व्यावसायिक कृषि गर्ने १२ तरीका

Kishan
लोकपाटी न्यूज

काठमाडौं। केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार नेपालमा खेतीयोग्य जमिन २८ प्रतिशत रहेको छ। त्यसमध्ये २१ प्रतिशत जमिनमा खेती गरिएको छ भने ७ प्रतिशतमा खेती हुन नसकी बाँझै रहेको छ। कूल ग्राहस्र्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रले ७ प्रतिशत जमिन अर्थात् खेतीयोग्य जमिनको २५ प्रतिशत बाँझै राख्नुपरेको कारणले देशको आर्थिक विकासमा नकारात्मक असर पारिरहेको छ।

देशको जनसंख्याको ६०.४ प्रतिशतले अंगाली रहेको कृषि पेशालाई व्यवसायीकरण गर्ने र बाँझो जमिनमा पनि खेती गर्न सकेमा देशको आर्थिक विकासले फड्को मार्नेमा कुनै शंका छैन। अहिलेसम्म नेपालमा कृषि पेसा पनि एउटा व्यावसायिक पेसा हुनसक्छ भनेर स्वीकार गर्न सकिएको अवस्था छैन। किनभने यो पेशालाई अन्य कुनै विकल्प नभएको अवस्थामा मात्र गुजारा टार्नको लागि गरिने र गर्दै आएको कामको रूपमा लिने गरिन्छ।

संसारमा मानिसको पहिलो पेसा कृषि नै थियो। परिवर्तनसँगै कृषिपछि बिस्तारै अन्य पेशालाई वैकल्पिक पेशाको रूपमा अंगाल्न थालिएको हो। उद्योगको जग पनि कृषिबाट नै सुरु भएको हो। आजको दिनमा कृषि पेसा नेपाल जस्तो कृषिमा निर्भर देशको विकासमा योगदान दिने एउटा महत्त्वपूर्ण पेसा हो।

संसारका विभिन्न देशले कृषिलाई व्यवसायीकरण गर्दै आफ्नो माटो सुहाउँदो कृषि उपज उत्पादन गरेर कृषि क्षेत्रलाई व्यवसायीकरण गरिरहेको छ। व्यवसायीकरण मात्र गरेर भएन बजारीकरण पनि अर्को महत्त्वपूर्ण विषय हो। अघिल्लो लकडाउनको बेला कृषकले तरकारी बाटोमा फालेको, दूध सडकमा पोखेको, किसानले तरकारी बारीमै जोतेको समाचारहरू सार्वजनिक भए। समाचार शुभ नभएता पनि कृषि क्षेत्रको व्यवसायीकरणमा अझै धेरै कार्य गर्न बाँकी नै रहेको देखिन्छ। यसबाट कृषि क्षेत्रमा ठुलो सम्भावना रहेको देखिन्छ।

तरकारी बजारमा पुर्‍याउन नसकी खेर जाने अवस्था सिर्जना भएकोले बजारसम्म पुर्‍याउने, भण्डारण गर्ने जस्ता कम्पनी स्थापना भएमा यसले रोजगारी सिर्जना गर्नुको साथै व्यवसायीकरणमा टेवा दिनेमा कुनै दुई मत छैन। पछिल्ला दिनमा केही ठुला व्यावसायिक समूहले यस पेशालाई प्राथमिकता दिइरहेकोले यस पेशाप्रति केही सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको पनि छ।

कृषि क्षेत्रका जानकार एवम् आर्थिक क्षेत्रका अगुवाले यस क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्छ भनिरहेको सुनिन्छ। वास्तवमा व्यवसायीकरणको अर्थ गहिरो छ। सामान्य अर्थमा आर्थिक लाभ आर्जन गर्नको लागि कुनै पनि पेसा सञ्चालन गर्नुलाई उक्त पेशाको व्यवसायीकरण गर्नु भन्ने बुझिन्छ। नेपालका अधिकांश कृषक दैनिक गुजाराको लागि मात्र कृषि पेसा गरिरहेकोले यस पेशाको व्यवसायीकरण हुन नसकेको हो।

व्यवसायीकरणका लागि गर्नुपर्ने केही काम

१. कोरोना र त्यसपछि अहिले बाढी पहिरोले मानिसमा एक प्रकारको त्रासदी भइरहेकोले उनीहरूलाई उत्प्रेरणा जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ। राज्यको नेतृत्वमा बैंक तथा वित्तीय संस्था मिलेर कृषिमा सहुलियतपूर्ण कर्जाको लिई कृषि क्षेत्रमा लगानी गर्न पहल गर्ने, नेपालमा यथेष्ट अवसर छ भनेर सम्झाउने, बुझाउने।

२. अहिले प्रायजसो अभिभावकले आफ्ना छोराछोरी कृषि पेसामा लागोस् भन्ने चाहना गर्दैनन् र अहिलेसम्म कृषि पेशालाई सम्मानित पेशाको रूपमा स्वीकार गरी नसकेकोले यसलाई थप मर्यादित बनाउने, स्कुल तहदेखि नै बच्चा तथा अभिभावकलाई अभिमुखीकरण कार्यक्रम मार्फत सिकाउने, बुझाउने जस्ता कार्यको थालनी गर्ने।

३. कृषि पेसा मानिसहरूको पहिलो अथवा संस्थापक पेसा भएकोले यसलाई सम्मानित बनाउनको लागि कुनै पनि व्यक्तिलाई ‘म पेसा गरिरहेको छैन, देशको विकासमा योगदान गर्दैछु’ भन्ने भावना विकास गरी पेसा गर्ने र राज्यबाट आवश्यक व्यवस्था मिलाई आवश्यकता अनुसारको सम्मान कार्यक्रम गर्ने।

४. मौद्रिक नीति मार्फत कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएकोले कृषि उपजको बजारीकरणको लागि सरकारले सहज भूमिका निभाउने र निजी क्षेत्रबाट पनि आपूर्ति व्यवस्थाको लागि सम्बन्धित क्षेत्रमा लगानी गर्न सहयोग पुर्‍याउने।

५. पर्यटकलाई स्थानीय उत्पादन खुवाउने संस्कृतिको विकास गरी स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नीति बनाउने।

६. कृषि उत्पादनलाई देशभक्तिसँग जोडेर हेर्ने बानीको विकास गर्ने। उपभोक्तालाई आफ्नै माटोको उत्पादन उपभोग गरौं अनि रमाऔं भन्ने भावनाको विकास गरी सकभर स्थानीय उत्पादन, देशको उत्पादन मात्र खरिद गरेर कृषकलाई सहयोग गर्ने नीति विकास गर्ने।

७. कुनै पनि पढेलेखेका व्यक्तिले कृषि पेसा अंगालेको देखेमा, सुनेमा उसलाई प्रोत्साहन गर्ने, स्याबासी दिने, बधाई तथा शुभकामना दिने जस्ता परिपाटीको विकास गर्ने।

८. कृषि पेसामा लागेका प्रत्येक क्षेत्रका उत्कृष्ट कृषक, उद्यमीलाई विश्वमा उत्कृष्ट फर्म, कम्पनीको भ्रमण गराई तालिम, ज्ञान तथा सिप आर्जन गर्ने अवसर प्रदान गर्ने।

९. प्रदेश, जिल्ला र स्थानीय स्तरमा माटो सुहाउँदो खेती गर्न अनुसन्धान गरी सोही अनुसारको खेती गर्न तथा पशुपंक्षी पालनका लागि राज्यले आह्वान गर्ने र उत्पादकत्व बढाउनको लागि आवश्यक कार्यक्रम गर्ने।

१०. नेपालमा उत्पादित केही कृषि उपजको विदेशमा पनि राम्रै माग भएको र भविष्यमा अन्य थप बस्तुहरूको पनि माग हुने सम्भावना रहेकोले गुणस्तरमा ध्यान दिने र नियन्त्रण तथा अनुगमनमा कडाइ गर्ने।

११. तरकारी, माछा मासु, दूधजन्य बस्तुहरूको लागि भण्डारण र सहज आपूर्ति व्यवस्थाको कमी भएकोले यसलाई सहज बनाउन लगानी गर्ने र सहज आपूर्ति र भण्डारणको व्यवस्था बनाउने।

१२. नेपालमा धेरै जडीबुटी तथा केही कृषि उत्पादन औषधी बनाउन प्रयोग हुने भएकोले यस्ता उत्पादनलाई विशेष प्राथमिकता दिई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादन प्रयोग गरी नेपाली औषधीको प्रवर्द्धन गर्ने।

कृषक समाजमा शिर ठाडो गरेर गर्वका साथ म किसान, कृषि उद्यमी हुँ भन्ने दिन आउनेछ। आफ्नै माटोको उत्पादन उपभोग गरौं अनि रमाऔं भन्ने भावनाका साथ स्थानीय उत्पादनलाई प्रोत्साहन गरेमा व्यावसायिक कृषि मार्फत देशको आर्थिक विकाशमा ठूलो योगदान गर्न सक्नेछ। -लेखक बुद्धि मल्ल बैंकर हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्