देशमा जे छ, त्यही बेच्छौं, चुरे भएकाले त बेच्ने हो : सूर्य थापा

surya-thapa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे दोहनको सरकारी नीतिको बचाउ गरेका छन्। उनले जुन देशमा जे छ, त्यही निर्यात गर्ने हो भन्दै सरकारी नीतिको बचाउ गरेका हुन्। सरकारले बजेटमै चुरे दोहनको कार्यक्रम राखेपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ।

तर सरकारले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा चुरे क्षेत्रबाट खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आज एक ट्वीटमार्फत चुरे संरक्षणका लागि सरकारले ल्याएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरुभूमिकरण हुने भनी प्रचार गर्नु नियोजित भएको दावी गरे।

‘चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ,’ उनले भने, ‘इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्, पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • आँफुसंग जे छ, त्यहि बेच्नुपर्छ

    पहाड बेच्नुपर्छ, खानी बेच्नुपर्छ
    नदि खोला नाला, पानी बेच्नुपर्छ ।१।

    आँफुसंग जे छ, त्यहि बेच्नुपर्छ
    आफ्नो घर जलाई, खरानी बेच्नुपर्छ ।२।

    बुद्धि हुनेले, बुद्धि बेच्नुपर्छ
    जवानी हुनेले, जवानी बेच्नुपर्छ ।३।

    घरमा भएका, छोरी बुहारी
    कैले ठूली कैले, सानी बेच्नुपर्छ ।४।

    के बेच्दा छिमेकी, खुसी हुन्छ त्यहि
    रोजेर छानी, छानी बेच्नुपर्छ ।५।

    आँफू सत्तामा, बसि रहनलाई
    ईमान जमान र, बानी बेच्नुपर्छ ।६।

    उसले उखानटुक्का, कथा बेचेको छ
    मैले गीत गजल, कहानी बेच्नुपर्छ ।७।

    यो पुँजीवादी, दुनियाँ हो भन्दै
    जे सकिन्छ जानी, जानी बेच्नुपर्छ ।८।

    त्यसपछि मसंग, बेच्ने क्यै हुँदैन
    केबल बाँकि जिन्द-गानी बेच्नुपर्छ ।९।
    