नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

KP sharma Oli
  • 204
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय समितिको बुधबारको बैठकमा उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन्।

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ। अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन्।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं। अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं।’ १० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उनले बताए। एकता भएमा सबै संरचनाहरू २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो।

उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे। मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु। तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ।’ प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समीक्षा गर्दै धन्यवादसमेत दिएको छ।

बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसो १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ। तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक बिहीबार पनि बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्