कस्तो बनाउने माओवादी पार्टी ?

  • 3.1K
    Shares
लोकपाटी न्यूज

कार्ल विक्रम थापा। नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेता कार्यकर्ता सुझाव मागेको भन्ने सन्दर्भमा छोटकरीमा सुझाव पेश गरेको छु।

हामी बैज्ञानिक समाजबाद हुँदै साम्यवादमा पुगिने मार्गदर्शन  बोकेर हिँड्नुपर्छ भन्ने मान्यतामा बिश्वास राख्नेहरूको बिशाल समूह भित्र पर्छौं  ? पर्दैनौं  ? आफू उभिएको धरातल र कार्यदिशा सही छ या छैन ? आफैंले आफैंलाई गरेको प्रश्नमा आफैंलाई सहि लाग्ने उत्तर पाईएको छ या छैन ? यस्ता कुरा तपाँई हामीले फर्स्याउनु छ, त्यसको ठोस धरातल मार्क्सबाद हुनुपर्छ ।

१) द्वन्दात्मक भौतिकवादी दर्शनलाई पछ्याउँदै जाने र सत्तामा पुग्नाबित्तिकै बर्गिय स्वार्थ चटक्कै बिर्सेर सभ्रान्त वर्गको पक्षपोषण तिर लाग्ने कम्युनिष्टको पुरानो क्यान्सर रोग हो भन्नेकुरा हामीले थाहा पाईसकेको परिस्थितिमा यसको रोकथामको लागि ठोस र महत्वपूर्ण निर्णय, प्रतिबद्धता, नियम बिनियम, कारबाहीलाई तिब्र बनाएर लानु पर्नेछ।

२) अहिले कोरोना महामारीबाट हामी लगाएत विश्वभरका जनता पिडित भैरहेको अबस्थालाई मध्यनजर गर्दै पार्टीले कम्तिमा आ-आफ्नो निर्वाचन क्षेत्रमा भौतिक उपस्थिति गराउन आदेश, नितिगत निर्णय र प्रत्येक क्षेत्रको लागि आवश्यक स्वास्थ्य सामग्री, आईसोलेसन केन्द्रहरूको बिकाश गर्नको लागि स्थानीय जनताको ऐक्यबद्धता, स्वास्थ्य शिक्षामा ब्यापक जन परिचालन गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्छ । उदाहरण बनेका जनार्दन शर्माको कामलाई पार्टीभित्र दिशा निर्देश बनाऔं । यो प्रकृया मात्रै जनताको मनमा बस्ने गतिलो उदाहरण हो र यस्तै यस्तै कामहरूको आधारमा सत्तामा सहभागिता, पार्टीभित्र पदको बाँडफाँडको लागि योग्यताको मापदण्ड १०० मा ५० नम्बर र बाँकी आचरणहरूमा निजी सम्पत्ति सत्तामा पुगेर कानून नबनेसम्म कम्तिमा पार्टीलाई हस्तान्तरण गर्ने कार्यको लागि १०० मा २५ र बाँकी २५ अनुशासन, भ्रष्टाचार सून्य लगायतको र बिद्वत बर्गको लागि छुट्याएर यसैको आधारमा पार्टी पुनर्गठन गर्नुपर्छ।

३) YCL पूर्ण रूपमा बिउँत्याएर जनताको सेवामा समर्पित रहन निर्देशन जारी गर्नुपर्छ, अहिले कोरोनाको महामारीबाट आक्रान्त नागरिकलाई मल्हम लगाउने कामहरू गर्नुपर्छ, प्रत्येक नागरिकको घर, दैलो, कोठा कोठामा पुग्नु अनिवार्य निति तर्जुमा गर्नुपर्छ । जनताको सेवा गर्ने यो एउटा सुनौलो अबसर हुनेछ, जनता प्रश्न गर्दैछन् हिजो सत्ता र संविधानको लागि भनेर हामी यहाँ छौँ भन्नेहरू आज कता छन्  ? यस्ता यक्ष प्रश्नहरूको जवाफ जनतालाई दिनैपर्ने भएकोले पार्टीपङ्क्तीको यस तर्फ गम्भीर ध्यानाकर्षण हुनैपर्छ।

४) पार्टीलाई प्रतक्ष्य निर्बाचित अध्यक्षको रूपमा उभ्याएर आन्तरिक प्रजातान्त्रिक पद्धति सुदृढ गर्नुपर्छ र सोही अनुरूपको प्रतक्ष्य निर्बाचित राष्ट्रपति र समानुपातिक सांसद भएको संसदको लागि निति र आधारहरू खडा गर्नुपर्छ । यसको लागि पनि जनताको साथ समर्थन आवश्यक पर्ने भएकोले जनतालाई आवश्यक परेको साथ र समर्थनको लागि नेतृत्व तहसम्मैका सम्पूर्ण बर्गिय सङ्गठनहरूलाई परिचालन गरेर समस्या समाधान गर्नेतर्फ तुरून्तै लागिहाल्नुपर्छ। ycl -young communist league अर्थात तरूण कम्युनिष्टहरूको संगठनमा पूर्णतया युवाहरूको प्रतिनिधित्व हुनुपर्छ र त्यस्को प्रतिनिधित्व पोलिटब्युरोमा पनि हुनुपर्छ, जसले यूवाहरूको चिन्तन प्रति पार्टीभित्र पूर्णरूपमा क्रान्तिकारिता ताजै रहोस्।

५) तत्काल हामीले २१औं सताब्दीको जनबाद के हो ? जनतालाई श्वेतपत्र जारी गर्नुपर्यो। गन्तव्य सुनिश्चित गर्नुपर्यो । मुख्यतया अहिलेको कहालीलाग्दो कोरोना कहरलाई कसरी नियन्त्रण गर्नेहो त्यसको खाका तैयार गरेर तुरून्त जनतामा जानुपर्छ, एकछीन पनि ढिलो गरेर जानु जनताद्वारा तिरस्कृत हुनु हो।  २१ औं सताब्दीको जनबाद के हो जनता जान्दैनन्, यस्ता जटील कुराहरू सजिलोसँग बुझाउन पार्टीका बुद्धिजीवीलाई घर घरमा खटाउनु पर्छ, यसका लागि पार्टीको बिध्यालय (school) बिभागमा जिम्मेवारी दिनुपर्छ।

६) यसपटक ओलीलाई मात्र गाली गरेर सुख पाईनेछैन, उनि यसपटक संविधानकै धाराहरूमा टेकेर प्रतिगमन तर्फ उन्मुख छन्, एम सि सि पास गर्ने धुनमा छन्, यसैलाई राजनीतिक आधार बनाउन र जनतामा यसको दुष्प्रभाव बारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ र एम सि सि लाई जरैदेखि उखेलेर फाल्नुपर्छ वा यो यो बुँदालाई संसोधन गरेर जानुपर्छ भन्ने ठोश कार्यनिति पास गर्नुपर्छ, नत्र ओलीको बलले भ्याए भने एम सि सि जस्ताको तस्तै पास गर्नेछन् र नेपाललाई अँध्यारो खाडल भित्र छिराउन सफल हुनेछन् भन्ने कुरा जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्छ।

७) पार्टीलाई सांगठनिक रूपमै बिकास गर्न मार्क्सबादी ज्ञान को राम्रोसँग पठन पाठन गर्नुपर्छ त्यसको लागि मार्क्सबादी स्कूललाई जनताको कोठा कोठामा पुर्याउन कडा परिश्रम गर्नुपर्छ, ता कि करोडौं करोड जनताले को कम्युनिष्ट हो र कस्ले कम्युनिष्टका खोल ओढेका छन् भन्ने छुट्याउन सकून् र करोडौं करोड प्रचण्डको जन्म होस्, लक्ष्य त्यो हुनुपर्छ। जब करोडौं करोड प्रचण्डको जन्म हुन्छ तब त्यहीँ भित्रबाट समाजबादको जन्म हुन्छ र यसको प्रभाव सिङ्गो भारतमा पनि पर्नेछ, भारतमा मौलाईरहेको एकल धर्मको प्रभावलाई निस्तेज पार्न सकिन्छ। उदाहरणको लागि भारतको केरला लाई हेर्दा सिङ्गो भारतमा धर्मभिरूहरू सत्तारुढ भैरहँदा पनि त्यहाँ कम्युनिष्टहरू बिजयी भैरहेका छन्, यसको प्रमुख कारण शिक्षा नै हो भन्दा म गलत हुन्न होला।

८) समाजबाद के हो ? हामीले अलापेको समाजवादलाई जनताको घर घर सम्म कसरी पुर्याउन सकिन्छ ? मूल मुद्दा समाजवाद छर्लङ्ग हुनेगरी, मध्ययम बर्गलाई कसरी समेट्न सकिन्छ ? मध्ययम बर्गलाई नसमेटी यो समस्याको समाधान हुने देखिन्न, मध्ययम बर्गलाई समेट्दा किसान, मजदुर र सर्बहाराबर्गको हितलाई पनि ध्यानमा राख्नुपर्छ मध्ययम बर्गलाई यो लाग्नुहुन्न कि अब हाम्रो अहित हुनेभयो। बिशेष गरी मध्ययम बर्गको सम्पत्तिलाई सुरक्षण कसरी गर्न सकिन्छ र साथसाथै किसान, मजदुर र सर्बहाराबर्गलाई कसरी समुन्नत बनाउन सकिन्छ ?

क) मध्ययम बर्गको निजि सम्पत्तिलाई ( बिशेष गरी अचल सम्पत्ति ) हदबन्दीको कानून बनाएर संरक्षण गर्ने र स्वेतपत्र मार्फत सार्वजनिक गर्नुपर्छ ।

ख) हद भन्दा बढी देखिएको सम्पत्तिलाई समानुपातिक हिसाबमा बराबरी बाँड्ने प्रतिबद्धता जाहेर गर्ने र स्वेतपत्र मार्फत सार्वजनिक गर्ने।

ग) किसान, मजदुर र सर्बहाराबर्गलाई बराबरीको हकको ग्यारेन्टीसमेत गर्ने र स्वेतपत्र मार्फत सार्वजनिक गर्ने।

घ) कल कारखानालाई मजदुरको पनि स्वामित्व सुनिश्चित गर्ने, यसको लागि जनताको सरकारले ५१% शेयरमा भाग लिने र मजदुरमा बितरण गर्ने कुराको सुनिश्चित गर्ने कुरा स्वेतपत्र मार्फत सार्वजनिक गर्ने।

ङ) अत्यधिक जमिन राख्ने सामन्तहरूको जमिन खोसेर तिनलाई पनि समानान्तर आधारमा जमिन बितरण गर्ने र किसानलाई खेतियोग्य जमिन समानुपातिक रूपमा बितरण गर्ने र सहकारीको अबधारणा अन्तर्गत उन्नत खेतीको बिकाश गर्ने र अन्न उत्पादन लगायत उत्पादित खाद्य बस्तुहरूको खरिद र बितरणको सुनिश्चितता प्रदान गर्ने गरी स्वेतपत्र जारी गर्ने।

च) नहर, बाटो घाटोमा जनतालाई प्रत्यक्ष सहभागी गराउने, मल, किटनासक औषधीको सुनिश्चितता प्रदान गर्ने। मल र किटनासक औषधीको कारखानाबाट स्वदेशमा नै स्थापना गरेर सर्बहाराबर्गलाई रोजगारीको सुनिश्चितता प्रदान गर्ने।

छ) स्वास्थ्य, शिक्षा निःशुल्क गर्ने मात्र होईन अनिवार्य गर्ने गरी सुनिश्चितता प्रदान गर्नेगरी स्वेतपत्र जारी गर्ने।

ज) जनताले सुन्नै नचाहने शब्द भ्रष्टाचार हो, यसको नियन्त्रणको लागि भ्रष्टाचारी उपर हदैसम्मको सजाए हुनेगरी कारबाही गर्ने प्रतिबद्धता जनाएर स्वेतपत्र जारी गर्ने।

९) पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउन बुद्धिजीवीसँग परामर्श र छलफलको लागि बुद्धिजीवी संगठनको गठन गरिनुपर्छ। सो संगठनको सल्लाह र सुझावलाई ग्रहण गर्ने नगर्ने बिषय भने पोलिटब्युरोलाई दिनुपर्छ र यस भातृ सङ्गठनबाट पनि पोलिटब्युरोमा प्रतिनिधित्व गर्ने ब्यबस्था कडाईका साथ लागू गर्ने।

१०) नाताबाद कृपावादलाई निस्तेज पार्न राजनैतिक अनुशासन र आचरणलाई बलियो रूपमा लागू गर्ने, कुनै नेता वा प्रभावशाली ब्यक्तित्वका आफन्तले पनि पार्टीभित्र गर्ने कामको मूल्याङ्कनका आधारमा मात्र जिम्मेवारी सुम्पिनु पर्ने वा पाउनुपर्ने ब्यबस्थालाई कडाईका साथ लागू गर्ने।

११) कम्युनिष्ट पार्टीभित्र मौलाउने पुँजीबादको धरातललाई यो वा त्योको आधारमा क्षमा गर्ने, पद सुम्पुवा गर्ने, पुँजीपति बर्गलाई मात्र फाईदा हुने बजेट वा कार्यक्रम ल्याउने प्रबृत्तिलाई पूर्णरूपमा निषेध गर्नुपर्दछ।

१२) अहिलेजस्तो हाम्रो देशका कम्युनिष्ट घटकहरू कहिल्यै पनि सङ्गठित भएको थिएन। गणतन्त्रको घोषणा, संविधान सभाबाट समाजबाद उन्मुख संविधान,  सामन्तलाई ढालेर पूँजीवादी-प्रजातान्त्रिक क्रान्ति सम्पन्न भै समाजबाद तर्फ उन्मूख हुँदैगर्दा, हाम्रा सामू उज्यालो भविष्य उदाउँदै गर्दा हामी भारतीय बिस्तारबाद, साम्राज्यवादका पिछलग्गू हरूको षडयन्त्रमा फस्यौं, त्यत्रो दुई तिहाइ शक्ति बोकेको पार्टीभित्र अन्तर्कलह गराउन सफल भएको छ। समाजबाद का संवाहक कम्युनिष्ट शक्तिलाई फेरी एकपटक छिन्नभिन्न पारिदिएका छन्, समाजबादको लागि अर्को आन्दोलनको उदघोष गर्नुको बिकल्प हामीसँग रहेको छैन।

क) हाम्रो समाजलाई अन्तर्कलहमा नराम्रोसँग फसाईदिएका छन्, कम्युनिष्टहरू बीचको एकिकरण, जनता जनताबिचको एकताले मात्र समाजवादको लागि भरपर्दो सुनिश्चितता प्रदान गर्दछ । सबैभन्दा पहिले हामी हामी बिच रहेको अन्तर्कलह समाप्त पार्ने दिशामा हामी उन्मुख हुनुको बिकल्प छैन, हाम्रा अन्तर्कलहको समाप्ति पश्चात मात्र बाह्य शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ।

ख) समाजमा रहेको अन्तर्कलहबाट हामी भाग्नु भनेको केवल केटाकेटीपन मात्र हुनेछ । हाम्रा सामू दुई प्रकारका अन्तर्कलहहरू रहेका छन्। १• हामी र समाजबाद बिरोधीका बिच रहेको अन्तर्कलह २• जनतामाझ हुर्काईएको अन्तर्कलह, यी दुवै अन्तर्कलहहरू फरक फरक किसिमका छन्। हामीले यी दुई अन्तर्कलहलाई जरैदेखि बुझ्नुपर्छ।

ख.१) हाम्रो र समाजबाद बिरोथीहरू बिच सत्रुतापूर्ण ब्यबहार हुन्छन् नै, यिनिहरूले जनतालाई दिग्भ्रमित पार्न, समाजवादलाई ओझेलमा पार्न थोरै तिनो बिकाशका कामलाई जतिसक्दो उछालिरहेका छन्, चार वटा डब्बा भएको रेल ल्याई थन्क्याएर रेल यही हो भन्दै जनताको आँखामा छारो हालिरहेछन, धरहरामा महादेवको लिङ्ग, पशुपतिमा जलहरी, ठोरीमा राम लक्ष्मणको मूर्ति राखेर धर्मको आडमा टिकिरहने र आँखामा छारो हालिएको बिकाश र धार्मिक आस्थाको डरको छाँयामा शासन गरिरहने, केवल पुँजीपतिको रक्षार्थ तथा छलकपटपूर्ण तरिकाले समाजबाद उन्मुख संविधानको हत्या गर्ने षडयन्त्रमा लागिरहेका पात्रहरू सँग अन्तिम लडाई लड्नुको बिकल्प छैन, त्यसका लागि पार्टीभित्र घुसेर हुर्किरहेका समाजबाद बिरोधी तत्वहरूलाई सफाया गर्नु अत्यन्तै जरूरी भैसकेको छ र साथसाथै बिचार मिल्ने कम्युनिष्ट शक्तिहरूको एकिकरण अपरिहार्य छ।

ख.२) जनता जनतामाझ हुर्किएको अन्तर्कलहलाई साम्य कसरी गर्ने ? हिजो सामन्ती राजतन्त्र फ्याँक्न एकजुट भएका जनताको मत आज आएर किन हाम्रै बिरोधमा स्वर अलापिरहेछन्  ? मजदुर, किसान र सर्बहाराबर्ग हाम्रा वर्ग हुन् तर तिनै वर्गका आँखामा हामी कसरी सभ्रान्त भयौं ? यी यस्ता प्रश्नहरू हामीले आफैंलाई सोध्नुपर्छ। यस्ता बिषयमा कडाइका साथ गम्भिरतापूर्वक सोचेर आफैंबाट शुद्धिकरण थालिहाल्नुपर्दछ।

१३) समाजबादमा आधारित धरातलमा उभिएर बर्तमान संविधानको ब्याख्या गर्दै समानान्तर सरकारको अभ्यास थालनी गर्नुपर्छ, सामाजिक न्याय, बिकासको मोडल, समाजबादमा जनताको स्वार्थ, बिशेषगरी किसान,मजदुर, सर्बहाराबर्ग र मध्ययम बर्गका समस्यालाई समाधान गर्ने हतियार बिहिन आन्दोलनको मोडल तैयार गरेर आक्रामक तरिकाले कार्यक्रम सञ्चालन, सूक्ष्म सुपरिवेक्षण, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने गराउने अभियान नै सञ्चालन गर्नुपर्छ।

१४) भ्रष्टाचार, कमिसनखोरी, दलाली जस्ता समाजका क्यान्सरहरू उपर सून्य सहनशिलताको निति अख्तियार गर्दै त्यस्ता अपराधीलाई सामाजिक बहिष्कार देखि, भ्रष्टाचार जन्य सम्पत्ति भोगचलनमा निषेध सम्मको कारबाहीलाई तिब्रता दिनुपर्छ।

१५) धरहरा बनाएर महादेवको लिङ्ग, पशुपतिमा जलहरी, ठोरीमा राम लक्ष्मणको मूर्ति इत्यादी राख्नु नराम्रो होइन, जबकी धर्म कम्युनिष्टको लाईन होईन र पनि जनतामाझ एकैसाथ धर्म बिरोधी अनुहार लिएर जान सकिन्न तर यतिखेर अति सम्बेदनशिल जनताका स्वास्थ्यमा आधारित अस्पताल, औषधि, एम्बुलेन्स, अक्सिजन जस्ता भौतिक पूर्वाधारको बिकासलाई सरकारले लत्याएको कुरालाई जनता माझ भाषण ठोकिरहेछौं र मूकदर्शक भएर हेरिरहेका मात्र छौं, यस्तो सरकारलाई कर नतिर्ने अथवा असहयोग आन्दोलनको आक्रामक रूपमा थालनीको घोषणा गर्नुपर्छ । सार्वजनिक सरकारी कार्यालय, अस्पताल, बिद्यालय ईत्यादी लगाएतमा हुने जघन्य भ्रष्टाचार माथी निगरानी गरेर जनताको अदालतलाई सकृय बनाउनुपर्छ। देशभरी सरकारको उपस्थितिलाई बहिष्कार गर्नुपर्छ।

१६) माथी उल्लेखित कार्यक्रमहरूलाई जनतामाझ नलगिकन समाजबादको गोरेटो कोर्ने अर्को उपाय छैन, संविधान र संसदलाई साम्राज्यवाद र दलालको पक्षपोषण गर्ने भ्रष्टाचारी  सरकारले एकपछी अर्को गर्दै उखेलेर फ्याँक्न उद्यत छ, हामी मूकदर्शक भएर बसिरहन सकिन्न, सशस्त्र आन्दोलनको बाटो अहिले समय सापेक्ष छैन, शान्तिपूर्ण हड्ताल जुलुसलाई सरकारले टेर्दैन, यस्तो परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय जनतालाई सरकारको उपस्थिति नकार्दै केन्द्र देखि स्थानीय तहसम्म एकनासले आन्दोलनको आँधी बेहरी श्रृजना गर्नुपर्छ, यस किसिमको आन्दोलनको बिकल्प छैन ढिलो भैसक्यो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्