‘त्यो पर्दैन’

rachana
लोकपाटी न्यूज

– रचना मोक्तान

जिब्रोको अलिकति थुक

औंलामा लगाएर पल्टाउँदै-

पल्टाउँदै इतिहासको पाना
पढ्दै-पढ्दै आइयो

आजसम्म।

अलौपर्व, भण्डारखालपर्व र कोतपर्वका
कहालीलाग्दा कथा-उपकथाहरू
सँगसँगै पढियो भयङ्कर घटनाक्रमहरू
ती काला कर्तुतका क्रम-उपक्रमहरू।

पढ्दै गर्दा लाग्छ-राजनीति
केवल सत्तामा हावी भइरहने खेल थियो
सत्तास्वार्थमा रमाइरहने चलखेल थियो।

यस्तै स्वार्थी सत्ताका विरुद्ध
पटकपटक गरेका हुन् विद्रोह
न्यायप्रेमी, देशप्रेमी जनसमुदायले
चढाएका हुन् आफ्नै जिन्दगीको मृत्युुबली।

तर विडम्बना !
खुल्दै बन्द हुँदै गरे शासकहरुका कान नेपाली राजनीतिमा चलिरह्यो अपत्यारिलो नाटक
पटक-पटक नाटक मञ्चन भइरहँदा
दोहोरिइरह्यो उही पुरानै निरङ्कुश चरित्र।

नेपाली आकाशलाई कालो बादलले छोपिरह्यो
बस्, यति बेला पनि
महामारीले देश थिलथिलो भएको बेला
जनताले गाँसबास गुमाएको बेला-
एउटा कलाविहीन नाटक मञ्चन भइरहेछ
सत्ताको छिनाझप्टी चलिरहेछ
महामारीले देश जलिरहेछ।

राजीनामा दिने र फेरि भोलिपल्ट नियुक्ति हुने
पटक-पटक शपथ खाने खुवाउने
हाँस्यास्पद खेल खेलिरहेछन् शासकहरू।

रोम जल्दा निरोले बाँसुरी बजाएर रमाए झैं
नेपाली निरोहरू
नेपाल बनाउने प्रतिज्ञामा भनिरहेछन्
भो त्यो पर्दैन भन्दै
उपहास गरिरहेछन हि..हि..हि….
र खिल्ली उडाइरहेछन् संविधानको।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्