घोषणामै सीमित जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र

khem pic
लोकपाटी न्यूज
0 Shares

– खेम रनपहेली

नेपाल सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पुगेको छ। सरकारले २०६३ जेष्ठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। १५ वर्षभित्र विभिन्न सरकार बने तर छुवाछुतका घटनाहरू घटेनन्। कानुन नबनेको भने होइन, कार्यान्वयन गर्न नचाहेर हो।

सिङ्गो दलित समुदाय यो शताब्दीमा मान्छे सरह जीवनयापन गर्न पाएका छैनन्। जातीय भेदभाव तथा छुवाछुतकै कारण वर्षेपिच्छे सयौँ दलित समुदायले ज्यान गुमाउनु परेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उपलब्धि समावेशी, समानुपातिक मूल्यमान्यतालाई संविधान अनुसार वर्तमान सरकारले कार्यान्वयन गर्न समेत चाहान्दैन्। छुवाछुत मुक्त राष्ट्र घोषण भएको आज १५ वर्ष पुगेता पनि उक्त घोषणा घोषणामै सीमित भएको छ। म यहाँ १५ वर्षकै दलित समुदायमाथि भएका अन्याय र अत्याचारको औँल्याउन चाहन्न विगत २ वर्षमा दलित समुदायमाथि भएका भेदभाव तथा छुवाछुतका घटना हजारौँ घटेका छन् यहाँ तपाईँहरू सामु प्रस्तुत गर्दा निकै लामो हुन्छ त्यसैले संक्षिप्तमा यहाँ प्रस्तुत गरेको छु।

घटना नं. १ रुकुुमपश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका ४, राना गाउँका नवराज विश्वकर्मा बिचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भमा २०७७ जेष्ठ १० गते शनिवारको दिनमा स्थानीय गाउँलेहरूको योजनाबद्ध सामूहिक आक्रमणबाट निज नवराज विक, टिकाराम विक, लोकेन्द्र सुनार , गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको छ। उक्त हत्याकाण्डको न्यायिक छानबिनका लागि देशव्यापी आन्दोलन पश्चात् सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति र प्रतिनिधि सभामा संसदीय छानबिन समिति गठन भई प्रतिवेदन बुझाएको थियो। जिल्ला अदालत रुकुम पश्चिमले हाल २८ जना थुनुवामा, २ जना बाल सुधार गृहमा र २ जना धरौटीमा छुटेका छन्। तर दलित आन्दोलन निरन्तर अघि बढेको देखिन्छ। (स्रोत विभिन्न पत्रपत्रिका, संसदीय समिति प्रतिवेदन)

घटना नं. २ रुपन्देहीको देव दह नगरपालिका वडा नं. ११ गुम्बाकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारको रुखमा मिति २०७७ जेष्ठ ११ गते झुण्डिएको अवस्थामा लास फेला परेको थियो। उनको स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेको थियो। निज अंगिरा र वीरेन्द्रलाई स्थानीय वडा अध्यक्ष लगायतको उपस्थितिमा परिवारको सहमतिमा केटीलाई केटाको जिम्मा लगाइएको थियो । अंगिराका बुवा बाबुराम पासीले आफ्नी छोरीको हत्या गरेको आरोप लगाएका छन्। स्थानीय दलित आन्दोलनको दबाबका कारण मुद्दा दर्ता गरिएको थियो। हाल बलात्कारी सहित ३ जना जेलमा छन् भने वडा अध्यक्षमाथि भने कुने मुद्दा पनि चलाइएन। स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN,, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं. ३ अछाम जिल्ला पञ्च देवल विनायक नगरपालिका वडा नं. ९ काले काँडा भानाकोटकी १८ वर्षीय उर्मिला टमट्टालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभन दिएर २ वर्षसम्म यौन शोषणपश्चात् हत्या गरेका थिए। सो घट्नामा कुनै कारबाही गरिएको छैन। स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN,नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं. ४ प्रदेश नं। २ धनुषाको सबैला नगरपालिका वडा नं १२ बस्ने २२ वर्षीय शंभु सदा (मुसहर) को जेष्ठ २६ गते सबैलास्थित इलाका प्रहरीको हिरासतमा झुन्ड्याएर निर्मम तरिकाले हत्या भएको थियो। उनले आत्महत्या भएको भन्दै प्रहरीले शम्भु सदाको आमालाई राति २ बजे घरबाट ल्याएर अपरिचित कागजमा हस्ताक्षर गराएका थिए। अहिले पनि किटानी जाहेर गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छैन। शुम्भुको परिवारलाई प्रदेश सरकारका तर्फबाट ५ लाख दिएका छन् तर न्याय अनिश्चित छ। (स्रोत: दलित गैरसरकारी संस्था महासङ्घ, च्म्ल्, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं. ४ मिति २०७७ जेष्ठ २६ गते राति रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहियास्थित गंगादेवी पशुफर्ममा ४० वर्षीय माधव मुसहर , ३७ वर्षीय जानकी मुसहर , १४ वर्षीय पासराज मुसहर , १७ वर्षीय करन चौ धरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीर्पू एवं बीभत्स हत्या भएको थियो। तर यस मुद्दालाई सामान्य मुद्दाका रूपमा लिइयो । दलित आन्दोलनले सवाल बनाउन आवश्यक ठानेनन्। (स्रोत:दलित गैरसरकारी संस्था महासङ्घ, RDN,, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं. ५ धनुषा, भारतको चेन्नाइबाट १४ ज्येष्ठमा घर फर्केका धनुषा हंसपुर नगरपालिका वडा नम्बर ७ प्रहासीका १६ वर्षीय राजु सदा क्वारेनटाइन झाडापखालाबाट जनकपुर प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा ९ असारमा मारिएका थिए। उपचारमा गम्भीर लापरबाही गरिएको थियो। हाल उनको नियोजित हत्या हो भन्दै मधेसमा दलित आन्दोलनमा उत्रिएका थिए। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, च्म्ल्, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं. ६ मोही जग्गा जोत्दा सप्तरीको शम्भुनाथ नपा वडा नं ३ मा आफूले मोही स्वरूप पाएको जमिन जोत्दा ४२ वर्षीय दलित युवा त्रिभुवन रामको २०७७ असाढ ३१ गते राति हत्या गरेर लास फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। पुख्र्यौदेखि आफ्ना बाजे, बाबुले जोतेको जमिनको मोहीमा पाएको जमिन जोत्दा निज युवाको हत्या गरिएको थियो। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN,, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं.७ सिराहाको लहान नगरपालिका १ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको छ। मृतक रामको केही समय अघि मात्रै विवाह भएको थियो। लकडाउनकै समयमा लागू औषध मुद्दामा रोशन पक्राउ परेर दश हजार धरौटीमा छुटेका थिए। लहान प्रहरी कारागारमा र हुँदा रोशनले मिर्चैया नगरपालिका १ का मुकेश कटुवालसँग एक हजार रुपैयाँ सापटी लिएका थिए। थुनाबाट निस्केपछि मुकेश कटुवाल पैसा माग्न रोशनको घरमा आउँथ्यो।

रोशन पैसा जोहो गरेर दिन्छु भन्दै आएका थिए। तर , मुकेशले पटक पटक उसको घरमा पुगे र परिवारलाई धम्काउने ज्यान मार्ने जस्ता कुराहरू गर्दै आएका थिए। असाढ २७ गते घरबाट बाइकमा चढाएर ससुराली जाऊँ भने र लगे । सोही दिनदेखि बेपत्ता थियो। उनको लास मिर्चैयाको बताहा खोला नजिक बेवारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए। त्यसपछि त्यो लास लहानको अस्पताल शव गृहमा राखिएको छ। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, च्म्ल्, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं. ८ २७ फागुन ०७४ मा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो। दुई वर्षअघि सामूहिक बलात्कारको घटनामा उजुरी दिने सप्तरीको शम्भुनाथ नगरपालिका- ३ कचन्दाहा टोलका ४२ वर्षीय त्रिभुवन राम (भूपेन्द्र) को हत्या गरिएको थियो। हत्याको आरोप लागेका स्थानीय सुरेन्द्र पाल गडेरीसहित सात जनाका आफन्तले किरिया बसेका त्रिभुवनका छोरा रोशनलाई पनि उडाइ दिने धम्की दिएका थिए। त्यस घटनामा त्रिभुवनले प्रहरीमा उजुरी दिएका थिए। उनले दिएको उजुरीका आधारमा पक्राउ परेका स्थानीय एटलान्टा चौधरी, अजय कुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साहलाई जिल्ला अदालतले २९ माघ ०७६ मा १० वर्ष कैद सजाय सुनाएको थियो। चारै जना राजविराज कारागारमा कैद भोगिरहेका छन्।

त्यही घटनाका आरोपी स्थानीय बब चौधरी र मिथिलेश कुमार साह भने फरार छन्। सामूहिक बलात्कारमा जेल सजाय भोगिरहेका मनोजका ठुलो बुबा शम्भु साहले २७ असारमा त्रिभुवनलाई धम्की दिएका थिए। त्रिभुवनका बुबा कुशेश्वर रामका अनुसार ‘शम्भु साहले पुरानो घटनाको कुरा निकाले नराम्रो हुन्छ भन्दै धम्क्याएका थिए। ‘धम्की दिएको तीन दिनपछि प्रहरी कार्यालयबाट घर फर्के पछि उनी साँझ साढे ६ बजे तिर साइकल लिएर शम्भुनाथ–४ मा पर्ने छिमेकी गाउँ नरही गएका छोराको लास खोलामा भेटियो।’ यससँगै मोहीको विवाद पनि जोडिएको थियो। स्थानीय रासलालपाल गडेरीको १० कट्ठा जग्गामा भूमिसुधार कार्यालयले जोताहा कुशेश्वरलाई पाँच कट्ठा मोही कायम गरी दिएको थियो। त्यही जग्गामा त्रिभुवन २८ असारमा रोपाइँका लागि हलगोरुसहित जोत्न गएका थिए। उनलाई रासलालले जोत्न दिएनन्। त्यसपछि उनले रूपनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। २९ असार मा प्रहरी कार्यालयमा भएको छलफलमा त्रिभुवनलाई नै जोत्न दिनुपर्ने सहमति भएको थियो।

त्रिभुवनको स्थानीय सुरेन्द्र पाल गडेरीसँग पनि पाँच कट्ठा जग्गाको मोही विवाद थियो। सामूहिक बलात्कारको अपराधमा जेल परेका व्यक्तिहरूको आफन्त र मोही जग्गाको विवाद भइरहेका व्यक्तिहरूले मिले र त्रिभुवनको हत्या गरेको परिवारको आरोप छ। (स्रोत: दलित गैरसरकारी संस्था महासङ्घ, RDN,, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं.९ मोरङ, बुढीगंगा गाउँपालिका–२ को मुसहर टोलमा ६० घर मुसहरका छन्। भूमिहीन उनीहरू सबै ज्याला मजदूरी गरेर जीवन धान्छन्। त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्छन्। बैजनाथको परिवारले आफ्नो धाराको पानी निकास गर्न घर अगाडिको सडकमा खाल्डो खनेको छ। राति आऊ जाऊ गर्नेहरू लड्ने तथा साइकल/मोटर साइकल दुर्घटना हुने भन्दै स्थानीयले यादव परिवारलाई खाल्डो पुर्न, कि पाइप लगाउन आग्रह गर्दै आएका थिए। तर , गाउँलेको आग्रह बैजनाथ परिवारले बेवास्ता गदै आएको थियो। यही विषयमा सरस्वती ऋषिदेवको केही समयअगाडि यादव परिवारसँग सामान्य विवाद भएको थियो।

१९ साउनको बिहान एक मुसहर महिला दुलारी ऋषिदेव खाल्डोमा लडेर सामान्य घाइते भइन्। त्यही विषयमा विवाद हुँदा बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछार पछार गरेर कुटपिट गरे। झगडा मिलाउन त्यही दिन दिउँसो समाज बस्यो। समाजको बैठकमा सरस्वती, श्यामलगायतले कुटपिटको विरोध गर्दै खाल्डा पुर्न माग गरेका थिए। त्यसपछि बैजनाथ परिवारले सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने समाजको फैसला अनुसार सहमति भयो। तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ परिवारले ‘इगो ’ लियो। प्रहरीले राति सञ्जय यादव, ब्रह्मदेव यादव, दीपक साह, उत्तिमलाल यादव र विष्णु यादवलाई पक्राउ गरेर लगेको थियो।

२० साउनमा आक्रमणकारीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय निमुवामा पीडितहरूले निवेदन दिएका छन्। तर, प्रहरीले मिलापत्र गरेर दोषीलाई जोगाउने षड्यन्त्र ग¥यो। स्थानीयले त्यसको विरोध गरेपछि इप्रकाले आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय पठायो। जिप्रकाले मुद्दा दर्ता नै नगरी सबै आक्रमणकारीलाई २० साउनमै विराटनगर –१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहबरमा छाडिदियो। स्थानीय बासिन्दाका अनुसार बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा जतुवाबाट गुन्डा झिकाएका थिए। मुसहर बस्तीमा कुटपिट गर्न जाँदा चलमली र सिन्धु पनि थिए। तर, प्रहरीले मुख्य योजनाकार बैजनाथ, चलमली र सिन्धुलाई पक्राउ नै गरेन। अहिले बैजनाथको पुरै परिवार फरार छ। सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर –१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ।

१९ साउनको राति मोटर साइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए। आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन्। तरबारले सरस्वतीको छातीको देब्रेभाग नै ताछिएको छ। अन्य को टाउको, गर्धन र शरीर भरि ठुल्ठूला घाउ बनेका छन्। (स्रोत : नयाँ पत्रिका २०७७ श्रावण २३ गते)

घटना नं.१० मोरङ जिल्लाको मिक्लाजुंग नगरपालिका वडा नं. ९ कसेनीस्थित आफ्नै टहरोमा सुतेको अवस्थामा त्यहाँका स्थानीय धिरेन मगर नामका व्यक्तिले १४ वर्षीया दलित वालिकामाथि बलात्कार गरेका थिए। स्थानीय गाउँलेहरूले निज धिरेन मगर लाई पक्राउ गरी प्रहरीलाई बुझाउन खोज्दा धिरेनका आफन्तहरूले आफै प्रहरीलाई बुझाउने भन्दै छुटाएर लगी फरार गराएका छन्। किटानी जाहेरीपछि निजलाई हिरासतमा लिइएको थियो। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं.१ धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. ६ स्थित आत्माराममा १३ वर्षीया दलित समुदायकी एवं बालिका बलात्कारको सिकार भएकी थिइन्। ती दलित बालिकाको गर्भमा ५ महिनाको गर्भ रहेको थियो। गाउँका ४ जना मदन अधिकारी, गौरी अत्रि, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले पटक पटक जबरजस्ती यौन सम्पर्क राखेको अनुसन्धानको क्रममा खुलेको थियो। उनीहरूले कसैलाई भनेमा नराम्रो हुने धम्की दिने गरेको खुलेको थियो। घटनामा संलग्न ४ जना व्यक्तिहरूले घटनालाई ढाकछोप गर्न बालिकाको बुवालाई ३ र ३ लाख रुपैयाँको दरले पैसा दिएर कसुर छिपाउन लागेको छरछिमेकले थाहा पाएपछि घटनाको सबै कुरा बाहिरिएको थियो। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं.१२ कास्की जिल्लामा यही २०७७ वैशाख २ गतेको दिन बिहान ८ बजेको समयमा छिमेकी घर नजिकै का ६० वर्षीय खुस बहादुर गुरुङले १० वर्षीया दलित बालिकाकालाई मुख थुने र जबरजस्ती गर्न खोजिएको घट्नामा बालिकाका बुवालाई राखे र मिलापत्र गर्न बाध्य पार्न खोज्दा निज बालिकाका बुवा पोखरा आएर शरण लिन बाध्य भएका थिए। निज खुमबहादुर विरुद्ध मुद्दा वैशाख २६ मा जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएका थिए। तर सोगाउँला पीडितको एउटा मात्र घर भएको र गुरुङहरूको मात्र बाहुल्य भएकोले असुरक्षा महाशुस गरेको बुझिन्छ। स्रोत : दलित अनलाइनबाट (२०७७ वैशाख २ गते)

घटना नं.१३ मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–७ बडहराकी १५ वर्षीया किशोरी ५ महिना अघि स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको थियो। उल्टै निज अभियुक्तहरूका परिवारले पीडितलाई गाउँमा बस्न नदिएर गाउँ छोड्न बाध्य भएकी छन्। उनी आफ्नो आमासहित इटहरीमा कोठा भाडा लिएर बसेकी छन्। (स्रोत : दलित अनलाइनबाट २०७७ असाढ २१ गते)

घटना नं.४ कास्की जिल्लाको पोखरा महानगरपालिका १६ बाटुले चौरका मोहन सुनारलाई आफ्नो भाइको क्रिया गर्न स्थानीय क्रिया घर जाँदा जातीय कारणले दिन मिल्दैन भनी मृत्युमा समेत विभेद गरियो। सो का विरुद्ध मुद्दा दर्ता गर्दा प्रहरीले लाठी चार्ज गर्नुप¥यो। यति मात्र होइन जातीय भेदभाव तथा छुवाछूतको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा नेकपा कास्कीका अध्यक्ष समेत रहेका गण्डकी प्रदेशसभाका सदस्य कृष्णबहादुर थापाले वैशाख २४ गते पद र शक्तिको दुरुपयोग गर्दै छुवाछूतका घटनामा संलग्नलाई विना सर्त छाड्न प्रेस विज्ञप्ति जारी गरेका थिए। निज कृष्णबहादुर थापाको विरुद्ध मानवअधिकार आयोग र पार्टीमा उजुरी दर्ता गरिएको थियो। सम्मानित अदालत कास्कीको आदेश बमोजिम पीडक धरौटीमा रिहाइ भएका छन्। (स्रोत : दलित अनलाइनबाट (२०७७ वैशाख २४ गते)

घटना नं.१५ जाजरकोट जुन चाँदे गाउँपालिका २ मजकोटका रामबहादुर नेपालीमाथि २०७७ वैशाख ९ गते को दिनमा आफ्नै वडामा राहात वितरण गरिहेको बेला एक्कासि जयबहादुर नाथ लगायतका ७ जनाको समूहले दलित, डुम, तल्लो जात राहात बाँडे र ठूलोपल्टेको, वडाध्यक्ष भएभन्दैमा हामीभन्दा ठुलो भएको भन्दै घाइते हुने गरी कुटपिट गर्दा घाइते भई नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार गरेर घर फर्केका थिए।

सो मुद्दामाथि स्थानीय अदालतमा भएको बहसमा जिल्ला न्यायाधीश देवकुमार गिरीले रामबहादुर नेपालीका अनुसार आज बहसका क्रममा पीडित रामबहादुर नेपालीलाई जिल्ला न्यायधिश गिरीले उचाइ र वडा कार्यालयको ढोकाको उचाइ कति छ भने र सोधेका थिए। सो को उत्तर दिएपछि न्यायधिशल तपाईको टाउको ढोकामा ठोक्किएको ठहरिन्छ भनेर सुनाएका थिए। (स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ, RDN, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ)

घटना नं.१६ कालिकोट सन्नी त्रिवेणी गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष रङराज सार्कीलाई सोही वडाका वडा सचिवबाट डुम भन्दा जातीय विभेद गरिएको थियो। (स्रोत: दलित अनलाइनबाट (२०७७जेष्ठ १ गते) घटना नं.१७ कालिकोट जिल्ला खडा चक्र गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष वृषसिंह विकलाई स्थानीय, जनप्रतिनिधि तथा कर्मचारीबाट निरन्तर विभेद भएको घटना सार्वजनिक भएको थियो। (स्रोत :  दलित अनलाइनबाट (२०७७ जेष्ठ १ गते)

घटना नं.१८ गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिका वडा नं. ५ बाट निर्वाचित दलित महिला सदस्य तथा कार्यपालिका सदस्य कोशिल्या परियारकी आमाको निधन हुँदा कोशिल्याका छोरा श्याम परियार दाहसंस्कार गर्न स्थानीय लुँग खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा हावाहुरी र पानी परेको हुनाले स्थानीय नेत्र काउछा (मगर)  को घरमा ओत लागेर बसेको घट्नालाई लिएर घरभित्र पसेर छोएको भन्दै गाउँको भद्र भलादमी बुद्धिजीवी भनिएकाहरूको बैठक राखी निज श्याम परियार माथि अमानवीय व्यवहार गर्नुको साथै उनी र उनको बुवा धनबहादुर परियारलाई समेत कुटपिट गरी गाउँ निकाला गर्ने धम्की दिँदै रु.१५ हजार दण्ड जरिवानासहित अनुमति विना घरभित्र पसेको भन्ने ब्यहोराको जबरजस्ती कागजपत्रमा हस्ताक्षर समेत गराएका थिए। (स्रोत: दलित गैरसरकारी संस्था महासङ्घ,RDN, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं.१६ सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाकी ३१ वर्षीया सङ्गीता राईले स्थानीय २८ वर्षीय मीनबहादुर नेपाली आफूभन्दा अग्लो बाटोबाट हिँडे कोभन्दै तल्लो जात तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेका थिइन्। २०७७ वैशाख २० गते जातीय विभेद गरेकी थिइन्। आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुर नेपालीले प्रहरीमा जाहेरी दिएका थिए। सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, भन्ने मीनबहादुरको जाहेरीमा उल्लेख छ। स्रोत : दलित गैरसरकारी संस्था महासङ्घ,RDN, नेपाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ )

घटना नं.१७ दलितसँग विवाह गरेकै कारण पाल्पाको बगनासकाली–१, चिर्तुङधाराका पूर्णमान श्रेष्ठले शुक्रवार निधन भएकी आफ्नी आमालाई दाग बत्ती समेत दिन पाएनन्। आमाको पार्थिव शरीरलाई घरबाट काली गण्डकीको राम्दी घाट पुर्‍याउँदा सम्म उनलाई छुन दिइएन।एकाघर भित्रै आफ्नै आमाको अन्तिम संस्कारमा समेत छुन दिइएन। यस घट्नामा हालसम्म कुनै कारबाही भएको छैन। (स्रोत : कान्तिपुर दैनिकबाट (२०७७ असाढ २३ गते)

घटना नं.१८ पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका– ५ का वडाध्यक्ष लक्ष्मी सुहाङले एक दलित युवालाई दलित भन्दै बैठक कक्षाबाट बाहिर निकालेका थिए। वडा कार्यालयले बोलाएको बैठकमा सहभागी हुन पुगेका काँग्रेस प्रतिनिधि स्थानीय वीर बहादुर उभरकोटीलाई वडाध्यक्ष सुहाङले अपमानपूर्ण ढङ्गले बैठक कक्षबाट निकालेका हुन्।

आफूले बोलाएको भन्दा अरू नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएकोमा अध्यक्ष सुहाङले आक्रोश व्यक्त गरेका बताइएको छ। २०७७ साल जेष्ठ ७ मा वडा कार्यालयको भवन बनाउने विषयमा सर्वपक्षीय छलफल आयोजना गरिएको थियो। नेपाली कांगे्रसको वडा समितिका सचिव समेत रहेका उभरकोटी बैठकमा सहभागी पठाएको थियो। तर, अध्यक्ष सुहाङले ‘यो मान्छेलाई मले बोलाएको छैन, यसलाई म मिटिङमा बस्नै दिन्नँ भन्दै जातीय रूपमा विभेद गर्दै बैठकबाट निकालिएको पीडित उभरकोटीको भनाइ छ। (स्रोत दलित अनलाइनबाट ( २०७७ जेष्ठ १७ गते)

घटना नं.२० इलामको माई नगरपालिका–२ दानावारिकी यामकला आचार्य विकलाई उनको बुबाको अन्तिम संस्कार परिवार सँगै गर्न दिइएन। मिति २०७७ श्रावण सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवार सँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै क्रिया बसेकी थिइन्। यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन्। उनलाई अहिलेसम्म माइती पक्षले स्वीकार गरेको थिएन।

त्यसै कारणले बुबाको दाहसंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनु परेको थियो । निधन भएका बुवाको अनुहार हेर्न पनि दिइएन। यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ। बुबाको निधन भएको थाहा पाउने बित्तिकै उनी रुँदै माइती पुगिन। १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए। ‘म पुग्ने बित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस रु अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि।’ घाटमा पनि उनलाई लासको नजिक आउन दिइएन। मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जली गरिएको थियो।

त्यस क्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम लिइएन। यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन्। ‘काकी त कम्युनिस्ट पार्टीको नेता हुन्। माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँ अघि छुट्टिएको ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरि दिनू। कहिले काहीँ आफ्नो घर कोत जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु रु उनले आफू जहिले पनि जातीय विभेदको विरुद्धमा भएको बताइन्। (स्रोत : नयाँ पत्रिका २०७७ श्रावण २२ गते)

घटना नं.२१ अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका वडा नं. ४ स्थित समाज कल्याण प्राविमा निर्माण गरिएको क्वारेनटाइन लागि वडा कार्यालयबाट खटाइएका स्वयंसेवक दलित युवा कृष्णबहादुर वि।क।ले पकाएको खाना नखाने, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भने पछि घिमिरे लगायतलाई अर्को क्वारेनटिनमा सारि एको थियो। दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेनटिनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताएका थिए। उनीमाथि कुनै कारबाही भएको छैन। (स्रोत : कान्तिपुर दैनिकबाट  (२०७७ श्रावण ८ गते)

घटना नं.२२ रुपन्देहीको मायादेवी गाउँपालिका ६, बेथरीमा भएको सप्त चण्डी महायज्ञमा दलित समुदायका एक चमारले लगभग ५० लाख पर्ने जग्गा दान गरे। महायज्ञका लागि आवश्यक श्रम गर्ने, पैसा उठाउने, दाल चामल जुटाउने सम्पूर्ण काम स्थानीय चमारहरूले गरेता पनि चमार जाति पानी नचल्ने अछुत भएकाले महायज्ञमा प्रवेश गरे देउता रिसाउने र अनिष्ठ हुने भन्दै प्रसाद ग्रहण गर्ने देखि भोजभतेरमा जान रोक लगाएका थिए। (स्रोत २२ माघ २०७६ गते, साझा पोस्ट पत्रिका)

घटना नं.२३ कालिकोट, हरिनाथ गाउँपालिका ७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मालाई डुमको मरा भन्दै सोही वडाका प्राविधिक कर्मचारी दलबहादुर बुढा हातपात तथा गाली गलौच र अन्य जातीय विभेद हुने खालका शब्द प्रयोग गरी दुर्व्यवहार गरेको तथा वडाध्यक्षको कार्यकक्षमा कुटपिट समेत गरेका थिए। पीडित वडाध्यक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी समे त दिएका थिए। (स्रोत : ६चैत्र २०७६, अन्नपूर्णपोष्ट)

घटना नं.२४ पर्सा जिल्लाको जगरनाथ गाउँपालिका वडा नं २ जानकी टोल बजार छेउमा रहेको डोम बस्तीका डोमहरू स्थानीय होटेलहरूमा चिया नास्ता खाना जाँदा डोम बस्तीका स्थानीय घरबाटै गिलास र प्लेट लिएर जान्छन्। भाडा अशुद्ध हुने भन्दै ती होटेलहरूले डोमलाई चिया खाजा दिँदैनन्। चिया खाजा खाना दिए पनि अरूलाई जस्तो समान व्यवहार नगरी प्लास्टिकको गिलासमा चिया र कागजमा पोको पारेर खाजा दिन्छन्। (स्रोत :२६ फागुन२०७६, सेतोपाटी)

घटना नं.२५ कपिलवस्तुको शिवराज नगरपालिका ५ को चन्द्रौटा बजारका स्थानीय मीलन विश्वकर्माले नयाँ घरमा हिन्दु संस्कार अनुसार पूजा गर्न पण्डित बोलाएका थिए तर घर मालिक दलित भन्ने थाहा पाएपछि पूजा गर्न तयार भएका पुजारी पूजा मण्डम नै छोडेर भागेका थिए। (स्रोत ३० कार्तिक २०७६, नागरिक)

माथि उल्लेखित घटनाहरू प्रतिनिधि घटनाहरू हुन्। दलित समुदायमाथि निर्मम अन्याय र अत्याचार हुनुका पछाडि सरकार नै दोषी छ। दलित समुदायमाथि हुने सामाजिक, सांस्कृतिक बहिष्करण, अपमान, दुर्व्यवहार, तिरस्कारका घटना घट्न नदिनका लागि जातीय भेदभाव तथा छुवाछूत विरुद्ध बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि जातीय भेदभाव तथा छुवाछूत विरुद्धको ऐनको पूर्ण तथा प्रभावकारी कार्यान्वयनका गर्नका लागि तीनै तहका सरकारमा ठोस रणनीति बनाई प्रभावकारी संयन्त्र निर्माणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ।

जातीय भेदभाव तथा छुवाछूत विरुद्धको राष्ट्रिय कार्य योजना बनाई कार्यान्वयन गर्न आवश्यक देखिन्छ। आधारभूत तहदेखि नै सचेतना वृद्धि गर्नका लागि विद्यालयका पाठ्यक्रममा पुनरावलोकन गर्न आवश्यक देखिन्छ। तीनै तहका सरकारले सामाजिक सांस्कृतिक जागरण र अन्तर घुलनका कार्यक्रम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। राजनीति नेतृत्व, सरकार महत्त्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्ने व्यक्तित्व, सामाजिक अभियन्ता, मानव अधिकारकर्मी, नागरिक समाज, धार्मिक गुरुहरूको दृढ सोच र प्रतिविद्धताका साथ जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अभियान सञ्चालन गर्न आवश्यक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्