के हो विश्वप्रसिद्ध भर्सेलिजको सन्धि ?

sandhi
  • 431
    Shares
लोकपाटी न्यूज

भर्सेलिजको सन्धि पहिलो विश्वयुद्धलाई अन्त्य गर्ने महत्त्वपूर्ण सन्धि थियो। यस सन्धिले जर्मनी र एलाइड शक्तिबीचको युद्ध अन्त्य भएको घोषणा गरेको थियो। यस सन्धिलाई सन् १९१९ जुन २८ का दिन हस्ताक्षर गरिएको थियो। जुन आर्कड्युक फ्रन्ज फर्डिनान्डको हत्या भएको पाँच वर्षपछि भएको थियो (उक्त घटना विश्वयुद्धको मुख्य कारण थियो)। जर्मनी पक्ष शक्तिहरूले पनि भिन्नै सन्धिहरू गरेका थिए। यस सन्धि लिग अफ नेसन्सको सचिवालयमा २१ अक्टोबर १९९९ मा दर्ता भएको थियो।

सन्धिमा भएका प्रावधानहरूमा सबैभन्दा महत्त्वपूर्ण र दुविधात्मक विषयमा ‘सम्पूर्ण विनाश र नोक्सानीमा जर्मनीले जिम्मा लिनुपर्ने’ रहेको थियो। धारा २३१ मा रहेको, यही विषय नै दोषपूर्ण खण्डका रूपमा रहेको थियो। अर्थविद् जोन मेनार्ड केनेस (बेलायतका प्रतिनिधि)ले उक्त सन्धि जर्मनी प्रति अत्यधिक कठोर र प्रतिउत्पादक भएको तर्क गरेका थिए। केही तर्कमा भने उक्त सन्धि पनि धेरै उदार भएको धारणा पनि रहेका छन्।

जर्मनीले यसको जमिनको ठूलो भागको त्याग्नुपर्ने र अन्य राज्य कब्जा गर्न जर्मनीमाथि प्रतिबन्ध लगाइएको थियो। भर्सेलिसको सन्धि जर्मनीमा लागू भएको थियो। यस कारण एडल्फ हिट्लर र अन्य जर्मनेलीहरूले यो सन्धिलाई अपमानजनक मान्दथे र यसैले यो सम्झौतालाई द्वितीय विश्वयुद्धको कारण मानिन्छ।

२८ जुन १९१४ मा, अष्ट्रिया हंगेरीको गद्दीका उत्तराधिकारी, आर्कड्युक फ्रान्ज फर्डिनान्डको सर्बियाली राष्ट्रवादीद्वारा हत्या भयो। यसको कारणले युरोपको माहौल तीव्र गतिमा बिग्रियो जसकारण अस्ट्रिया हंगेरीले सर्बिया विरुद्ध युद्धको घोषणा गर्‍यो। त्यसपछि अधिकांश युरोपेली सैनिकहरू तुरुन्तै पहिलो विश्व युद्धमा प्रवेश गरे। जर्मनीको नेतृत्वको केन्द्रीय शक्ति र (बेलायत, फ्रान्स र रसिया नेतृत्वको) त्रिपक्षीय गुट एक आपसमा भिडे। युरोप, मध्य पूर्वअफ्रिका र एसियामा विश्वयुद्धको आगो सल्किँदै गएपछि अन्य देशहरू पनि युद्धमा छिरे। १९१७ मा, रुसी साम्राज्यमा दुई क्रान्ति भए। त्यसपछि भ्लादिमिर लेनिनको नेतृत्वमा बनेको नयाँ बोल्सेभिक सरकारले १९१८ मार्चमा जर्मनीसँग सन्धिमा हस्ताक्षर गर्‍यो, जुन धेरै हदसम्म जर्मनको पक्षमा थियो।

अमेरिकी सैनिक तयार हुनुभन्दा अगाडि विजय हासिल गर्न सकिने भएकाले जर्मनीले अब आफ्नो बल पश्चिमी मोर्चामा तैनाथ गर्‍यो र एलाइज शक्तिलाई डुबाउने प्रयास गर्‍यो। तर त्यो प्रयास असफल रह्यो। तर त्यस विपरीत, एलाइज शक्तिले निर्णायक रूपमा रणभूमिमा विजय पाए र नोभेम्बर १९१८ मा युद्ध विराममा हस्ताक्षरको लागि बाध्य बनाए। जुन आत्मसमर्पणको समान थियो।

भर्सेलिज सन्धिका मुख्य प्रावधान

राष्ट्रसंघको निर्माण एवं संगठन भर्सेलिज-सन्धिको एक अत्यन्त महत्त्वपूर्ण अंग थियो। सन्धिको प्रथम भागको सम्बन्ध योसँग नै छ। यो मूलतः राष्ट्रपति विल्सनको सृजना थियो। उसका विचार थियो कि राष्ट्रसंघलाई शान्ति-सम्मेलनको सबैभन्दा महान् कृति मानिनेछ। लायड जर्जले लेखेका छन्ः विल्सन शान्ति-सन्धिको केवल उक्त भागलाई जसमा राष्ट्रसंघ व्यवस्था थियो, सबैभन्दा अधिक महत्त्व दिने गर्थे। यसको लागि उनी जे पनि त्याग गर्न तयार थिए र उनको प्रयासबाट नै राष्ट्रसंघको निर्माण भयो। विल्सन बाहेक मित्रराष्ट्रका अन्य प्रतिनिधिहरूले यो विचार थियो कि राष्ट्रसंघ सम्बन्धी कुरा भर्सेलिज सन्धिको अन्तर्गत राख्न आवश्यक छैन।

अन्ततः विल्सनको कुरा मानियो र राष्ट्रसंघको संविधानलाई भर्सेलिज सन्धिको अन्तर्गत नै राखियो। भर्सेलिज सन्धिको प्रथम २६ धाराहरू राष्ट्रसंघको संविधान नै हो, जसको उद्देश्य अन्तर्राष्ट्रिय सहयोगलाई बढाउनु तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई कायम राख्नु थियो।

क्षेत्रीय व्यवस्था र प्रणाली

एल्सेस-लरेन क्षेत्रः भर्सेलिज सन्धिमा क्षेत्रीय परिवर्तन गरी जर्मनीलाई अंग-भंग गरियो। १८७१ मा, जर्मनीले फ्रान्सबाट एल्सेस-लरेनको क्षेत्रमा कब्जा गरेको थियो। सबैले एक स्वरले ‘यो एक गलत काम थियो र यसको अन्त्य आवश्यक छ’ भनेर स्वीकार गरे। त्यस कारण, सन्धिका सर्तहरू बमोजिम, एल्सेस-लोरेन फ्रान्सले फिर्ता पायो।

राइन ल्याण्डः फ्रान्सको सुरक्षाको दृष्टिले जर्मनीको राइन ल्याण्डमा मित्र राष्ट्रहरूको सेना १५ वर्ष सम्म रहनेछ तथा राइन नदी आस-पासको क्षेत्रलाई स्थायी रूपले निःशस्त्र गरियो ताकि जर्मनी कुनै प्रकारको किलाबन्दी गर्न नसकुन्।

सार क्षेत्रः सार क्षेत्र जर्मनीमा कोइला क्षेत्रको लागि प्रसिद्ध थियो। यो प्रदेशको शासन व्यवस्थाको जिम्मेवारी राष्ट्रसंघलाई दिइयो। तर कोइला खानीको स्वामित्व फ्रान्सलाई दिइयो। यो पनि तय गरियो कि १५ वर्षपछि जनमत संग्रहद्वारा सारा क्षेत्रको बासिन्दा जर्मनीको साथ रहन चाहन्छन् कि फ्रान्सको साथ तय गरिनेछ। यदि सारवासी जर्मनीको साथ मिल्न चाहन्छन् भने जर्मनी फ्रान्सलाई निश्चित मूल्य दिएर ती खानीहरू पुनः खरिद गर्नेछ।

बेल्जियम एवं डेनमार्कको प्राप्तिः यूपेन मार्शनेट र मलमेडीको प्रदेश बेल्जियमको अधीन गरियो। श्लेशविगमा जनमत संग्रह गरेर त्यहाँको उत्तरी भाग डेनमार्कलाई दिइयो।

जर्मनीको पूर्वीसीमाः जर्मनीलाई सबैभन्दा अधिक क्षति पूर्वी सीमामा उठाउनु पर्‍यो। मित्रराष्ट्रहरूले एक स्वतन्त्र पोल्याण्ड राज्यको निर्माणको निर्णय गरे। डान्जिङलाई स्वतन्त्र नगरको रूपमा परिवर्तित गरियो र उसलाई राष्ट्रसंघको संरक्षणमा राखियो। पोल्याण्डलाई समुद्री मार्ग दिनको लागि डाजिंगको बन्दरगाहको उपयोग गर्ने अधिकार दिइयो। मेमेलको बन्दरगाह जर्मनीबाट खोसेर लिथुआनियालाई दिइयो। जर्मनीले चेकोस्लोवाकियालाई राज्य को मान्यता दियो। यस प्रकार प्रादेशिक व्यवस्थाको कारण जर्मनीको २५ हजार वर्ग मीलको प्रदेश र ७० लाखको जनसंख्या गुमाउनु पर्‍यो।

जर्मन उपनिवेश सम्बन्धी व्यवस्थाः मित्रराष्ट्र जर्मन उपनिवेशहरूलाई आफ्नो आफ्नो साम्राज्यमा मिलाउन चाहन्थे तर विल्सनले यसको कडा विरोध गरे। वुड्रो विल्सनको विरोधको कारण, मित्रराष्ट्रहरूले संरक्षण प्रणाली सुरु गरे। यसको अर्थ यो थियो, ‘जुन देश एकदम पिछदिएको छ, त्यस देशको समुचित कल्याण र विकास गर्नु।’ सभ्य राष्ट्रमा पवित्र धरोहरको रूप राष्ट्रसंघको तर्फबाट त्यस देशको उन्नतिको लागि दिन पर्छ। Mindet व्यवस्थाको माध्यमले जर्मनीलाई आआफ्नो सबै उपनिवेश त्याग्नु पर्‍यो र ती उपनीवेशालाई मित्रराष्ट्रको संरक्षणमा राखियो। प्रशान्त महासागरको कयौं द्विप तथा अफ्रिकी महादेशमा स्थित उपनिवेश जर्मनीले गुमाउनु पर्‍यो ।

सैन्य प्रणाली

जर्मनेली सेनाको अधिकतम संख्या १ लाख बनाइएको थियो। यसको अतिरिक्त, नौसेना शक्ति पनि सीमित रहेको थियो। जर्मनीमा मात्र नौसेनाको ६ युद्ध क्षेत्रलाई अनुमति दिइएको थियो भने सहयोगीहरूका पनडुब्बीहरूलाई कम लगाउने बारे छलफल गरिएको थियो। -विकीपिडियाबाट सम्पादन गरिएको सामग्री।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्