सीजी कम्युनिकेसनकाे इन्टरनेट सेवा मंगलबारदेखि उपत्यकामा शुरु

लोकपाटी न्यूज

काठमाडौं। सीजी कम्युनिकेसन्सले मंगलवारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरु गरेको छ।

उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले बताएको छ। उच्चगतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने पनि बताएको छ। उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा नयाँअनुभव गराउने विश्वास पनि कम्पनीले लिएको छ। ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ। कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रमहोम’, अनलाईन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्वबजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको पनि कम्पनीले बताएको छ। शुरुवाती समयमा उक्त सेवा काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा उपलब्ध हुनेछ। तत्कालकालागि भने जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले उक्त सेवा लिन सक्ने बताइएको छ। एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ। कम्पनीका प्रबन्धनिर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदानगर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवाप्रारम्भ गरिएको बताए।

सीजी कम्युनिकेसन्स चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो।