चितवनमा सवारी दुर्घटनाको सङ्ख्यामा दोब्बर वृद्धि

Accident-1
लोकपाटी न्यूज

चितवन। जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो। कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन्।

अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए। गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ। गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए। अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो।

गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन्। तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन्। ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन्। कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना बढेको थापाले बताए। दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन्।

कार्यालयका अनुसार गत आवमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ। उनीहरुबाट कारवाहीस्वरुप रु दुई लाख ४४ हजार ५०० जरिवाना गरिएको छ । यस्तै ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ। उनीहरुबाट रु पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ। यस्तै कार्यालयले गत आवमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्