दर्शनशास्त्रमा ‘पदार्थ’ भन्नाले के बुझिन्छ ?

internet marxism science
लोकपाटी न्यूज

पदार्थ- वस्तुगत यथार्थ, जुन मानवको चेतनाभन्दा बाहिर र त्यसबाट स्वतन्त्र रूपमा विद्यमान छ तथा त्यसद्वारा परावर्तित हुन्छ। जगतको वास्तविक अस्तित्वको विषय र प्रणालीहरूको अनन्त बहुलता पदार्थको परिधिमा आउँदछन्। पदार्थको न त सिर्जना गर्न सकिन्छ र न यसलाई नष्ट गर्न सकिन्छ। यो कालमा शाश्वत तथा आफ्नो संरचनामा अनन्त छ, गतिसँग अभिन्न रूपले जोडिएको छ र निरन्तर रूपले आत्मविकासमा सक्षम छ, जसको परिणामस्वरूप निश्चित चरणहरूमा र परिस्थितिहरू अनुकूल हुँदा जीवन तथा चिन्तनशील जीवहरूको उत्पत्ति हुन्छ।

चेतना परावर्तनको, जुन पदार्थको विशेषता हो, उच्चतम रूप हो। जगतको भौतिक एकताका विशेषताहरू हुन् पदार्थको सार्विकता तथा निरपेक्षता। जगतमा यस्तो कुनै चीज छैन, जुन पदार्थको निश्चित प्रकार वा अवस्था, त्यसको गुण वा गतिको रूप, त्यसको ऐतिहासिक विकासको उपज नहोस्। जगतको भौतिक एकताको स्वीकृति सम्पूर्ण आदर्शवादी धारणाहरूको विपरीत, जसले दैवी इच्छा, निरपेक्ष विचार, आत्मा, शक्ति, आदिलाई जगतका सम्पूर्ण परिघटनाहरूको मूलतत्व मान्दछन्, दार्शनिक भौतिकवादको मूल सिद्धान्त हो।

पदार्थलाई यसका ठोस रूपहरूमा, उदाहरणको लागि पदार्थ वा परमाणुहरूमा, सीमित गर्न सकिँदैन, किनभने पदार्थका पदार्थभन्दा भिन्न रूपहरू हुन्छन्- विद्युत्-चुम्बकीय तथा गुरुत्वाकर्षण क्षेत्र, विभिन्न प्रकारका जटिल संरचना भएका न्यूट्रिनो। पदार्थ अक्षय छ तथा यसको ज्ञान सम्भावनाहरूको दृष्टिले असीमित छ । साथसाथै पदार्थको व्यवस्थित, प्रणालीबद्ध संगठन छ र गतिका भिन्न-भिन्न गुणहरू तथा रूपहरूसँग अविभाज्य छ। आधुनिक विज्ञानको दृष्टिबाट पदार्थका मुख्य रूप यस प्रकार छन्ः

१. जड प्रकृतिका प्रणालीहरू (मूलकण र क्षेत्र, परमाणु, अणु, सूक्ष्म पिण्ड, भिन्न-भिन्न क्रमहरूका अन्तरीक्षीय प्रणालीहरू), २. जैविक प्रणालीहरू (सूक्ष्म जीवहरूदेखि लिएर मानिससम्म सम्पूर्ण जीवमण्डल), ३. सामाजिक रूपले संगठित प्रणालीहरू (मानिस, समाज)। तर पदार्थले केवल यी रूपहरूमा मात्र आफूलाई सीमित गर्दैन, किनभने अनन्त जगतमा वस्तुगत यथार्थको रूपमा पदार्थका गुणात्मक दृष्टिले भिन्न प्रकारहरू विद्यमान छन्, उदाहरणको लागि क्वार्क र मूल कणहरुको संरचनामा अन्य सम्भावित सूक्ष्म विषय।

वस्तुगत यथार्थको रूपमा पदार्थको दार्शनिक अवधारणालाई पदार्थको संरचना तथा गतिका नियमहरूको विषयमा प्राकृतिक विज्ञानहरूका सिद्धान्तले मूर्त रूप दिन्छन्। तर दार्शनिक प्रवर्गको रूपमा पदार्थलाई यसको ठोस भौतिक तथा रासायनिक रूप मान्नु गलत हुन्छ, किनभने यी रूपहरूको स्वरूप स्थानीय हुन्छ र यिनीहरूले वास्तवमा विद्यमान यथार्थको अनन्त बहुलतालाई आफ्नो परिधिमा ल्याउँदैनन्।

पदार्थको रूपमा यसको कुनै ठोस गुणलाई, उदाहरणको लागि द्रव्यमान, शक्ति, स्थान, आदिलाई मान्नु पनि ठिक त्यति नै गलत हुन्छ, किनभने पदार्थमा विभिन्न गुणहरूको अनन्त विविधता हुन्छ। पदार्थको अवधारणालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा, पदार्थका सार्विक गुणहरूको सिद्धान्त तथा यसको विकासका नियमहरूमा पूर्ण विस्तारपूर्वक उद्घाटन गरिएको छ। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्