काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।महाधिवेशन कार्यतालिका परिमार्जनसहित विभिन्न प्रस्तावमा छलफल गर्न बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हिजोको बैठकमा तल्लो तहको कार्यसमितिको अधिवेशन साउन १२ गतेबाट सुरु हुने प्रस्ताव पेस गरिएको थियो। आजको बैठकले हिजो प्रस्ताव गरिएका विभिन्न विषयमा छलफल गरी निर्णय अनुमोदन गर्नुका साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

यसअघि गत शनिवार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औँ महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो। यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

बैठकमा कोरोना महामारीका बिच उक्त अधिवेशन कसरी सम्पन्न गर्नेबारे बहस भइरहेको छ। बिहीबार १२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। बैठकमा बिहीबारको बैठकमा बोलेका अधिकांश नेताले विपक्षी गठबन्धन कसिलो बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए। विपक्षी गठबन्धनले निरन्तरता दिनु अहिलेको आवश्यकता भएको नेताहरूको भनाइ थियो। नेताहरूले बोल्न क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्