राष्ट्रपतिको ‘खोप–कूटनीति’ : दुई सातामा पनि आएन पत्रको जवाफ

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिँदै चार मुलुकका उच्च तहका व्यक्तिहरूलाई पत्राचार गरे पनि दुई साताको अवधि हुन लाग्दासमेत जवाफ आएको छैन। कोरोना भाइरसका कारण नेपाली जनता समस्या परेको भन्दै राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्राचार गरेकी थिइन्।

जेठ १६ गतेसम्म नेपालको परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित मुलुकका विदेश मन्त्रालयमा राष्ट्रपति भण्डारीको अनुरोधको पत्र बुझाइएको थियो। सम्बन्धित मुलुकबाट पत्र ग्रहण गर्दै नेपालको संकटलाई लिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि भएका छन् तर खोप सहयोगको विषयमा कुनै पनि मुलुकले अहिलेसम्म प्रस्ट रूपमा नेपाललाई जवाफ पठाइसकेको छैन। ‘सम्बन्धित मुलुकले सम्माननीय राष्ट्रपतिज्यूले पठाएको पत्र पाइसकेको जानकारी हामीलाई प्राप्त भइसकेको छ तर लिखित रूपमा उहाँले गरेको पत्राचारको जवाफ भने आउन बाँकी छ,’ राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालले कान्तिपुरसँग भने। उनले कूटनीतिक माध्यममार्फत् हुने यस्तो पत्राचारमा केही समय लाग्न सक्ने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयसँग अन्य मुलुकका कूटनीतिक अधिकारीहरू सम्पर्कमै रहेको बताए ।

राष्ट्रपति भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन रुसी राष्ट्रपति पुटिनलाई जेठ १४ गते पत्र पठाएकी थिइन्। उक्त पत्र रुसी सरकारलाई मस्कोस्थित नेपाली दूतावासले जेठ १६ गते रुसी विदेश मन्त्रालयमा हस्तान्तरण गरेको थियो। राष्ट्रपति भण्डारीले जेठ १६ गते नै परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बेलायती दूतावासमार्फत् बेलायती महारानी एलिजाबेथ द्वितीयलाई पनि खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्दै पत्र पठाएकी थिइन्।

कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नका लागि खोपको अनिवार्य आवश्यकता रहेको पृष्ठभूमिमा राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् । उनले कोविन्दसँग यसअघि नै नेपालले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध गराउन तथा थप खोप सहयोगका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन्। बेलायतकी महारानी र भारतका राष्ट्रपति आलंकारिक हुन्।

राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर नेपाललाई खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। दुई दिनपछि उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले परराष्ट्र मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गरेका थिए। अमेरिकाले एसियाली देशहरूलाई गर्ने सहयोगको सूचीमा नेपाललाई पनि पारेको घोषणा गरेको छ तर नेपालको तर्फबाट गरिएको छुट्टै आग्रहको बारेमा भने जवाफ दिएको छैन।

‘उनीहरूले केही न केही जवाफ त पठाइहाल्छन् तर उनीहरूको पनि आफ्नो प्रक्रिया हुन्छ,’ परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदन भट्टराईले भने, ‘राष्ट्रपतिज्यूले गर्नुभएको पत्राचारको जवाफ परराष्ट्र मन्त्रालयमार्फत नै आउने हो। विदेशमा पनि यसको काम विदेश मन्त्रालयबाटै हुन्छ। त्यही रुटअनुसार हुनेछ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राष्ट्रपतिको पत्राचारमा अहिलेसम्म कुनै पनि मुलुकबाट जवाफ नआएको जानकारी दिइन्। खोप कूटनीतिलाई अघि बढाउने क्रममा राष्ट्रपति भण्डारीले जेठ १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन्। उनले सीसँगको टेलिफोन संवादमा उक्त आग्रह गरेका हुन्। सीले भने संवादकै दौरान नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त पनि गरेका थिए। सीले दिने प्रतिबद्धता गरेको खोप काठमाडौंमा आइपुगिसकेको छ। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्