नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्दै

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ। दुवै कम्पनीले गाभ्ने, गाभिने प्रस्ताव पारित गर्न जेठ २५ मा विशेष साधारण सभा बोलाएका छन्। जसमा नेसनलको सभा केन्द्रीय कार्यालय धादिङबेसी, धादिङमा बिहान ११ बजे सुरु हुनेछ। यसैगरी, महिला सहयात्राको सभा केन्द्रीय कार्यालय मकवानपुर बिहान ११ बजे नै सुरु हुनेछ।

सभामा नेसनलले १००ः६८ को अनुपातमा महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पेश हुनेछ। अर्थात, महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले मर्जपछि बन्ने नेसनलको ६८ कित्ता सेयर पाउनेछन्। दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि राखेका छन्। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ। विषेश सभा प्रयोजनका लागि दुवै कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएका छन्।

यता, नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्तलाई आफूमा गाभ्न स्वीकृति प्रदान गरिसकेको छ। राष्ट्र बैंकले वैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो। यसअघि गत माघ ८ गते दुई संस्थाबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेसनलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका थिए।

हाल नेसनलको केन्द्रीय कार्यालय धादिङमा र महिला सहयात्राको मकवानपुरको थाहा नगरपालिकामा रहेको छ। यता, नेसनल माइक्रोफाइनान्ससँग गाभ्ने समझदारीमा अन्तिम सम्झौता भएसँगै महिला सहयात्राको कारोबार रोक्का छ। कम्पनीको माघ ९ गते देखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्