‘सोभियत संघको निर्माण र पतन’

Map_Soviet_Union_ussr
लोकपाटी न्यूज

अक्टुबर समाजवादी क्रान्ति र सोभियत संघको निर्माण र पतनको परिघटनामा मानवीय पक्ष कति जिम्मेवार थियो र वस्तुगत अवस्थाको कारण कति थियो ? त्यसको विश्लेषण र मूल्यांकन आफ्नो ठाउँमा छ। त्यो भइरहेको छ र हुँदै जाने छ। तर, त्यहाँ क्रान्ति विकासको प्रक्रिया तथा समाजवाद निर्माणको दौरान अगाडि आएका ती सबै अवस्था समाजवादी क्रान्तिको तथा समाजवाद निर्माणको दौरान अगाडि आउने सार्वभौम चरित्रका हुन वा त्यस कालखण्डको आन्तरिक तथा विश्व परिस्थितिले जन्माएका विशिष्ट चरित्र हुन् ? अथवा यसको समिश्रण हो ? मार्क्सवादीहरूले ठोस ऐतिहासिक पृष्ठभूमिमा त्यसको लेखाजोखा गर्नुपर्ने माग समयले प्रस्तुत गरेको छ। ख्रुस्सेपलाई गाली गरेर वा गर्वाचोभ, एनाएभ, यल्सिनलाई दोष दिए मात्र पुग्दैन। तिनलाई जन्माउने कारण के थिए ? वस्तुगत वा मनोगत ? के यी चरित्र समाजवादी समाजको विकास प्रक्रियामा जन्मिने सार्वत्रिक र सार्वकालिक चरित्र हुन् ? होइनन् भने त्यसको विकल्प के हुने ? यी र यस्तै अनेकौं प्रश्न अक्टुबर क्रान्तिको सफलता, समाजवादको निर्माण र अवसानले आज मार्क्सवादीहरूको अगाडि उभ्याएको छ। यी प्रश्नहरूको वस्तुनिष्ठ उत्तर सतही तर्क वा कठमुल्ला रटाई वा ‘मार्क्सले भन्नुभएको थियो’ वा ‘लेनिनले भन्नु भएको थियो’ जस्ता सुगारटाइबाट खोज्न सकिँदैन। सम्पूर्ण विषयवस्तुलाई समय, त्यहाँको तत्कालीन सामाजिक आर्थिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्धको परिपेक्ष र अवस्था सापेक्ष हेर्नुपर्ने हुन्छ।

सोभियत संघको विघटनपछि सोभियत व्यवस्थाको चरित्र, सोभियत कम्युनिस्ट पार्टीले अंगीकार गरेको नीति तथा व्यवहार, त्यसका आर्थिक विकासको चरित्र आदि बारे अनेकौं समीक्षात्मक टीकाटिप्पणी, लेख रचनाहरू, अधिकांश साम्राज्यवाद परस्त कम्युनिस्ट विरोधीहरूद्वारा यसको नकारात्मक पक्षमा लेखिएका, प्रकाशित भएका छन् र भैरहेका छन्। यी आलोचना कम्युनिस्ट विरोधी, समाजवाद विरोधी पक्षबाट मात्र होइन आफूलाई समाजवाद तथा मार्क्सवाद-लेनिनवादको पक्षधर मान्ने वामपन्थीहरूबाट पनि भैरहेका छन्। यो प्रक्रिया अझै लामो समय चल्ने छ। तर, यी एक पक्षीय, अवास्तविक तथा कहिलेकाहीँ विद्वैशपूर्ण अभिव्यक्तिको चरित्रका पनि छन्। ऐतिहासिक तथ्यहरूले त्यस्ता अनेकौं भनाइहरूको पुष्टि गर्दैनन्। गल्ती कमजोरी भएका छन् र ती विभिन्न चरित्रका छन्। यो तथ्य हो। त्यसमा कतिपय तत्कालीन बस्तुगत अवस्थाको परिणाम थिए भने कतिपय मनोगत कमजोरीका परिणामको रूपमा छन्। मार्क्सवादी-लेनिनवादीहरूले यिनलाई यथार्थताको कसीमा परख गर्दै सोभियत सत्ताका कमीकमजोरी तथा नेतृत्व वर्गका राम्रा नराम्रा पक्षहरूका आधारमा विश्लेषण गर्नु आवश्यक हुन्छ। गल्ती कमजोरीहरूको ढाकछोप गर्दै अतिमूल्यांकन गर्दै अनावश्यक रूपले एकातर्फ स्तुतिगानबाट वा पूर्वाग्रही भएर नकारात्मक पक्षहरूलाई मात्र खोज्दै एकातर्फ निन्दा र आलोचना गर्ने प्रवृत्तिले यथार्थ उजागर हुँदैन। त्यसबाट आजको कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन दिन सहयोग पुग्न सक्दैन। कम्युनिस्ट आन्दोलनले कुनै पूर्वाग्रह वा बने बनाएका पूर्वधारणा बिना समाजवाद निर्माणको यस प्रथम प्रयासका सकारात्मक उपलब्धि तथा त्यसका कमीकमजोरीलाई ऐतिहासिक तथ्यको आधारमा विश्लेषण गरेर उपलब्धिहरूलाई स्विकार्दै गल्ती कमजोरीहरूको पहिचान गरेर तिनको परित्याग गर्ने मनोवृत्तिबाट मात्र कम्युनिस्ट आन्दोलनलाई आजको अवस्थाबाट अगाडि बढाउन सहयोगी शिक्षा प्राप्त गर्न सकिनेछ। जसरी अक्टुबर क्रान्तिपछि भएका क्रान्ति तथा वर्तमान समाजवादी देशहरूले त्यसबाट केही सिकेका छन् भने अब हुने क्रान्तिहरूका लागि पनि यसले अनुभवको व्यापक सामाग्री दिएको छ।

सोभियत सत्ताका देन

१. लेनिनको नेतृत्वमा २५ अक्टुबर सन् १९१७ मा रुसमा पहिलो समाजवादी क्रान्ति सम्पन्न भयो र यसले मजदुर-किसान वर्गद्वारा शासित समाजवादी राज्यसत्ता कायम गरी नयाँ युगको थालनी गर्‍यो। त्यस दिनदेखि आजका मितिसम्म यस क्रान्तिले विश्वभर मानव जीवन र समाजको क्रान्तिकारी प्रवाहलाई यो अथवा त्यो रूपमा प्रभावित गरेको छ र आउँदा दिनका क्रान्तिकारी परिवर्तनहरूलाई पनि प्रभावित गर्ने छ। यस क्रान्तिले झण्डै दुई सय वर्षको लामो पूँजीवादी संरचनाको विकल्पमा नितान्त नौलो सामाजिक-आर्थिक संरचनाको निर्माण गर्न सकिने यथार्थता प्रस्तुत गरेको छ।

२. मानव इतिहासमा अनेकौं यस्ता क्रान्तिकारी घटना भएका छन् जसले त्यस देशलाई मात्र होइन विश्व इतिहासलाई नयाँ दिशा दिएका छन्, युग फेरेका छन् र नयाँ सामाजिक आर्थिक परिपाटी जन्माएका छन्। अक्टुबर क्रान्ति तिनै मध्यैको एउटा सामाजिक क्रान्ति हो। फ्रान्सको क्रान्तिले सामन्ती अरिष्टोर्क्याटिक शासन युगको समाप्तिको बिगुल फुकेर मानव सभ्यतालाई ‘स्वतन्त्रता, समानता र भाइचारा’ सहितको जनतान्त्रिक युग निर्माणको नारासहित युग परिवर्तनको थालनी गरेको थियो भने अक्टुबर क्रान्तिपछि स्थापित सोभियत सत्ताले मार्क्सको ‘विश्व परिवर्तन’को मान्यता अनुरूप वर्ग र वर्गीय समाजको अन्त सहित वर्गविहीन, वर्गीय शोषणबाट मुक्त पूर्ण स्वतन्त्रता, सामाजिक समानता र भाइचारा युक्त नयाँ समाजवादी लोकतान्त्रिक नौलो युगको थालनीको उद्घोष गरेको छ। आज सोभियत संघ नरहेको वर्तमान अवस्थामा पनि मानव समाज समय सापेक्ष र अवस्था सापेक्ष नयाँ चिन्तनसहित त्यस युगतिर अगाडि बढ्दै छ।

३. अक्टुबर क्रान्तिपछि स्थापित सोभियत संघको उपस्थिति तथा सहयोग र समर्थनमा विश्व मजदुर आन्दोलनले ठूलो शक्ति प्राप्त गरेको थियो। भारत लगायत एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा स्वतन्त्रता आन्दोलन तथा चीन, भियतनाम, क्युबा, कोरिया आदि जस्ता देशहरूका समाजवादी क्रान्तिहरूलाई सैनिक तथा मानवीय सहायता सहित चौतर्फी समर्थन र सहयोग प्रदान गरेको थियो। औपनिवेशिक देशहरूका साम्राज्यवाद विरोधी आन्दोलन र तिनको राष्ट्रिय स्वाधीनता तथा विकासका लागि सोभियत संघले सैन्य सहयोगदेखि आर्थिक विकासमा निरन्तर सहयोग गर्दै रहेको हो। सारांशमा, सोभियत सत्ताले औपनिवेशिक देशका शोषित पीडित जनताको मुक्तिका लागि तथा अल्पविकसित देशहरूका सामन्तवाद साम्राज्यवाद विरोधी आन्दोलनहरूलाई नैतिक तथा भौतिक सहयोग प्रदान गरी तिनलाई आ-आफ्नो मुक्तिका लागि स्वयम संघर्षको मैदानमा ओर्लिन प्रेरणा र बल प्रदान गरेको थियो ।

४. दोस्रो विश्वयुद्धपछि स्थापित समाजवादी शिविर र सोभियत संघको शक्ति नै एउटा त्यस्तो कारण थियो जसको दबाबमा पूँजीपती वर्ग श्रमिक वर्गको पक्षमा एकपछि अर्को गर्दै अनेकौं सुधार गर्न र उनका माग पूरा गर्न मजदुर आन्दोलनको अगाडि झुक्नु पर्ने अवस्था सृजना भएको थियो। अहिले सोभियत संघ र समाजवादी शिविरको विघटनपछि साम्राज्यवादीहरू एकपछि अर्को गर्दै यी प्राप्तिहरूलाई खोस्दै गएका छन्।

५. सोभियत संघको मानव जातिलाई नै सबभन्दा ठूलो देन थियो हिटलरको फाँसीवादलाई परास्त गरी फाँसीवादी गुलामीबाट मानव जातिको मुक्ति। यो, घोर साम्राज्यवादी, पूँजीवादी र मार्क्सवाद, समाजवाद तथा सोभियत संघ विरोधी समाज शास्त्री र राजनीतिज्ञहरूले समेत स्वीकारेको कुरा हो। फाँसीवादलाई परास्त गर्नमा सोभियत संघले धनजनको जुन क्षति बेहोर्‍यो त्यसको तुलना गर्न सकिँदैन। यस युद्धमा लालसेनाको मात्र होइन त्यहाँका मजदुर किसान, बुद्धिजीवी लगायत यावत जनताले गरेको अवर्णनीय बलिदान सम्पूर्ण मानव जातिको स्वाधीनता, समानता तथा आत्मसम्मानसाथ बाँच्ने अधिकारको सुरक्षाका लागि थियो।

६. विज्ञान तथा प्रविधिको क्षेत्रमा सोभियत संघको अद्वितीय देन रहेको छ। पहिलो पटक मानव जातिको लागि अन्तरिक्षको बाटो खोल्नेदेखि विज्ञान तथा प्रविधिको विकास मानव जातिको समृद्धिका लागि हुनु पर्दछ र आणविक शक्तिको उपयोग विनाशकारी हतियारको निर्माणका लागि होइन मानव जातिको सुखद भविष्यका लागि हुँनु पर्दछ र यसलाई आमजनताको साझा सम्पत्तिको रूपमा विकसित गर्नु पर्दछ भन्ने सोभियत संघको आमधारणा थियो र यसका लागि उसले जीवन पर्यन्त संघर्ष गर्दै रह्यो ।

७. सोभियत संघ नव स्वाधीन तथा तत्कालीन तेस्रो विश्वका गरिब विकासोन्मुख तथा अल्पविकसित देशहरूको शिक्षा, स्वास्थ्य र प्रविधिको विकासका लागि प्राविधिक जनशक्तिको निर्माणमा सहयोग तथा सोझो प्राविधिक तथा आर्थिक सहयोगका साथै त्यस्ता देशहरूलाई साम्राज्यवादी नवउपनिवेशवादी थिचोमिचोबाट जोगाउन तथा साम्राज्यवादीहरूद्वारा चलाइने क्षेत्री युद्ध, जातीय तथा धार्मिक भिडन्त आदिबाट बचाउन र तिनको सार्वभौमिकता, स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकार सुरक्षित गर्दै स्वतन्त्र र स्वाधीन अर्थतन्त्रको निर्माणका लागि पूर्वाधार निर्माणमा चौतर्फी सहयोग गर्दै एउटा हितैसी मित्रको रूपमा उभिएको थियो। आज त्यो अवस्था छैन र यस्ता देशहरू विस्तारै आर्थिक साम्राज्यवादको सिकन्जामा कसिँदै छन्।

८. विश्वशान्ति, आणविक अप्रसारण, हतियार नियन्त्रणका प्रयासका साथै साम्राज्यवादी खुला अतिक्रमणको विरोध जस्ता क्षेत्रमा सोभियत संघले पुर्‍याएको योगदान सबैको सम्झनामा ताजै छ। सोभियत संघको शक्ति र विकास नै तेस्रो विश्वका देशहरूमा साम्राज्यवादी खुला हस्तक्षेप तथा अतिक्रमणको वेग रोक्ने सशक्त मित्रका रूपमा थियो।

९. आफ्ना आम नागरिकलाई विना कुनै भेदभाव जन्मदेखि मृत्युसम्म निःशुल्क शिक्षा, स्वास्थ्य, आराम, निवास, वाल वृद्ध अशक्तहरूको सेवा सुरक्षाको सुनिश्चितता तथा प्रत्येक नागरिकलाई उसको इच्छा, योग्यता र क्षमता अनुसारको काम तथा सामाजिक उत्पादनमा काम अनुसारको उसको हिस्साको सुनिश्चितता, नागरिक सुरक्षा तथा सामाजिक जीवनको प्रत्येक क्षेत्रमा महिलाहरूको सुगम पहुँच र महिला अस्मिता तथा सम्मानको संरक्षण सोभियत सत्ताका आधारभूत दायित्व थिए। नागरिकलाई आधारभूत आवश्यकताको चिन्ताबाट मुक्तराखी आफ्ना निजत्वको विकास तथा देश विकासको काममा केन्द्रित हुन सक्ने अवसर प्रदान गरिएको थियो।

१०. आ-आफ्ना जनसोभियतको माध्यमबाट देशको नागरिक प्रशासन र व्यवस्थापन तथा नीति निर्माणमा सोझो संलग्नता र हस्तक्षेपका अधिकारको सुनिश्चितता र पारस्परिक सहअस्तित्व र सहजीवनका परिपाटीको विकास, जातीय क्षेत्रीय, भाषिक आदि जस्ता विभेदको अन्त र सोभियत संस्कृतिको निर्माणको लागि आधार निर्माण गरिएको थियो। छोटकरीमा भन्नु पर्दा जाति, धर्म, आस्था, रंग, भाषा संस्कार र संस्कृतिमा कुनै भेदभाव विना सामान नागरिक अधिकार सुनिश्चित गरिएका थिए।

कमी कमजोरी : वस्तुगत र मनोगत कारण

१. कुनै पनि व्यक्ति वा पार्टीले आफ्नो इच्छा र समय अनुसार क्रान्ति जन्माउन सक्दैन। त्यस्तै अक्टुबर क्रान्ति पनि, केही पूँजीवादी आलोचकहरूले भन्ने गरेको जस्तो, लेनिनले अथवा वोल्सेविक पार्टीद्वारा थोपारेको घटना नभै यो पूँजीवादी विकास प्रक्रियामा विकसित हुँदै आएका जटिल अन्तरद्वन्द्व र वर्गसंघर्षको अनिवार्य परिणाम थियो। अर्को शब्दमा, यो क्रान्ति सामन्ती प्रतिक्रियावादी शासक वर्गको चरम दमनले जन्माएको चरम द्वन्द्वको अवस्था, साम्राज्यवादी शक्तिहरू बिच बढ्दो अन्तर्द्वन्द्व, प्रथम विश्वयुद्धबाट उत्पन्न चरम आर्थिक संकट आदि कारणबाट उत्पन्न त्यस्तो विषम अवस्था, जहाँ, लेनिनका शब्दमा ‘त्यही अवस्थामा शासितहरू बस्न चाहँदैनन् र शासकहरू शासन गर्न सक्दैनन्’को अवस्थाको परिणाम थियो। क्रान्तिकारी मजदुर र किसान वर्गलाई संयुक्त संघर्षमा ओराल्ने, क्रान्तिकारी शक्तिहरूलाई एउटै अभियान र नारा अन्तरगत संगठित गर्ने र क्रान्तिकारी उभारको दिशा निर्देशन गर्ने कामको नेतृत्व लेनिनले बोल्सेभिक पार्टी तथा जन सोभियतहरूको माध्यमबाट अवश्व गरेका हुन्, तर, क्रान्ति स्वयममा बस्तुगत अवस्थाले माग गरेको परिणाम थियो। तत्कालीन विश्व परिस्थिति र रुसको विगतका अवशेष तथा साम्राज्यवादी र आन्तरिक प्रतिक्रान्तिकारी हरूको प्रतिरोधका कारण समाजवादमा संक्रमणका लागि अत्यन्त जटिल अवस्था सृजना गरेको थियो। समाजवाद तथा श्रमिक सत्ताको संरक्षण र विकासका लागि त्यस प्रारम्भिक चरणमा उठाइएका अनेकौं कदमप्रति आज विभिन्न प्रश्न उठाउन सकिन्छन्। तर, तिनलाई तत्कालीन वस्तुगत अवस्था सापेक्ष नै हेर्नुपर्छ।

२. रुसमा कानुनतः भूदासता सन् १८६१ मा अन्त गरिएको भए पनि त्यसका अवशेषहरूको बलियो उपस्थिति, कुलक (धनी किसान तपका), विर्तावाल (Landed states owners), सामन्ती कुलीन, रियासतवाल रजौटाहरू सहितको भूमि व्यवस्थामा टिकेको सामन्ती साम्राज्यमा किसानहरूका सशस्त्र विद्रोहको लामो इतिहास रहेको हो। गरिब तथा साना किसानहरूको बाहुल्यता रहेको देशमा किसानहरूलाई क्रान्तिमा ओराल्न र क्रान्तिको संरण गर्न गरिब किसानको माग सम्बोधन गर्नुपर्ने आवश्यकता थियो। विश्वयुद्धका मोर्चाहरूमा विकट र अभावग्रस्त अवस्थामा लड्दा-लड्दा थकित सिपाहीहरूलाई युद्धको मोर्चाबाट फर्काउने अवस्था सृजना गर्नुपर्ने आवश्यकता थियो र मजदुरहरूलाई शोषणबाट मुक्त गर्नुपर्ने आवश्यकता थियो। क्रान्ति सफल भएपछि विश्वयुद्धबाट बाहिरिने अवस्था निर्माण गर्नु पर्ने, सोभियत सत्तालाई कार्यरूप दिनुपर्ने र ठूलठूला रियासत र कुलकहरूको कब्जाबाट जमिन खोसी किसानहरूका समस्या समाधान गर्नुपर्ने, दिगो आर्थिक विकासका लागि तीव्र गतिमा औद्योगीकरण गर्नुपर्ने र आन्तरिक र बाह्य दुश्मनहरूबाट क्रान्तिको रक्षा गर्नुपर्ने जस्ता जटिल प्रश्नहरू पार्टी समक्ष थिए। क्रान्तिको सफलता र समाजवादी लक्ष प्राप्तिका लागि यी सबै काम एकसाथ सुरु गर्नुपर्ने आवश्यकता थियो। यस जटिल वस्तुगत अवस्थाले समाजवाद निर्माणको बाटोमा उत्पन्न गरेका अवरोधहरूको प्रभाव पर्नु स्वाभाविक थियो। तिनको समाधान गर्ने क्रममा वस्तुगत अवस्थाको कारण कतिपय ठाउँमा मनोगत कमजोरी हुन पुगेका छन्। तर, यो वस्तुगत अवस्थाले उपस्थित गरेको वाध्यात्मक अवस्था थियो।

३. सोभियत संघमा समाजवाद निर्माणको प्रक्रिया अत्यन्तै तीव्र वर्गसंघर्षको अवस्थामा सुरु भयो। यो वर्गसंघर्ष आमने सामनेको युद्धका रूपमा मात्र सीमित थिएन बल्कि त्यतिकै तीव्र वैचारिक संघर्ष तथा ‘भेलभेट काउन्टर रिभोल्यूशन’ जस्ता छद्म प्रतिक्रान्तिकारी क्रियाकलापको मुकाबिला गर्नु पर्ने अवस्था पनि थियो। क्रान्तिको संरक्षण र समाजवाद निर्माणको काम सशस्त्र भिडन्तमा प्रतिक्रान्तिकारीहरू माथि जीत प्राप्त गर्ने कुरासम्म मात्र सीमित थिएन त्यसकासाथै वैचारिक युद्ध पनि जित्नु पर्ने र मार्क्सवादका आधारभूत प्रस्थापनाहरूलाई त्यहाँको विशिष्ट अवस्थामा परिभाषित र कार्यान्वयन गर्नुपर्ने जस्ता व्यवहारिक पक्षसँग पनि जोडिएको थियो। त्यसका लागी वैज्ञानिक, सैद्धान्तिक, राजनैतिक आधारहरूको निर्माण नगरी समाजवाद निर्माणको कुरा अकल्पनीय थियो। यसका साथै समाजवादप्रतिका अनेकौं गलत धारणा तथा प्रचार र पार्टीभित्रकै गलत राजनैतिक प्रवृत्तिहरूसँग, जसले क्रान्ति तथा समाजवादको भविष्यलाई विकृत गर्न सक्दथे, कडा संघर्षको आवश्यकता थियो। यस्तो चुनौती बाहिरबाट मात्र होइन पार्टीभित्रबाटै समेत विद्यमान थियो। यस अवस्थामा लेनिनको नेतृत्वमा सोभियत सत्ताले उठाएका कतिपय कदम आज कठोर र निरंकुश लाग्न सक्छन्, तर, तिनको मूल्यांकन तत्कालीन अवस्थाकै सापेक्ष गर्नुपर्ने हुन्छ।

४. यस अवस्थामा सोभियत कम्युनिस्ट पार्टीको नेतृत्व पंक्ति तथा सैद्धान्तिक र राजनैतिक क्षेत्रमा कार्यरत कार्यकर्ताहरूलाई इतिहासको भौतिकवादी विश्लेषण, समाजवादका आधारभूत पक्षहरू र मार्क्सवादी अवधारणा, वास्तविकता र चाहना बीचका अन्तरद्वन्द्वबारे शिक्षित गर्नुपर्ने तथा आमजनता र कम्युनिस्ट कार्यकर्ताहरूबाट क्रान्ति र समाजवादको संरक्षक अग्रणी दस्ताको गठन, मार्क्सवादका आधारभूत अवधारणाहरूको व्यवहारिक पक्ष तथा समाजवाद निर्माणको दौरान त्यसको कार्यान्वयनको पक्ष, समाजवादी विकासको द्वन्द्वात्मक चरित्र, यस प्रक्रियामा उत्पन्न हुने अन्तरविरोध र तिनको समाधानका व्यवहारिक तौरतरिका आदिको निरूपण र त्यसबारे पार्टी पंक्तिलाई प्रशिक्षित गर्नुपर्ने आदि जस्ता बहुआयामिक जटिलताहरू थिए। यसका साथै कम्युनिस्ट पार्टीमाथि मार्क्सवाद विरोधीहरूको सैद्धान्तिक प्रहार र त्यसको प्रतिक्रियावादी चरित्रबारे मजदुर वर्गका साथै ग्रामीण किसान र बुद्धिजीवी वर्गलाई शिक्षित गर्नुपर्ने अर्को जटिल काम थियो भने प्रतिक्रान्तिकारी जमातलाई किनारा लगाउनु पनि आवश्यक थियो।

५. आन्तरिक संघर्ष तथा बाह्य हस्तक्षेपले उत्पन्न गरेको जटिल अवस्थामा यो काम सम्पन्न गर्नु सजिलो थिएन। त्यसमा पनि मानव समाजले कहिले नपहिल्याएको समाजवाद निर्माणको बाटो पहिल्याउँदा आमनागरिकका मनोविज्ञानको सामना गर्नुपर्ने जस्ता अनेकौं अपरिचित नयाँ अवस्था थिए। र, नयाँ परिवेशमा क्रान्तिको संरक्षण र समाजवादी रूपान्तरणलाई व्यवहारिक रूप दिनु झन् कठिन काम थियो। यसका अतिरिक्त समाजवाद निर्माणको दिशामा अगाडि बढ्दा मार्क्सवादका आधारभूत सिद्धान्तमा टेकेर आफैले आफ्नो सामाजिक आर्थिक अवस्था, सामाजिक वर्गीय बनोट, सामाजिक मनोविज्ञान, संस्कार र संस्कृति, तत्कालीन सामाजिक विश्वास र आस्था, शक्ति सन्तुलनको अवस्था तथा शदियौंदेखि सत्ताको अनुभव प्राप्त विस्थापित पूँजीपति वर्गको प्रतिरोध, साम्राज्यवादीहरूको कम्युनिस्ट विरोधी रणनीति आदिको परिवेशमा त्यस शिशुको संरक्षण गर्दै हुर्काउन अत्यन्तै कठिन काम थियो। अर्कोतर्फ मार्क्सले सैद्धान्तिकरूपमा प्रतिपादित गरेका प्रस्थापनाहरूलाई जीवन व्यवहारमा ओराल्न आफैले आफू अनुकूल बाटो बनाउन पर्ने अवस्था थियो। यस अवस्थामा यदि आज हामी त्यसवेला गरिएका कामहरूलाई मार्क्सले प्रस्थापित गरेका सैद्धान्तिक अवधारणहरूको सापेक्ष दाँजेर हेर्छौ भने कतिपय ठाउँ र अवस्थाहरूमा अनेकौं गल्ती कमजोरी भेट्टाउन सकिन्छन्। र, अनेकौं समालोचकहरूबाट यस्ता गल्ती औँल्याइएका पनि छन्, तर, त्यसको मूल्यांकन गर्दा तत्कालीन अवस्था र समय सापेक्ष हेर्न सके मात्र वस्तुगत निष्कर्ष निकाल्न सकिन्छ र त्यो निचोड नै वैज्ञानिक निचोड हुनुका साथै हाम्रो लागि मूल्यवान् शिक्षा हुने छ।

६. सम्पूर्ण कुरा नयाँबाट सुरु गर्नुपर्ने अवस्था थियो। नयाँ बाटो, जसको न विगत अनुभव थियो न कुनै व्यवहारिक ज्ञान नै। त्यस संरचनाको सारबारे सैद्धान्तिक रूपमा मार्क्स र त्यसभन्दा पूर्वका काल्पनिक समाजवादी वा समतावादीहरूले परिकल्पना गरेको अवस्था भए पनि व्यवहारिक रूपमा अल्पायु पेरिस कम्युनको अधुरो व्यवहारिक अनुभव बाहेक अन्य अनुभव थिएन। त्यस अवस्थामा लेनिनले त्यहाँको आफ्नै सामाजिक-आर्थिक विशिष्टता, समाजको वर्गीय स्वरूप र मनोविज्ञानलाई मध्यनजरराखि सुरक्षित र व्यवहारिक बाटोको खाका तथा आधार तयार गर्ने काम गरे। दैनिक कार्यसम्पादनको दौरान समय समयमा अवस्था अनुसार यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता व्यवहारिक अनुभवले देखायो। जसबारे आजका केही समालोचकहरूले त्यसभन्दा अर्को बाटो लिए उत्तम हुन्थ्यो भन्ने पनि गरेका छन्। तर, बाटो र माध्यमको छनौटको स्वतन्त्रता र बाध्यता अवस्थाले सिर्जना गर्छ मानिसले होइन।

७. लेनिनको समय अत्यन्त कष्टकर संक्रमणकाल रहेको हो। शिशु क्रान्तिलाई समाप्त गर्न पूँजीपति तथा कुलकहरूद्वारा साम्राज्यवादीहरूको समर्थनमा मजदुर-किसान राज्यमाथि संयुक्त आक्रमण, साम्राज्यवादी शक्तिहरू तथा देशी प्रतिक्रियावादीहरूको सहयोग र समर्थमा देनिकिन र काल्चाक जस्ता जारकालीन जनरलहरूद्वारा थोपारिएको गृहयुद्ध, भोकमरीको कठिन अवस्था र गृहयुद्धमा फसेको अवस्थामा युद्ध क्षेत्रको न्यूनतम आवश्यकता पूर्ति गर्न र भोकमरीको मारमा परेका जनताको जीवन रक्षा गर्न सन् १९१८ मा लेनिनको नेतृत्वमा पार्टीले ‘वारकम्युनिज्म’को अर्थनीति स्वीकार गर्‍यो, जसको सार थियो किसानहरूबाट उनको अतिरिक्त उत्पादन सरकारले अधिग्रहण गर्ने, सम्पूर्ण कलकारखानाहरूको राष्ट्रियकरण गरी तिनलाई केन्द्रीकृत व्यवस्थापन अन्तरगत अतिरिक्त श्रमसहित सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था लागू गर्नु। यो अति केन्द्रीकरणको बाटो थियो। तर, देश र क्रान्तिको रक्षका लागि जनताले यसलाई स्वीकारे।

८. गृहयुद्धको कठिन समयमा क्रान्तिको रक्षाका लागि आम जनताले त्यो भोकमरी र अभाव बेहोर्दै काम गरेको अवस्थाबाट अति उत्साहित भएर त्यस चरणबाटै सोझै कम्युनिजममा जान सकिने जस्ता गलत अवधारणा पनि पार्टीभित्र जन्मिए। तर, लेनिनले देखे वारकम्युनिज्मको नीति लामो समयसम्म जनताले थेग्न सक्ने अवस्था थिएन। गृहयुद्धको समाप्तिपछि किसान वर्गबाट वारकम्युनिज्मको नीतिप्रति विरोधी आवाज निस्किन थाले। मजदुरहरूले वेतन वृद्धिको माग गरे। जलसेनाका टुकडीहरू विरोधमा ओर्लिए र ठाउँ ठाउँमा किसानहरूबाट खुला विरोधको अवस्था आएपछि लेनिनले यसको समाधानका लागि तुरुन्तै सन् १९२१मा पार्टीको दशौं काँग्रेसमा ‘वर्तमान अवस्थामा कम्युनिजममा संक्रमणका लागि आर्थिक अवस्था परिपक्व भैसकेको छैन’ र जनताले वारकम्युनिज्मको अवस्था थेग्न सक्ने अवस्था छैन भन्दै ‘वारकम्युनिज्य’ समाप्त गरी ‘नयाँ आर्थिक नीति’ लागू गरिनु पर्ने प्रस्ताव पेस गर्नुभयो र त्यो पारित गरियो। यस अवस्थामा सन् १९२२मा नयाँ आर्थिनीति लागू गरियो। (हे. सम्मेलनको दस्ताबेज)। यसबाट लेनिनले समाजवादको बाटो छोड्यो जस्ता आलोचना त्यस वेला पनि भएका हुन् र आज पनि कतिपय अतिवादी कम्युनिष्टहरूले त्यस्तो भन्ने गरेका छन्। तर, क्रान्तिको संरक्षणका लागि त्यसवेला त्यो भन्दा अर्को विकल्प थिएन।

९. लेनिनले १९१८मा भनेका थिए- ‘तुरुन्त कम्युनिजम व्यवस्था लागूगर्न हाम्रो आर्थिक अवस्था परिपक्व भैसकेको छैन। त्यसकारण वर्तमान अवस्थामा सामाजिक उत्पादन, वितरण र व्यवस्थापनको सम्पूर्ण जिम्मा श्रमिक वर्गका प्रतिनिधि सोभियतहरूको हातमा हुने छ’। यसै नीति अन्तरगत नयाँ आर्थिक नीति पनि लागू गरियो, जसको सार थियो केही अवधिका लागि सोभियत संघमा मिश्रित अर्थतन्त्रको विकास गर्नु। यस नीति अन्तरगत किसानहरूले आफ्नो अतिरिक्त उत्पादन बजारमा बेच्न पाउने, सानोतिनो निजी कृषि, पशुपालन, साना उद्योग निजीस्तरमा चलाउन पाउने, पूँजीपति वर्गले निश्चित दायराभित्र रहेर आफ्ना कलकारखाना चलाउनु पाउने र नाफा उठाउन पाउने जस्ता बजार अर्थतन्त्रका प्रावधानहरू स्वीकार गरिए। वास्तवमा यो अस्थायी रूपमा राज्यसत्ता एक कदम पछि हटेको अवस्था थियो। तर, तत्कालीन अवस्थाले जन्माएको बाध्यताको परिणाम थियो। लेनिनले भन्नुभयो ‘..समाजवाद निर्माणको हाम्रो सम्भावना पूर्णरूपले यस कुरामा निर्भर गर्छ कि हामी केही समयसम्मका लागि विदेशी पूँजीलाई नाफा दिएर भए पनि त्यसको उपयोग गरी आफ्ना अर्थतन्त्रको विकास र स्वतन्त्रता कायम राख्न सक्छौ कि सक्दै नौं’ (ऐ. दस्ताबेज)। लेनिनको यो भनाई हामी जस्ता देशहरूका लागि आज पनि त्यत्तिकै समसामयिक छ। ‘नयाँ अर्थनीति’ले अर्थतन्त्रमा सुधार ल्याउनका साथै किसानहरूबाट उठ्न सक्ने विरोधको अन्त गर्‍यो।

१०. क्रान्ति सम्पन्न गर्नुभन्दा त्यसको संरक्षण र घोषित लक्ष प्राप्त गर्न क्रान्तिका उपलब्धिहरूको संरक्षण र क्रान्ति विकासको अगाडिको दिशा र रणनीति तय गर्नु झन् बढी कठिन काम थियो। त्यसमा पनि पार्टीभित्रै मत भिन्नता थिए। एकतर्फ बुखारिन जस्ता प्रमुख साथीहरू किसानहरूलाई तुरुन्तै सामूहिक फार्महरूमा आबद्ध गरी उत्पादनलाई प्रोत्साहित गर्दै तीव्र गतिमा औद्योगीकरणको काम अगाडि बढाउने पक्षमा थिए भने, अर्काथरी पूँजीवादको विकास नभै समाजवाद निर्माण गर्न सकिँदैन, पहिले पूँजीवादको विकास हुनुदिनु पर्दछ भन्ने पक्षमा थिए। अर्कोतर्फ अतिवादीहरू धनी किसान (कुलक), रजौटा र सामन्ती अभिजात वर्गको सम्पत्ति खोसी त्यस सम्पत्तिको बलमा औद्योगीकरण गर्नुपर्छ र नयाँ अर्थनीति अन्तरगत प्रस्तावित गरिएका छूटहरू दिनु हुन्न भन्ने पक्षमा थिए। त्यस अवस्थामा लेनिनले नयाँ आर्थिक नीति प्रस्तुत गरे र नयाँ योजना र समसामयिक सुधार गर्दै अगाडि बढ्ने रणनीति लिए। लेनिनको यही चिन्तन, दूरदर्शिता, अवस्थाको पहिचान, तदनुरूप कार्यनीति तय गर्नसक्ने क्षमता तथा नेतृत्व कौशल उनका क्रान्तिकारी विशिष्टताको सार हो।

लेनिनले एउटा ठोस र सुविचारित रणनीति अन्तर्गत ‘नयाँ आर्थिक नीति’ लागू गरेका थिए। लेनिनकै शब्दमा- ‘यस्तो व्यवस्था, कुनै पनि अर्थमा, हाम्रो आदर्श अथवा अन्तिम लक्ष होइन। ‘वार कम्युनिजम’ कठिन संक्रमणकालीन विशेष अवस्थाले सामाजिक उत्पादन र वितरणलाई व्यवस्थापन गर्न हामीमाथि थुपारेको अवस्था थियो। अब, साना किसानहरूको अत्यधिक बाहुल्यता रहेको हाम्रो अवस्थामा, त्यसबाट नियमित सामाजिक उत्पादन र वितरण प्रणालीमा सुरक्षित संक्रमणका लागि यो (नयाँ आर्थिक नीति) नयाँ अवस्था हो’। (उही. दस्ताबेज)। उपरोक्त यी सब काम वस्तुगत अवस्थाले जन्माएको वाध्यात्मक अवस्थाका परिणाम थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्