रुसमा लोकवादी र मार्क्सवादीको संघर्ष

Bisheswor Kattel
  • 248
    Shares
लोकपाटी न्यूज

विश्वेश्वर कट्टेल/विश्व कम्युनिस्ट आन्दोलन कठीन आरोह–अवरोह पार गर्दै अगाडि बढेको आन्दोलन हो। आन्दोलन भित्रका हरेक घटनाले आजको कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देश गरिरहेछ। कुनै बेला कम्युनिस्ट पार्टीको हब्स बन्न सफल रूसमा सुरूका विभिन्न बाधा व्यवधान पार गर्दै सिक्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन राजनीतिको मूलधारमा आइपुग्यो। रूसमा भएका लोकवादी र मार्क्सवादीको संघर्षले नेपालको आजको कम्युनिस्ट आन्दोलनलाई पनि शिक्षा दिइरहेको अनुभूत गरेर आलेखको रूपमा यो विषयवस्तु प्रस्तुत गरेको छु। यसमा तपाई पाठकहरूको विचार र विश्लेषण (टिकाटिप्पणी सहित) आउने छ भन्ने विश्वास लिएको छु।

शुरूवात

मार्क्सवादको जन्म हुनभन्दा पहिले नै रुसमा लोकवादी क्रान्तिकारी गुट सक्रिय रहेको थियो। सन् १८६१ मा दास प्रथाको उन्मूलनपछि किसानमाथि बढ्दै गएको अन्याय अत्याचारको विरुद्ध आवाज उठाउने संस्थाको रूपमा लोकवादी समूहको जन्म भएको थियो। रुसमा मार्क्सवादी समूहको जन्म सन् १८८३ मा मजदुर उद्धार गर्ने नाममा प्लेखानोभको सक्रियतामा स्थापना हुन पुग्यो। मजदुर आन्दोलनमा भाग लिएका र जार शाहीको दमनबाट बचेर आएका मजदुरहरूको उद्धार गर्ने र मार्क्सवादको प्रचार प्रसार गरी मजदुरहरूमा विचारको बीउ रोप्ने उद्देश्य यसले बोकेको थियो। कतिपय मजदुरलाई संरक्षण गर्ने काम समेत गरेको थियो।

लोकवादी दलले किसानहरूलाई जारशाही विरुद्ध उतार्न प्रयास ग¥यो। यसका लागि कयौँ लोकवादी दलका बुद्धिजीवीहरू किसानका युनिफर्म लगाएर गाउँ–गाउँमा किसान आन्दोलन जगाउन भनी गए। लोक वा किसानहरुको साथ दिन गाउँ आएकाले उनीहरूलाई नारोद (लोक वा जनता) बाट अपभ्रंश हुँदै पछि नारोद्वित (लोकवादी) भनी नामकरण हुन पुग्यो।

पहिलो सामाजिक आन्दोलन

प्लेखानोभ आफै युरोप गएर मार्क्सवादमा उच्च शिक्षा हासिल गरेर आएका थिए। रुसमा लोकवादी दलको हौवा समाजमा राम्रैसँग स्थापित थियो। समाजका अगुवा वा बुद्धिजीवीहरूमा पनि लोकवादी दलप्रति विश्वास थियो। वास्तवमा भन्ने हो भने प्लेखानोभ पनि पढ्न जानुअगाडि आफै लोकवादी गुटमा थिए। मार्क्सवादी शिक्षा प्राप्त गरेपछि भने उनेले आफ्नो सबै समय मार्क्सवादको प्रचार र प्रसारमा लगाएका थिए।

यसका लागि सर्वप्रथम यस गुटले रुसी अखबारहरूमा मार्क्सवादको विचारलाई बुलन्द ढङ्गले उठाए। रुसमा यसभन्दा अगाडि सामाजिक आन्दोलन उठेको थिएन। उनले मजदुर क्रान्तिका लागि सबैभन्दा पहिले मार्क्सवादी विचार सिद्धान्त र आदर्शको प्रचारका साथै त्यसको व्याख्या र विश्लेषण आवश्यक ठाने।

लोकवादीको विश्वास

त्यससमय लोकवादीले स्थानीय बुद्धिजीवीहरू माथि आफ्नो पकड मजबुत बनाइराखेका थिए। लोकवादीहरूले मजदुरको काम र शक्तिको महत्त्व बुझिरहेका थिएनन्। उनीहरूले प्रमुख क्रान्तिकारी शक्ति मजदुर हुन सक्दैनन्, किसानहरू नै हुन्। किनकि, किसानको सङ्ख्या ठूलो छ। दुख पाउनेमा किसानहरू नै छन्। किसानको क्रान्तिले मात्र जारशाही र सामन्तलाई परास्त गर्न सकिन्छ भन्ने विश्वास बोकेका थिए। त्यही अनुरूप भ्रम पनि छरेका थिए।

लोकवादीले मजदुरलाई अस्थायी प्रकृतिको संस्थाका प्रतिनिधि ठान्दथे। मजदुरहरू स्थायी संघर्ष गर्न र सङ्घर्षमा लामो समय टिक्न सक्दै भन्ने सोच उनीहरूमा विकास भएको थियो। मजदुर वर्गको सहयोगविना पनि जारशाही र जमिन्दार विरुद्धको आन्दोलन सफल हुन्छ भन्ने सोच थियो। मजदुर वर्ग नै समाजको सबैभन्दा क्रान्तिकारी वर्ग भन्ने त उनीहरूले सोचेकै थिएनन्।

किसानविना किसान आन्दोलन

लोकवादी दल जब किसानको समस्या हल गर्न र किसानका पोसाकमा किसान जगाऊ अभियान बोकेर गाउँ गाउँ पसे। नयाँ नचिनेका मानिसदेखि किसानहरू खुसी भएनन्। उनीहरूले किसान आन्दोलनका कुरा गरे। जारशाही र जमिन्दार विरुद्ध आन्दोलन गर्ने कुरा उठाए। कुनै किसानले विश्वास गरेनन्, कुनै सहयोग पनि गरेनन्। जमिन्दारविरुद्ध किसान भड्काउन आएको भनी जारशाहीका पुलिसले अधिकांशलाई समातेर यातना पनि दियो।

त्यसपछि लोकवादी दलले किसानको सहयोगविना पनि जारशाहीविरुद्ध क्रान्ति गर्ने निर्णय गरे। मजदुर र किसान सामेल नभए पनि मध्यमवर्गका केही बुद्धिजीवीहरूबाट जारशाहीविरुद्ध क्रान्ति गर्ने निर्णय गरे। यस निर्णयले उनीहरू आफ्नो सैद्धान्तिक आधार गुमाउन पुगेका थिए। सैद्धान्तिक आधार विना कुनै पनि क्रान्ति पुरा हुँदैन। क्रान्ति मात्र हैन कुनै पार्टी पनि दिगो टिक्न सक्दैन। लोकवादीहरू यस समय आधार र सिद्धान्त विपरीत अगाडि बढिरहेका थिए।

हत्याको योजना

आफ्नो कार्यक्रम सफल तुल्याउनका लागि उनीहरूले जारको हत्या गर्ने योजना बनाए। केही व्यक्तिहरूलाई छानी छानी मारेर जारशाही खतम गर्ने योजना बनाए। यस योजना सफल गर्न लोक स्वाधीन भन्ने संस्था स्थापना गरे। संस्थाको योजनाअनुसार सन् १८८१ मा अलेक्जेन्डर द्वितीयको बम आक्रमणबाट हत्या गरे। यसपछि जारशाहीले यो समूहका अधिकांशको सफाया नै गर्‍यो। केही बाँचेकाहरु मिलेर पुनः सङ्गठन अगाडि बढाए। किनकि मध्यम वर्गीय बुद्धिजीवीका माझ लोकदलको पकड राम्रो थियो।

किसानको पक्षमा आवाज उठाउने उद्देश्य बोकेको यो समूहको क्रियाकलाप विस्तार विस्तार आतङ्कवादतर्फ अगाडि बढिरहेको थियो। अलेक्जेन्डरको हत्यापछि अलेक्जेन्डर तृतीय राजा भए। अलेक्जेण्डर द्वितीयको हत्याले वास्तविक क्रान्तिलाई ठूलो क्षति पुग्न गयो। अलेक्जेन्डर तृतीय झन् निरङ्कुश बने। राजाको हत्यापछि किसानहरू बढी पीडा र मारमा पर्न पुगे। उनीहरूका धेरै सुविधा कटौती भए, करका दर बढाइए। सामन्तहरूको अत्याचार नृशंस बन्न पुग्यो। किसानको जीवन झन् झन् कष्टकर बन्दै गयो। कैयौँ किसान सुकुम्वासी बन्न पुगे भने कयौँले आफ्नो घर छाडेर सहरतिर पलायन हुन पुगे।

जनताले आन्दोलन गर्ने होइन, गरेको आन्दोलनमा सहभागी हुने हो भन्ने सोच लोकवादीहरूको थियो। जनतालाई हाँक्न सकिन्छ भन्ने सोचाइ राख्दथे। वीरताको कार्य केही विशेष वीरहरूले मात्र गर्ने हो, ती वीरले भनेअनुसार दायाँबायाँ नहेरी जनताले उनीहरूलाई सहयोग गर्नुपर्दछ, उनीहरूले भनेअनुसार क्रान्तिमा उत्रनुपर्दछ। किनकि उनीहरू गलत गर्दैनन् भन्ने पूर्ण विश्वास जनताले जगाउनुपर्दछ। त्यसपछि मात्र क्रान्ति सम्पन्न हुन्छ। त्यही क्रान्तिबाट जारशाहीको अन्त हुन्छ भन्ने मान्यता लोकवादीहरूमा थियो।

इतिहास निर्माता वीर पुरूष

लोकवादीहरूको धारणाअनुसार इतिहास यी नै विशेष वीरहरूको कार्यले निर्माण हुन्छ। जनता भनेका भेडाजस्तै हो। वीरले जता भन्दछ, सबै जनता दायाँबायाँ नहेरी त्यतै लाग्नुपर्दछ। जनता डोरिनुपर्दछ। उनीहरूलाई डोर्‍याउन सकिन्छ भन्ने लोकवादीको मत थियो। बुद्धिजीवीमा परेको यो प्रभाव विस्तार विस्तार मध्यम वर्गीय किसान र मजदुर नेताहरू समेतमा पर्न गएको थियो। एक समय झन्डै त्यस्तो समय आयो, उनीहरू क्रान्तिबाटै पछि हट्ने अवस्था सिर्जना हुन थाल्यो।

क्रान्तिको नाममा प्रतिक्रान्ति

मानिसले आफूले आफैप्रतिको विश्वास टुटाइसकेको जस्तो अवस्था बन्न पुग्यो। आफूप्रति भएको अत्याचारविरुद्ध उनीहरूमा कुनै प्रतिक्रिया जनाउनभन्दा सहेर खपेर बस्ने अवस्था बन्न पुग्यो। कुनै चमत्कार गर्नसक्ने नेताको उदय हुनेछ, उसले हामीलाई मुक्ति दिलाउनेछ, मात्र हामीहरुले अहिले सहेर बस्नुपर्ने भयो भन्नेजस्ता भावनाहरू विकसित हुन थाले। क्रान्तिकारिता मर्न थाल्यो। यसले किसान र मजदुर विद्रोहमा नकारात्मक प्रभाव पार्न थालिसकेको थियो। यो विचार क्रान्तिको बाधकको रूपमा उभिन पुगेको अवस्था थियो।

लोकवादीहरू व्यक्ति हत्यामा उत्रिन पुगे। यसको नेतृत्वमा मध्यम वर्गीय बुद्धिजीवीहरूको हिस्सा बढी थियो। त्यससमय क्रान्तिकारी मजदुर सङ्गठनका नेता स्तोपान खल्तुरिन पनि यो भुलभुलैयामा पर्न पुगे। आफूलाई एक वीरको रूपमा सोच्न लागे र आतङ्कवादको पक्षमा गए।

चेतनाको आवश्यकता

चिनेजानेका केही सम्भ्रान्त परिवारका सदस्यहरूको हत्या गरेपछि क्रान्ति सफल हुन्छ भन्ने भ्रमतर्फ आकर्षित भइरहेका मजदुरहरूको अवस्था देख्दा अब क्रान्ति भड्किन लागेको अवस्था बनिरहेको थियो। मजदुरहरूलाई हामी क्रान्तिको शक्ति हौँ र क्रान्ति हामीविना सम्पन्न हुँदैन भन्ने चेतनाको आवश्यकता थियो। मर्दै गएका जोस र भावनालाई जगाउनुपर्ने स्थिति थियो। सिद्धान्तहीन आतङ्कवादी सोचले क्रान्तिलाई निस्तेज पारिरहेको थियो। लोकवादी दल जमिनदार र पूँजीपतिको सुरक्षा कबजजस्तो बन्न पुगेको थियो।

जारशाहीहरूले उनीहरूका गुप्त सङ्गठनहरू भताभुङ्ग पारिदियो। क्रान्तिकारी बुद्धिजीवीहरूले हाम्रो भनाइ र गराइलाई किसानले निसर्त मान्नुपर्दछ। हामी परिवर्तनका नायक हौँ। हामीले मात्र जारशाही र सामन्तहरूको अन्त र किसानको मुक्ति दिन सक्छौ भन्ने भ्रम पालिरहे। बचेका लोकवादीहरूले पनि रुसमा मार्क्सवाद अगाडि नबढोस् भनेर विभिन्न बाधा दिइरहे।

मार्क्सवादका त्रिपक्षीय दुश्मन

रुसमा एकातर्फ सामन्त र पुँजीपतिहरू, अर्कोतर्फ जारशाही र लोकवादीहरू गरी मार्क्सवादका तीन पक्षीय दुश्मनहरू देखा परे। यस्तो वेलामा प्लेखानोभले नेतृत्व गरेको मार्क्सवादी गुटले लोकवादीहरूले फैल्याएको भ्रमविरुद्ध सर्वप्रथम वैचारिक निशान चलाउन शुरु गरेको थिए।

भ्रम निवारण

लोकवादीहरूले फैल्याएको भ्रमका कारण कसरी रुसको क्रान्तिलाई क्षति पुगिरहेको छ ? हामी कहाँ कसरी पुग्नुपर्ने छ ? तर कुन दिशा र मार्ग समातिरहेका छौँ, कसलाई साथ लिनुपर्ने छ। तर कसको पछाडि लागिरहेका छौँ भन्ने बारेमा मार्क्सवादी दृष्टिकोणका आधारमा वैचारिक उनले विश्लेषण अगाडि ल्याए। त्यसका लागि पहिला बुँदागत रूपमा वस्तुगत अवस्था के छ भन्ने कुरा दर्साए। किनकि त्यहाँ लोकवादीहरूले चलाएका भ्रम चिर्न पहिलो आवश्यकता थियो।

१. पुँजीवाद रुसका लागि एक आकस्मिक वस्तु हो। यसको विकास असम्भव छ। त्यसैले रुसमा सर्वहारा वर्गको विकास पनि असम्भव छ।

२. क्रान्तिमा मजदुर वर्ग प्रमुख वर्ग हुँदैन। विना सर्वहारा समाजवाद प्राप्त गर्न सकिन्छ।

३. उनीहरूको सोचमा क्रान्तिकारी शक्ति भनेको किसान हो। बुद्धिजीवी वर्गले किसानको नेतृत्व गर्दछ। अहिले चलेको गाउँको पञ्चायती व्यवस्थाको परिमार्जनबाटै समाजवादी व्यवस्थामा पुग्न सकिन्छ।

४. उनीहरूले एउटा काल्पनिक चमत्कारी नेताको परिकल्पना गरेका हुन्छन्, त्यसलाई वीर भन्दछन्। उसले भनेको सबैले मान्नुपर्ने धारणा राख्दछन्। उसलाई साथ दिएमा समाजवाद प्राप्त गर्न सकिन्छ भन्ने विश्वास लोकवादीहरूको रहेको थियो।

यस्ता भ्रमबाट तमाम बुद्धिजीवी विद्यार्थी, मजदुर र राजनीति व्यक्तिहरुको ध्यान हटाउन प्लेखानोभले विभिन्न पत्रपत्रिकामा रुसी भाषामा लेख प्रकाशन गर्नुभयो। सुरूमा उहाँले श्रम र पूँजी, कम्युनिस्ट घोषणापत्र र काल्पनिक र वैज्ञानिक समाजवादजस्ता पुस्तक रूसी भाषामा छपाउनु भयो।

रुसी भाषामा समाजवाद र राजनीतिक सङ्घर्ष, हाम्रो मतभेद र ऐतिहासिक अध्ययन एक सत्तावादी दृष्टिकोणको विकास भन्ने किसिमका पुस्तक तथा ग्रन्थहरू प्रकाशन गर्नुभयो। उहाँले आफ्ना प्रकाशनहरूमा मार्क्सवादका मूलभूत सिद्धान्तहरूको व्यवस्थापन गरी व्याख्या गर्नुभयो। उहाँले सन् १८८५ मा प्रकाशन गर्नुभएको ‘ऐतिहासिक अध्ययनमा एक सत्तावादी दृष्टिकोणको विकास’ भन्ने पुस्तक शताब्दीकै उत्तम पुस्तक मानिन्छ। लेनिनले यस पुस्तकबारे भन्नुभएको थियो कि, यो पुस्तक पढेर रुसी मार्क्सवादीको पूरा एक पिँडी तयार हुन पुग्यो। (लेनिन ग्रन्थ, रसियन संस्करण खण्ड –१४ पेज–३४७।)

लोकवादीहरूको आलोचना गर्दै प्लेखानोभले लेख्नुभएको छ, ’अब रुसमा पुँजीवादको विकास हुन्छ र हुँदैन भन्ने सवाल नै छैन, किनकी रुसमा पुँजीवादको विकास भइरहेको छ। यसलाई कसैले रोक्नै सक्दैन। रुसका क्रान्तिकारीले कुनै भ्रम पाल्नु पर्दैन, कुनै दुविधा हुनु पर्दैन र अलमल गर्नु पर्दैन। मजदुर वर्ग नै आजको उदीयमान शक्ति हो। मजदुर वर्गले आफ्नो वर्गीय चेतना जगाउन पर्दछ। वर्गीय हित र अधिकारका लागि एक हुनुपर्दछ। उनीहरूलाई सङ्गठित गरेर मजदुरहरूको पार्टी निर्माण गर्न आवश्यक छ।’

मजदुर आजको उदीयमान शक्ति

लोकवादीहरूको धारणबाट भ्रम हटाउनका लागि प्लेखानोभले ‘अब किसानमाथि भर गरेर क्रान्ति हुँदैन, यो उदयमान शक्ति होइन। लोकवादीहरू खतरा बढाइरहेछन्।’ उनीहरू भनिरहेछन्, ‘मजदुर भनेको थोरै र सानो शक्ति हो। यसले क्रान्तिको नेतृत्व गर्न सक्दैन। अब हामी यो भ्रममा परेर गल्ती गर्न हुँदैन। यसले क्रान्तिलाई धोका हुन्छ। किनकि, मजदुर भनेका आजको उदीयमान शक्ति हो। मजदुर वर्ग नै आज सबैभन्दा उन्नत आर्थिक व्यवस्थासँग सम्बद्ध र आबद्ध छन्। मजदुरको भविष्य उज्ज्वल छ।’

त्यससमय रुसमा द्रुततर रूपमा मजदुर चेतना जागिरहेको थियो। ठूला ठूला कारखानामा काम गर्ने हुँदा धेरै मजदुरहरू एकै ठाउँमा रहन्थे। सर्वहारा भएकाले उनीहरूको वर्ग सबैभन्दा क्रान्तिकारी थियो।

किसान सानो ठूलो जस्तो भए पनि घर वा सम्पति जाय–जेथा थियो। तर, मजदुरहरूको केही थिएन। क्रान्तिले हरण हुन्थ्यो भने केवल मजदुरी मात्र हरण हुन्थ्यो। एक ठाउँमा नभए अर्को ठाउँमा मिल्दथ्यो। श्रम सीप र पाखुरी नै उनीहरूको सम्पत्ति थियो। त्यसैले उनीहरू क्रान्तिप्रति समर्पित भएर लाग्न सक्ने अवस्था थियो।

किसानका मर्म बेग्लै

किसानको हालत यसको ठिक विपरीत थियो। उनीहरूसँग सबैभन्दा पिछडिएको आर्थिक व्यवस्था थियो। उनीहरू थोरै थोरै उत्पादनसँग सम्बद्ध थिए। धनी किसानहरुले पनि सामन्त र जारशाहीको पिसाइ र पेलानबाट आजित भएका थिए। दिन प्रतिदिन खेतीपाती घट्दो र कर र बेठीहरू बढ्दो अवस्थाले किसानमा सर्वहाराकरण हुँदै थियो।

किसानहरूमा मजदुरको जस्तो क्रान्तिकारी चेतना जागिरहेको थिएन। सानो भए पनि घर परिवार बस्तुभाउले अधिकांश समय बित्दथ्यो। क्रान्तिका लागि पर्याप्त समय दिनसम्म समस्या थियो। दिनानुदिनको छाक टार्न धौधौ हुन्थ्यो। उनीहरूको वर्गीय एकता पनि कम हुन्थ्यो। सानो अंश भए पनि तेरो र मेरो भावना बढी हुन्थ्यो। निजी सम्पत्ति भएकाले हुने र नहुने बिचमा पनि पूरातनवादी विभेद कायम रहेको थियो। यसले पनि क्रान्तिको उज्यालो बस्तीभित्र छिर्न सकिरहेको थिएन।

समाजवादको भ्रूण

लोकवादीहरूले गाउँका पञ्चायतलाई समाजवादको भ्रूणको रूपमा लिएका थिए। तर, गाउँमा पञ्चायतहरूमा रहेकाहरू सामन्त, उनीहरूको प्रतिनिधिको रूपमा धनी किसानकै अत्यधिक बाहुल्यता थियो। उनीहरूले जे चाह्यो, त्यही निर्णय हुन्थ्यो। सर्वहारा किसानले त्यो पञ्चायत कब्जा गर्न सक्ने आधार नै थिएन।

पञ्चायतले केही सुधार त गर्थ्यो होला। तर त्यो जारशाही र सामन्तहरूको विरुद्ध जाने गरी गर्न सक्दैनथ्यो। सामन्त र जारशाहीलाई अन्त नगरेसम्म समाजवादको सपना कोरा हुन पुग्दथ्यो। त्यसैले लोकवादीहरू वस्तुगत तथ्यको विश्लेषण विना हचुवाका भरमा हरेक कुरामा गलत पक्षको सहारा लिएर भ्रम छरिरहेका थिए। प्लेखानोभले यसको वस्तुगत खण्डन गरेर भ्रममा नअलमलिन सबैलाई आह्वान गर्नुभयो।

प्लेखानोभका अनुसार – सामाजिक जीवन भौतिक परिस्थितिको साथ विकास हुन्छ। सामाजिक विकासका लागि सम्पत्तिको आवश्यकता पर्दछ। उत्पादनमा परिवर्तन नआएसम्म समाज परिवर्तन हुँदैन। आवश्यकताका वस्तुको उत्पादनमा उत्पादन वर्गको भूमिका र सम्बन्ध प्रधान रहन्छ। सम्पत्तिको उत्पादन र वितरणमा न्यायिक अवस्था सिर्जना गर्न वर्ग संघर्षको आवश्यकता पर्दछ। मानिसको आर्थिक र सामाजिक स्थिति उसको विचारबाट निर्धारित हुन्छ। समाजको आर्थिक विकासमा भाग लिने वर्गको आवश्यकता प्रतिकूल हुने गरी कुनै नेता व्यक्ति वा संस्थाले चाहेर पनि कुनै आर्थिक विकास गर्न सम्भव हुँदैन। नेताले इतिहास बनाउँदैन। बरु इतिहासले नेता जन्माउँछ। जनता बनाउने नेता हुँदैन। बरु नेता बनाउने जनता हुन्छन्।

‘हामी मानव इतिहास निर्माण गर्ने अभियानमा छौँ। यी आदर्शवादीहरू (लोकवादी) सामाजिक विकासका नियम विरुद्धमा छन्। समाजको ऐतिहासिक आवश्यकताका विरुद्ध उनीहरू अगाडि बढिरहेका छन्। त्यसैले उनीहरूको पतन अवश्यम्भावी छ।’ प्लेखानोभको रचना र लेखबाट क्रान्तिकारीहरूमा नयाँ छाप पर्‍यो। लोक दलको अन्तपछि अधिकांश लोकवादीहरू जारशाही विरुद्धको आन्दोलनबाट पछि हटी क्रान्तिकारी गतिविधि बन्द गर्न पुगे। सन् १८८० देखि ९० सम्ममा आइपुग्दा लोकदल धनी किसानको पार्टीको रूपमा देखा पर्‍यो।

गुटका कमजोरी

मजदुरको उद्धार गर्न भनी लागेको प्लेखानोभको समूहले सन् १८८४ देखि १८८७ भित्र रुसी सामाजिक जनवादी क्रान्तिका दुई मस्यौदा प्रकाशन गर्‍यो। यसले रुसमा समाजवादी जनवादी पार्टी स्थापनामा सहयोग पुर्‍यायो। मजदुरको उद्धार गर्ने यस समूहका पनि थुप्रै कमजोरीहरू थिए, जसलाई सुधार्न प्रयास गरिएन। उनीहरूमा किसानप्रतिको दृष्टिकोण अत्यन्त नकारात्मक थियो। किसानलाई सामन्त र जारशाहीको आधार मान्दथ्यो। क्रान्तिमा यसको कुनै भूमिका र सहयोग नहुने कुरा राखी नै रह्यो।

वस्तुगत रूपमा हेर्दा समय त्यसरी एकलकाँटे भएको थिएन। किसानहरू पनि सामन्त र जारशाहीको अत्याचारले थिल्थिलिएका थिए। बिस्तारै किसान सर्वहाराकरण हुँदै गएको थियो। यस्तो अवस्थामा किसानको साथ लिने कुरामा भने प्लेखानोभको समूह चुकेको पाइन्छ। प्लेखानोभको समूहले ठूला साना साथै सर्वहारा किसान हुन्छन् भन्ने कुरा नसोची सबैलाई एउटै तराजुमा राखेर जोख्ने काम गर्नु नै यो उसको भूल थियो। पुँजीवाद र सर्वहारा छाडेर यस समूहमा अन्य त्यस्तो कुनै सामाजिक शक्ति सहभागी थिएनन्। त्यसैले यो समूहले क्रान्तिकारी र विरोधीहरूको थप सहयोग पाउन सकेन। (प्लेखानोभ ग्रन्थको रुसी संस्करण खण्ड ३ पेज ११९।)

मेन्सेविक विचारको जन्म

भ्रान्तिबाट अगाडि बढेर प्लेखानोभबाट मेन्सेविक विचार बोकेको पार्टीको रूपमा जन्म हुन पुगेको पाइन्छ। सन् १८८४ देखि १८९४ सम्म रुसका विभिन्न स्थानमा विभिन्न किसिमका मजदुर र किसान आन्दोलनहरू भएको पाइन्छ। त्यससमय मजदुर उद्धारको रूपमा खोलेको समूहले मजदुरसँग कुनै प्रत्यक्ष सम्पर्क राख्न सकिरहेको थिएन। त्यो समूह लोक दलवादीको पकड रहेको मध्यम पुँजीपतिको ध्यान आफूतिर तान्न कोसिस गिरहेको थियो।

यसमा लेनिनको भनाइ थियो कि एक अभिजात बच्चा, जो सामाजिक जनवादी आन्दोलनको इतिहास गर्भमा कुरिरहेको छ। यस समूहले खडा गरिदिएको सामाजिक आन्दोलनको गल्तीलाई पकडेर आफ्नो कार्यक्रम अगाडि बढाउने सोचका साथ सन् १८९५ मा २० स–साना मार्क्सवादी समूहहरूलाई समेटेर लेनिनले मजदुर वर्गको मुक्तिका लागि संघर्ष नामक सङ्गठन निर्माण गर्नुभयो। बोल्सेभिक र मेन्सेभिकबारे आगामी लेखमा…, अस्तु !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्