लुम्बिनी सरकारसँग राजनीतिक बहुमत छ : मुख्यमन्त्री पोखरेल

Shankar_Pokharel
  • 35
    Shares
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन्। विपक्षी दलहरूले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरे।

‘कतिपय माननीयहरूले सरकारलाई बहुमत छैन भन्नुभएको छ, यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ,’ मुख्यमन्त्रीले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन। जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ। राजनीतिक बहुमत यही हो।’ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले वैशाख १८ गते नै माओवादी केन्द्र रोजेकी थिइन्। तर मुख्यमन्त्री पोखरेलले उनलाई एमाले सांसदकै रूपमा गणना गरेका छन्।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। सभामुख संविधानको संरक्षणकारी भूमिकामा हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका बारेमा प्रदेशसभा नै स्पष्ट नरहेको बताए। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका ६ जना सांसद छन्। जसमध्ये महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना हाल प्रदेश सरकारमा नै रहेका छन्। जसपाको उपेन्द्र यादव पक्ष भने विपक्षी गठबन्धनको साथमा छ।

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी संसदीय दलमा बहुमतले निर्णय हुन दिनुपर्ने बताए। ‘बहुमतको निर्णय मान्नुपर्छ भन्ने हो, ४ जना सदस्यले मानेको कुरालाई मानेर जाऊँ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘दल विभाजित पनि नहुने, एक पनि नहुने हुँदा उपधारा २ कार्यान्वयन हुन सक्दैन, प्रदेशसभा सचिवालयले दलका विषयमा अन्योल प्रस्ट पार्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्