गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।

गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा सोको लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका थिए। प्रदेशसभा बैठक बिहान ११ बजे पोखरा सभागृहमा बस्दैछ।

बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ। बिहीबार मनाङमा राहत सामग्री लिएर पुगेका उनी मौसम खराबीले उतै अड्किएकोमा शुक्रबार बिहान मात्र पोखरा विमानस्थल उत्रिएका छन्। हेलिकोप्टर उड्न नसक्दा उनको विश्वासको मत के हुन्छ ? भन्ने संशय कायम थियो।

पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसदको समर्थन छ। प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पु-याउन ३० मत चाहिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्