दर्शनशास्त्रमा अतीतको अवशेष भन्नाले के बुझिन्छ ?

Communists_Word_Shabda
  • 130
    Shares
लोकपाटी न्यूज

अतीतका अवशेष (Survivals of the Past)- सामाजिक-आर्थिक सम्बन्धहरू, विचारहरू, धारणाहरू, नैतिकताहरू, परम्पराहरूका अवशिष्ट, जुन पुरानो समाजबाट उत्तराधिकारको रूपमा प्राप्त हुन्छन्।

अतीतका अवशेषमाथि नियन्त्रण प्राप्त गर्ने प्रश्न समाजवादअन्तर्गत विशेष रूपले तीव्र हुन्छ, किनभने तिनीहरू सबै (बुर्जुवा, पितृसत्तात्मक, सामन्ती) निजी स्वामित्व तथा शोषणमाथि आधारित सामाजिक-आर्थिक संरचनाहरूबाट आएका छन् र त्यसैकारण समाजवादी सामाजिक सम्बन्धहरू तथा समाजवादी विचारधारासँग तिनीहरूको असमाधेय अन्तर्विरोध हुन्छ।

समाजवादी सामाजिक संरचनामा अतीतका अवशेषको बाहक वर्ग होइन, बरु आम रूपमा अलग-अलग मानिसहरू वा मानिसहरूका समूह हुन्छन्। त्यसैकारण एकातिर, समाजवादी समाजमा सामाजिक सम्बन्धहरूको विकासका मुख्य अन्तर्वस्तु तथा प्रवृत्तिहरू र अर्कोतिर, अतीतका अवशेषको बिचमा अन्तर्विरोध वर्गहरूको बिचमा सम्बन्धहरूको क्षेत्रबाट समाज तथा व्यक्तिको पारस्परिक क्रियाको क्षेत्रमा स्थानान्तरित हुन्छ।

अतीतका अवशेष समाज विरोधी आचरण-व्यवहार, समाजवादी कानूनहरु तथा कम्युनिस्ट नैतिकताको उल्लंघनमा सर्वाधिक स्पष्ट रूपले प्रकट हुन्छन्। तिनीहरूका रूपहरू हुन्ः समाजका हितहरूको उपेक्षा (नास्तिवाद, सिद्धान्तहरू तथा आदर्शहरूको अभाव, कूपमण्डूकता, सामाजिक कर्तव्यप्रति कोरा औपचारिक प्रवृत्ति), सामाजिक जीवनका प्रतिमानहरूको उल्लंघन (नोकरशाही, आत्मोन्नतिवाद, समूह वा व्यक्तिका हितहरूको उपेक्षा, अनुशासनहीनता, अनुत्तरदायित्व, आदि), प्रत्यक्ष शत्रुता (अपराध, परजीविता)।

अतीतका अवशेषका यी सबै अभिव्यक्तिहरू समाजवादी समाजका स्वरूप र मुख्य प्रवृत्तिहरूको विपरीत छन्। अतीतका अवशेषका अहिले पनि कैयौं वस्तुगत आधार छन्, किनभने समाजवादका परिस्थितिहरूमा समाजको पूर्ण समरुपता, त्यसका सम्पूर्ण सदस्यहरूको संस्कृति तथा नैतिकता, क्रियाकलाप तथा चेतनाको एउटैजस्तो उच्चस्तर अझै उपलब्ध हुँदैन।

अतीतका अवशेष कायम रहने अथवा अस्थायी रूपमा पुनर्जीवनसम्मको (निजी स्वामित्वको मनोवृत्ति, व्यक्तिवाद, आदिको) एउटा कारण सामाजिक-आर्थिक प्रबन्ध व्यवस्थाका ती सिद्धान्तहरूको उल्लंघन हो, जुन समाजवादी सामाजिक सम्बन्धहरूका विशेषता हुन् (भौतिक प्रोत्साहनहरूको सिद्धान्त, व्यक्तिगत तथा सामाजिक सहसम्बन्ध, जनवादी केन्द्रीयतावाद, आदि)। पूँजीवादी प्रणालीको अस्तित्व र समाजवादी देशहरूमा सबभन्दा पिछडिएका भागहरूमाथि बुर्जुवा प्रचारको प्रभाव पनि अतीतका अवशेष कायम रहनमा सहायक हुन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्