काठमाडौं। नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि-बुकिङ खोलेको छ। एनआईयू गोभाको तेस्रो भर्सन अर्थात जी०३ फोनमार्फत प्रि-बुकिङ गर्न सकिने बताइएको छ।
एनआईयू नेपालको फेसबुक पेजमा प्रि-बुकिङको जानकारी दिइएको छ। एनआईयूका अन्य स्कुटर भन्दा यो स्कुटर अलि फरक रहेको छ। अन्य स्कुटरमा पानासोनिक ब्याट्री र बोसको मोटर रहेकोमा यसमा भने एनअईयू आफैले विकास गरेको ब्याट्री र मोटर प्रयोग गरिएको कम्पनीको भनाइ छ। गोभा जी०३ मा ६० भोल्ट, २९ एम्पियरको लिथियम आयोन ब्याट्री रहेको छ। त्यसैगरी २ हजार ७ सय वाटको मोटर छ। स्कुटरको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ।
एक पटकको फुल चार्जमा यसलाई ६५ देखि ७५ किलोमिटर सम्म चलाउन सकिन्छ। ब्याट्री फुल चार्ज हुन ६ घण्टा लाग्ने बताइएको छ।स्कुटरको टायर पनि अन्य स्कुटरमा भन्दा फरक छ। रातो र सेतो गरी २ कलरमा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछ। निषेधाज्ञाको अवस्था अनुसार ग्राहकलाई यो स्कुटर हस्तान्तरण समेत गर्न सकिने कम्पनीको भनाइ छ। एनआईयू गोभा जी०३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।
एनआईयूका स्कुटर नेपाली बजारमा सर्बाधिक बिक्री हुने स्कुटरमा समेत पर्छन्। नयाँ मोडलप्रति ग्राहकको प्रतिक्रिया कस्तो हुन्छ, त्यो भने भविष्यले नै बताउने छ।