नेपाली काङ्ग्रेसकाे स्थानिय तहकाे महाधिवेशन साउन १२ गतेबाट शुरु

Nepali congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको आगामी महाधिवेशन साउन १२ गतेबाट शुरु हुने भएको छ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी साउन १२ गतेबाट स्थानीय तहको महाधिवेशन गरिने निर्णय भएको हो। त्यस्तै आजको बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ साथै स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकबारे जानकारी गराउँदै सहमहामन्त्री महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए। यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए। उनले भने – ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भाछ, त्यो संक्रमणको अवस्थालाई लइरहनुभाछ। संक्रमणबाट उहाँहरु दुखि हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन सुरक्षित भयौँ। कोहि विरोधमा निस्किन सक्दैन। बाहीर आउन मिल्दैन भनेर उहाँहरु यसमा सहज महशुस गरिरहनु भाछ।’

त्यसैगरी महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशिल सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए। उनले छिट्टै नै क्रियाशिल सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए। उनले भने- ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ। गुनासाहरु आएका छन्। भोलीदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ। अन्तिम नामावली फाइनल गर्न लाग्छौँ।’

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्दार र राहतमा लाग्न भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्