सांसद पद खारेजीपछि कृष्ण थापाकाे प्रतिक्रिया : सर्वाेच्चकाे निर्णय अनाैठाे

  • 214
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। राष्ट्रिय जनमोर्चाले पदमुक्त गराएका कृष्ण थापाले सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई ‘अनौंठो निर्णय’ भएको प्रतिक्रिया दिएका छन्। निर्णयप्रति सन्तुष्ट नदेखिएका उनले अदालतको निर्णयलाई भने मान्ने बताए। ‘सर्वोच्च अदालतबाट आएको निर्णयलाई मैले नमान्ने भन्ने हुँदैन, मान्छु तर, अलिक अनौठौं निर्णय आयो’ उनले  भने, ‘अस्ती जेठ २३ पद जोगाइ दियो र अहिले चाहिँ खारेज गरिदियो भनेपछि निर्णय अनौंठो त भयो।’

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले २३ जेठमा अन्तरिम आदेश दिएपछि परिस्थितिमा परिवर्तन आएको ठहर गरेको छ। त्यसले गर्दा उक्त आदेश कार्यान्वयनमा आवश्यकता र उपयुक्तता नदेखिएको पनि आदेशमा भनिएको छ। पद खारेजीमा परेका थापाले ८ दिनमै अदालतको निर्णय उल्टिएकोमा अनौंठो माने। अर्कातिर अदालतबाट सांसद पदमा पुनर्वहाली भएको ५ दिन अर्थात् जेठ २८ मा पार्टीको ह्वीप उल्लङ्घन गरेको आरोपमा हटाएको घटनालाई उनले आफू आबद्ध दल र देशको राजनीतिलाई व्यङ्ग्य गर्दै ‘देशै रमाइलो भयो’ भनेका छन्।

‘हटाउँछ, अदालतले जोगाउँछ, फेरि पार्टीले हटाउँछ अनि अदालतले पनि हटाउँछ’, उनले अघि भने, ‘यो देशै रमाइलो छ।’ उनी बागलुङको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्