सरकारी रवैयाका कारण बाढी-पहिरोले ठूलो क्षति : प्रचण्ड

Prachanda
  • 700
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याएकोले उद्धार र राहतको व्यवस्थापन मिलाउन प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘बाढी-पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरूमा धनजनको ठूलो क्षति भएको छ भने कोसी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरूमा पानीको बहाव उच्च भई बस्तीहरू डुब्ने खतरा पैदा भएको छ,’ प्रचण्डले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

उनले सरकारी रवैयाका कारण बाढी-पहिरोले अहिले धेरै जनधनको ठूलो क्षति भएको आरोप लगाए। ‘मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रचण्डले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्। प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि निर्देशन दिएका छन्। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न उनले माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्