कांग्रेस महाधिवेशन सर्ने निश्चित

Nepali Congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ। तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन। सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ।

कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो। सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ।

अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने विषयमा छलफल भइरहेको जानकारी दिए। तर मिति भने तय भइसकेको छैन।

यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ। १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको हो।

‘वडा अधिवेशन २८ वा २९ साउनमा सुरु गर्ने, त्यो अवस्थामा २७ भदौबाट केन्द्रीय महाधिवेशन सुरु गर्ने विषयमा छलफल भइरहेको छ तर भदौभित्रै महाधिवेशन हुन्छ ।’ कांग्रेस सभापति देउवानिकट उच्च स्रोतले राजधानीसँग भन्यो ।

– वडा अधिवेशन १५ दिन सारिँदै
– केन्द्रीय महाधिवेशन भदौ अन्तिममा

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको जानकारी दिए। ‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ कांग्रेस सहमहामन्त्री महतले भने।

हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो। कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले २० असारभित्रै सदस्यताको काम सकेर ३० असारभित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो। तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन।

सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन। यस्तै, सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पु¥याउनुपर्ने हुन्छ। हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ। सप्तरी र बारामा भने बढी विवाद देखिएको छ। समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ।

कांग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी करिब ९ लाख क्रियाशील सदस्य पुग्ने सदस्यता छानबिन समितिले अनुमान गरेको छ। कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिकाअनुसार १२ साउनबाट वडा अधिवेशन, यसैगरी, गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय छ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौका लागि तय छ। यसैगरी पूर्वनिर्धारित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने कांग्रेसको तयारी छ। अब यी सबै तहका कार्यतालिका केही दिन पर सर्नेछन्।

हालसम्म कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन सकेको जनाएको छ। समितिले २२ निर्वाचन क्षेत्रको विवाद भने टुंग्याउन सकेको छैन।

हालसम्म समितिले छानबिन गरेको १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन गर्दा ७० वटा वडाको सदस्यता स्थगित गरिएको समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।

नयाँ र पुराना गरी विदेशबाट बाहेक ८ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यतासम्बन्धी फाराम भरेका छन्। त्यसमध्ये ४ लाख ४४ हजार १ सय ४१ नयाँ छन्। बाँकी पुराना सदस्यतामा भने विवाद छैन।

सदस्यतामा सबैभन्दा बढी प्रदेश २ मा विवाद देखिएको छ। प्रदेश २ को बारा र सप्तरीका सबै निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नम्बर २, धनुषा क्षेत्र नम्बर ३, सिरहाको एउटा क्षेत्र र रौतहट क्षेत्र नम्बर १ को क्रियाशील सदस्यतामा विवाद देखिएको छ। सदस्यतामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा दिनहुँँजसो ती जिल्लाका प्रतिनिधिहरू धर्नासमेत बस्दै आइरहेका छन्।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद कायमै छ। लुम्बिनीमा कपिलवस्तु–३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ। विवादित स्थानका सदस्यता नटुंगिए १३औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानबिन समितिको तयारी छ। राजधानी दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्