कति जिल्लामा काँग्रेसको समायोजन बाँकी छ ?

  • 673
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको स्थानीय तहमा संगठन समायोजन सात जिल्लामा टुंगिन सकेको छैन। निर्वाचन समितिले टुंगाएर केन्द्रीय समितिलाई बुझाएका नामावलीमा उजुरी परेपछि समस्या फेरि ब्युँतिएको हो। केन्द्रमा प्रदेश २ का ६ जिल्ला र लुम्बिनीको एक जिल्लाबाट उजुरी परेको थियो।

सप्तरी, धनुषा, सर्लाही, बाँके, सिराहा, बारा तथा पर्सा जिल्लाबाट उजुरी र गुनासा केन्द्रमा परेको छ। निर्वाचन समितिले गत चैतमा ती जिल्लामा समायोजन सकिएको प्रतिवेदन केन्द्रीय कार्यालयमा पेस गरेको थियो। प्रादेशिक संरचना अनुसार संगठन बनाउन पार्टीले अघिल्लो कार्यसमितिलाई स्थानीय तह अनुसार समायोजन गर्ने निर्णय गरेको थियो। समायोजन गर्नका लागि पार्टीले निर्देशिकासमेत तयार गरी तल्लो तहमा पठाएको थियो।

उक्त निर्देशिका अनुसार संगठन समायोजन नभएको उजुरी परेका हुन्। प्राप्त गुनासाहरूको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक-पटक निर्वाचन समिति समक्ष उजुरी आएको जनाइएको छ। प्राप्त उजुरी र गुनासालाई केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा पठाइएको छ। पार्टी अन्तरिम संरचना समायोजनका लागि तयार गरिएको निर्देशिका अनुसार नभएकाले उक्त जिल्लाका समायोजन टुंगाउन पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिइएको हो।

निर्वाचन समितिलाई साउन १० गतेसम्मको कार्य अवधि दिइएको छ। ‘स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेस गर्न’ केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले निर्णय गरेको छ। बिहीबार देखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहको अधिवेशन साउन १२ गतेदेखि सुरु गर्ने गरी प्रस्ताव पेस गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्