इतिहास रच्न अज्ञात यात्रामा निस्केका यूरी गगारिन को हुन् ?

yuri
  • 57
    Shares
लोकपाटी न्यूज

‘विश्वको धेरै टाढा र माथि म एउटा टिनको क्यानमा बसिरहेको छु। पृथ्वी नीलो छ र त्यहाँ मैले गर्न सक्ने केही पनि छैन।’ डेभिड बोईको ‘स्पेस ओडिटी’का यी शब्दहरूले यूरी गगारिनलाई कस्तो लाग्यो होला भन्ने संक्षेपमा अभिव्यक्त गरेका छन्।

किनकि उनी नै पहिलो पृथ्वीबाहिर अन्तरिक्षसम्मको यात्रा गर्ने पहिलो मानव थिए। आफ्नो दुई मिटरभन्दा केही बढी व्यासको सानो अन्तरिक्षयानमा गगारिन अन्तरिक्षयात्रीभन्दा पनि एक यात्रीका रूपमा बसेका थिए। त्यस बेला ‘चालक’ यानको नियन्त्रणका उपकरणलाई पनि छुँदैनथे।

जमिनको नियन्त्रण केन्द्रसँग गरिएको संवादको उतारअनुसार गगारिन यानको झ्यालबाट देखिएको दृश्यमा भुलेका थिए। उनले हाम्रो ग्रहको ‘सुन्दर आभा’ र बादलका कारण पृथ्वीमा परेको छायाबारे टिप्पणी गरेका थिए। सन् १९६१ एप्रिल १२ मा गगारिनको अन्तरिक्षयात्रा सोभियत संघका लागि अमेरिकासँगको प्रतिस्पर्धामा विजय थियो र उनको पृथ्वीमा फिर्ती एउटा निर्विवाद विजय थियो।

तर इतिहास रच्नका लागि गगारिन खतरनाक चुनौती सामना गर्न तयार भएका थिए, जसका लागि अपार वीरता आवश्यकता पर्छ। उनी त्यस बेला उद्धारका लागि नियन्त्रक समेत नभएको यानमा लगभग अज्ञात र रहस्यमय स्थान अन्तरिक्षमा गए। उनलाई अन्तरिक्ष पठाउने रकेटले जति सफल उडान गराएको थियो उत्तिकै असफल उडान पनि गराएको थियो।

गगारिन ‘गिनीपिग’को भूमिकामा थिए र उनको अभियान कैयौं प्रश्नहरूको उत्तरका लागि बनाइएको थियो। के मानिस अन्तरिक्षमा बाँच्न सक्छन् ? के अन्तरिक्ष यान यात्राभरिका लागि रहला ? के अन्तरिक्षयानले पृथ्वीसम्म प्रभावकारी रूपमा सञ्चार गर्ला ? अनि के सुरक्षित रूपमा अन्तरिक्षयान अवतरण होला ? यस्ता धेरै प्रश्न थिए।

त्यस बेला कसैलाई पनि रकेट, अन्तरिक्षयान, सञ्चार नियन्त्रण प्रणाली र अन्तरिक्षमा मानिस बाँच्न सक्लान् भन्नेमा आत्मविश्वास थिएन। उक्त अभियानको करिब आधा शताब्दीपछि इन्जिनियर बोरिस चेर्टकले आफ्नो पुस्तक ‘रकेट्स एन्ड पीपल’मा लेखेका छन्, ‘यदि भोस्टोकलाई अहिलेका वैज्ञानिकहरूका अगाडि राखिएको थियो भने कसैले पनि त्यो जस्तो निराशाजनक कुरालाई अन्तरिक्षमा पठाउनुपर्छ भन्ने पक्षमा मत दिने थिएनन्।’

‘त्यस बेला मैले सबैकुरा मलाई ठिकठाक लाग्यो र उक्त अभियानको सुरक्षाको म ग्यारेन्टी लिन्छु भनी घोषणा गरिएको कागजमा हस्ताक्षर गरेको थिएँ। आज भएको भए म कहिल्यै पनि त्यसलाई हस्ताक्षर गर्दिनथेँ। मैले धेरै अनुभव प्राप्त गरेँ र हामी कति खतरामा थियौँ भन्ने थाहा पाएँ।’

भोस्टोकका असफलता

भोस्टोक लन्च भेहिकलमा सोही नामको अन्तरिक्षयान जडान गरिएको थियो। त्यो दुई चरणको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको रकेट आर-७ मा आधारित थियो। त्यसले सन् १९५७ मा पहिलो उडान गरेको थियो। त्यसै वर्ष स्पुत्निक वन कृत्रिम पृथ्वी भूउपग्रह पनि आर-७ बाटै आएको थियो।

आर-७ को डिजाइन निकै सफल रह्यो। यो परिवारकै क्षेप्यास्त्र मात्र अहिलेसम्म रुसको मानिस राखेर गरिने उडानका लागि प्रयोग भइरहेको छ। यो पुरानो भए पनि अन्तरिक्षको कक्षमा पुग्नका लागि यो निकै विश्वसनीय साबित भएको छ। तर सन् १९६१ मा अवस्था फरक थियो।

भोस्टोकको थालनी मे १५, १९६० मा भएको थियो। त्यो भनेको गगारिनको अभियानको एक वर्षभन्दा पनि कम समय हो। त्यसबेला एउटा भूउपग्रह यान छाडिएको थियो। त्यो पृथ्वीको कक्षबाहिर त गयो तर फर्केर आएन। त्यसको सम्पूर्ण प्रणाली नै असफल भयो।

अगस्ट १९ मा बेल्का र स्ट्रेल्का नामक दुई कुकुरलाई अन्तरिक्षमा पठइयो। ती फर्किए पनि। त्यो नै सन् १९६० भरिको सफल उडान थियो। तर त्यसपछिका प्रयास कम सफल भए। डिसेम्बर १ मा फेरि दुईवटा कुकुर मुस्का र चेल्का लिएर गएको अर्को यान फर्किन सकेन। अन्य देशहरूले सोभियन प्रविधि नजानून् भनेर जनावरहरूसहित यान नष्ट गरियो।

लगभग पूर्ण

गगारिनको उडानका बेला एप्रिल १२, १९६१ मा रकेटले लगभग पूर्ण रूपले काम गर्‍यो। तर अन्तरिक्ष प्रविधिमा केही पनि तुच्छ भन्ने हुँदैन र त्यो ‘लगभग पूर्ण’ले गगारिनको ज्यानै लिन सक्थ्यो। कतिपय प्राविधिक कमजोरी हुँदाहुँदै पनि उक्त अन्तरिक्षयान अनुमान गरिएकोभन्दा उचाइमा अन्तरिक्षमा प्रवेश गर्‍यो।

त्यसमा ब्रेकहरू थिए। तर तिनले काम नगरेका भए गगारिनले अन्तरिक्षयान आफैँ पृथ्वीमा नउत्रिउन्जेल पर्खनुपर्थ्यो। यद्यपि भोस्टोकमा एक साताभन्दा बढीलाई पुग्ने अक्सिजन, खानेकुरा र पानी थियो तर उच्च उचाइका कारण उक्त यानलाई फर्काउनका लागि त्योभन्दा लामो समय लाग्न सक्थ्यो।

गगारिन खाना र पानीको अभावमा पर्न सक्थे र उनको मृत्यु हुन सक्थ्यो। तर ब्रेकहरूले काम गरे। अन्तरिक्षयानको क्याप्स्यूल र सर्भिस मोड्यूललाई जोड्ने डोरी गगारिनको पृथ्वीतर्फ फर्कनुअघि छुट्टिन सकेनन्। त्यसले गर्दा उनले अप्रत्यासित रूपमा थप मोड्यूलको भार बोक्नुपर्‍यो। क्याप्स्यूलमा तापक्रम खतरनाक रूपमा उच्च भयो र गगारिन अचेतजस्तै भए।

‘म आगोको बादलमा थिएँ र पृथ्वीतर्फ झर्दै थिएँ,’ पछि उनले स्मरण गरेका थिए। अवतरणको १० मिनेटअघि मात्र डोरी जलेर ती मोड्यूलहरू छुट्टिए। गगारिन आफ्नो क्याप्स्यूलले जमिनमा छुनुअघि नै हाम फाले र प्याराशूटका माध्यमबाट भोल्गा नदीनजिकै अवतरण गरे। त्यसले फेडेरेशन एरोनटिक इन्टरन्याश्नल (एफएआई) को आवश्यकतालाई अवज्ञा गर्‍यो।

नियमानुसार अन्तरिक्षयात्री यानमै उत्रिनुपर्छ नत्र अन्तरिक्षमा उडानलाई निरन्तरता दिइँदैन। तर अधिकारीहरूले गगारिनले आफ्नो यानभन्दा केही किलोमिटर पर अवतरण गरेको कुरालाई स्वीकार गरेनन्। उनको अन्तरिक्ष उडानलाई एफएआईले प्रमाणित त गर्‍यो तर उसको नियम परिवर्तन गरेर सुरक्षित उडान, अर्बिट र अवतरणलाई महत्त्वपूर्ण चरण बनायो। -बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्