त्रिपाठीसँग मिलेर नयाँ दल खोल्ने ठाकुर समूहको तयारी

Thakur_Tripathi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने भएको छ। दुवै समूह मिलेर नयाँ दल दर्ता गर्न छलफल भइरहेको छ।

२०६२/६३ को जनआन्दोलन लगत्तै भएको मधेश आन्दोलनपछि २०६४ पुसमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) नामक नयाँ राजनीतिक दल बनाउँदा ठाकुर र त्रिपाठी एकै ठाँउमा थिए। पछि तराई केन्द्रित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि अध्यक्ष मण्डलमा नराखिएकोमा असन्तुष्टि जनाएर बाहिरिएका त्रिपाठीको समूहसँग फेरि ठाकुरले एकीकरण गर्न थालेका हुन्।

६ दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मेधस सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकीकरण गर्दा मुख्य भूमिका त्रिपाठीले निभाएका थिए।

२०७७ साल बैशाख ११ गते राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। अहिले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहमा लाग्ने कि ओलीविरोधी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेतृत्वको पाँच दलीय समूहमा लाग्ने भन्नेमा विवाद छ। त्यही विवादका कारण जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहनेगरी पार्टीबाट कारबाही गरेको छ।

कार्यकारिणी समितिमा बहुमत रहेको समूहले कारबाही गरेपछि ठाकुरले पुराना मित्र त्रिपाठीको समूहसँग एक भएर नयाँ पार्टी बनाउनका लागि छलफल सुरु गरेका हुन्। स्रोतका अनुसार ठाकुरसहित जसपाबाट निष्काशित नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता गर्ने सम्बन्धमा सिंहदरबारमा कुराकानी भइरहेको छ। कुराकानीमा ठाकुर समूहबाट ठाकुर, राजेन्द्र महतोसहितका नेताहरू र त्रिपाठी समूहबाट त्रिपाठीसहितका नेताहरू सहभागी रहेको स्रोतले बतायो।

तत्कालिन राजपा छोडेपछि स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले २०७४ मा सम्पन्‍न संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर होमिएका थिए। त्यसबेला तत्कालिन एमालेले त्रिपाठी समूहका ५ नेतालाई सूर्य चिन्ह लिएर निर्वाचन लड्न दिएको थियो। ति मध्य त्रिपाठी र व्रिजेश गुप्तले निर्वाचन जितेका थिए।

निर्वाचित भएर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका थिए। पछिल्लोपटक मन्त्री मन्त्रिपरिषद् विस्तार गर्दा त्रिपाठीलाई स्वास्थ्यमन्त्रीमा सरुवा गरिएको थियो।

२०४८ सालदेखि संसदीय राजनीतिका माहिर खेलाडी त्रिपाठी पनि स्वतन्त्र सांसदको हैसियतमा बस्दा आफ्नो भूमिका खुम्चिएको अनुभूति गरिरहेका र ठाकुर पनि कारबाहीमा परेपछि नयाँ पार्टी बनाउनु पर्ने अवस्थामा रहेकाले दुई बीच एकीकरण गर्ने तयारीमा उनीहरू लागेका हुन्। त्रिपाठीको समूहका एक सदस्यले भने, ‘हो छलफल चलिरहेको छ। एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक हामी पुगिसकेका छौं।’

अहिले मधेशी पार्टीहरूबीच एकता गराएर जनता समाजवादी पार्टीलाई काउन्टर दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सदिच्छा रहेको बताइएको छ। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि मुलुक तीव्र राजनीतिक ध्रुवीकरणतर्फ अघि बढेको बताएका छन्।

तराई मधेशको राजनीतिमा माहिर खेलाडी मानिने ठाकुर, त्रिपाठी, महतोबीचको छलफलले उनीहरू मिलेर नयाँ दल पुनर्गठनमा जानेतर्फ सकारात्मक संकेत गरेको छलफलमा सहभागी एक नेताले बताए। –इकागजबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्