मैले नचिनेको उज्वल थापा

ujwal thapa pic
  • 496
    Shares
लोकपाटी न्यूज

-ललित सापकोटा

कुनै मानिस कति लोकप्रिय तथा मानिसको मनमा बस्न सफल भएका छन् भन्नको लागि उज्वल थापाको उपचारको क्रममा मानिसहरूले प्रदान गरेको शुभकामना तथा मृत्यु पश्चात् दर्साएको समवेदनाबाट बुझ्न सकिन्छ। हुन त हाम्रो समाजमा मानिसको मृत्यु भए पश्चात् गुणगान गाउने चलन भएता पनि यो हप्ता यस्तो भ्रमलाई नेपाली समाजले केही हदसम्म चिर्न सफल भएको हो कि भन्ने भान भएको छ। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापा कोभिड-१९ का कारण आक्रान्त भएर अस्पताल भर्ना भएदेखि नै सामाजिक सञ्जालमार्फत् थापाका अनुयायी युवाहरू, विवेकशील साझा पार्टीका कार्यकर्ताहरू लगायत अन्य राजनैतिक दलका नेताहरू लगायत म जस्ता राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी नभएका व्यक्तिहरूको सहानुभूति, शुभेच्छा तथा सद्भाव पाइरहेका थिए।

हरेक दिन थापाको स्वास्थ्य स्थितिको बारेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट जानकारी लिन कौतुहलता भई रहेको थियो। थापाको सकुशलका लागि ठुलै सङ्ख्यामा मानिसहरूले प्रार्थना गरिरहेको अवस्थामा ज्येष्ठ १८ गते बिहान साढे एघार बजे तिर निजको मृत्यु भएको खबर अपत्यारिलो लागि रहेको थियो। शायद थापाको मृत्यु नहोस् भन्ने कामनाको प्रतिशत मस्तिष्कमा बढी भएकोले होला सो खबर सुन्नु पर्दा नरमाइलो लागि रह्यो। सामाजिक सञ्जालमा आएको खबर सत्य हो होइन भनी अनलाइन खबरहरू हेरियो केही समय पश्चात् थापालाई भेण्टिलेटरमा राखेर उपचार गरिरहेको र थापाको मृत्यु भएको खबर झुटा भएको समाचार बाहिर आयो जसले केही हद सम्म राहत दिलायो। अब त उठ्छन् होला जस्तो कता कता आशा पलायो।

मैले यस्तै समाचारहरू आइरहेको क्रममा मन मनै सोचेँ यदि उज्वल फर्किएर आए भने थापाले तमाम जनसमुदायबाट प्राप्त गरेको शुभकामनाको ओइरोको बारेमा थाहा पाएको भए आफ्नो काम तथा लोकप्रियताको बारेमा थापालाई कस्तो अनुभूति हुने थियो होला। तर हजारौँ मानिसको इच्छा नहुँदा नहुँदै पनि दैवले थापालाई गलाएरै छाड्यो पुनः साढे चार बजे तिर आधिकारिक समाचार आयो थापाको मृत्युको जिउ चिसो भयो। नजिकको चिने जानेको मानिस वा आफन्त नै बितेको जस्तो अनुभूति भयो। आफ्नो अप्रत्याशित लोकप्रियताको बारेमा प्रत्यक्ष जानकारी लिन नपाई उज्ज्वल हामी माझबाट बिलाए।

हुन त मैले निज थापालाई आमेन सामने देखेको पनि थिइनँ, न त मेरो विवेकशील साझा पार्टीसँग कुनै सम्बन्ध नै छ। सामान्य जागिर खाएर दिनचर्या कटाई रहेको म जस्तो मानिस निजलाई विभिन्न सामाजिक सञ्जाल तथा टेलिभिजन अन्तर्वार्तामा देखेको बाहेक निजको र मेरो केही कुनै सामीप्य समेत थिएन। तर कता कता आफ्नै मानिसको मृत्युवरण भएको जस्तो गरी छटपटाहट भई रह्यो। यसरी म जस्तो मानिसमा निजको मृत्युलाई लिएर छटपटाहट किन भयो भनी मनमनै प्रश्न गरिरहेँ। शायद छटपटी हुनु स्वाभाविक नै थियो होला किन कि उज्जवलको नेतृत्वमा वैकल्पिक राजनीति संस्कारकोे एउटा धार प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाली समाजमा विकशित भई रहेको छ।

सामान्य अवस्थामा हेर्दा माइतीघर मण्डलामा प्लेकार्ड लिएर उभिँदा कसले पो सुन्ला र भन्ने म जस्ता हजारौँलाई सुरुको दिनमा लागेको हुन सक्दछ। तर त्यसरी नै प्लेकार्डको प्रदर्शनको माध्यमबाट निजले सुरु गरेको सकारात्मक परिवर्तनको आन्दोलनले केही हदसम्म नेपाली राजनीतिमा सुटुक्क सकारात्मकता ल्याएको रहेछ जस्तो भान भयो। ठुलो सङ्ख्यामा युवाहरूको जमातलाई परिवर्तनको सकारात्मक प्रक्रिया वा शान्तिपूर्ण आन्दोलनको मार्ग उपहार दिएर उज्वल हामीबाट बिलाए।

म जस्तो परीक्षाको परिणाम सोचे जस्तो नआएको अवस्थामा आफैँ अध्ययनरत रहेको त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा आगो लगाउने जत्था मध्येको एक मानिसको लागि थापाले लिएको वैकल्पिक धारको महत्त्व ठुलै छ। आज आएर झन्डै २० वर्ष पछि त्यस बखत आगो लगाएर चालेको क्रान्तिकारी कदमप्रति आत्मा ग्लानि भएको छ। हुन त त्यो कदम नभएको भए शायद अभि सुवेदी सरको अग्निको कथा पढ्न वा हेर्न पाइने थिएन होला। हरेक नकारात्मक कुरालाई सकारात्मक ढङ्गबाट हेर्ने बाहेक म जस्ता सामान्य मानिसको लागि अर्को विकल्प समेत नहुने हुँदा पछुतो भए पनि अगाडि बढ्नुको विकल्प छैन। मनमा कता कता उज्जवलले वैकल्पिक मार्गबाट सुरु गरेको राजनैतिक चेतनाबाट भोलिको दिनमा नेपाली समाजमा ल्याउन सक्ने सम्भाव्य सकारात्मक परिवर्तनको दृश्यावलोकन गर्न नपाई थापा बिलाए भन्ने कल्पनाले होला केही गुमे जस्तो लागेको छ।

नेपालमा राजनैतिक परिवर्तनको माध्यमबाट समाज तथा जनताको भविष्य परिवर्तन हुन सक्छ भन्ने आशाका साथ म जस्ता लाखौँ युवाहरू ६२/६३ को आन्दोलनमा होमिएका थियौँ। कता कता उक्त आन्दोलन त्यत्तिको दबाब मूलक तथा उग्र नभएको भए आजको गणतन्त्र आउँदैन थियो होला। सो आन्दोलनका समयमा त्रिभुवन विश्वविद्यालयको परिसरमा प्रहरीलाई लखेटेको, प्रहरीले हामी आन्दोलनकारीलाई लखेटेको, कलंकीमा आन्दोलनको क्रममा आफ्नै छेउको मानिसलाई गोली लागे पश्चात् कलंकी चोकबाट बल्खु जाने बाटो तर्फ २० फिट तल जति हाम फाल्दा भाइ भाष्करको खुट्टा फ्याक्चर भएको, सो घटना पश्चात् केही डर लागेर कीर्तिपुर ट्यालाफाँटको डाँडाबाट भाइ नवीन लगायत मित्र तुलाजीसँग कलंकीको आन्दोलन परैबाट दिन भरी हेरेको, आन्दोलन सफल भए पश्चात् कीर्तिपुर रिङ रोड हुँदै कोटेश्वरबाट रत्नपार्कसम्म विजय जुलुसमा हिँडेको दृश्य आँखा अगाडि नाचिरहेका छन्।

अर्को तर्फ घरबाट अफिस तथा अफिसबाट घर गर्दा बाटोमा पर्ने माइतीघर मण्डलामा प्लेकार्ड बोकेका मानिसहरूको तस्बिर तथा प्लेकार्डहरू समेत आँखै अगाडि नाचिरहेका छन्। एक मनले सोची रहेको छ ६२/६३ को आन्दोलनमा आक्रामक बाटोको सट्टामा प्लेकार्ड लिएर उभिएको भए के हुने थियो होला। मानस पटलमा मित्र जनक दाससँग पाँच दलको आन्दोलनमा भाग लिन भीम श्रीशदाईसँगै कीर्तिपुरबाट हिँडेर रत्नपार्क आएको तथा पानीको फोहोरा खाएर फर्किएको तस्बिर समेत घुमी रहेको छ। कुनै समय आन्दोलन हाम्रो लागि दैनिकी जस्तो भएको थियो। साथीहरू मिलेर बिहान चाँडै खाना बनाउने अनि आन्दोलनमा हिँड्न हुटहुटी नै हुने गर्दथ्यो। हाल आएर नारा जुलुस धर्ना जस्ता कार्यहरूप्रति वितृष्णा जागेर आउँछ। राजनीति पारिवारिकता, व्यापारिक घराना, नातावाद कृपावादको चङ्गुलमा फसेको अवस्थामा राजनैतिक दलका नेताहरू आफ्नो नैतिकता बिर्सिएर कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सत्ता स्वार्थमा लागेर सत्ताको बागडोरमा पुग्न चालिएका अनेक तिगडम हेर्दा विरक्त लागेर आउँछ। नेपाली समाज कहिले दिगो विकाशको मार्गमा हिँड्न सक्ला जस्तो लागि नै रहन्छ। सफा, स्वच्छ, हराभरा, आर्थिक रूपमा समृद्ध नेपाल हेर्ने कल्पना समेत कल्पनामा मात्र सीमित हुने हो कि जस्तो लागि रहन्छ।

आज आएर पछाडि फर्किएर हेर्दा हरेक आन्दोलन हिंसात्मक, अराजक वा हुल हुज्जत मूलक हुनु पर्छ जस्तो लाग्ने म जस्तो मानिसलाई शान्त तवरले पनि शासकहरूलाई सचेत गराउन आन्दोलन गर्न सकिन्छ भन्ने विश्वास उज्ज्वल थापा जस्ता मानिसले दिएका थिए। त्यही आसमा हजारौं युवाहरू निजको अनुयायी भएर हिँडेका छन्। यी तमाम अनुयायीहरूबिच अब माइतीघर मण्डलामा उज्ज्वललाई देख्न पाइने छैन। कतिपय चिनजान बिनाका सम्बन्धहरुले समेत मनलाई पिडा दिने रहेछन्। कोरोना सङ्क्रमणका कारण धेरै चिनजानका मानिसहरू गुमाएको अवस्थामा केही दिन अघि अङ्ग्रेजी केन्द्रीय विभागमा सँगै पढेका र हाल सोही विभागमा प्राध्यापनरत मित्र शङ्कर सुवेदीको कोरोनाका कारण भएको निधनले केही दिन मन अशान्त बनाएको र निजको तस्बिर आँखै अगाडि नाची रहन्थ्यो। तुलना गरेर हेर्दा शंकरको निधनमा मन अशान्त हुनु स्वभावीक थियो किनकि हामीले २/३ वर्ष अध्ययन गर्दा समय सँगै बिताएका थियौँ। अध्ययन पश्चात् समेत पटक पटक भेट हुने गर्दथ्यो। तर उज्ज्वल थापासँग मेरो केही सम्बन्ध थिएन तर पनि थापाको मृत्युमा भएको छटपटाहट के कारणले भएको होला भन्ने कौतुहलता मनमा आई नै रहन्छ।

राजनैतिक संस्कार प्रदूषित भई रहेको अवस्थामा केही हदसम्म स्वच्छ, इमानदारीपूर्ण तथा शान्तिपूर्ण राजनीतिको आशा उज्वलले प्रत्यक्ष अप्रत्यक्ष रूपमा देखाएका रहेछन्। शायद मेरो मनमा समेत त्यो आशा सुसुप्तरुपमा रहेको हुन सक्दछ। राजनैतिक रूपमा उनको विचारसँग सहमत नभए पनि उनको मृत्युमा मन अशान्त हुनु पनि यही कारणले हुन सक्दछ। निषेध, बन्द हडतालको राजनीति हाबी भएको पुस्तामा यिनले शान्तिपूर्ण राजनीतिको संस्कार नेपाली राजनीतिमा रोप्न सफल भए भएनन् समयले नै बताउने छ। थापाले सुरु गरेको वैकल्पिक राजनीतिको यात्रा कहाँ सम्म पुग्छ त्यो पनि समयले नै बताउने छ। तर राजनैतिक रूपमा लोकप्रिय हुन कुनै पद तथा सत्ताको बागडोरमा पुग्नु नपर्ने रहेछ भन्ने ज्ञान नेपाली राजनैतिक समाजमा छोडेर उज्वल सदाका लागि अस्ताए। उज्वलको वैकुण्ठमा बास होस्, आत्माको शान्तिको कामना तथा परिवारजनमा समवेदना बाहेक केही भन्न नसकिने अवस्थामा पुर्‍याएर अस्ताएका उज्वल राजनैतिक संस्कारको बहस हुने समयमा सायद भविष्यमा पनि सम्झिनामा आउने छन् होला। मानिस मरेर गए पनि छोड्ने सम्झना नै हो। अल बिदा उज्वल जी।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्