राजनीतिक उपनिवेश आत्म समर्पणवाद

laxmi gurung
लोकपाटी न्यूज

-लक्ष्मी गुरुङ

हरेक सत्य कुरा उचित समयमा प्रमाणित हुन्छ भन्ने छैन सत्यताले नेटो काटेपछि थाहा हुन्छ। त्यो समय सत्य थियो जसको पक्षपाती बन्न सकिएन, आत्मग्लानि हीनताबोध र पश्चात्ताप जतिखेर पोखिएको बस्तु त्यसको अस्तित्व फगत मट्टी बनेको हुन्छ,लामो समय आभास भएको न्यानोपन,मिठो लागेको शब्द वाणी, विश्वास लागेको काम कर्तव्य, नीजि लागेको अधिकार, सर्त पूर्ण सहयोग र स्वार्थ पूर्ण–स्वार्थ पूर्ण सम्बन्ध जो अहिले सत्य देखिने र लेखिने समय भएको छैन जो उचित समयको पर्खाइमा छ,त्यो यस्तो अन्तिम हो जसको अर्को अन्तिम छैन। केही नेपाली लेण्डुप दोर्जे प्रस्थापन सम्बोधनको अन्तिम खलनायक हुन्। यतिखेर को बोल्छ ? उज्यालो भएपछि त म पनि बोल्छु ? किन कि उज्यालोमा ममाथि हुने हमला उसको लागि प्रति घातक हुन्छ।

भाले बासेपछि त म पनि कराउँछु किन कि मेरो रक्षाको निम्ति हस्याङफस्याङ कोही आइपुग्न सक्छ तर रातमा मेरो देशमाथि मुख थुनेर हात बाँधेर गरिएको नाङ्गो हस्तक्षेपको बिरुद्द किन मिर्मिरे झिसमिसे कुर्छौ बोल, मध्य रातमा म सकिँदै छु, तिमी सकिँदै छौं, सक्ने सुरुवाती हुँदै बोल, कराऊ चिच्याऊ मेरो तिम्रो विद्रोहको आवाजले विध्वंस रोकिन सक्छ भने बोल, भोलि मुर्दावाद लेण्डुप दोर्जे भन्दै सिक्किमेली जनताको कथा पढ्ने दिन नआओस्। देशको अङ्गभङ्ग माथि हमला हुँदै देशमाथि धावा बोल्दा फेरि अर्को उज्यालो भई सकेको हुने छ। तर, त्यो उज्यालो रातमा तपाईँको अस्मिता लुटिएको न्याय विहीन फैसला तपाईँको हातमा थामिने छ। त्यो बेला थाहा हुन्छ मैले अनि तिमीले सहि समयमा सही शब्द कन्जुस्याइँ गरेको मतलब…

भारतले लेण्डुप दोर्जे प्रयोग गरेर सिक्किम आफ्नो कब्जामा लियो नेपालमा उसको राजनीतिक उपनिवेश कसरी कायम गर्दै आएको छ। प्रत्येक सचेत नेपाली नागरिकले जान्नै पर्छ, लगभग ७५ प्रतिशत नेपाली नागरिक भएको देश थियो सिक्किम, नेपालसँग राम्रो सम्बन्ध थियो, स्वतन्त्र राष्ट्र सिक्किम गद्दार देश द्रोही लेण्डुप दोर्जेको कारण भारतको स्वामित्व स्विकार्न बाध्य बनाइयो, आफ्नो माटो र आफ्नो देशलाई गद्दार गर्ने व्यक्ति लेण्डुपलाई दक्षिण एसियाकै राजनीतिक इतिहासको देशद्रोही उपमा दिने गरिन्छ।

सन् १९७५ अप्रिल ६ स्वाधीन सिक्किमको कालो दिन,त्यो त्यही दिन हो सिक्किमका राजा जोग्याल पाल्डेन आफ्नो दरबारभित्रै आफ्नो २४३ सुरक्षा गार्डसहित इन्दिरा गान्धीले पठाएको ५ हजार भारतीय सैनिकको कब्जामा परी जम्मा आधा घण्टामा एउटा स्वाधीन स्वतन्त्र देशले एउटा स्वतन्त्रताको हैसियत गुमायो, राजा जोग्याल पाल्डेनलाइ नजर बन्दमा राखियो। लेण्डुप दोर्जे ६ वर्षको उमेरदेखि नै सिक्किमको चर्चित गुम्बामा अध्ययनका लागि पुगेका थिए।

त्यतिखेर सिक्किममा नाम्गेल राजा थिए लेण्डुपको चतुर पनाले राजालाई छोयो राजाले लेण्डुपलाई दरबारमा लगेर हुर्काए, शिक्षा दिए र काजी उपाधि पनि दिए, राजा, राजपरिवारको छत्रछायामा आफ्नो कार्यहरू अगाडि बढाउन थाले त्यसैको पृष्ठपोषणमा सन् १९४५ मा प्रजा मण्डल नामक पार्टी खोले अध्यक्ष आफू बने,१९५३ मा उनी सिक्किम स्टेट काङ्ग्रेसमा मिसिए त्यसको अध्यक्ष थिए उनी।

भारतले सिक्किमलाई नजानिँदो पारामा आफ्नो सुरक्षा सञ्जाल भित्र समावेश गरी सकेको थियो, तत्कालीन भारतीय प्रधान मन्त्री जवाहर लाल नेहरु सिक्किमलाई भारतसँग विलय गराउन चाहन्थे,त्यो काम आफ्नो सुरक्षा सञ्जालले मात्र काम गर्न सकी रहेको थिएन उनलाई सिक्किमकै एउटा भरपर्दो नेता आवश्यक थियो, उसैको पक्षमा जनताको माहौल बनाउनु थियो,यसको लागि लेण्डुप राम्रो हतियार देखेका थिए, नुरेले लेण्डुपका श्रीमती एलिसा मारियालाई हात लिएका थिए, लेण्डुपको पार्टी र सिक्किम स्टेट काङ्ग्रेसको एकीकरण पनि भारतको रणनीतिमा भएको थियो,भारतले उनलाई राजाको ठाउँमा स्थापित गराउने आश्वासन दिएको थियो, पार्टी एकीकरणपछि लेण्डुप दोर्जे नेहरुको निमन्त्रणा दिल्ली गएका थिए, भव्य स्वागत सत्कार गरिएको थियो।

नेहरुले लेण्डुपलाई आफ्नै घरमा राखेका थिए, उनी सिक्किमबाट फर्केपछि सकृयरुपमा राजा हटाउने अभियानमा लागे, ७५ प्रतिशत नेपाली अन्य फरकफरक जाति र धर्मका मानिस बसोबास गर्ने सिकिमेली जनतालाई भारतीय रणनीति ती फरकफरक समुदायलाई गहिरो द्वन्द्वमा फसाइ रहेको थियो, यसरी फुटाऊ र राज गरेको नीति अनुरूप यता लेण्डुपलाई पनि उक्साइ रहेको थियो, सन् १९६० मा भएको आम चुनावमा १८ सिटमा लेण्डुपको पार्टीले ८ सिट जितेको थियो,सन् १९६५ मा चीन भारतको युद्ध भयो भारतले ठूलो क्षति बेहोर्नु पर्‍यो, भारत चीनबाट सुरक्षित हुन पनि सिक्किम आफ्नो बनाउन चाहन्थ्यो, सन् १९७३ मा ३२ सिटमा जोग्यालको पार्टीले अधिकांश सिट जित्यो, लेण्डुपको पार्टी सिक्किम राष्ट्रिय काँग्रेसको नराम्रो हार भयो तर चुनाव धादलि भयो भन्दै भारतीय हस्तक्षेपमा पुनः चुनाव गराइयो भारतीय गुप्तचरको रणनीति अनुरूप भएको चुनावमा ३२ सिटमा ३१ सिट लेण्डुपको पार्टीले जित हात पायो, जोग्याल पालडेन अल्पमतमा परे, लेण्डुप सिक्किमका प्रधानमन्त्री भए, लेण्डुपले उनको पक्षमा भएको सांसदहरुको दुरुपयोग गरेर सिक्किमलाई भारतसँग विलय गराउने निर्णय गरे त्यसपछि भारतले लेण्डुपलाई मुख्य मन्त्री बनायो जोग्याललाई स्वतन्त्र सिक्किमको लागि कुनै पनि मुलुकसँग सहयोग नमाग्न निर्देशन थियो, त्यो बेला चीनले भारतको आलोचना गर्दै रुसले चेकोसोलोभाकियामाथि गरेको आक्रमणको संज्ञा दियो तर इन्दिरा गान्धीले चिनले तिब्बतमाथि गरेको आक्रमणको कुरा उठाइन् चीन चुप लाग्न बाध्य भयो, नेपालले त्यो बेलामा पनि भारतको विरोध गर्ने आँट गरेको थियो, किन कि ७५ प्रतिशत नेपाली थिए सिक्किममा, राजा जोग्याल स्वाधीन सिक्किमको निम्ति कहिल्यै झुकेनन् १९७४ जुन ३० मा इन्दिरा गान्धीलाई भेटेर सिक्किम स्वतन्त्र बनाउन कोसिस गरेका थिए तर इन्दिरा गान्धीले अपमान गर्दै तिमी यहाँबाट जान सक्छौँ भनेकी थिइन्, लेण्डुपले भारतको आर्शीवादमा प्राप्त भएको जनमतको दुरुपयोग गर्दै सिक्किम भारतमा विलय गर्ने विधेयक पास गरी सकेको थियो, सिक्किमलाई भारतले आफ्नो २२ औँ राज्य बनाउन संविधान संशोधन विधेयक सन् १९७५ अप्रिल २३ मा लोक सभामा पेस गरी सकेको थियो, लोक सभाबाट उक्त विधेयक पास भयो, पारित उक्त विधेयक सन् १९७५ अप्रिल २६ मा राज्य सभाबाट पनि पास भयो, त्यसपछि एउटा स्वतन्त्र देश २५ वर्ष लामो हमलाबाट आफ्नो सो अधिनमा लियो।

त्यसपछि केही समय लेण्डुप दोर्जेलाइ नै सिक्किमको मुख्यमन्त्रीको जिम्मा दिइयो, पछिल्ला चुनावहरूमा लेण्डुपलाई कमजोर बनाउँदै लगियो, हुँदा हुँदै लेण्डुपलाई निष्क्रिय बनाउँदै लगियो र लेण्डुपको पार्टीले एक सिट पनि जित हासिल गर्न सकेन, त्यो बेला मात्र थाहा भयो कि भारतले आफूलाई प्रयोग गरेको कुरा,त्यसपछि श्रीमतीले पनि छाडिन् किन कि सिक्किम भारतमा मिलाउन उनको नाटकीय भूमिका थियो त्यो मक्सद उनको पनि पूरा भयो, २००७ मा १०४ वर्षको उमेरमा भारतले नै बस्न उपलब्ध गराइएको सानो घरमा उनको अन्त्य भयो।

अन्तिममा यो वास्तविक नमिठो सिक्किमको उदाहरणबाट हामी नेपाली भारतलाई असल छिमेकीको रूपमा स्विकार्न सक्ने स्थिति हिजो पनि थिएन आज पनि छैन,विशेषत नेपालमाथि हुने गरेको राजनीति हस्तक्षेप राजनीतिक उपनिवेश नै हो, यत्ति चाहिँ सत्य हो नेपालमा पनि उपयुक्त लेण्डुपको खोजीमा छ भारत हालै मात्र ल्याइएको नागरिकता विधेयक त्यही मक्सदका लागि होला नहोला तर हाम्रो मनमा कताकता चिसो पसेको छ। यो कामना गरौं कतै मलाई नव लेण्डुप त बनाउँदै छैन भन्ने झस्को शासकहरूको मनमा चसचस परि रहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्