निषेधको नियम भन्नाले के बुझिन्छ ?

karl_marx
  • 203
    Shares
लोकपाटी न्यूज

द्वन्द्ववादको एउटा आधारभूत नियम, जसको सबभन्दा पहिले आदर्शवादी प्रणालीमा हेगेलद्वारा निरूपण गरिएको थियो। निषेधको निषेधको नियम विकासको निरन्तरता, नयाँ तथा पुरानाको सम्बन्ध, निम्न अवस्थाका केही गुणहरूको विकासको उच्च अवस्थामा पुनरावृत्ति हो। यसले विकासको प्रगतिशील स्वरूप सिद्ध गर्दछ। द्वन्द्ववादमा निषेधको प्रवर्गको अर्थ हो एउटा वस्तुको अर्को वस्तुमा रूपान्तरण र साथसाथै पहिलो वस्तुको उन्मूलन। तर यो उन्मूलनले थप अगाडि विकासको क्षेत्र उन्मुक्त गर्दछ तथा पूर्ववर्ती अवस्थाहरूसँग यस अर्थमा एउटा कडीको काम गर्दछ कि त्यसले सकारात्मक अन्तर्वस्तुलाई अक्षुण्ण राख्दछ।

द्वन्द्वात्मक निषेधलाई परिघटनाहरूका आन्तरिक नियमसंगतिहरुले जन्म दिन्छन् र त्यसले आफूलाई स्वनिषेधको रूपमा प्रकट गर्दछ। द्वन्द्वात्मक निषेधको सारतत्वबाट विकासको विशिष्टता उत्पन्न हुन्छ, जुन दोहोरो निषेधमा अथवा निषेधको निषेधमा व्यक्त हुन्छ। कुनै विषयको स्वविकास त्यसका आन्तरिक अन्तर्विरोधहरूबाट, त्यसमा स्वयं आफ्नो निषेधको अस्तित्वको परिणामस्वरूप हुन्छ। अन्तर्विरोधको समाधान विषयको गतिबाट हुन्छ, जसको अर्थ दुई विपरीतहरूको सम्बन्धमा कुनै तेस्रो चीजको उत्पत्ति हो। र, दुई विपरीतहरूले एक-अर्कोलाई अपवर्जित मात्र गर्दैनन्, बरु एक-अर्कोमा प्रवेश पनि गर्दछन्, त्यस कारण तेस्रो चीज एउटा यस्तो निषेध हो, जुन परिरक्षक कारकको रूपमा प्रकट हुन्छ। वस्तुलाई जन्म दिने अवस्थाहरू तथा पूर्वाधार त्यसको विकाससँग लुप्त हुँदैनन्, बरु त्यसद्वारा पुनर्सिजित हुन्छन्।

चिन्तनमा पनि यो निषेधको निषेधको माध्यमबाट सिद्धान्तको नयाँ चरणमा प्राप्त भइसकेका सत्यहरूको उच्च बोधको माध्यमबाट अभिव्यक्त हुन्छ। द्वन्द्वात्मकता, तर्क तथा ज्ञानसिद्धान्तको एकताको सिद्धान्तबाट यो निष्कर्ष निस्किन्छ कि व्यावहारिक तथा सैद्धान्तिक क्रियाकलापका नियमहरूको रूपमा केवल निषेधको निषेधको नियमको अध्ययनको माध्यमबाट मात्र त्यसको सार्वभौमिकताको व्याख्या गर्न सकिन्छ। व्यवहार बाह्य जगतसँग मानव सम्बन्धहरुको आधार हो, त्यस कारण त्यसका विशिष्ट लक्षणहरूले सैद्धान्तिक सम्बन्धलाई पनि निर्धारित गर्दछन्। यो सम्बन्ध यसमा निहित छ कि विकासशील विषयको पुनरुत्पादन केवल विषयको ज्ञानको इतिहासको माध्यमबाट मात्र, ती सिद्धान्तहरू तथा मतहरूको माध्यमबाट मात्र हुन्छ, जसले द्वन्द्वात्मक रूपबाट एक-अर्कोलाई निषेध गर्दछन्। सामान्य ज्ञानको विकास र एउटा सिद्धान्तद्वारा अर्को सिद्धान्तको निषेध यो गतिशीलतामा हुन्छन्, जसबाट यो थाहा हुन्छ कि भौतिक जगतको गतिशीलताका नियमहरू त्यसको एक अवस्थाद्वारा अर्को अवस्थाको निषेध हुन्।

यसबाट यो तथ्य स्पष्ट हुन्छ कि जुन अवस्थाको निषेध गरिन्छ, त्यसलाई मेटाइएको छैन, बरु रूपान्तरित रूपमा सुरक्षित राखिएको छ। विषयप्रति कुनै पनि एकपक्षीय दृष्टिकोणले अन्ततः त्यसमा कुनै स्थिर तत्वलाई उद्घाटित गर्नेछ, जुन निषेधको प्रक्रियामा सुरक्षित रहन्छ। त्यसै कारण वैज्ञानिक सिद्धान्तको विकास केवल तब मात्र सम्भव छ, जब अस्वीकृत गरिसकिएको ज्ञानको सकारात्मक अन्तर्वस्तुलाई कायम राखिन्छ तथा नयाँ सिद्धान्तमा सामेल गरिन्छ। प्रकृति विज्ञानमा नयाँ तथा पुरानो सिद्धान्तको बिचमा यो सम्बन्ध अनुरूपताको नियममा व्यक्त हुन्छ। यो तरीकाबाट बाह्य जगतको स्वयं द्वन्द्वात्मकता उद्घाटित हुन्छ। त्यस कारण निषेधको निषेधको नियम ज्ञानको नियम र बाह्य जगतको नियम दुवै हो। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्