निषेधाज्ञा उल्लङ्घन गर्नेबाट १ लाख भन्दा बढि जरिवाना संकलन

फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडाैँ। कोरोना महामारीका कारण जिल्लाभरीमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ। बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ। विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्