नेपालले भोलि चाइनीज ताइपेईसँग प्रतिस्पर्धा गर्दै

लोकपाटी न्यूज

काठमाण्डाैँ।  कतारमा हुने सन् २०२२ काे विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (भोलि) नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो लिगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई बलियाे राख्न चाहन्छ।

विश्व कप छनोट अन्तर्गत समूह ‘बी’ मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ। कुवेतमा रहेकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल त्यही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियाे राख्न चाहन्छ। तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ। त्यही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेलअघि बताउनुभएकाे छ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतको अत्यधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो। पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो। नेपाल भोलि चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबल बनाउनेछ। चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ। चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड-१९ सङ्क्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीविना नै कुवेत भ्रमणमा निस्किएको बताएका छन्। त्यही कारण पनि नेपालको मनोबल उच्च रहनेछ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई सात-शून्यकाे नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई दुई-शून्यले हराएको थियो। तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग पाँच-शून्यले र चौथो खेलमा जोर्डनसँग तीन-शून्यले पराजित भएको थियो। घरकाे खेलकाे रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपपा रहेको भुटानमा कुवेतसँग एक-शून्यले पराजित भएको थियो। फिफा वरीयताको एक सय ४१ औँ स्थानमा रहेको चाइनिज ताइपेई र एक सय ७१ औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन्। पहिलो खेल सन् २०१९ जुन ६ मा दशरथ रङ्गशालामा भएको थियो। मैत्रीपूर्ण त्याे खेलमा एक-शून्यले पछि परेकाे अवस्था उल्ट्याँदै नेपालले एक-एक को बराबरी खेलेको थियो। दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्व कप छनोटमा प्रतिस्पर्धा भएकाे थियाे। त्याे खेल नेपालले दुई–शून्यले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्