दर्शनशास्त्रमा अतर्कबुद्धिवाद भन्नाले के बुझिन्छ ?

irra
  • 45
    Shares
लोकपाटी न्यूज

१. एउटा दार्शनिक मत, जसले संज्ञानमा विवेक, चिन्तनको शक्ति सीमित हुन्छ, संज्ञानको मुख्य विधि अन्तःप्रज्ञा, अनुभूति, सहज वृत्ति, आदि हुन् भन्ने घोषित गर्दछ। अतर्कबुद्धिवादले यथार्थलाई अराजकतापूर्ण, नियमसंगतिले रहित, संयोगको खेल र अचेतन संकल्पको अधीन मान्दछ।

अतर्कबुद्धिवादी मत स्वाभाविक रूपमा समाज विकासका युगान्तकारी मोडहरूको अवधिमा प्रकट हुन्छन् र तिनीहरूलाई आम रूपमा तार्किक ढंगबाट रचित सुसंगत प्रणालीहरूको रूपमा होइन, बरु सूक्तिहरूमा निरूपित अलग-अलग विचारहरू तथा मनोवृत्तिहरूको रूपमा प्रस्तुत गरिन्छ।

अतर्कबुद्धिवाद १९औँ शताब्दीको अन्त तथा २० औँ शताब्दीको आरम्भमा, पूँजीवादको साम्राज्यवादमा परिणत हुने अवधिमा, पुनर्जीवित भयो, जब बुर्जुवा उदारतावादी र सुधारवादी आदर्शहरू र पूँजीवादलाई तर्कबुद्धिसंगत बनाएर र प्राकृतिक-वैज्ञानिक तथा प्राविधिक ज्ञानको उपयोग गरेर त्यसलाई सुधार्ने आशाहरूको भवन ढलेको थियो। यस अवधिमा कैयौं अतर्कबुद्धिवादी मत प्रकट भए, जसमा जीवन-दर्शन एउटा थियो।

अतर्कबुद्धिवादको एउटा अर्को रूपान्तरण-अस्तित्ववाद-बीसौं शताब्दीको चौथो दशकमा प्रकट भयो। अतर्कबुद्धिवादी विचारहरू फ्रायडवादमा पनि सुस्पष्ट रूपले व्यक्त भए। अवैज्ञानिक धाराको रूपमा अतर्कबुद्धिवाद प्रतिक्रियावादी, फासिष्ट सिद्धान्तहरूको आधार बनेको थियो। जसले वैज्ञानिक ज्ञानलाई अस्वीकार गर्दथे र नेताको, ‘फ्यूहरर’का भविष्यवाणीहरूको तथा ‘रगत र जाति’को आवाजको पक्षपोषण गर्दथे। अतर्कबुद्धिवाद वर्तमानकालीन बुर्जुवा दर्शन, समाजशास्त्र तथा मनोविज्ञानमा यो वा त्यो रूपमा व्यापक रूपले प्रचलित छ।

२. नीतिशास्त्रमा अतर्कबुद्धिवाद नैतिकताको स्वरूपको व्याख्या गर्ने एउटा विधि हो। जुन नैतिकताका अनेक बुर्जुवा सिद्धान्तहरूको विशेषता हो; यस बेला अतर्कबुद्धिवादले विभिन्न धाराहरूलाई (अस्तित्ववाद, नवप्रोटेस्टेन्टवाद, मानवतावादी नीतिशास्त्र, आत्मसिद्धिको नीतिशास्त्र, आदिलाई) एउटा विशेष धारामा एकीकृत गर्दछ, जुन नैतिक आकारवाद तथा प्रकृतिवादसँगसँगै अस्तित्वमान छ।

अतर्कबुद्धिवादले प्रत्येक व्यक्तिको कुनै पनि नैतिक स्थिति वा अवस्था विशिष्ट हुने गर्दछ भन्ने कुरा घोषित गर्दछ। यसको आधारमा यो निष्कर्ष निकालिन्छ कि नैतिकताको सामान्य सिद्धान्त निरूपित गर्न अथवा तर्कबुद्धिमुलक चिन्तन र विज्ञानको आधारमा तिनीहरूको औचित्य सिद्ध गर्न असम्भव छ। जुन मानौं नैतिकतामा लागू हुन सक्दैनन्। किनभने तिनीहरूले विविधतापूर्ण जगतमा केवल अमूर्त तथा सामान्यलाई मात्र हेर्दछन्। समाजको उद्देश्यपूर्ण नैतिकतालाई, जसले केही न केही व्यावहारिक आवश्यकताहरूको पूर्ति गर्दछ, अतर्कबुद्धिवादीले असत्य घोषित गर्दछन्।

उनीहरूको विचारमा मानिसको समग्र अस्तित्वजस्तै वास्तविक नैतिकताको व्याख्या गर्न सकिँदैन, किनभने त्यो प्रकृति तथा समाजका नियमहरूको अधीन हुँदैन। नैतिकतामा मानिसले वस्तुगत अधीनताको तुलनामा आफूलाई नितान्त स्वतन्त्र सत्ताको रूपमा स्थापित गर्दछ। यसरी अतर्कबुद्धिवाद नैतिकताको अतिसापेक्षवादी, संकल्पवादी बोधमा, मानिसद्वारा आफ्नो नैतिक स्थितिको छनौट गर्नमा कुनै पनि वस्तुगत महत्त्वको अस्वीकृतिमा पुग्दछ।

यद्यपि अतर्कबुद्धिवादमा केही धाराहरूले बुर्जुवा नैतिकताको पक्षपोषक स्वरूप, जडसूत्रवाद, उपयोगितावादको आलोचना गर्दछन्। तर तिनीहरूले आफ्ना पक्षपोषकहरुको इच्छा वा अनिच्छाको बाबजुद दुई विश्वदृष्टिकोणहरुको बिचको संघर्षमा व्यक्तिहरूलाई भ्रममा पार्न सहायता गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्