‘सम्पादकीय : पञ्चर्‍याली होइन, लज्जावोध गर’

Kp Sharma Oli Coreption
लोकपाटी न्यूज
0 Shares

सत्तास्वार्थका खातिर संविधानको धज्जी उडाउँदै गरिएको प्रतिनिधि विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाएदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारबाट सडकमा पुगेका छन्। प्रधानमन्त्रीको कुर्सीमा रहनकै लागि पटकपटक असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएका ओलीलाई सर्वोच्चले परमादेशमार्फत् सत्ताच्यूत गरिदिएपछि सम्भवतः ओली आज बुधबार बालुवाटारबाट निजी निवास बालकोट फर्किनेछन्। बालकोट फर्किने क्रममा ओलीलाई उनीनिकट युवा संघका कार्यकर्ताले स्कटिङ गर्ने कार्यक्रम रहेको पूर्वमन्त्री महेश बस्नेतले घोषणा गरिसकेका छन्।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार सम्हाल्दा ओलीबाट जनताले निकै गुणात्मक परिवर्तन र सुशासनको अपेक्षा गरेका थिए। तर, झण्डै साँढे तीन वर्षको कार्यकालमा उनको सरकारले जे–जस्ता कामहरू गर्‍यो, त्यस्तो अपेक्षा जनताले कहिल्यै गरेका थिएनन्। देशबासीको अपेक्षा थियो – ओलीले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछन्, राज्यमा सुशासन र समृद्धिको जग बसाल्नेछन्। तर, उनीमाथिको त्यो अपेक्षा त्यतिबेला गलत सावित भयो, जतिबेला उनले बालुवाटार जग्गाकाण्डका अभियुक्त विष्णु पौडेललाई जोगाए, वाइडबडी काण्डमा आफै भ्रष्टाचारमा मुछिए, यती र ओम्नी काण्डका अभियुक्त ईश्वर पोखरेललाई जोगाए, मेडिकल उपकरण खरिदकाण्डका पोखरेल र भानुभक्त ढकाललाई जोगाए, सेक्युरिटी मेसिन खरिदकाण्डका गोकुल बाँस्कोटालाई जोगाए। आफ्नै निर्देशनमा महेश बस्नेतलाई सांसद अपहरणको जिम्मेवारी सुम्पिए, देशको स्वाधीनता नै संकटमा पर्ने गरी भारतीय गुप्तचर प्रमुखसँग गोप्य भेटघाट गरे र गोयलकै निर्देशनमा असंवैधानिक तवरले संसद विघटन गरिदिए, सत्तास्वार्थका निम्ति देशलाई खोक्रो बनाउँदै अनैतिक कर्ममा आफूलाई अग्रसर गराए।

साँढे तीन वर्षे कार्यकालमा ओली र उनीनिकट मन्त्रीहरूले गरेका काम नेपालको इतिहासमा अमिट तथ्यका रूपमा रहनेछन्। तर, सुखान्तका रूपमा होइन, दुखान्तका रूपमा। उनले अढाइ वर्षको अवधिमा गरेका कामका कारण नेपालले समृद्धि, विकास र स्वाधीनताका क्षेत्रमा निकै ठूलो मूल्य चुकाउनु परेको छ। २०७२ को संविधान निर्माणदेखि यता स्वाधीन रूपमा उभिएको देश फेरि विदेशीहरूको खेलमैदान भएको छ। देशको प्रधानमन्त्री छिमेकी देशको सहसचिवस्तरको कर्मचारीबाट खटनपटन हुने लाजमर्दो परिस्थितिको सामना गर्नुपरेको छ। साँढे तीन वर्षको अवधिमा देशमा भएका ठूला भ्रष्टाचार, प्रधानमन्त्रीको असहिष्णु व्यवहार, संविधानमाथि गरिएका आक्रमण, लोकतन्त्रविरुद्ध भएका ज्यादतीहरू, विदेशी शक्तिसामु लम्पसार पर्ने प्रवृत्ति हेर्दा ओली सरकार इतिहासकै असफल सरकार हो भन्नेमा दुविधा छैन।

प्रधानमन्त्रीहरू सत्ताच्यूत हुनु स्वाभाविक प्रक्रिया हो। तर, ओलीको दुईपटककै बहिर्गमन स्वाभाविक देखिँदैन। अघिल्लो कार्यकालमा उनले सहमति पालना नगरेका कारण अविश्वासको प्रस्ताव सामना गर्नुपर्‍यो। यसपालि त ओलीको बहिर्गमन त्यसभन्दा दुखान्त रह्यो। संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको अभियोगसहित उनलाई सर्वोच्चले बर्खास्त गरिदियो। यो निकै ठूलो लज्जाको विषय हो। ओली र उनीनिकट नेताहरूसँग थोरै पनि नैतिकता हुन्थ्यो भने उनले आफ्ना अपराधका लागि क्षमायाचना गर्नुपर्थ्यो। तर, उनको अहंकारले आफ्ना कमजोरीको समीक्षा गर्नै दिँदैन। निकै ठूलो विश्वासका साथ सरकारको नेतृत्वमा पुग्ने तर बहिर्गमन सधैं लज्जास्पद हुनुमा ओलीको यही प्रवृत्ति जिम्मेवार छ।

इतिहासकै कमजोर, असफल, बदनामित र सर्वोच्चले समेत संविधान र लोकतन्त्रविरोधी प्रधानमन्त्रीका रूपमा प्रमाणित गरिसकेको व्यक्ति बहिर्गमित हुँदा उनको पक्षमा पञ्चर्‍याली गर्नु अराजनीतिक र निर्लज्ज गतिविधि हो। आफ्नो कार्यकालमा देश र जनताको हितभन्दा अहितमा दर्जनौं गुणा बढी काम गरेका कारण युवा संघले अभिनन्दन गर्दा ओली र युवाहरूकै बदनाम हुन्छ। तसर्थ, ओलीको कार्यकालमा गरिएका गम्भीर प्रकृतिका कमजोरीका लागि उनी र उनको टीमले आत्मालोचना गर्नुपर्छ। जनताले दिएको त्यति ठूलो जनादेशमाथि गरिएको यो अपमान क्षम्य हुन सक्दैन। तसर्थ, ओलीले पञ्चर्‍याली बन्द गरेर देशबासीसामु आत्मालोचना गर्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्