दिल्ली जानुअघि खनालले भनेः व्यक्तिगत इगो त्यागौं, पार्टी फुटबाट जोगाऔं

Jhalanath_Khanal
  • 544
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देश र पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उपचारका लागि नयाँदिल्ली जानुअघि नेता खनालद्वारा जारी एक वक्तव्यमा भनिएको छ, ‘देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ। राजनीतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्।’

उनले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन्। ‘एकता सफलताको बाटो हो भने फुट विनाशको। त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु,’ खनालले भनेका छन्, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्‍यौ भने मात्र हामी सफल हुन सक्छौं र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट/फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु।’

राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण भएको उनले बताएका छन्। खनालले देशका प्रमुख दलहरू र तिनका नेताहरुबीचको अनावश्यक टकराब, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने बताए। ‘हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्याहरू हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु,’ खनालले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्