकृतिक ‘समष्टि’ अर्थात् ‘भूःतत्व’ (being) र ज्ञान (cognition) का आम नियमहरू र चेतना तथा भूःतत्वबीचका सम्बन्धहरूका आम अवधारणा निहित हुन्छन्। मार्क्स भन्दा पहिले भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी चिन्तक र तिनले प्रतिपादित गरेका सिद्धान्त नभएका होइनन्। तर, यस्ता चिन्तकहरूमा हाम्रा पूर्विया दार्शनिक, पश्चिमा विशेष गरी ग्रीक दार्शनिहरुको र तिनका प्रस्थापनाहरूको लामो फिहरिस्त पनि छ। तात्कालिक समाजको ऐतिहासिक विकासको चरण, तद्अनुरुपको मानव चेतनाका विकासको स्तर, जीवन पद्धति, सामाजिक उत्पादनको अवस्था आदिले गर्दा ती चिन्तनहरूका चिन्तन एकांगी र सीमित प्रकृतिका थिए, जसले विश्वब्रह्माण्डका भौतिक पक्ष अर्थात् काल र ब्योमसमा स्थित समष्टिबोधक प्रकृति, प्रकृतिमा घटित हुने यावत परिघटनाहरू र भौतिक जगतका मूल प्रवृत्ति तथा स्वभावका साथै प्रकृतिको सबभन्दा विकसित चैतन्य अंग- मानव र मानव समाज, मानवीय चेतना, मनोविज्ञान, सामाजिक गति आदिको अन्तरनिहित चरित्र, त्यसको कारण र परिणाम, मानव र मानव समाजका त्यससँगका सहसम्बन्ध र तिनको विशिष्टताको समष्टिगत रूपमा व्याख्या गर्न सकेका थिएनन्। तत्कालीन समाज विकासको ऐतिहासिक चरण, सामाजिक ज्ञानको स्तर, प्रकृति विज्ञानको अविकसित अवस्था आदि कारणले गर्न सक्ने अवस्था पनि थिएनन्। तर, मार्क्सले आफ्नो काल र सामाजिक अवस्था, विज्ञान तथा प्रविधिको विकास र तद्अनुरुपको मानव चेतनाको विकासको पृष्ठभूमिमा तिनको ब्यख्या गरे र दर्शनशास्त्रको नयाँ आयाम द्वन्द्वात्मक भौतिकवाद जन्मियो। र, मार्क्सवाद पूर्णांक दर्शन र समाज विज्ञानका रूपमा स्थापित हुन पुग्यो। यसले अतितदेखि उठाउँदै आएका- प्रकृति, पुरुष र ब्रह्मका अनुत्तरित पक्ष र सम्बन्धहरूको विज्ञान सम्मत आधारमा समाधान खोज्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्