‘देशको आवश्यकता वैज्ञानिक शिक्षा कि गह्रुंगो झोला ?’

Dilaram Acharya
लोकपाटी न्यूज
  • डिलाराम आचार्य 

हाम्रो देशको शैक्षिक आन्दोलनको समग्र पक्षहरूको यहाँ लेखाजोखा गर्न खोजिएको होइन। तर, हाम्रो देशको शैक्षिक अभियान र सिकाइको क्षेत्रमा पनि एक प्रकारको अन्यौलता कायम छन्। हुन त शैक्षिक क्षेत्रमात्र होइन, समग्र आन्दोलन र देशका महत्त्वपूर्ण प्रश्नहरूमा पनि मूलतः अन्यौलताहरू नै हाबी भएको जस्तो अवस्था विद्यमान छ। यहाँ मुख्य गरेर हाम्रा भावी पुस्ताका विद्यार्थी नानीबाबुहरूको शैक्षिक क्षेत्रमा भोगिरहेका जटिलताहरू र नीति निर्माण तहमा हाबी रहेको तदर्थवादी चिन्तनको प्रसंगमा केही चर्चा गर्न खोजेको छु।

यसै पनि पट्यारलाग्दो पाठ्य सामग्री त्यसमाथि अभिभावकको निरन्तर पढिरहन पटकपटक पढ, पढ अझै पढको निरन्तरको एकोहोरो जोड र स्कुलहरूको आफ्ना विद्यार्थीहरूलाई विषयलाई राम्ररी बुझाएर विषयको ज्ञाता बनाउनेभन्दा निरन्तर घोकेर राम्रो ग्रेट ल्याउन जोड गर्ने तर विद्यार्थीहरूको ज्ञान, सीप र शैक्षिक आवश्यकता पूरा गर्ने भन्दा राम्रो ग्रेट ल्याएर स्कुलको नाममाथि उठाउने र आफ्नो पेशागत तथा व्यावसायिक उचाइ बढाउने लालसाबाट ग्रसित बन्दै आएको अवस्था मुख्यतः हाबी छ। विद्यार्थीहरू हाम्रा बाबु नानीहरू आफ्ना अभिभावक र स्कुलहरुले जसो गरायो त्यस गर्न बाध्य छन्। उनीहरू त्यसमाथि कुनै पस्न नगरी घर र स्कुलको आदेशलाई आज्ञाकारी रूपमा चुपचाप पालना गर्ने बाहेक अर्को कुनै विकल्प उनीहरूसँग छैन। हाम्रा बाबु नानीहरू गह्रुंगो झोलाले मात्र होइन घर र स्कुलको अवैज्ञानिक पट्यारलाग्दो घोकन्ते शैक्षिक वातावरणमा थिचिन निर्विकल्प रूपमा बाध्य पारिएका छन्। त्यस प्रकारको वातावरणले उनीहरूको बाल मनोविज्ञानमा कस्तो प्रभाव पारिरहेको छ। भावी जिन्दगीमा त्यसबाट कुन प्रकारका समस्याहरू पैदा गर्छन् र कस्तो प्रभाव पर्छ वा हामीले कस्तो भावी पुस्ता तयार पारिरहेका छौं भन्ने पक्षमा नीति निर्माणको तहबाट गम्भीर मूल्यांकन गर्ने हाम्रो कुनै योजनाहरू हुँदैनन् र छैनन्। बेला मौकामा शिक्षा मन्त्रालयले विभिन्न कार्यदलहरू त बनाउँछ तर ती सबै कार्यदलहरूले निकाल्ने निष्कर्षहरू पनि कुहिरोको काग जस्तै बन्न पुग्दछन्। कार्यदलका निष्कर्षहरू अध्ययन गर्ने छलफल गर्ने र कार्यान्वयनको चरणमा उतार्ने कसैसँग फुर्सद हुँदैन। बरु अर्को कार्यदल बनाउन हतार भइसकेको हुन्छ। अब त नीति निर्माणको तहबाट कति वटा कुन-कुन विषयमा कार्यदलहरूको निर्माण भयो, तिनीहरूले के निष्कर्ष निकाले भन्ने बारेमा अनुसन्धान गर्न अर्को कार्यदल बनाउने बेला भइसक्यो। निष्कर्षहरुलाई कार्यान्वयनमा लैजाने काम त धेरै टाढाको विषय भयो।

स्कुल र घरको निरन्तरको कठमुल्लावादी चिन्तनको चेपुवामा हाम्रा बाबु नानीहरू आज पनि ६० लाख भन्दावेशीको विशाल संख्यामा प्रारम्भिक कक्षाहरू देखि १२ कक्षासम्म अध्ययनरत छन्। त्योभन्दा माथिल्लो कक्षाहरूमा अध्ययनरत युवायुवतीहरूको अवस्था पनि खासै फरक छैन। सबै तहका अध्ययनरत विद्यार्थीहरू हाम्रा भोलिको भविष्य हुन हाम्रो भोलिको भविष्य आफै अन्धकार र अन्योलको चक्रभित्र छटपटिन बाध्यजस्तै छ। यति ठूलो संख्याको हाम्रो बालबालिकाहरूको भविष्यमाथि निरन्तररूपले भइरहेका हाम्रो आफ्नै र विभिन्न दातृ निकायहरूका बेग्लाबेग्लै बेला बेलाका प्रयोगहरू र केही हदसम्म खेलबाडहरुलाई कायम राखेर कसरी हामी भोलिको भविष्य निर्माण गर्ने निर्माताहरू हाम्रा बाल बालिकाहरूलाई यस्तो गोल चक्करमा घुमाएर भोलिको सुन्दर भविष्यको कल्पना गर्न सक्छौं र त्यसलाई साकार पार्न ठूलो आशा गर्न सक्छौं। अब त झन् हामी आफ्ना बालबालिकाहरुलाई स्थानीय तहहरूले नै पाठ्यपुस्तकहरू तयार पार्ने जिम्मा लगाउन पुगिसकेका छौं। व्यापक विकेन्द्रीकरण र स्थानीय तहको जिम्मेवारी बढाउने निउमा केन्द्रीय तह आफ्नो जिम्मेवारीबाट भागिरहेको छ। कुन-कुन विषयमा केन्द्रीय तहबाट परिचालन गर्ने र कुन-कुन विषयलाई स्थानीय तहहरुलाई जिम्मा दिने भन्ने विषयको अन्यौलता र अस्पष्टताहरू नै प्रदर्शित भएका छन्। पाठ्यपुस्तक जस्तो महत्त्वपूर्ण विषय केन्द्रित योजनामा परिचालन गर्नुपर्ने र एकरूप समझदारीको आधारमा एकरूप राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने विषयहरूलाई स्थानीय तहको जिम्मा लगाउँदै छौं र स्थानीय तहमा वडा अध्यक्षले गर्ने काममा केन्द्रीय तहमा निधार खुम्च्याउँदै छौं। अर्कोतर्फ स्थानीय तहले तयार पारेका सामग्रीहरूको अध्ययन गरेर तयार हुने विद्यार्थीहरूको ज्ञान सीप र कलाको प्रयोग स्थानीय तहमा हुन्छ कि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा हुन्छ भन्ने कुराको खासै हेक्का नराखीकन यस प्रकारको नीति निर्माण गरिएको छ।

कुनै पनि देशको शिक्षा नीति खाली साक्षर बनाउने अभियान मात्र होइन हिजोका दिनहरूमा केही हदसम्म त्यसरी नै बुझ्ने गरिएको छ तर अब भने देश निर्माणको दीर्घकालीन लक्ष्यलाई अगाडि राखेर एउटा ठोस रणनीतिक योजना अन्तर्गत हाम्रा बालबालिकाहरूलाई मूर्त र ठोस दीर्घकालीन लक्ष्य अनुरूप तयार पार्दै लैजानु पर्छ। त्यसरी मात्रै अपेक्षा अनुसारको लक्ष्य हासिल गर्न सम्भव हुन्छ। हाम्रा बालबालिकाहरू अचानक आइलागेका हाम्रा समस्याहरू होइनन्। अपितु भोलि देशलाई उन्नति र प्रगतिको शिखरमा पुर्‍याउने एउटा निर्विकल्प महत्त्वपूर्ण साधन हुन् भन्ने कुरालाई केन्द्रमा राखेर बालबालिकाहरूको पठन पाठनलाई एउटा गम्भीर उत्तरदायी तर राष्ट्रिय मुद्दा बनाएर लैजान आवश्यक हुन्छ र छ। तदनुरूपको राष्ट्रिय रणनीति बनाएर निरन्तर कामहरूलाई लक्षित दिशामा अगाडि बढाउन गम्भीर तर केन्द्रीकृत योजना आवश्यक हुन्छ। आज त्यो दिशामा भइरहेका प्रगतिहरू कति सन्तोषजनक छन् भन्ने कुरा सबैको अगाडि छर्लंग छ।

हाम्रो राष्ट्रिय आवश्यकता के हो र आज प्रारम्भिक कक्षामा पढ्ने विद्यार्थीलाई २० वर्षपछि हामी कस्तो नागरिक बनाउन चाहन्छौं भन्ने कुराको प्रस्ट रणनीतिक खाका राज्यसँग हुनुपर्ने हो र निरन्तर त्यो दिशामा आम बालबालिका र हाम्रा स्कुल कलेजहरूलाई किञ्चित विचलित हुन नदिई हिँडाउन नीति निर्माण तह आफ्नो लक्ष्यप्रति पूर्ण प्रतिबद्ध हुनु अनिवार्य र जरुरी हुन्छ। निर्धारित लक्ष्यअनुरूप काम भएका छन् वा छैन भन्ने कुराको गम्भीर तर नियमित अनुगमन र निर्देशन पनि भइरहनुपर्छ। निर्धारित लक्ष्यमा परिस्थितिलाई डोर्‍याउने की तदर्थताको चंगुलमा छोड्ने भन्ने कुराको जवाफ आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। आशा गरौं हामी दीर्घकालीन रणनीतिक लक्ष्यअनुरूप अगाडि बढ्नेछौं। हाम्रो स्कुल कलेज र विश्वविद्यालयहरुलाई देश निर्माणको रणनीतिक लक्ष्यअनुरूपको जनशक्ति तयार पार्ने लक्ष्यका साथ सञ्चालन गर्ने ठोस र मूर्त योजनाहरूका आधारमा सञ्चालन गर्ने दिशामा गम्भीर बन्दै जानेछौं।

हिजोका कठिन संघर्षका दिनहरूमा हाम्रो देशको विद्यार्थी आन्दोलनले अत्यन्त महत्त्वपूर्ण र अद्वितीय भूमिका खेलेको कुरा कसैबाट लुकेको छैन। विद्यार्थी आन्दोलनले देशको आन्दोलनमा गरेको नेतृत्वदायी भूमिकाको देशले उच्च सम्मान र मूल्यांकन पनि गरेको छ। विद्यार्थी आन्दोलनबाट आएका मुख्य नेतृत्वहरुलाई नै देशको मुख्य जिम्मेवारी पटक पटक सुम्पिएको पनि छ। त्यसै सिलसिलामा यो पनि उल्लेखनीय छ कि नेपाल विद्यार्थी संघका पूर्वसभापति शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री बन्ने अवसर पाउनु भएको छ। वामपन्थीहरूको नेतृत्व र वर्चस्व भएको अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई पनि देशको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरिसक्नु भएको छ। तर उहाँहरू दुवै जनाले आफू विद्यार्थी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले देशको सर्वोच्च अंगको नेतृत्व गरिरहँदा आफ्नो विगतको आन्दोलनप्रति जबाफदेही र उत्तरदायी देखिने गरी शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गर्ने काम भएन हिजो आन्दोलनको दौरानमा सडकमा घन्काउने गरिएका नाराहरू कार्यान्वयन गर्ने कुनै उल्लेख्य कार्य गर्न सक्नुभएन वा गर्नुभएन। त्यसै गरी विद्यार्थी आन्दोलनको मुख्य नेतृत्वमा पुगेका विद्यार्थी नेताहरूलाई पटक पटक क्याबिनेट मन्त्री र शिक्षा मन्त्रालयको जिम्मेवारी समेत प्राप्त गर्नुभएको छ। गिरिराजमणि पोखरेल, गगन थापा, एनपी साउद लगायतका कैयौं पूर्वविद्यार्थी नेताहरू देश हाक्ने महत्त्वपूर्ण जिम्मेवारीमा पटक-पटक पुगेका छन्। सांसदहरू र अरू नीति निर्माणका नेतृत्वदायी पदहरूमा पुग्नेहरूको त ठूलो संख्या हाम्रो अगाडि छ। त्यति हुँदाहुँदै पनि शैक्षिक क्षेत्रको गुणात्मक सुधार र विकास हुन सकेको छैन। हिजो सडकमा व्यवहारिक शिक्षा वैज्ञानिक शिक्षा जीवन उपयोगी र सर्वसुलभ शिक्षाका नारा घन्काएर हजारौं, लाखौं विद्यार्थीहरूलाई आन्दोलनमा केन्द्रित गराउने नेतृत्वपंक्ति नै सत्ताको केन्द्रमा पुग्दासमेत शिक्षा क्षेत्रको आमूल परिवर्तन हुन नसक्नु वा आमूल परिवर्तनको पक्षमा ठोस कदम नचालिनु दुखद र दुर्भाग्यपूर्ण अवस्था हो। विद्यार्थी आन्दोलनको जगबाट उठेका देश हाँक्ने तहमा पुग्ने तर आन्दोलनमा आफैँले घन्काए का नाराहरू लावारिस बन्ने योभन्दा दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्ला! माथिका विद्यार्थी आन्दोलन र राजनीति नेतृत्वसित जोडिएका केही पश्नहरु इतिहासको एक कालखण्डलाई कोट्याउनको निम्ति मात्र उठाइएको छैन। बरु हिजोका हाम्रा आन्दोलनहरूप्रति आन्दोलनका नेतृत्व कर्ताहरूको आफ्नै आन्दोलनप्रति इमान्दारिता जबाफदेहिता र उत्तरदायित्वका गम्भीर नैतिक प्रश्नहरूको रूपमा उठाइएको हो।

के अब हामी एकोहोरो रटानको पढाइमा जोड गर्ने, हामी अभिभावकहरुले त्यस्तो रटाइको पढाइभन्दा बुझाइको पढाइ धेरै महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई आत्मसात् गर्न सक्ने वातावरण बनाउन सक्छौं ? एकोहोरो रटानको पट्यारलाग्दो पढाइको सट्टा अभिभावकहरुको र सम्भव भएसम्म हजुरबा, हजुरआमाहरूको हिजोका जीवनका भोगाइ र गराईहरूको कथाहरूलाई नानी बाबुहरूले बुझ्ने गरी राम्ररी बुझाउन सके भोलिको जिन्दगीको निम्ति एउटा परिपक्व अनुभव र महत्त्वपूर्ण शिक्षा संकलन हुने कुराप्रति आफ्नो ध्यान आकर्षित गर्न सक्छौं। के हामी विषयहरूलाई एकोहोरो घोकाएर परीक्षामा कुन प्रश्न आउँछन् भन्ने अनुमानको भरमा तिनै पस्नहरु को वरिपरि उनीको चेतनालाई केन्द्रीकृत गराइदिने परिपाटीको अन्त्य गर्दै घोकेर धेरै नम्बर ल्याउनुभन्दा राम्ररी विषयलाई बुझाएर पढाइने पढाइको धेरै ठूलो महत्त्वपूर्ण हुन्छ र भोलिको निम्ति जीवन उपयोगी हुन्छ भन्ने कुरालाई विद्यालयहरूले आफ्नो पाठ्यक्रमको अनिवार्य सूची बनाउन सक्छौं। के हाम्रो राजनीतिक नेतृत्वले हिजो को-कोले के गरे भनेर एक अर्कोलाई दोषारोपण गर्नुभन्दा भोलिको निम्ति एक ठोस तर हिजो हामीले सडकमा लगाएका नाराहरूको वरिपरि जस्तै वैज्ञानिक शिक्षा व्यवहारिक शिक्षा जीवन उपयोगी शिक्षा सर्वसुलभ शिक्षाको ठोस नीति निर्माण गरेर पहिलो वर्षदेखि २० वर्षे रणनीतिका साथ हाम्रो देशको समग्र परिस्थितिलाई गहिरो गरी बुझ्ने र देशलाई सम्पूर्णरूपले बदल्ने योग्यता, क्षमता, ज्ञान, सीप र कार्यकुशलताले भरिपूर्ण विद्यार्थीहरूको २० वर्षमा एक करोडको सक्षम जनशक्ति उत्पादन गर्ने रणनीतिका साथ काममा केन्द्रित भएर अगाडि बढ्न सक्छौं ? आजको अन्योलग्रस्त अवस्थालाई छिचोलेर वैज्ञानिक शिक्षा व्यवहारिक शिक्षा जीवन उपयोगी र सर्वसुलभ शिक्षाको हाम्रो रणनीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्छौं ? हामीले सक्नैपर्छ। अन्यथा देश लाई बरबादीको अधोगतिमा जानबाट कसैले रोक्न सक्दैन

त्यसको निम्ति तत्काल गर्नुपर्ने कार्यहरू देखी २० वर्षसम्मको ठोस रणनीति निर्माण गरेर कुशलता पूर्वक कार्यान्वयन केन्द्रित हुन सक्यो भने एउटा ठोस प्रभावकारी र उत्साह जनक परिणाम निकाल्न सम्भव हुनेछ। त्यसो गर्न सक्यौं भने मात्रै हामीले भन्ने गरेको समानता र नयाँ आधारित समाजको निर्माण गर्न महत्त्वपूर्ण आधार तयार हुनेछ। त्यो बेलासम्म हामी रहुँला या नरहुँला तर देशलाई एउटा गरिब राष्ट्रबाट सम्पन्न सम्बद्ध र सुखी राष्ट्रमा पुर्‍याउन सम्भव हुनेछ। यो सबैले भन्ने कुरा हो कि विद्यार्थी हाम्रो भविष्य हुन, के हामी हाम्रो भविष्य निर्माताहरूको शिक्षा, सिकाई र विकासको निम्ति त्यत्तिकै गम्भीर स्पष्ट र दृढ नीतिका साथ कामहरूमा केन्द्रित भइरहेका छौं ? के हाम्रा त्यो क्षेत्रका व्यवहारिक क्रियाकलापहरुले हाम्रो गम्भीरताको पुष्टि गर्छ ? विद्यार्थीको पढाई र सिकाइको प्रश्न फगत उनीहरूको व्यक्तिगत प्रश्न मात्र होइन। यो प्रश्न देश निर्माणको प्रश्नसँग अभिन्न र अविच्छिन्न रूपमा जोडिएको गम्भीर प्रश्न हो। आजका हाम्रा नानीबाबुहरूको सिकाइ र शिक्षाको कुरालाई तत्काल महत्त्वहीन खेलाँची जस्तो देखिए पनि अन्ततः त्यसले देश कता जान्छ भन्ने कुरामा निर्णयात्मक र दूरगामी महत्त्व राख्दछ। शिक्षा क्षेत्रलाई ठोस वैज्ञानिक र मूर्त योजनाहरूको आधारमा सञ्चालन गर्न सकियो भने हाम्रो संविधानले परिकल्पना गरेको समाजवादको यात्रा सम्भव र साकार हुने सम्भावना बढेर जानेछ। यदि हामी निश्चित लक्ष्य उद्देश्य र रणनीतिका साथ हाम्रा बालबालिका हरूको शिक्षादीक्षामा गम्भीर बन्न सकेनौ भने समाजवाद त कुन्नि के हुन्छ तर बर्बादिको दुखद यात्राको भने प्रारम्भ हुनेछ त्यसैले आजको शिक्षा नीतिलाई परिमार्जन गर्न गम्भीर भनौं।

उल्लेख गरिएका विषयहरू एउटा पाटोबाट हेर्दा त्यस्तो देखे पनि समग्र परिस्थितिलाई नेतृत्व गरेर प्रस्ट योजनाका साथ अगाडि बढ्न कैयौं जटिलता, बाधा अड्चन र व्यवधानहरूको सामना गरेर मात्र सम्भव हुनेछ। तर राजनीतिक रूपमा दृढ इच्छाशक्ति र लक्ष्यप्रति स्पष्ट दृष्टिकोण लिएर काममा खटिने हो भने असम्भव भने पक्कै छैन र हुँदैन। मन्त्री को हुन्छ, हुँदैन। सरकारको नेतृत्व कसले गर्छ र गर्दैन। सत्तामा कुन पार्टी हुन्छ र हुँदैन भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्ने कुरा हुन्। त्यसको पनि आफ्नो ठाउँमा महत्त्व त छँदैछ। तर देश कता जान्छ देशको भविष्य के हुन्छ भन्ने कुराले दीर्घकालीन र दूरगामी महत्त्व राख्दछ। दूरगामी महत्त्वको शिक्षा क्षेत्रलाई जुन महत्त्व र गम्भीर ताकासाथ निश्चित नीति र कार्य योजनाका साथ परिचालन गर्नुपर्ने हो त्यो क्षेत्रको कामले परम्पराका झन्झटिला उदेक लाग्दा हाम्रो आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्न असक्षम परम्पराका बारहरू भत्काएर नयाँ उत्साह र शैलीका साथ अगाडि बढ्ने कामले आज पनि त्यति धेरै महत्त्व र प्राथमिकता पाउन सकेको छैन।

शिक्षा क्षेत्रबाट रणनीतिक लक्ष्यअनुरूपको जन शक्ति निर्माण गर्न सकियो भने देशले समग्र रूपमा विकास र उन्नतिको निश्चित बाटो समाउन सम्भव हुनेछ सबै प्रकारका अनिश्चितता र अन्योलहरू हटेर जानेछन्। आजको सत्ता र शक्तिको निम्ति मरिहत्ते को लज्जास्पद प्रतिस्पर्धा पनि धेरै नै कम भएर जानेछ वा त्यस्ता प्रवृत्तिहरू निरुत्साहित हुनेछ। देश नयाँ ऊर्जा, शक्ति, जाँगर र उत्साहका साथ अगाडि बढ्नेछ तर त्यसको मुख्य मेरुदण्ड भने हामीले लिने शिक्षा नीति र आजका बालबालिकाहरुको सिकाई र पढाइ नै हो भन्ने कुरामा कुनै दुबिधा पाल्नु हुँदैन। त्यसरीआमरूपमा नागरिकहरूको ध्यान देश निर्माणमा केन्द्रित हुनेछ र नागरिकहरूका निराशा र आक्रोश हरू स्वतः सकारात्मक ऊर्जामा रूपान्तरित हुँदै जाने छन्। त्यसरी नै शान्त, समृद्ध, सुखी, समानता र न्यायमा आधारित समाज निर्माण गर्ने ढोकाहरू खुल्नेछन्। आशा र विश्वास गरौं यी सपनाहरू पूरा गर्न हाम्रा बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न हामी सबै आ-आफ्नो ठाउँबाट दत्तचित्तका साथ केन्द्रित हुनेछौं र सफल हुनेछौं, हुनै पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्