उपमहानगरले रोक्यो कोरोना विरुद्धको खोप अभियान

Corona_Vaccine
लोकपाटी न्यूज

हेटौंडा। आजदेखि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लगाइने भनिएको कोभिड १९ विरुद्धको खोप ‘भेरोसेल’ रोकिएको छ। हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खोप लगाउने विषयमा अन्यौल भएको कारण खोप रोकिएको बताए।

अर्को सूचना जारी नभएसम्मको लागि खोप अभियान स्थगित भएको हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौलागाईंले बताए।

खोप अभियानका विषयमा हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरु, उपमेययरले समेत अन्योलमा रहेको बताए। हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रमन झाले खोप प्राविधिक कारणले रोकिएको भन्दै अहिले बैठक बसीरहेको बताए।

खोप लगाउनका लागि हेटौंडाका १९ वटै वडामा टोली परिचालन भइसकेको थियो।मकवानपुरको लागि कोरोना भाइरसविरुद्ध ६ हजार ५ सय डोज भेरोसेल खोप आएको छ। चीनबाट आएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय डोज आएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको लागि आएको खोप जिल्ला भित्रका हेटौंडाबाहेक अन्य स्थानीय तहमा ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई पहिलो डोज लगाउने सुरु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवं जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए।बागमती गाउँपालिकाले मंगलबार अर्थात हिजोदेखि खोप लगाउन सुरु गरिसकेको छ।

घिमिरेका अनुसार जिल्लाको १० वटै स्थानीय तहलाई भेरोसेल खोपको पहिलो डोज बाँडिएको छ। जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २ हजार ७ सय डोज खोप प्राप्त गरेको छ।

त्यसैगरि थाहा नगरपालिकाले ६८५ डोज, मनहरी गाउँपालिकाले ५३९, बकैया गाउँपालिकाले ४८६ डोज, बागमती गाउँपालिकाले ४३४ डोज, मकवानपुरगढी गाउँपालिकाले ३९३ डोज, भीमफेदी गाउँपालिकाले ३९३ डोज, कैलाश गाउँपालिकाले ३७८ डोज, राक्सिराङ गाउँपालिकाले २०० डोज, इन्द्रसरोबर गाउँपालिकाले १९२ डोज खोप प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्