मार्क्सवादी आँखामा भानुभक्त आचार्य

Bhanubhakta_Acharya
  • 108
    Shares
लोकपाटी न्यूज

भानुभक्त र आदिकवित्व

कवि भानुभक्त आचार्य (वि.सं. १८७१-१९२५) प्राथमिक कालका प्रतिनिधि कवि मात्र नभएर आदिकविका रुपमा प्रचारित नेपाली साहित्यकै प्रसिद्ध कवि हुन्। पश्चिम नेपालको तनहूँ जिल्लास्थित चुँदी, रम्घामा जन्मेका यिनले अध्यात्म रामायणलाई सरल नेपाली भाषा-श्लोकमा अनुवाद गरी संस्कृत जान्नेहरुकाबीच सीमित रहेको रामकथालाई सर्वसाधारण नेपाली समक्ष पुर्‍याएका हुन्।

लेखक- डा. कृष्णराज अधिकारी

हुन त भानुभक्तभन्दा पहिला रघुनाथ पोखरेलले रामायण ‘सुन्दरकाण्ड’ र ‘अयोध्याकाण्ड’ को अनुवाद गरिसकेको पाइन्छ तर समयमा प्रकाशन हुन नपाउँदा यिनको रचना पछि पर्‍यो र ‘सुन्दरकाण्ड’ वि.सं. १९४५ मा मात्र प्रकाशित हुन पुग्यो। मोतीराम भट्टले भानुभक्तका रचनाहरुको खोजी गर्दै वि.सं. १९४१ म उनको ‘बालकाण्ड’ र त्यसपछि संपूर्ण ‘रामायण’ प्रकाशनमा ल्याएपछि मात्रै भानुभक्त सर्वत्र चिनिन पुगेका थिए।

भाषामा सरलता, सरसता र मौलिकताले गर्दा भानुभक्तको रामायण लोकप्रिय हुँदै गयो। भानुभक्तभन्दा अघि सुवानन्ददास, शक्तिवल्लभ, उदयानन्द अज्र्याल, सुन्दरानन्द बाँडा, राधावल्लभ अज्र्याल, गुमानी पन्त, यदुनाथ पोखरेल, रघुनाथ पोखरेल, वसन्त शर्मा, इन्दिरस, वीरशाली पन्तजस्ता थुप्रै कविहरुले आफ्ना कविता काव्यहरु जन्माइसकका थिए भने उदयानन्द अज्र्यालले त ‘पृथ्वीन्द्रोदय’ जस्तो महाकाव्य भन्न सकिने बृहदाकार काव्य समेत लेखिसकेका थिए।

भानुभक्त-पूर्वका कतिपय कविहरुका बारेमा थाहा पाएर पनि मोतीरामले भानुभक्तको प्रशंसा गर्दै उनलाई आदिकवि, कवि चक्रचूडामणि, महान् कवि, सहज कवि र राजकवि मात्र भनेनन् भानुभक्तको जन्मसँगै नेपाली भाषाको उदय भएको मान्दै भानुभक्तपूर्वको नेपाली साहित्यको इतिहासको ढोकै बन्द गरिदिए। दीननाथ सापकोटाले भने वि.सं. १९८९ को रघुनाथकृत ‘रामायण सुन्दरकाण्ड’को ‘मुखबन्द’ मा रघुनाथ पोखरेल (भट्ट) लाई नै आदिकवि भनेको पाइन्छ। ‘भानुभक्त स्मारक ग्रन्थ’ (१९९७) मा श्री ३ जुद्धशमशेरले ‘रामरस फैलाउने’ भानुभक्तलाई आदिकविको सरकारी घोषणा गरेपछि सर्वसाधारणलाई आदिकवि भन्न बाटो खुलेको थियो भने सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यले समेत भावुकतावस आदिकविको पगरी लगाइदिएपछि भानुभक्त नेपाली साहित्यका ‘आदिकवि’ का रुपमा दरिन पुगेको पाइन्छ।

यसरी आदिकविका रूपमा दरिन पुगेका भानुभक्तले ‘रामायण’पछि ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘प्रश्नोत्तरी’ (प्रश्नोत्तरमाला), ‘रामगीता’ र अन्य फुटकर कविताहरु समेत रचना गरेको पाइन्छ। तर भानुभक्तको नाम लिनासाथ हामीलाई उनको ‘रामायण’ को सम्झना आउँछ र ‘रामायण’ ले नै उनलाई ‘भानुभक्त’ बनाएको पनि हो। ‘रामायण’ एउटा पौराणिक विषयवस्तु भएको महाकाव्य भएको र भानुभक्तले त्यसको अनुवाद मात्र गरेकाले त्यसमा भानुभक्तकालीन सामाजिक, आर्थिक तथा राजनीतिक सन्दर्भहरु नपाइनु स्वाभाविकै पनि हो। यसैले भानुभक्तका रचनामा सामाजिक सन्दर्भ र दृष्टिकोण बुझ्नका लागि उनका मौलिक रचनाहरुको अध्ययन गर्नुपर्ने हुन्छ। प्रस्तुत लेखमा उनको एउटा कविता ‘वधूशिक्षा’ का बारेमा चर्चा गरिएको छ।

ऐतिहासिक सन्दर्भ

भानुभक्त जन्मदा नेपालमा नेपाल-अङ्ग्रेज युद्ध प्रारम्भ भएको थियो। पृथ्वीनारायण शाहले प्रारम्भ गरेको नेपाल एकीकरण (राज्य विस्तार) अभियानलाई उनका कान्छा छोरा बहादुर शाहले अघि बढाउँदै लगेका थिए र सम्पूर्ण देश त्यसबखत युद्धमय भएको थियो। यसैले त्यसबेला रचिएका अधिकांश कविता-काव्यहरु युद्ध र विजय अभियानलाई प्रोत्साहन हुने गरी लेखिएका थिए। वीररस नै त्यस समयका कविताको प्रमुख प्रवृत्ति बनेको थियो।

वि.सं १८७३ मा भएको अङग्रेजसँगको अपमानपूर्ण सुगौली सन्धिले नेपालीहरुको मनमा ठूलो चोट पुर्‍याएपछि उम्लिएको वीरता पनि एकाएक चिसिन पुगी सम्पूर्ण जनमानसमा निराशा छाउन पुगेको थियो। वीरगाथा गाउने कविहरु भक्तिमार्गमा ओर्लदै राम र कृष्णका कथाहरु संस्कृतबाट नेपालीमा अनुवाद गर्दै थिए। नेपालीहरुको मनलाई इहलोकबाट परलोकतिर तान्दै उनीहरु पृथ्वीनारायण, बहादुर शाह, भीमसेन थापाजस्ता लौकिक पात्रलाई छाडेर राम, कृष्णजस्ता अलौकिक पात्रहरु रोज्न थालेका थिए।

कोतपर्व (वि.सं.१९०३) मच्चाई नेपालको शासनसत्ता राणाहरुले लिँदा भानुभक्त बत्तीस वर्षका युवक थिए र उनको जीवनकालभरि जंगबहादुरको शासन (१९०३-१९३३) कायम थियो। यो समयमा नेपालीहरुको जनजीवन कष्टकर मात्र थिएन, घोर अन्धकारमा समेत रहेको थियो। मानव सभ्यताकै कलंकका रुपमा रहेका दासप्रथा र सतीप्रथा कायमै थिए भने बालविवाह, बहुविवाह, अनमेल विवाहजस्ता वैवाहिक प्रथाका साथै विभिन्न अन्धविश्वास, कुरीति र रुढिहरुले नेपाली समाजलाई गाँजिरहेको थियो। शिक्षा र चेतनाको दृष्टिले अन्धकारमा रहेका नेपालीहरु चर्को शोषण, दमन र थिचोमिचोको सामन्ती जाँतोले पिसिइरहेका थिए।

उता विश्व परिवेशलाई हेर्दा अमेरिकी स्वतन्त्रता संग्राम (वि.सं.१८३३) र फ्रान्सेली राज्यक्रान्ति (वि.सं.१८४६) सम्पन्न भई स्वतन्त्रता, समानता र भ्रातृत्वको लहर फैलिरहेको थियो भने छिमेकी देश भारतमा चाहिँ मोगलबाट सत्ता हत्याएका अङ्ग्रेजहरुले आफ्नो आधिपत्य जमाउँदै साम्राज्य विस्तार गर्दै थिए। तर, राजा राममोहन रायको स्त्री मर्यादा र ब्रह्म समाजको स्थापनाका साथै उनकै अग्रसरतामा भएको सतीप्रथा उन्मूलन भानुभक्तको युवाकालमै भएको थियो। यस्तो समयमा हाम्रा आदिकवि भानुभक्तचाहिँ तनहुँको रम्घामा बसेर रामकथा लेखी नेपालीहरुमा ईश्वरभक्तिको भावना जगाउँदै भक्ति मार्गमा लाग्न र ‘वधूशिक्षा’ लेखी निस्सासिइरहेका महिलाहरुलाई पुरुषको चरणकी दासी बन्नुपर्ने उपदेश पस्कँदै दास-मार्गमा लाग्न प्रेरित गर्दै थिए।

नेपालको तत्कालीन अनुदार शासन व्यवस्था र नेपाली जनताको चेतनाको स्तर हेर्दा भानुभक्त वा अन्य कुनै पनि कविले तत्कालीन व्यवस्थाको विरुद्धमा बोल्न वा लेख्न सक्ने स्थिति थिएन। शासक वा शासन व्यवस्थाको विरुद्ध कुनै आवाज निकाल्नु नै मृत्युको मुखमा पर्नु हुन्थो। यसैले भानुभक्त वा अन्य कुनै पनि कविबाट तत्कालीन अवस्थामा क्रान्ति र विद्रोहका स्वर भरिएका कृतिको अपेक्षा गर्न सकिदैनथ्यो। तर, समाज र राष्ट्रप्रति जिम्मेवार एउटा चेतनशील लेखकले तत्कालीन संपूर्ण परिस्थितिप्रति आँखा चिम्लेर जनविरोधी र समाजविरोधी गतिविधिप्रति समर्थन गरिरहन पनि सक्तैन। शासक र शासन व्यवस्थाको विरोध नगरेरै पनि उसले समाजमा विद्यमान कुप्रथा, रुढि, विकृति र विसंगतिलाई आफ्ना काव्य-कवितामा चित्रण गर्न सक्तछ। राजनीतिक यथार्थको चित्रण गर्न नसकिए पनि सामाजिक यथार्थको चित्रण गर्न उसलाई कुनै बाधा हुदैन।

हो, भानुभक्तले तत्कालीन राणाशासन र त्यसले थोपरेको अन्याय-अत्याचारका विरुद्धमा कुनै कुरा लेख्न सक्तैनथे तर विद्यमान सामाजिक प्रथाहरु दासप्रथा, सतीप्रथा, छोरी किनबेच गरी बिहे गर्ने प्रथा, बालविवाह र बहुविवाहबाट उत्पन्न समस्या, नारी जातिले खप्नुपरेको दमन, जातीय विभेद र मानिस-मानिसबीच हुने गरेका विभिन्न भेदभावलाई उनी तटस्थ भएरै पनि चित्रण गर्न सक्दथे।

दास वा कमारा कमारीले खप्ने यातना र लोग्ने मरेपछि उसका सबै पत्नीहरुलाई लोग्नेकै चितामा जिउँदै जलाइने गरिएको बर्बरतालाई उनले प्रत्यक्ष देखे-सुनेका थिए। यस्ता घटनाहरुको कारुणिक चित्रण गर्न उनलाई कुनै व्यवस्थाले छेक्दैनथ्यो, जवकि पछि चन्द्र शमशेर स्वयम्ले यसलाई रोकेका थिए। राणाशासनको उत्कर्षमै योगमायाले धर्मकै नाउँमा भएपनि सामाजिक शोषण र धार्मिक पाखण्डको साथै जातीय र लैङ्गिक विभेदको विरुद्ध सामाजिक सुधारका विभिन्न मागहरु राणासमक्ष राख्दै पूरा नभएपछि विद्रोह स्वरुप सामूहिक आत्मदाह गर्न पुगेकी थिइन्।

भानुभक्तबाट त्यो तहको अपेक्षा गर्न नसकिए पनि एउटा शिक्षित कविले समाजको यथार्थ अवस्थालाई आफ्ना कलमबाट प्रस्तुत गर्न सक्दथे। समाजमा जातीय, लैङिगक विभेद, धार्मिक पाखण्ड र सामाजिक शोषणको अवस्था देखाउँदा जनतामा त्यस्तो प्रवृत्तिप्रति विरोध वा वितृष्णा भाव पैदा हुनजान्थ्यो, सीधै विद्रोह गर भनिरहनु पर्दैनथ्यो। तर भानुभक्त यस्ता कुप्रथा र सामन्ती संस्कारका विरोधी नभएर दृढ समर्थक थिए भन्ने कुरा ‘वधूशिक्षा’ लगायत उनकै फुटकर रचनाहरुले पुष्टि गरेका छन्।

भानुभक्तको ‘वधूशिक्षा’

‘वधूशिक्षा’ भानुभक्तका प्रमुख फुटकर रचनाहरुमध्येको एउटा लामो कविता हो। तीन श्लोकमा प्रस्तावना र तेत्तीस श्लोकमा ‘उपदेश’ गरी जम्मा छत्तीस श्लोकमा संरचित यो कवितामा शादूर्तविक्रीडितका तीस, मालिनीका पाँच र वसन्ततिलका छन्दका एक श्लोक रहेका छन्।

भानुभक्त आफ्ना मित्र तारापतिको घरमा गई बेलुका त्यहीँ बस्दा उनका जहान- परिवारहरुले रातभर कराएर आपसमा झगडा गरेपछि शान्तसँग सुत्न नपाएका भानुभक्तलाई झोंक चलेको र त्यही झोंकमा तारापतिलाई सम्बोधन गरी आफ्नी पत्नी, छोरी र बुहारीलाई तालिम गराउन् भनी उपदेश लेखेको कुरा कवि स्वयंले प्रस्तावनामा उल्लेख गरेका छन्। तारापतिका घरका परिवार भानुभक्तले भनेझैं रातभर आपसमा बाझाबाझ र झगडा गरेर उनलाई रातभरि नै सुत्न नदिएका हुन् वा महिलाले चर्को बोल्न, हाँस्न र विवाद गर्न हुन्न भन्ने मान्यता राख्ने भानुभक्तले उनका परिवारले केही चर्को बोलेको वा आपसमा सामान्य विवाद मात्र गरेका कारणले नै अतिशयोक्ति रुपमा प्रस्तुत गरेका हुन् भन्ने बारे यसै भन्न नसकिए पनि के सम्म भन्न सकिन्छ भने तारापतिका घरका सासू-बुहारी, आमा-छोरी वा नन्द-भाउजूका बीचमा केही खटपट परेर केही भनाभन भएको थियो वा सासूले बुहारीलाई चर्को रुपमा गाली गरेकी थिइन्। नारीले चर्को बोलेको र विवाद गरेको मन नपराउने कविलाई झोंक चल्न यति नै घटना पर्याप्त थियो र उनले आफ्नो आशुकवित्वको उपयोग गरिहालेका हुन् भन्न सकिन्छ।

नेपालमा नारी शिक्षा र जागरणले व्यापक प्रचार र महत्व पाएको वर्तमान अवस्थामा ग्रामीण भेकका नारीहरु अझै पनि पुरुषका दासीजस्तै भएर बस्नुपरेको र बुहारीहरुमाथि लादिएको कामधन्दाले शिर उठाउनै नसक्ने गरी बन्धनमा परेको अवस्था छ भने आजभन्दा करिव दुईसय वर्ष अगाडिको भानुभक्तकालीन समाजमा नारीहरुको अवस्था कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ।

नारीहरुलाई माल या धरौटी जस्तो ठान्ने, पुरुषकी दासी सम्झने अनि बच्चा जन्माउने र बासना पूर्तिको साधनका रुपमा मात्र स्वीकार्ने संस्कारमा हुर्केका कवि भानुभक्तले नारीको स्वतन्त्र अस्तित्वलाई समेत स्वीकार्न नसकेको पाइन्छ। यसैले उनले तारापतिका पत्नी र बुहारीहरुलाई उपदेश दिने नाउँमा सिङ्गो नारी जातिलाई विद्यमान नारी बन्धन र दासताका विरुद्ध एक पाइला पनि अघि नबढ्न खबरदारी गरेका छन्। यहाँ भानुभक्तको तत्कालीन आवेश मात्र नभएर उनको नारीप्रतिको दृृष्टिकोण र विद्यमान सामाजिक अवस्थाप्रतिको धारणा मुखरित भएको पाइन्छ। पतिलाई मालिक र पत्नीलाई दास मात्र बनाएर नपुगी कवि नारीहरुलाई चरणका दास सम्झदै पतिका चरणको जल केही खाने र केही शरीरमा छर्कने सल्लाह दिन्छन्-

स्वामीका चरणारबिन्द युगको जल् भक्तिले पान् गरुन्
निर्मल् देह गराउनाकन ऊ जल् केही शरीर्मा छरुन् (५)।
यति मात्र होइन, कवि नारीहरुलाई कहिल्यै घरबाहिर ननिस्कन र कहिल्यै नहाँस्न सचेत गराउँछन् र हाँस्ने नारीहरुलाई वेश्याको संज्ञा दिन्छन्। मानिस पशु होइन, पशुमा पनि केही संवेदना हुन्छ भने मानिस त झन् संवेदनशील प्राणी हो। विभिन्न अनुभूतिहरु जन्माउने मानव ह्दयमा अनुभूतिको प्रबलताले वा घटनाको उद्दीप्तताले गर्दा मानिस कहिले हाँस्ने र कहिले रुने समेत गर्दछ। मानव ह्दयमा रहने स्थायी भावहरुमध्ये हास या हास्य पनि एउटा भाव हो। तर, कवि भानुभक्त यहाँ नारीहरुलाई कुनै संवेदनहीन जड वस्तुझैं सम्झी अर्काको घरमा जान र हाँस्न समेत बर्जित गर्दछन्-

अर्काका घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी (१४)…
हाँस्नु छैन कदापि नारीहरुले वेश्या हुन्या हाँस्दछन्
बेश्या लौ नहोउन् तथापि घरको काम् ती सबै नास्दछन् (१९)

हास्ने नारीहरु वेश्या हुन्छन्, यदि वेश्या भएनन् भने पनि त्यस्ता हास्ने नारीहरुले घरको कामकाज नास गर्छन् भन्ने अत्यन्त सङ्कीर्ण सोचाइ उनमा पाइन्छ। अर्काको घरमा कहिल्यै जान नहुने, रुन हुने तर हास्न कहिल्यै नहुने भन्ने सोचाइ नारीप्रतिको पुरुष निरङ्कुशताको पराकाष्ठा हो। यहाँ भानुभक्त पुरुषको दासी भएर घरभित्रका चुह्ला-चौका र चारदिवारभित्र कैद भई चर्को बोल्न र हाँस्न समेत बञ्चित पशुवत् जीवनयापन गर्ने महिलालाई आदर्श महिला ठान्दछन् र अरु नारीहरुलाई पनि यसै गरेर बसी ‘नारी-धर्म’ को पालन गर्न र पतिब्रता बन्न उपदेश दिन्छन्।

नारीलाई शिक्षा दिने क्रममा उनले नारीलाई हास्नै नहुने, घर बाहिर निस्कनै नहुने, चरणको जल खाएर शरीर पवित्र पार्नुपर्नेजस्ता सामन्ती विचार नलादेर अन्य व्यवहारोपयोगी उपदेश दिएको भए र पुरुषहरुलाई पनि नारी जातिको सम्मान गर्न, घरमा पत्नी हुँदाहुँदै अर्को विवाह नगर्न, उनलाई यातना नदिन, नारीका समस्या र अप्ठेरालाई बुझी काम गर्न तथा महिलालाई जथाभावी लाञ्छना नलगाउन उपदेश दिएको भए त्यो सन्तुलित हुन्थ्यो, उनी नारी विरोधी हुँदैनथे र यसले भानुभक्तको उचाइलाई बढाउँथ्यो। तर, यहाँ उनले पुरुषहरुले जति नै अन्याय-अत्याचार गरे पनि, जस्तै कुलतमा लागेका भए पनि र जस्तै पत्नीपीडक र अपराधी भए पनि पुरुषहरुलाई पत्नीले परमेश्वर ठान्दै पूजा र सेवा-चाकडी गरिरहनुपर्ने उपदेश दिनु तर पुरुषहरुलाई कुनै धर्म, नैतिकता र कर्तव्यको त्यान्द्रोले समेत बाँध्न नखोज्नुबाट उनी स्पष्टतः नारी विरोधी र सामन्ती संस्कारका अनुयायीका रुपमा देखिन्छन्।

भानुभक्तमा सामन्ती संस्कार भएकैले होला उनको मस्तिष्कमा धनी र सामन्त परिवारको चित्र मात्रै अगाडि आएको पाइन्छ। यसैले उनले ‘वधूशिक्षा’ मा घरका पत्नी वा छोरी-बुहारीहरुलाई उपदेश दिँदा बारम्बार चाकरको प्रसंग ल्याउँछन् र चाकरलाई र चाकरलाई काम अह्राउन लगाउँछन्-

\चाकर्लाई अह्राउनु खुसी हुँदै मीठा वचन्ले गरी (३)
भान्छाको सरजाम चाकर गरुन् भाँडा सफाइ गरी (७)
घरमा नोकर-चाकर राख्ने भनेका धनी र सामन्तहरु नै हुन्। सर्वसाधारणको घरमा नोकर-चाकर राख्ने सम्भावना नै हुँदैन। फेरि उनले सौताको प्रसङ्ग ल्याउँदै सौताको रिस नगर्न भनेबाट पनि बहुपत्नी राख्ने धनी र सामन्तहरुकै समर्थन गरेको पाइन्छ। यसैले भानुभक्तले सर्वसाधारणका घरको कविता नकोरेर धनी, सामन्तहरुकै घरको कविता कोर्न पुगे।

‘वधूशिक्षा’ कवितामा कवि बहुविवाह र सतीप्रथाका समेत समर्थक देखिन्छन्। नेपाली समाजमा पारिवारिक अशान्तिको एउटा मुख्य कारण बहुविवाह पनि हो। धेरै पत्नी हुने पुरुषहरु ठूला, कुलीन र इज्जतदार कहलिने हुँदा बूढो भइन्जेल स्वास्नी बटुलिरहने सामन्ती संस्कारले कैयन् नारीहरुको जीवन बरबाद बनाइरहेको पाइन्छ। कवि समाजप्रति अलिकति मात्र सचेत भइदिएको भए त्यस्ता प्रथालाई उनले विकृतिको रुपमा औंल्याउन सक्दथे। तर, उनी त सौताको रिस गर्नु हुँदैन भन्दै सौता हाल्न वा बहुविवाह गर्न प्रोत्साहन गर्दछन् र लोग्ने मर्दा सबै पत्नी सँगै सती जानुपर्ने ‘धर्म’ सम्झाउँदै सती प्रथाको समेत समर्थन गर्दछन्- सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति

मर्दामा पनि जानुपर्छ जसले मिलेर सङ्गै सती (१२)

यसरी भानुभक्त एकातिर सतीप्रथा, दासप्रथा र बहुविवाहजस्ता प्रचलित सामन्ती प्रथाका समर्थक देखिन्छन् भने अर्कातिर नारीलाई घरबाहिर ननिस्कन, नहाँस्न, पतिलाई परमेश्वर मान्दै चरणको जल खान र त्यसले स्नान गर्न उपदेश दिँदै नारी-बन्धनका साङ्लालाई अझ कसिलो बनाउँछन्।

सामाजिक सन्दर्भमा ‘वधूशिक्षा’

अध्यात्म रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी रामकथालाई सर्वसाधारण समक्ष पुर्‍याउन उनले गरेको कार्य अवश्य प्रशंसनीय थियो। ‘रामायण’ पछि मौलिक रचनातिर लागेका भानुभक्त परलोकबाट यहलोकतिर त फर्के तर ‘रामायण’ का कविकै छवि धमिल्याउने गरेर। भानुभक्तले ‘रामायण’ मात्र लेखी ‘वधूशिक्षा’ र ‘प्रश्नोत्तरी’ जस्ता कविता नलेखेको भए उनको विचार वा सन्देशलाई लिएर नकारात्मक टिप्पणी गर्ने ठाउँ त्यति हुँदैनथ्यो। ‘रामायण’ को उच्च मूल्याङ्कन भएकै थियो। जव प्राथमिककालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा आदिकविले मौलिक कविता काव्यको रचना गर्दै त्यसमा सामन्ती प्रथा र नारी-दासताको समर्थन गर्न पुगे त्यसपछि भने उनबाट युगबोध र समाजबोधका रचनाको अपेक्षा गर्ने पाठकहरु निराश हुन पुगे। भानुभक्त कुमारीचोकमा परी थुनिदा जेलमा खप्नुपरेको लामखुट्टे, उडुस र उपियाँहरुको टोकाइलाई व्यङ्ग्यात्मक पारामा प्रस्तुत गर्नु र आफ्नो मुद्दालाई डिट्ठा, बिचारीहरुले भोलि-भोलि भन्दै लम्याइरहेको स्थितिलाई कवितात्मक रुपमा प्रस्तुत गर्नुलाई सकारात्मक नै मान्न सकिए पनि यस्ता प्रसङ्गहरु कविले आफ्ना दुःखेसाहरु मालिकलाई सुनाउने क्रममै प्रस्तुत गरेको पाइन्छ-

ख्वामित् यस् गिरिधारिले अति पिर्‍यो व्यर्थै गर्‍यो झेल् पनि
यस्का झेल उतार्नलाई सजिलो यै हो व्यहोरा पनि
ख्वामित्लाई चढाउनाकन यहाँ क्यै श्लोक कविता गर्‍याँ
मेरा श्लोक सुनिबक्सियोस् त झगडा छिनिन्छ पाऊ पर्‍याँ
कविले आफूले मुद्दा जित्नका लागि आफ्नो कवित्वको प्रयोग गरेका र श्लोकमै आफ्ना बिन्तीपत्रहरु प्रस्तुत गरेका थिए भने त्यही कवित्वकै प्रभावले सम्भवतः उनले मुद्दा जितेका पनि थिए। भानुभक्तले रचेका भनिने कतिपय श्लोकहरु मोतीराम आफैंले लेखेका र भानुभक्तलाई विशिष्ट कवि तुल्याउन भानुभक्तकै नाउँ पारिएको भन्ने केही समालोचकका भनाइहरु त्यति असत्य लाग्दैनन्।

कतिपय कविताहरुमा प्रयुक्त शैली, शिल्प र भावलाई रामायणका श्लोकसँग दाँजी हेर्दा भानुभक्तकै हुन् भन्न अप्ठेरो पर्छ। ‘कान्तिपुरी नगरी’ कविता भानुभक्तकै रचना मान्ने हो भने पनि त्यसमा कान्तिपुरको यथार्थ चित्रण नभएर कविको काल्पनिक र अवास्तविक वर्णन मात्र पाइन्छ।

कविले काठमाडौंका मानिससलाई गुनकेशरीको फूल शिरमा लगाई, साथीहरु लिई चपला अवलाहरु एक सुरमा हिँडेका तथा तरवार, खुँडा, खुकुरीहरु टम्म भिरेर हिँडेका देख्नु यथार्थवाहिरको असम्भव कुरा हो। सामान्य अवस्थामा खुला रुपमै खुँडा, खुकुरी र पिस्तोल भिरेर काठमाडौंका सर्वसाधारण हिँडेको इतिहासमा कतै पाइँदैन। त्यसैगरी अन्धविश्वास, रुढि, अशिक्षा र गरिवीले पिछडिएको काठमाडौंको तत्कालीन अवस्थालाई कविले आफूले कहिल्यै नटेकेको, नदेखेको लण्डन र चीन अनि लखनौं र पटनाजस्ता ठाउँसँग तुलना गर्नु पनि अस्वाभाविक र असान्दर्भिक देखिन्छ। तर पनि यहाँसम्म आइपुग्दा कविले समाजको यथार्थ चित्रण गर्न नसके पनि समाजलाई सीधै हानी पुर्‍याउने वा यथास्थितिमा राखिराख्ने किसिमका मौलिक कविता लेखेका थिएनन्।

‘वधूशिक्षा’ मा आएर भने भानुभक्तको मूल उद्देश्य नै पुरुषहरुलाई मालिक वा परमेश्वर र नारीहरुलाई पुरुषका दास बनाउनु नै रहेको देखिन्छ। ‘वधूशिक्षा’ भरि नारीलाई पतिव्रता धर्म सम्झाइरहनु, पति नै ईश्वर हुन् भन्दै पतिका चरणको जलपान गर्न लगाउनु, बाँचुन्जेल सुख दिने र मरेपछि तार्ने पनि पति नै हुन् भन्दै पतिको सेवामा कहिल्यै नचुक्न सचेत गराउनु जस्ता उनले दिएका उपदेश हेर्दा सो कुराको पुष्टि हुन्छ।

भानुभक्तको नारीप्रतिको यस्तो दृष्टिकोण ‘वधूशिक्षा’ मा मात्र आएर अन्य रचनामा नारी-सम्मानका कुराहरु आएको भए पनि उक्त मूल्याङ्कन अपूर्ण हुन सक्दथ्यो। तर भानुभक्तले अन्य रचनामा समेत नारीलाई अपमान र तिरस्कार गर्नुका साथै तिनमा पनि नारी विरोधी भाव नै आएको देखिन्छ। भानुभक्तको अर्को महत्तवपूर्ण मानिने कविता ‘प्रश्नोत्तरी’ मा पनि उनले ठाउँ-ठाउँमा नारीलाई नरककी खानी, त्याज्य, सबलाई बाँध्ने साङ्ला, जानी नसक्नु चरित्र भएकी, पहिला अमृत भई पछि विष छर्ने जस्ता संज्ञा दिएका छन्। ‘प्रश्नोत्तरी’ का निम्न श्लोकहरुले भानुभक्तको नारीप्रतिको दृष्टिकोणलाई अझ स्पष्ट पार्दछन्-

कुन् मूल् ढोका छ नरक् कि नारी ?
लान्छे नरक् मोह ठूलो फिँजारी (५)

को छन् सुराझैं अति मोह गन्र्या ?
स्त्री जान्नु त्यस्तै गरी चित्त हन्र्या (१०)

विद्वान् कउन् चिज्कन तुच्छ मान्छन्
कान्ता र सुन् त्याज्य भनेर ठान्छन् (१४)

साङ्ला कउन् हुन् सबलाई बाँध्न्या ?
स्त्री हुन् सदा पाउ समाइ राख्न्या (२३)

क्या जानिइदिैन भनेर बक्नु ?
स्त्रीको चरित्रै छ नजानिसक्नु (२४)
कुन् छाडिदिन्या सुखी हुन्छ भन्छन् ?
स्त्री छाड्न सक्न्या सुखीमा गनिन्छन् (३२)

अमृतसरि अघि भई पछि विष बन्या
कुन् हो ? स्त्री हुन् किन अरु चिजलाई भन्या (४२)
आफूलाई जन्माई-हुर्काई यत्रो कवि बनाउने आफ्नी आमा अनि माया-ममता र सेवा-सुश्रुषा गर्दै सुख-दुखमा साथ दिँदै आएकी श्रीमतीप्रति कविमा किन यत्रो वितृष्णा, घृणा, तिरस्कार र कठोरता उत्पन्न भयो ? नारीलाई मायाको जाल सम्झिने सामन्ती अध्यात्मवादी संस्कार पालेकाले उनले त्यस्तो चलनलाई अनुमोदन गरेको र हिन्दू धर्मावलम्वी हुनाले नारीलाई पतिव्रता धर्म सम्झाएको कुरासम्म बुझ्न सकिएला तर त्यसभन्दा अघि बढेर नारीलाई पुरुषको चरणकी दासी बनाउँदै कहिल्यै घर बाहिर निस्कन नहुने, कहिल्यै कसैसँगै हाँस्न नहुने, पतिलाई परमेश्वर सम्झी चरणको जल पान गर्नुपर्ने, पतिको सुसारमा चुक्न नहुने जस्ता पुरुष-निरङ्कुशता थप्नुका साथै नारीलाई नरककी खानी, त्याज्य, साङ्ला, बुझिनसक्नु चरित्र भएकी जस्ता संज्ञा किन दिन पुगे हाम्रा आदिकविले ?

सासू-बुहारी मात्र भएको गजाधर सोतीको घरमा सम्साँझै बास माग्न गएका भानुभक्तलाई श्रीकृष्ण बाजेका नाति भनेर नचिनेकी गजाधर सोतीकी बूढीले बास नदिनु कुनै अपराध नभएर स्वाभाविक व्यवहार थियो। दुईजना अपरिचित पुरुषलाई सासू-बुहारी मात्र भएको घरमा बास दिनलाई अप्ठेरो थियो फेरि भर्खर साँझ परेको समय थियो र केही पल्तिर पुगी अरु घरहरुमा बास बस्न सकिन्थ्यो। भानुभक्त जस्ता कविले गजाधर सोतीकी बूढीको अवस्थालाई बुझ्दै नम्रतासाथ उनको आग्रह स्वीकारी केही परका घरतिर बास बस्न भनी हिंड्नुपर्दथ्यो। तर, पुरुषलाई मालिक र परमेश्वर अनि नारीलाई पुरुषको आज्ञा शिरोपर गर्ने दासी सम्झने भानुभक्तलाई बूढीले बास नदिएकोमा झोंक चल्यो र गजाधर सोतीकी बूढीलाई गाली-सराप गर्दै कविता लेख्न पुगे-

गजाधर् सोतीका घरबुढि अलक्षिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबादि भइछन्
गयौं साँज्मा तिन्का घर पिँडिमहाँ बास गरियो
निकालिन् साँजैमा अलिक पर गुज्रान गरियो ।

निष्कर्ष

भानुभक्तको नारीप्रतिको यस्तो निरङ्कुश दृष्टिकोण र सामन्ती चिन्तन थाहा पाउँदा पाउँदै पनि हाम्रा कतिपय समालोचकहरुले भानुभक्तप्रति अन्धभक्ति-भाव राख्दै उनलाई महान् कवि, अद्वितीय कवि, जातीय कवि, कवि सम्राट, आदिकवि, लोककवि आदि संज्ञा दिँदै अतिशय प्रशंसा गर्ने गरेको पाइन्छ। नारी विभेद र उत्पीडनको पृष्ठपोषक रहेको यस्तो रचनालाई पनि कतिपय महिलाहरुले नै सुन्दर रचना भन्दै भानुभक्तको प्रशंसा गर्नु उदेक र आश्चर्यको कुरा हो। भानुभक्तका अन्य रचना झैं ‘बधूशिक्षा’ पनि सरल नेपाली भाषा-श्लोकमा लेखिएकाले नै यसले अशिक्षित नेपाली समुदायमा प्रभाव पार्न सकेको हो। सरल र मीठो भाषा अनि सुन्दर शैलीमा लेखिएर पनि ‘वधूशिक्षा’ को भाव र सन्देश भने कुरुप देखिन्छ।

‘वधूशिक्षा’ ले विद्यमान सामाजिक कुप्रथा, सामन्ती संस्कार, पुरुषको हैकम, नारी-बन्धन र दासतालाई नै समर्थन र प्रोत्साहन गरेको छ। विद्यमान सामाजिक व्यवस्थालाई सुधार हैन अझ सुदृढ बनाउन खोज्ने भानुभक्त स्पष्टतः यथास्थितिवादी र सामन्ती व्यवस्थाका पृष्ठपोषक देखिन्छन्। वधूलाई शिक्षा दिने नाउँमा सिङ्गै नेपाली नारीलाई पुरुषकी दासी बनाउँदै अझ कडा बन्धनमा राख्न खोज्ने भानुभक्तले वधूलाई त्यसबाट मुक्तिको शिक्षा हैन बन्धनको सिक्री दिएका छन्। यसैले भानुभक्तको ‘वधूशिक्षा’लाई सामाजिक सन्दर्भमा हेर्दा सामन्तवाद र नारी उत्पीडनलाई पृष्ठपोषण गर्ने रचना हो भन्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्