स्पेन र इटाली सेमीफाइनलमा प्रवेश

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। १६ औँ संस्करणको यूरो कप अन्तर्गत क्वाटरफाइनलक खेलहरु हिजोदेखि शुरु भएको छ। हिजो राति र आज विहान भएका दुईवटा खेलमा स्पेन र इटाली सेमीफाइनलमा प्रवेश गरेका छन। आज बिहान सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको छ। जर्मनीको एलियान्ज ऐरेनामा सम्पन्न खेलमा चारपटकको विश्वकप विजेत इटालीले शानदार खेल प्रस्तुत गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफको १३ औँ मिनेट मै गरेको गोल भिएआरलाइ मान्य नभएपछि इटालीले खेलको ३१ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो। पहिलो हाफमा निकै बलियो देखिएको इटालीले खेलको ४४ औँ मिनेटमा अर्को गोल गर्दै अग्रतालाइ दोब्बर बनाएको थियो।

तर पहिलो हाफको अतिरिक्त समयमा डि बक्सभित्र फल गरेबापत बेल्जियमले पाएको पेनाल्टीलाइ रोमेलु लुकाकुले गोल गर्दै खेलमा फर्कने बाटो बनाएको थियो। दोस्रो हाफमा भने दुवै टोलीले निकै आक्रामक खेल खेलेपनि गोल हुन नसक्दा इटालीले विश्व नम्बर १ को बेल्जियमलाइ २-१ गोलले पराजित गरेको हो। यस जीतसँगै इटालीले अब इङलयान्डको वेम्बली मैदानमा स्पेनसँग सेमिफाइनल खेल खेल्नेछ।

यसैबीच , गएराति सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेनले स्विटजरल्यान्डलाइ पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गरेको छ। पहिलो हाफको ८ औँ मिनेटमा स्विस खेलाडी जकरियाको आत्मघाती गोलबाट सन् २०१० को विश्वकप विजेता स्पेनले अग्रता लिएको थियो। तर दोस्रो हाफको ६८ औँ मिनटमा स्विस कप्तान जेर्दान शाकिरिले गोल गर्दै खेललाइ बराबरीमा पुर्याएका थिए। खेलको ७७ औँ मिनेटमा स्विस मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्विटजरल्यान्ड १० खेलाडीमा सिमित हुन पुग्यो।

निर्धारित समय र थप अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। स्विस ३ खेलाडीहरुले आफ्नो पेनाल्टीमा गोल गर्न चुक्दा स्विटजरल्यान्डको युरोकप यात्रा समाप्त भएको हो। यो जीतसँगै तीनपटकको युरोकप विजेता स्पेनले इटालीसँग सेमिफाइनलको यात्रा तय गरेको छ।

युरोकप २०२० को दुइ वटा क्वाटरफाइनलका खेलहरु आज हुँदैछन। आजको पहिलो खेल चेक रिपल्बिक र डेनमार्कबिच बेलुकी ९.४५ बजे हुने। यसैगरी, दोस्रो खेल मध्यराति१२.४५ बजे युक्रेन र इङल्यान्डबीच हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्