कोरोनाविरुद्ध प्रकाश सपूतको ‘प्रार्थना’ गीत (भिडियो)

prakesh geet
लोकपाटी न्यूज

काठमाडौं। आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि यतिबेला गायक प्रकाश सपूत खुसी छन्। निषेधाज्ञामा धेरै संगीतकर्मी सुस्ताएको बेला गायक प्रकाश सपूत सक्रिय देखिए। उनले यसै बीचमा नयाँ गीत प्रार्थना रेकर्ड गरेर दर्शकमाझ ल्याएका छन्। यो गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन्। यो गीतलाई अशोक शेरचनले लेखेका हुन्।

यो गीतमा संगीत पनि प्रकाशले नै दिएका हुन्। जसमा योगेश काजीको संगीत संयोजन रहेको छ। सपूतले गीतमा कोरोना संक्रमणको समस्यालाई समेटेका छन्। मुलुकमा अहिलेसम्म जारी रहेको कोरोना महामारीले दैनिक सयौं नेपालीको ज्यान गइरहेको छ।

यस्तो अवस्थामा मुलुकवासीलाई कोरोना संकटले दुःख नदियोस् भनेर यी गायकले गीतमार्फत् प्रार्थना गरेका छन्। गीतमा उनले पार्थना गर्ने क्रममा कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबर पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भनेका छन्।

यो व्यावसायिक गीत नभएको र सन्देश प्रधान गीत भएको सपूतले बताए। मुलुकवासीको पीडामा गीत संगीतबाट केही मात्रामा भए पनि मलम लगाउन आफूले यो प्रयत्न गरेको पनि यी गायकले बताएका छन्। कोरोनाको महामारीमा घरमै बस्नु पर्ने अवस्थामा आफूले उच्च सुरक्षा र सावधानी अपनाएर यो गीतको रेकर्डिङ गरेको उनले बताए। गीतको भिडियो निर्देशन प्रवेश पौडेलले गरेका हुन्। गीतको भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई प्रस्तुत भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्