उपचारका लागि नेता खनाल भारत प्रस्थान

jhalanath_khanal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्समार्फत बुधवार खनाललाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालले उनलाई ‘पोस्ट कोभिड’ समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो। तर उनमा पोस्ट कोभिड भन्दा भिन्न समस्याहरू देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको थियो।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो।

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमि देखिएपछि रगत चढाइएको थियो। २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।

मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ।

ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही समयअघि नेता खनाललाई कोभिड-१९ को संक्रमण भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्