यी हुन् विश्वप्रसिद्ध १० दार्शनिक

Earth globe
लोकपाटी न्यूज

हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन यूनान र रोममा प्रशंसा गरिएको थियो। उनका विचारहरुको रहस्यमय प्रस्तुतीकरणको फलस्वरुप तिनीहरूको नाम दुर्बोध रह्यो। हेराक्लिटसको मतानुसार अग्नि प्रकृतिको प्राथमिक तत्त्व हो, किनभने त्यो परिवर्तित तथा गतिशील हुनमा सर्वाधिक सक्षम छ। समग्र रूपमा संसार, पृथक-पृथक् वस्तुहरू, यहाँसम्म आत्माहरु पनि अग्निबाट उत्पन्न भए।

‘संसारको, सबै कुराको सत्ताको निर्माण न त कुनै भगवानले गरे र न मानिसहरूले, यो त यस्तो शाश्वत अग्नि थियो, छ र रहनेछ, जुन नियमित रूपले प्रज्वलित हुन्छ र नियमित रूपले निभ्दछ।’ यो सुक्ति भी. आई. लेनिनका अनुसार द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको अत्यन्तै सुन्दर विवेचना हो। सबै वस्तुहरू अग्निबाट आवश्यकताअनुसार, जसलाई हेराक्लिटसले लोगोसको नाम दिए, जन्म लिन्छन्, तर संसारको प्रक्रिया चक्रीय हुन्छः सबै वस्तुहरू पुनः अग्नि बन्दछन्। प्रकृतिको जीवन गतिको अविराम प्रक्रिया हो। सबै वस्तुहरू र सबै गुणहरु आफ्नो विपरीत बन्दछन्ः चिसो तातो हुन्छ र तातो चिसो हुन्छ। सबै कुरा परिवर्तित र नवीकृत भइरहेको छ, त्यस कारण कसैले एउटै नदीमा दुई पटक प्रवेश गर्न सक्दैन, किनभने दोस्रो पटक उसले नयाँ जलमा प्रवेश गर्दछ।

मानव जीवनमा सबै कुराको आफ्नो विपरीत यो संक्रमण कुनै सामान्य परिवर्तन होइन, बरु संघर्ष हो। संघर्ष सार्विक छ। तर विपरीतहरूको संघर्षले तिनीहरूको तादात्म्य उद्घाटित गर्दछ। माथिको मार्ग र तलको मार्ग, जीवन-मरण, आदि सबै एउटै हुन्। परिवर्तनको सार्विकता तथा प्रत्येक गुणको आफ्नो विपरीत परिवर्तनले सबै गुणहरुलाई सापेक्ष बनाइदिन्छन्। संवेदन ज्ञानको आधार हुन्छन्, तर केवल चिन्तन मात्र बुद्धिमा पुग्न सक्दछ। यदि ज्ञानेन्द्रियहरूद्वारा अनुभूत प्रकाशबाट कुनै वस्तु अदृश्य रहन्छ भने, त्यसले यसको बाबजुद आफूलाई विवेक-बुद्धिको प्रकाशबाट लुकाउन सक्दैन। हेराक्लिटसले आफ्नो विश्वदृष्टिकोणलाई आफ्ना अधिकांश समकालीनहरू तथा देशवासीहरूको विश्वदृष्टिकोणको विरुद्धमा राखे। समाजप्रति उनका अभिजातीय अवधारणाहरु केही प्रगतिशील विचारहरुसँग मिसिएका थिएः उनले परम्परागत अलिखित विधिको, जसको अभिजातहरुले वकालत गर्दथे, विरोध गरे र त्यसको विरुद्धमा राज्यद्वारा स्थापित विधिलाई राखे, जसको मानिसहरूले, उनको मतानुसार, आफ्नो नगरका पर्खालहरूको जस्तै रक्षा गर्नुपर्दछ।

हेराक्लिडेस- यूनानी दार्शनिक, प्लेटोका शिष्य। उनका विचारहरुको परमाणुवादतिर झुकाव थियो। उनी यो मान्दथे कि परमाणुहरूको रचना विश्ववुद्धि ‘नूस’ले गर्दछ आत्मासम्बन्धी उनको अवधारणा पनि परमाणुवादी र सुस्पष्ट रूपले पाइथागोरसवादबाट प्रभावित थियो। हेराक्लिडेसका खगोलशास्त्रीय विचारहरुको सूर्यकेन्द्रवादतिर झुकाव थियो, जबकि संगीतसम्बन्धी उनका सिद्धान्तहरूमाथि एरिस्टोटलको प्रभाव थियो। उनका विभिन्न कृतिहरूमध्ये एउटै पनि बचेन।

हेर्बार्ट- जर्मन आदर्शवादी दार्शनिक, मनोवैज्ञानिक तथा अध्यापक। उनी सम्पूर्ण अस्तित्वको आधार यथार्थहरूलाई- शाश्वत, अपरिवर्तनीय, आत्मिक (लिब्निजका चिदणुहरु जस्तै) र अज्ञेय (कांटको वस्तु-निजरुपजस्तै) सत्ताहरुलाई- मान्दथे।

हेल्महोल्ट्ज- जर्मन प्रकृतिशास्त्री। सजीव शरीरहरूको परीक्षणको उनको शारीरिक-रासायनिक विधिले प्राणवादको सिद्धान्तको खण्डन गर्‍यो र जीवविज्ञानमा भौतिकवादी विचारहरुलाई उत्प्रेरित गर्‍यो। हेल्महोल्ट्जले उल्लेखनीय शरीर क्रियात्मक खोजहरु गरे (स्नायुतन्तुहरुमा उत्तेजनाको गतिमा परिवर्तन, संवेदनशील अंगहरुको शरीर क्रियात्मक अध्ययन तथा विस्तारको धारणालाई शासित गर्ने नियम, आदि)। सैद्धान्तिक भौतिक विज्ञान तथा अन्य प्रकृतिविज्ञानहरुको विषयमा आफ्ना कृतिहरूमा हेल्महोल्ट्जले स्वतःस्फूर्त भौतिकवादी विचार प्रतिपादित गरे, तर कहिलेकाहीँ उनी कांटवादतिर झुक्दथे। उनले संवेदनशील अंगहरुको विशिष्ट शक्तिको सिद्धान्तबाट यो गलत निष्कर्ष निकाले कि संवेदन वास्तविक वस्तुहरुका वस्तुगत गुणहरुका आत्मगत बिम्ब होइनन्, बरु केवल संकेत, चित्रलिपि मात्र हुन्, जसको यी गुणहरुसँग कुनै समानता हुँदैन। लेनिनले ‘भौतिकवाद तथा अनुभवसिद्ध-आलोचना’ शीर्षक कृतिमा हेल्महोल्ट्जका दार्शनिक विचारहरुको असंगतताको भर्त्सना गरे।

हेल्वेटियस- १८औँ शताब्दीका फ्रान्सेली भौतिकवादका प्रतिपादक। हेल्वेटियसको दर्शन लकको संवेदनवादमा आधारित थियो, जसबाट उनले त्यसको आदर्शवादी तत्वलाई हटाए। हेल्वेटियसका अनुसार वस्तुगत रूपले विद्यमान पदार्थको ज्ञान संवेदनहरुको माध्यमबाट हुन्छ। उनी स्मरणशक्तिलाई ज्ञानको एउटा अर्को साधन मान्दथे। चिन्तनको सरलीकरण गरेर हेल्वेटियसले त्यसलाई केवल संवेदनहरुको योग मात्र मान्दथे। उनले मानव-चरित्रको विकासमा सामाजिक वातावरणको भूमिकामाथि जोड दिए र यसको आधारमा सामन्ती सम्बन्धहरुको स्थानमा पूँजीवादी सम्बन्धहरुको स्थापनाको आवश्यकता सिद्ध गरे। तर मानव-चेतना तथा आवेगले, हेल्वेटियसका अनुसार, सामाजिक विकासमा निर्णायक भूमिका निर्वाह गर्दछन्।

कार्ल मार्क्सले हेल्वेटियसका विचारहरुको गहन विवेचना गरे : ‘संवेदनशील गुण, स्वप्रेम, आनन्द; सही ढंगबाट ज्ञात गरिएका व्यक्तिगत हितहरू सम्पूर्ण नैतिकताको आधार हुन्। मानव-बुद्धिको प्राकृतिक समानता, विवेकको प्रगतिको उद्योगको प्रगतिसँग एकता, मानिसको प्राकृतिक साधुता, शिक्षा-दीक्षाको सर्वशक्तिमत्ता उनको प्रणालीका मुख्य लक्षण हुन्।’ वैयक्तिक तथा सामाजिक हितहरुको सामञ्जस्यपूर्ण योगका तथा मानसिक समानताका हेल्वेटियसका विचारहरुले काल्पनिक समाजवादको तयारीमा धेरै ठुलो भूमिका निर्वाह गरे। उनका कृतिहरु हुन्- ‘बुद्धिको बारेमा’ (१७५८), ‘मानिसको बारेमा’ (१७६९, १७७३ मा प्रकाशित)।

हेस्स- जर्मनीका निम्नपूँजीवादी लेखक तथा दार्शनिक। आरम्भमा उनी युवा हेगेलवादीहरुसँग सम्बन्धित थिए। उनले दार्शनिक साम्यवादको निरुपणमा ठूलो भूमिका निर्वाह गरे। हेगेलको तथा अधिकांशतः फायरबाखको शिक्षा तथा फ्रान्सेली काल्पनिक समाजवादलाई आधार बनाएर उनले विद्यमान समाजको आलोचना गरे, जसको मुख्य खराबी उनले मानिसको वास्तविक सारको अन्य संक्रमण देखे। उनले भने कि एउटा सामाजिक क्रान्तिको आवश्यकता, जसबाट निजी सम्पत्ति, श्रमको दबाबमूलक स्वरूपको कारण उत्पन्न यो अन्य संक्रमणलाई अन्त गर्न सकियोस्। तर उनले यो क्रान्तिलाई सर्वहाराको वर्गसंघर्षबाट पृथक्कृत रूपमा हेर र अन्ततः यसलाई मानिसहरूको आत्मिक मुक्ति र अमूर्त मानववाद र परार्थवादमा सीमित गरिदिए। यी विचारहरुको सच्चा समाजवादमा थप विकास गरिएको थियो। जीवनका अन्तिम दिनहरूमा उनले आफ्ना समाजवादी विचारहरुलाई प्रकृति वैज्ञानिक आधार प्रदान गर्ने प्रयत्न गरे।

होलबाख- फ्रान्सेली भौतिकवादी दार्शनिक तथा निरीश्वरवादी। उनी जर्मन सामन्त परिवारका थिए, तर उनले आफ्नो जीवनको अधिकांश भाग फ्रान्समा बिताए। ‘प्रकृतिको प्रणाली’ शीर्षक उनको प्रमुख कृति पेरिसको संसद्को निर्णयमा जलाइएको थियो। उनका अन्य कृतिहरु हुन्- ‘ईसाई धर्मको भण्डाफोर’ (१७६१), ‘लघुधर्मग्रन्थ’ (१७६८), ‘सहजबुद्धि’ (१७७२) । होलबाखले धर्म र आदर्शवादी दर्शनको, विशेषगरी बर्कलेका सिद्धान्तहरुको आलोचना गरे। उनले आदर्शवादलाई सहजबुद्धिको विरुद्धमा उभिएको कपोलकल्पना भने र केही मानिसहरूको अज्ञान तथा भय र अन्यको धोकालाई धर्मको मूल माने। होलबाखका अनुसार पदार्थ त्यो सबै हो, जसले हाम्रा इन्द्रियहरुमाथि प्रभाव पार्दछ। त्यो अपरिवर्तनीय र अविभाज्य परमाणुहरुबाट बन्दछ, जसका मुख्य गुण विस्तार, भार, आकार तथा अभेद्यता हुन्। होलबाखले यो मान्दथे कि गति, जुन पदार्थको एउटा अर्को गुण हो, स्थानमा पिण्डहरुको सरल यान्त्रिक गति हो। होलबाखले भने कि मानिस प्रकृतिको भाग हो र त्यसका नियमहरुको अधीनमा छ। उनले नियतत्ववादको पक्षपोषण गरे, तर कारण–कार्यसम्बन्धको यान्त्रिक ढङ्गले व्याख्या गरे। उनले संयोगहरुको वस्तुगत अस्तित्वलाई अस्वीकार गरे र तिनीहरूको व्याख्या यस्तो परिघटनाहरुको रूपमा गरे, जसका कारणहरू अज्ञात छन्।

ज्ञानशास्त्रमा होलबाखको संवेदनवादतिर झुकाव थियो र उनले अज्ञेयवादको विरोध गरे। राजनीतिमा उनी संवैधानिक राजतन्त्रको, तर विशिष्ट सन्दर्भमा प्रबुद्ध निरंकुशवादको पक्षमा थिए। समाजप्रति उनको दृष्टिकोण आदर्शवादी थियो। होलबाखले यो दाबी गरे कि विचारहरुले संसारमाथि शासन गर्दछन्। उनले इतिहासमा निर्णायक भूमिका विधायकहरुको माने। मानिसहरूको मुक्तिको मार्ग होलबाखले शिक्षामा देखे। होलबाखका अनुसार स्वयं आफ्नो प्रकृतिसँग अनभिज्ञताले मानव जातिलाई सरकारहरूको प्रभुत्वअन्तर्गत राखिदियो। उनी विकाशशील बुर्जुवा समाजलाई विवेकको संसार मान्दथे।

ह्यामिल्टन- अंग्रेज आदर्शवादी दार्शनिक तथा तर्कशास्त्री। उनले वस्तुगत सत्यको प्रतिवाद गरे र उनी अज्ञेयवादतिर झुके। ह्यामिल्टनको मत थियो कि निरपेक्ष, अर्थात् भौतिक यथार्थ केवल इलहामको माध्यमबाट मात्र ज्ञेय छ। कांटको अनुसरण गरेर उनले अनुभवनिरपेक्षवाद तथा नैतिक सिद्धान्तलाई धार्मिक आस्थाको आधारशीलाको रूपमा स्वीकार गरे। उनले तर्कशास्त्रमा विधेय-परिमाणनको सिद्धान्त प्रचलित गरे र यसरी निर्णयलाई समीकरणमा तथा तर्कशास्त्रलाई कलनमा सीमित गर्ने प्रयत्न गरे। ह्यामिल्टन आधुनिक गणितीय तर्कशास्त्रका अग्रदूत थिए। उनको मुख्य कृति हो- ‘अधिभौतिकशास्त्र तथा तर्कशास्त्र’ (चार खण्डहरुमा प्रकाशित, १८५९-६०)।

ह्यूम- अंग्रेज आदर्शवादी दार्शनिक, मनोवैज्ञानिक, इतिहासकार। ह्यूमले यो मान्दथे कि ज्ञानको कार्यभार सत्तालाई बुझनुमा होइन, बरु व्यावहारिक जीवनमा मार्गदर्शक बन्ने योग्यतामा निहित छ। उनको लागि प्रामाणिक ज्ञानको एक मात्र विषय गणितका विषय थिए । अध्ययनका सम्पूर्ण अन्य विषयहरू यस्ता तथ्यहरुसँग सम्बन्धित छन्, जसलाई तार्किक रूपले सिद्ध गर्न सकिँदैन र केवल अनुभवबाट मात्र निगमित गर्न सकिन्छ। अस्तित्वको विषयमा सबै विचारहरुले पनि अनुभवलाई आधार बनाउँदछन्, जसलाई ह्यूमले आदर्शवादी ढंगले बुझे। वास्तविकता उनको लागि केवल छापहरूको प्रवाह हो, जसका कारणहरू अज्ञात तथा अज्ञेय छन्। वस्तुगत जगतको अस्तित्व छ वा छैन भन्ने प्रश्नलाई ह्यूमले असमाधेय मान्दथे। अनुभवद्वारा स्थापित एउटा अधारभूत सम्बन्ध कार्य-कारणको सम्बन्ध हो। यदि एउटा परिघटना अर्कोभन्दा पहिले घट्दछ भने, यसबाट यो निष्कर्ष निकाल्न सकिँदैन कि पहिलो परिघटना कारण तथा दोस्रो परिघटना त्यसको कार्य हो।

समयमा घटनाहरुको क्रमको अत्यधिक पुनरावृत्तिले समेत त्यो अदृश्य शक्तिको ज्ञान प्रदान गर्दैन, जसको साहयताबाट एउटा वस्तुले अर्को वस्तुलाई उत्पन्न गर्दछ। यसप्रकार ह्यूमले कार्य-कारणसम्बन्धको वस्तुगत स्वरूपलाई अस्वीकार गरे। ह्यूमका अनुसार हामीमाथि पर्ने छापहरूको प्रवाह, सर्वथा अराजक छैन; केही वस्तुहरू हामीलाई उज्ज्वल, सजीव तथा स्थायी प्रतीत हुन्छन् र यो, ह्यूमका अनुसार, व्यावहारिक जीवनको लागि पर्याप्त छ। यस क्रममा यो बुझ्नु आवश्यक छ कि व्यावहारिक दृढ विश्वासको स्रोत सैद्धान्तिक ज्ञान होइन, बरु आस्था हो। नीतिशास्त्रमा उनले उपयोगितावादको सिद्धान्तलाई विकसित गरे र उपयोगितालाई नैतिकताको कसी घोषित गरे; धर्मको दर्शनमा ह्यूमले यो स्वीकार गरे कि ब्रम्हाण्डमा व्यवस्थाका कारणहरुमा विवेकसँग केही समानता छ, तर ईश्वरको बारेमा सम्पूर्ण धर्मशास्त्रीय तथा दार्शनिक मतहरुलाई अस्वीकार गरे तथा ऐतिहासिक अनुभवको दृष्टान्त दिएर उनले नैतिक तथा नागरिक जीवनमाथि धर्मको कुप्रभावलाई स्वीकार गरे। ह्यूमको संशयवादले बुर्जुवा वर्गको उपयोगितावादी तथा तर्कबुद्धिमूलक विचारधाराको आधार तयार गर्‍यो। उनको अज्ञेयवादले वर्तमानकालीन आदर्शवादलाई धेरै प्रभावित गर्‍यो, नवप्रत्यक्षवादको एउटा मुख्य विचारधारात्मक स्रोतको काम गर्‍यो। उनको मुख्य कृति हो- ‘मानव-विवेकको सम्बन्धमा अध्ययन’ (१७४८)।

ह्वाइटहेड- तर्कशास्त्री, गणितज्ञ तथा दार्शनिक, लण्डन तथा हावर्ड विश्वविद्यालयहरुका प्राध्यापक। उनले रसेलसँग मिलेर गणितीय तर्कशास्त्रमा एउटा मौलिक पुस्तक ‘गणितको सिद्धान्त’ (१९१०-१३) को रचना गरे। प्रकृतिको परिवर्तनीयता तथा निरन्तरताको स्वीकृतिको माध्यमबाट भौतिक विज्ञानको संकटमाथि नियन्त्रण प्राप्त गर्ने प्रयासहरूको फलस्वरुप ह्वाइटहेडले प्रकृतिलाई एउटा प्रक्रिया माने। प्रकृतिको व्याख्या अनुभवको रूपमा गरेर ह्वाइटहेड नवयथार्थवादमा पुगे, जसले भौतिकवाद तथा आदर्शवादका तत्वहरुलाई मिलाउँदछ। पछि ह्वाइटहेडले वस्तुगत आदर्शवादको स्थिति अपनाए। समाजशास्त्रमा ह्वाइटहेडले इतिहासको निर्देशक शक्तिको रूपमा विचारहरुको स्वीकृतिलाई यस्ता असाधारण व्यक्तिहरू (वैज्ञानिकहरू) को भूमिकाको निरपेक्षीकरणसँग एकीकृत गरे, जसले संसारको शासन गर्नुपर्दछ। उनका मुख्य कृतिहरु हुन्- ‘प्रक्रिया र यथार्थ’ (१९२९), ‘विचारहरुको कार्य’ (१९३३)। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्