काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद तत्कालका लागि मत्थर भएको छ। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलबार बिहान भएको छलफलपछि पार्टीभित्रको राजनीतिले नयाँ मोड लिएको हो।
सरकारलाई हेर्ने दृष्टिकोणमा सहमति हुन नसक्दा जसपा विभाजनको डिलमा पुगेको थियो। तर अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल अघि बढाउन सहमति बनेपछि विवाद केही मत्थर भएको हो। पार्टीको विवादलाई लिएर तीन नेताबीच पटक पटकको टेलिफोन वार्ता पनि भएका थिए।
ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल पनि भएको थियो। सोमबार पुनः दुई नेताहरूबीच भेट्ने भनिएको भए पनि भेट हुन सकेको थिएन। निरन्तरको छलफल र प्रयासपछि मंगलबार बिहान अध्यक्षद्वय ठाकुर र यादवबीच निर्णायक वार्ता भएको हो। उक्त वार्तामा दुई अध्यक्षबीच तत्काललाई मौन बस्ने सहमति भएको जसपाका एक नेताले जानकारी दिए।
यादवको पार्टी विभाजन रोक्न सहमति गरेर अगाडि बढौं भन्ने प्रस्तावमा ठाकुरले साथीहरूसँग परामर्श गरेर पुनः छलफलमा बस्ने जवाफ दिएका थिए। ‘जसपाभित्र दोस्रो पुस्ताका नेताहरूको पनि सहमतिका लागि दबाब छ’, ती नेताले भने, ‘निरन्तरको दबाबपछि नेताहरू तत्काललाई ‘युद्धविराम’ गर्न सहमत भएका हुन्।’
आज नै एकता झल्किने गरेर विज्ञप्ति जारी गर्ने तयारीसमेत भएको ती नेताले बताए। यसअघि यादवले कार्यकारिणी बैठक बोलाएपछि ठाकुरले त्यसप्रति आपत्ति जनाउँदै बैठक नबोलाएको विज्ञप्ति जारी गरेका थिए। ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दाबी गरेपछि यादवले संसदीय दलको बैठक नबसेको र दलको नेता चयन नगरेको विज्ञप्तिमार्फत जनाएका थिए।