चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षे यात्रा

लोकपाटी न्यूज
0 Shares

भीम रेग्मी / आज जुलाई १ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना दिवस। छिमेकी देश चीनले कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष भब्यरुपमा मनाइरहेको छ। चिनियाँहरू २१ औं शताब्दीमा चीनलाई अगाडी बढाउने नेता पाएकोमा राष्ट्रपति सी चिनफिङलाई बधाइ दिएका छन्। मुक्तकण्ठले सीको कामको प्रसंसा गरेका छन्। उनले चीनको विकास र शक्ति प्राप्तिको आफ्नो मार्गमा कठिनाइ पार्नेलाई तहसनहस पार्ने बताएका छन्।

मुख्य कार्यक्रमस्थल तियानमेन चोकमा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीको पुरानो ऐतिहासिक मिशनको समीक्षा र आगामी दिनको यात्राको बारेमा जानकारी दिए। पार्टीको शताब्दी समारोहहरू देशभरि नै आत्मविश्वासका साथ मनाउन सीले आह्वान गरे। राष्ट्रपति सीले एकता नै शक्ति हो भन्ने सन्देश तियानमेन चोकबाट चिनियाँ जनता र विश्वलाई दिएका छन्।

सिन्ह्वा समाचार श्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीमा हाल ९ करोड ५१ लाख ४८ हजार सदस्य रहेका छन्। यो संख्यालाई तथ्य मान्दा चिनियाँ कम्युनिस्ट पार्टी संसारको सबैभन्दा ठूलो राजनीतिक संगठन हो। ग्लोबल टाइमसका अनुसार- जनगणतन्त्र चीनको स्थापना भएदेखि नै सीपीसीले सबै जातीय समूहको समानतामा जोड दिएको छ। मानिसहरू विभिन्न भाषा बोल्ने वा फरक सांस्कृतिक पृष्ठभूमिको भएकाले त्यहाँ आशा, न्यानोपन र अपनत्व भएमा जनताको मातृभूमिसँगको सम्बन्ध बलियो हुन्छ। यो कटु सत्यलाई दह्रोसँग पक्डेर विकास निर्माणको दिशामा चीन अगाडि बढेको छ।

सीले आफ्नो मन्तब्यमा चीनको सामुन्द्रिक क्षमता, विकास, राष्ट्रिय सुरक्षा र आफ्नो भूमिमाथिको अपनत्वको बारेमा बोले। चीनको पुनर्मिलन र अपरिवर्तनीय र दीर्घकालिन राष्ट्रिय पुनर्संरचना नै पार्टीको आगामी मिशन हुने अटल संकल्प व्यक्त गरेका थिए। सीको मन्तव्य विशाल चीनप्रतिको नीतिमा बाहिरी शक्तिले अवरोध गरेमा जुनसुकै शक्तिको सामना गर्न राष्ट्रिय हितको रक्षा गर्ने क्षमता चीनसँग रहेको बताएका थिए। साथै, पश्चिमा र विशेष गरी बेलायतले हङकंगप्रति लिएको नीतिप्रति सीको मन्तव्य लक्षित थियो।

ताइवानको स्वतन्त्रता चीनको एकमात्र राष्ट्रिय संकल्प भएको र यो लक्षलाई पूरा गर्न सबै जनतासँगै मिलेर काम गर्न आह्वान गरेका छन्। यसलाई सीले चिनियाँ जनताको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु हो भन्ने सन्देश दिएका छन्। सीको मन्तव्यको सार कसैले ताइवानको स्वतन्त्रतामा दखल पुर्‍याएमा करिब डेढ अर्ब जनता ढाल बनेर बाहिरी शक्तिको मुकाबिला गर्ने बताएका छन्। पश्चिमाहरुको ताइवानलाई स्वतन्त्र देशको रुपमा जोगाइ राख्ने रणनीति प्रष्ट नै छ। बाइडेन प्रशासनको ताइवान नीतिसँग सी प्रशासन टसकोमस नहुने धारणा चिनियाको रहेको छ।

अमेरिकी बाइडेन प्रशासन संसारको राजनीतिमा महत्वपूर्ण उथल पुथल भएको समयमा काम थालेको छ। अमेरिकी शक्तिलाई टिकाइ राख्ने उद्देश्य साथ यात्रा शुरु गरेको वर्तमान अमेरिकी सरकार विशेष गरी ताइवान र हिन्द-प्रशान्त क्षेत्रमा पकड राख्न चाहन्छ। ताइवान र हिन्द-प्रशान्त क्षेत्रमा चिनिया शक्तिको उदयले एशियाको भू-राजनीतिक बदलाव अमेरिकाका लागि चिन्ताको विषय हो। चीनका लागि हिन्द-प्रशान्त क्षेत्रमा देखिएको नयाँ शक्ति संरचना विश्व राजनैतिक परिवर्तनको छनक हो। अमेरिकी नयाँ प्रशासनले विश्वको यस सामरिक क्षेत्रमा अमेरिकाको महत्वपूर्ण चासोको विषयलाई सम्बोधन गर्न आफ्नो कार्यसूची तयार गर्न थालेको छ। उता चीनले यसै ठाउँको रणनैतिक महत्त्व बुझेर तियानमेन चोकबाट चिनियाँ जनताले कुनै पनि बाहिरी सेनालाई दमन, थिचोमिचो र वशमा नपार्ने र कसैले त्यसो गर्ने हिम्मत गरेमा उसले आफ्नो टाउकोमा चिनियाँ जनताले निर्माण गरेको सैन्य इस्पातको सामना गर्नुपर्ने कुरा गर्वका साथ उठाए। राष्ट्रपति सीको उक्त भनाइ उनको नेपाल भ्रमण समयमा कसैले चीन बिरुद्धमा लागेमा हड्डी जस्तै टुक्रा पारिदिने भन्ने कथनसँग मिल्दोजुल्दो रहेको छ।

बेइजिङको सार्वभौमिकता स्वीकार्न ताइवानलाई चीनले रणनैतिक रूपले बाध्य पार्ने नीति लिएको छ। चीनले आवश्यक परेमा बल प्रयोगको सैन्य रणनीतिमार्फत् उक्त टापुलाई अन्तिम विजयको रूपमा आफ्नो अधिनमा लिने कदम चाल्ने छ। यो चीनको ताइवान नीतिको अन्तिम र कठोर सैन्य रणनीति हुनेछ। यद्यपि बेइजिङले ताइवानलाई चीनका शर्तहरू बल प्रयोग नगरी स्वीकार्न वाध्य गराउन चाहन्छ।

अमेरिकी सेनाका हिन्द-प्रशान्त क्षेत्रका कमान्डर एडम डेविड्सनले ताइवान टापु चीनका लागि महत्वपूर्ण सैन्य क्षेत्र हुनेछ भनेका थिए। राष्ट्रपति सीले चीनले अन्य शक्तिमाथि दबाब नदिने बताए पनि डेविड्सनले केही समय पहिला चीनले ताइवान र यसका अन्य छिमेकीहरूमाथि राजनीतिक, आर्थिक र सैन्य दबाब बढाउँदै लागेको बताएका थिए। सीले ताइवान चीनको अधिनस्थ क्षेत्र रहेको भन्ने कुरा डेविड्सनको भनाइपछि प्रष्ट आएको छ।

१९४९ मा चीनमा कम्युनिस्ट पार्टीले शासन हातमा लिएपछि चीनबाट भागेका करिब १२ लाख मानिस ताइवान पुगेको र चीनले उक्त टापु आफ्नो रहेको दाबी गर्दै आएको छ। उक्त टापुमा १९४९ देखि १९८७ सम्म चीनको प्रवेशलाई रोक्न घोषित रुपमा सैन्य शासन सन्चालन भएको थियो। ताइवान र अमेरिका बीच १९५४ मा भएको सैन्य सम्झौता अझै कार्यानवयनमा छ। अमेरिकाको सहयोगमा २००२ मा ताइवानले विश्व ब्यापार संगठनको सदस्यता लिएको थियो। यिनै पक्षलाई आधार मानेर बाइडेन प्रशासन ताइवानलाई स्वतन्त्र मान्छ। तर राष्ट्रपति सीले यसको प्रतिकार आजको सम्बोधनमा गरे।

सीले भनेका छन्- सीपीसीको स्थापनाले चिनियाँ जनताको भाग्यमा ठूलो परिवर्तन ल्याएको छ। विश्वमा परिवर्तन ल्याउनमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका प्रष्ट छ। सीपीसीको जन्म भएदेखि चिनियाँ जनता राष्ट्रको पुनर्संरचनाको लागि खुशी बाँड्ने अवसर पाएको बताए। सीले सम्बोधनमा माओ जेदुङ्ग, देङ्ग सियाओपिङ्ग, जियाङ्ग जेमिन र हू जिन्ताओ जस्ता नेताको भूमिका रहेको भनी इतिहासप्रति सम्मान गरि आगामी समयमा चिनियाँ राष्ट्रको पुनर्संरचनामा साथ दिन आह्वान गरेका छन्। उनको यो भनाइले बाइडेन प्रशासनसँगको कटुता झल्केको छ।

आजको कार्यक्रममा चीनमा रहेका आठ राजनीतिक दलहरू र अखिल चीन फेडरेशन उद्योग र वाणिज्य संघले संयुक्त रूपमा जारी गरेको मन्तव्यले सीको सम्पुर्ण कदमलाई समर्थन गरेको थियो। यसबाट चिनियाँ जनता असल कामका लागि एकजुट छन् भन्ने सन्देशलाई सीले आनन्दको रुपमा लिएका छन्। सीपीसी शताब्दीको उत्सव र हंगकंगमा २४ औं वार्षिकोत्सवका ब्यानरहरू स्थानीय समुदायमा प्रदर्शित भएका छन्। मकाओ युवा महासंघका अध्यक्ष मोक ची वाईले पनि चीनमा भएको उत्सबलाई उच्च सम्मान गरेको छन्। एक देश, दुई प्रणालीको सफल प्रयोग गरेको चीनले हंगकंगदेखि मकाओलाई जोडेको छ र आगामी दिनमा ताइवान पनि आफ्नो अधिनमा रहेको हेर्न सी लालयित देखिन्छन्।

नेपालको उत्तरमा रहेको विशाल जनसंख्या सहितको चीनसँगको असल साझेदारीले नेपालको भविष्य प्रकाशमय देखिन्छ। दक्षिणको भारत र उत्तरको चीनसँगको त्रिपक्षीय सहयात्रामा यो क्षेत्रमा स्थायित्त्व र समृद्ध हुने पक्का छ। २०१३ मा सी, २०१४ मा मोदी र २०१६ मा ट्रम्पको उदयपछि बनेको राजनैतिक तिक्तता मेट्न नेपालले भारत र चीनको बिचमा असल साथिको भूमिका निभाउनु आबश्यक छ। नेपालले आफ्नो भविष्य बिकास र साझेदारीबाट नै खोज्नु पर्छ। हिन्द-प्रशान्त क्षेत्रमा बढ्दै गएको सैन्य रणनितिदेखि क्वाड गतिविधीबाट टाढा रहनु नेपालको विदेश नीतिको आवश्यकता हो। क्वाड सदस्यहरूले निःशुल्क र खुला हिन्द-प्रशान्त क्षेत्रको साझा अवधारणा लागि चीनको पूर्व र दक्षिण समुद्री तटमा गतिविधि बढाएका छन्।

सन् २०१७ मा नेपाल र चीनका बीचमा बीआरआई सम्झौता भएको छ। यो सैन्य सम्झौता भन्दा पनि बिकास र समृद्धिका लागि मुख्य मानिन्छ। बीआरआईको फ्रेमवर्क संयुक्त राष्ट्रसंघको घोषणापत्रमा आधारित छ। संयुक्त राष्ट्रसंघको दिर्घकालिन बिअका लक्ष २०३० लाई यसले जोड दिएको छ। नेपालले २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा पुग्ने लक्ष्य लिएको छ। बीआरआइबाट नेपालको अपेक्षा भौतिक पूर्वाधार जस्तै रेल मार्ग, राजमार्ग, प्रसारण लाइन, हवाई कनेक्टिभिटी, कृषि र अन्य विषयमा लगानी भित्र्याउन चाहन्छ।

चिनियाँ राष्ट्रपतिले २०१३ मा काजकिस्तानको विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दा बीआरआई विषय उठाएका थिए। पछि २०१५ मा इन्डोनेशियाको पिपुल्स रिप्रिजिन्टेटिभ काउन्सिलमा बोल्दा म्यारेटाइम सिल्क रोडको बारेमा धारणा राखी सिल्क रोड इकोनोमिक वेल्ट निर्माणको घोषणालाई दिहोराएका थिए। चीनको ब्यापार, राष्ट्रिय विकाससहित विदेश मन्त्रालयले राजनैतिक र विकासका लागि भएका सहकार्यका प्राथमिकता र संयन्त्रहरूको बारेमा उल्लेख गरेको छ। यो राष्ट्रपति सीको विदेश नीतिको एक अङ्ग पनि हो।

२०४९ मा सीपीसीले सत्ता लिएको थियो। भारत १९४७ मा स्वतन्त्र बन्यो। नेपाल १९५० मा राणाहरुबाट मुक्त भयो। १९८० मा नेपाल कै अवस्थामा रहेको चीन आज दोश्रो ठुलो अर्थतन्त्र भएको देश बनेको छ। राजनैतिक स्थिरताबाट नै चिनियाँ सरकारले जनताबाट उच्च समान पाएको छ। नेपाल भने २०२२ सम्म विकासशील देश बन्ने योजनामा छ। प्रश्न उठ्छ हामी कुन ठाउँमा त्यत्रो गल्ती गर्‍यौ ताकि हामी अझैसम्म सुनको कचौरा लिएर अरुसँग आर्थिक सहायता माग्ने अवस्थामा छौं ?

लक्ष्यउन्मुख हिडेको नेतृत्वले देश विकासको मेरुदण्ड तयार पार्न सक्छ भन्ने चीनबाट देखिएको छ। १९५० को जवान पुस्ताले २०२१ सम्म पछौटे चीन महाशक्तिको बाटोमा हिडेको चीनलाई देखेको छ। चिनियाँहरुले हरेक पक्षलाई चीनको सापेक्षतामा बदलेर विकास गरे। मार्क्स, लेनिन, माओबाट सिकेर इतिहासलाई सम्मान गरे। गल्तीको समीक्षा चिनियाँ विशेषताको उपमासहितको समाजवाद लागू गरेका छन्। हामी भने बिपीको समाजवाददेखि कम्युनिस्ट समाजवाद जस्ता शब्दमा भुल्ने तर राजनीतिमा लक्ष्यबिहिन भएका छौं। पटक-पटकका राजनैतिक परिवर्तन कमजोर बनेका छन्। बिदेशीको माइक्रो म्यानेजमेन्टकै कारण हाम्रो विकास प्रक्रिया थलिएको छ। २०६३ मा भएको ठूलो परिवर्तन भुत्तेजस्तै बनेको छ। हजारौंको बलिदान, बेपत्ता र घाइते परिवारको संघर्षको सम्मान नहुने अवस्थामा हामी छौं।

बाइडेन प्रशासनजस्तै सी प्रशासन पनि ताइवान टापूदेखि दक्षिण-पूर्व सामुन्द्रिक तटमा शक्ति प्राप्तिका लागि लागीपरेको छ। यसैलाई प्राप्त गर्नेमा चिनियाँ सैन्य शक्तिको उपमा दिएर सीले दिएका छन्। सांस्कृतिक क्रान्तिको बाटो हिंडेको चीनमा राष्ट्रपति सी कम्युनिस्ट पार्टीको दोस्रो पुस्ताका नेता र पाँच मध्येका एक राष्ट्रपति हुन्। तरपनि उनले आफूलाई माओजेदुङ्ग र देङ्ग सियोपिङ्ग जस्तै महत्व दिएका छन्। चीनका लागि आगामी समयको दृढ लक्ष प्राप्त इच्छुक रहेका सी चिनियाँ विशेषतासहित समाजवादको सी चिनफिङ विचारधारा संस्थागत गर्न आतुर देखिन्छन्। १९९० मा तत्कालिन सोभियत संघको पतनपछि एक ध्रुवीय शक्ति बनेको अमेरिका चीनको प्रगति र लक्ष्यबाट त्रस्त छ। केही हप्ता अगाडि समूह- आठको बैठकमा अमेरिकासहितका विकसित ८ देशले चीनको बढ्दो प्रभाव रोक्न साझा लक्ष्य लिने रणनीति बनाएका थिए। निक्सन र माओको मेलमिलापपछिको अमेरिका-चीन साझेदारी अहिले कटुताको अवस्थामा आएको छ।

अफ्गानिस्तानसँगको राजनैतिक सहकार्य हुँदै अलकायदाको ९/११ विध्वंसपछि अमेरिकि अर्थतन्त्र ओरालो लाग्न थाल्यो। पानामा नहर बनाएर शक्तिको केन्द्र बनेको अमेरिका चिनियाँ नीति कै कारण अपराजेय शक्तिबाट कमजोर शक्तिको मिथकतिर लागेको छ। एट्लाण्टिक महासागरमा रहेको शक्ति प्रशान्त महासागरतिर सरेको छ। हिन्द-प्रशान्त क्षेत्र विश्वको द्वन्दको केन्द्र बन्दै छ। १९८० देखि नै निरन्तर आर्थिक वृद्धि गरेर नियन्त्रित अर्थ राजनीतिले नै चीनले आफ्नो स्वीकार्यता कायम राखेको छ। तथापि चीनले लिएको खुला बजार नीतिकै कारण पश्चिमाहरूले चिनियाँ नीतिसँग हार मानेका छन्। अबको चीनले जलवायु परिवर्तन र त्यसले ल्याउने संकटसँग जुझ्न हातेमालो गर्नै पर्छ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो पहिलो तीन दशकमा क्रान्तिको कार्यभार पूरा गरेको थियो। दोश्रो तीन दशकमा राजनैतिक क्रान्तिलाई जन स्तरमा लैजान सफल भयो। र, अन्तिम चार दशकमा विश्वलाई चकित पार्ने विकासको गोरेटो तयार पारेको छ। आफ्नो पार्टी स्थापनाको एक सय वर्षको गौरवमय यात्रामा हिड्दा हामी पनि चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतालाई नेपालीको तर्फबाट शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्