मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

Krishnachandra_Nepali
लोकपाटी न्यूज

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाऊँ भन्दै प्रस्ताव राख्नेछन्। गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन। साथै असार १ मा ल्याइएको बजेटमाथि प्रदेशसभामा छलफल पनि अघि बढाइएको छैन। नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन्। त्यसैले उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन्।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन्। मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ। यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन्। राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांंसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्