पहुँचवालालाई घरमै कोरोना खोप, घण्टौँ लाम लागेर ज्येष्ठ नागरिक खोपबिना नै घर फिर्ता

corona khop vid
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्।

खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच र्पुयाउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।

मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ। १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्।

धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन् बढ्ने जोखिम हुन्छ। सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. अनुप बाँस्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमशः बढ्दै गएको बताउँछन्। ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन्। तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा. बाँस्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन।’

खोप केन्द्र : संक्रमणको थलो ?

मुलुकभरका ५ हजारभन्दा बढी खोप केन्द्रमा भीडभाड देखिन्छ। भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ। खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्नेलगायत लक्षण देखिएको डा. बाँस्तोला सुनाउँछन्। ‘खोप अभियान चल्दै गर्दा ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच–छ दिनपछि कोरोना संक्रमणका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ’, डा. बास्तोला भन्छन्।

खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सोमातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन्। तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका हुन्। मन्त्रालयले यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न, खोप दिने जनशक्ति व्यवस्थापन गर्न अपिलसमेत गरेको छ। ‘सबैको पालो आउँछ। पालो नभएको बेला भीडभाड नगरौं। खोप केन्द्रमा धेरै भीडभाड भए संक्रमण हुनसक्छ’, सहप्रवक्ता डा. अधिकारी भन्छन्।

खोप लगाउन आउनेको संख्या धेरै भएकाले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुन सकेको छैन। खोप लगाइसकेपछि खोप केन्द्रमा २ मिटर दूरी कायम राखेर आधा घण्टा बस्नुपर्ने हुन्छ। सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्ने र कुनै पनि सतह छुनेबित्तिकै हात सफा गर्नुपर्छ। ‘लाइनमा बसेर दूरी कायम गरी आफूलाई संक्रमणबाट जोगाउनु अपरिहार्य छ। स्वास्थ्य मापदण्ड तोडेपछि आउँदा दिन कठिन हुनेछ। तेस्रो लहरको संक्रमणमा पर्ने जोखिम छ’, डा. बास्तोला भन्छन्, ‘खोप लगाइसकेपछि अब मलाई केहि हुँदैन भन्ने सोचेर स्वास्थ्य मापदण्ड नअपनाउँदा खोप लगाएका व्यक्तिहरू पनि सिकिस्त संक्रमित भएर अस्पतालमा भर्ना हुने संख्या जारी छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई खोप कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिएका थिए। अत्यधिक भीडभाड भएको र कतिपय स्थानमा लक्षित समूहले खोप प्राप्त नगरेको पाइएपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बोलाएका थिए।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार विश्वव्यापी रूपमा सफल भएका र गुणस्तरीय खोप नै नेपाल ल्याइएको छ। खोपको गुणस्तर कायम राख्दै खोप अभियान चाँडो सक्न प्राथमिकतामा राखेको डा.अधिकारीको भनाइ छ। जसमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिएका खोपहरू मात्र ल्याएर प्रयोग गरिने उनी बताउँछन्।

‘१८ वर्षभन्दा माथिका व्यक्तिका लागि बनाइएका खोप ल्याएर ७२ प्रतिशत जनसंख्यालाई लगाउने तयारी छ’, उनी भन्छन्। उनका अनुसार १२ देखि १८ वर्षसम्मका व्यक्तिको हकमा अरु मुलुकमा सफल भएका खोप प्रयोग गर्न सकिने गरी योजना बनाइँदै छ।

खोप विज्ञ श्यामराज उप्रेतीका अनुसार कोभिसिल्ड खोप लगाएपछि ७६ प्रतिशत संक्रमणबाट जोगाउँछ भन्ने छ। ‘तीनवटै खोपले अस्पतालमा भर्ना हुने दर र मृत्यु हुने दर घटाएको पाइएको छ’, उनी भन्छन्। भेरोसेलको ७९ प्रतिशत प्रभावकारी मानिएको छ। त्यस्तै, जोन्सन एन्ड जोन्सनको ६६ प्रतिशत प्रभावकारी देखिएको छ।

खोपको पहिलो वा दोस्रो डोज लिएपछि शरीरमा कोरोनाको प्रभाव जान्न भारतमा नयाँ अध्ययन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो अध्ययन भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) द्वारा गरिएको हो। यो कोरोना संक्रमितको जीनोम विश्लेषणमा आधारित छ। पीसीआर परीक्षण गरिएका ६ सय ७७ जनामा जीनोम विश्लेषण गरिएको थियो। ४ सय ८२ जनामध्ये ७१ प्रतिशतमा कोरोना संक्रमणको लक्षण थियो। २९ प्रतिशत लक्षणविहीन (एसिम्टोमेटिक) थियो।

अध्ययनमा धेरैजसो व्यक्तिमा डेल्टा भेरियन्ट संक्रमण भएको थियो। सहभागीमध्ये ६९ प्रतिशतमा ज्वरो, ५६ प्रतिशतमा टाउको दुखाइको समस्या थियो। ४५ प्रतिशतमा खोकी र ३७ प्रतिशतमा घाँटीको दुखाइ थियो। २२ प्रतिशत व्यक्ति गन्ध र स्वाद लिन सक्दैनथे। ६ प्रतिशत पखाला, ६ प्रतिशतको स्वास–प्रश्वासमा समस्या थियो। एक प्रतिशतमा आँखा रातो हुने समस्या थियो। संक्रमितमा डेल्टाका साथै अल्फा र कप्पा भेरियन्ट पनि थियो। सबैभन्दा बढी ८६ प्रतिशत डेल्टा संक्रमित थिए।

संक्रमणपछि मृत्युदरमा कमी आएको थियो। सहभागीमध्ये ७१ जनाले कोभ्याक्सिन र ६०४ जनाले कोभिसिल्ड खोप लगाएका थिए। २ जनाले चीनको सिनोफर्म खोप लगाएका थिए। यी सहभागीमध्ये ३ जनाको ज्यान गएको थियो। अध्ययनअनुसार ९.८ प्रतिशत व्यक्ति खोप लिइसकेका र अस्पतालमा भर्ना गर्नुपरेको थियो। जबकी, ०.४ प्रतिशत संक्रमितको मृत्यु भएको थियो। उक्त अध्ययनले खोपले सुरक्षा प्रदान गर्ने कुराको स्पष्ट भएको छ।

कहाँ–कहाँबाट खोप?

नेपालमा चीन र भारतबाट अनुदान र खरिद गरी ल्याइएका खोपले सर्वसाधारणलाई खोपमा पहुँच र्पुयाएको छ। भारत र चीनले अनुदानमा खोप दिएका छन्। त्यस्तै ती मुलुकबाट खोप खरिद गर्ने कार्य पनि अघि बढेको छ। भारतबाट १०लाख मात्रा अनुदानमा उपलब्ध भएको थियो। खरिद गरेको १० लाख डोज पनि उपयोग गरिएको छ। भारतले नेपाली सेनालाई थप १ लाख डोज उपलब्ध गराएको थियो। भारतको सिरम इन्स्टिच्युटलाई अग्रिमरुपमा पैसासमेत तिरिसकिएको १० लाख डोज अझै आएको छैन। प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुक्तानी दिइसकेको १० लाख डोज खोप दिने आस्वासन दिएका छन्।

चीनले पनि हालसम्म १८ लाख डोज खोप सहयोग गरेको छ। त्यस्तै चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ। यसै साताभित्र १६ लाख खोप आइपुग्ने जनाइएको छ। साउन १५ गतेभित्र कम्तीमा ३२ लाख र त्यसपछि निरन्तर खोप नेपाल आउने क्रम जारी रहने जनाइएको छ। ‘हामी सबैले खोप लगाउन पाउनेछौं। त्यसैले सबैलाई संयमित भई खोप अभियान सफल बनाउन अनुरोध गर्दछु’, उनी भन्छन्।

हाल भेरोसेल लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्ति छन्। विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, खोप अनिवार्य गरेको मुलुकमा जाने नेपाली छन्। सहप्रवक्ता डा।. अधिकारीका अनुसार साउन ६ गतेदेखि खरिद गरिएका थप खोप चीनबाट निरन्तर रूपमा ल्याइँदै छ। कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप पनि ल्याइएको छ। यस्तै अमेरिकाले कोभ्याक्सअन्तर्गत १५ लाखभन्दा बढी डोज उपलब्ध गराएको छ।

जोन्सनको खोप कति सुरक्षित ?

अमेरिकाको औषधि नियामक निकाय (एडीए) जोन्सन एन्ड जोन्सन खोपले स्नायु प्रणालीसम्बन्धी गियान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि खैलाबैला मच्चिएको छ। तर, अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गियान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध देखिएको छैन। अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै विरलै देखिने जनाएको छ। यसको जोखिमभन्दा यो खोप लगाउँदा हुने फाइदा बढी हुनेमा जोड दिइएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार यसबारे जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा निगरानी अघि बढाइने बताउँछन्। ‘जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा यसले कोरोना भाइरसविरुद्ध दिने लाभ बढी छ’, प्रवक्ता डा. पौडेल भन्छन्।

यो खोप लगाउने समूहमा ५० देखि ५४ वर्ष उमेर समूहका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरू पर्छन्। पूर्ण, अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरू, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई तोकिएको छ। त्यस्तै यो खोप अनिवार्य गरिएका राष्टहरूमा जाने व्यक्तिलाई सोहि खोप प्रदान गर्नुपर्नेछ। खोप केन्द्रमा जाँदा आवश्यक कागजात ९पासपोर्ट र भिसा० पनि सँगै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त समूहलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुनेछ। आफ्नो पालोअनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान हुन् र अरुका खोप लगाउने पालोमा भीडभाड नगरी खोप अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेको छ। परिचयपत्र नभएको खण्डमा स्थानीय तहबाट परिचय पत्र खुल्ने सिफारिस आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।

नेतालाई घरमै खोप, लक्षित समूहले पाएनन्

एमालेको प्रदेश १ सचिव विनोद ढकालले विराटनगरस्थित घरमै स्वास्थ्यकर्मीलाई बोलाएर कोभिसिल्ड खोप लगाए। सर्वसाधारण र लक्षित समूह खोपका लागि तड्पिरहँदा यो विषय सार्वजनिक भएपछि नेता ढकाल आलोचनाका पात्र बने। ढकालले भने आफू एक महिनादेखि काठमाडौंमा रहेको भन्दै खोप घरमा लगेर नलगाएको दाबी गरे।

पहुँचका भरमा घरमै खोप लगाउने नेताको सूचीमा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलसहित रामलाल साह, गिरेन्द्र कार्कीलगायत धेरै छन्। ढकाल, पोख्रेल, साह र कार्कीजस्ता धेरै नेताले खोपका लागि सर्वसाधारणले जसरी घण्टौं लाममा बस्नुपरेन।

खोप पाइँदैन कि भन्ने चिन्ता नेता र उनीहरूका निकटस्थले लिनै परेन। बरु सहज रूपमा घरमै खोप सेवा उपलब्ध गराइयो। कांग्रेसको प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना परिवारका सदस्य र कार्यकर्तालाई लगाउन भन्दै सामाजिक विकास मन्त्रालयबाट चार भायल खोप लिएर गए। मन्त्रालय स्रोतका अनुसार सरकारबाट खोपको दुरुपयोग भयो भनेर चर्को विरोध गर्दै हिँड्ने कार्की आफंै खोप लिन आएपछि सबै अचम्ममा परे। कार्कीले भने यो कुरा अस्वीकार गरेका छन्।

विराटनगरका उद्योगी, व्यवसायी एवं पहुँचवालालाई घरमै खोपको व्यवस्था मिलाइदिएको आरोप विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई लागेको छ। महामारी उत्कर्षमा पुगेर बिरामीले सहज उपचार पाउन नसक्दा र अक्सिजनको हाहाकार हुँदा पहुँचवालाका घरघरमा अक्सिजन सिलिन्डर लिएर पराजुली पुग्थे। तर, आर्थिक अवस्था कमजोर भएका स्थानीयले समस्यामा परेर बारम्बार फोन गर्दा वास्ता नगर्ने गरेको विराटनगर–४ का उत्तम दाहाल बताउँछन्।

माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले मन्त्रालयका तत्कालीन सचिव गोविन्दबहादुर कार्कीको क्वार्टरमै खोप लगाउन पाए। मोदीले कुनै खोप केन्द्रमा पुगेर उभिनु र पालो पर्खिनुपर्ने झन्झट व्यहोर्नुपरेन।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले मापदण्ड मिचेर विराटनगरस्थित सिटी सिनेमा हलमा नेता, कार्यकर्ता, उद्योगी र व्यवसायीसमेत निश्चित व्यक्तिलाई गोप्य हिसाबले खोप लगाउने व्यवस्था मिलाइदिए। करिब ३ सय जनालाई दोस्रो डोज खोप दिने तयारी भइरहँदा कुरा बाहिरिएपछि स्थानीयवासी विरोधमा उत्रिए। खोप बोक्न प्रयोग गरिएको बा.१झ ९३६५ नम्बरको गाडी, खोप लगाइदिन पुगेका स्वास्थ्यकर्मी र कर्मचारी तथा लगाइमाग्न गएका पहुँचवालालाई सुरक्षा दिन प्रहरीलाई हम्म र्पयो।

प्रदेशमा खोपको दुरुपयोग गर्नेमा बस्नेत र सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख सल्लाहकार तुलसी पोखरेलको नाम अग्रपंक्तिमा छ। त्यस्तै, मुख्यमन्त्री राईको सचिवालयमा रहेकाहरूमाथि पनि विभिन्न दबाब दिएर खोप लग्ने र दुरुपयोग गर्ने गरेको आरोप छ। सचिवालयको समूह अहिले पनि खोप माग्दै मन्त्रालयमा दैनिक पुग्ने गरेको एक कर्मचारी बताउँछन्।

दलका नेता कार्यकर्ता तथा आफ्ना नजिककाले पहुँचका भरमा खोपका लागि निवेदन दिनेबित्तिकै मापदण्डविपरीत तोक लगाइदिने गरेको भन्दै मन्त्री राईको आलोचना भइरहेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री राईको निर्देशनमै लक्षित समूहभन्दा बाहिरकाले सहज रूपमा खोप पाएका हुन्। जब कि कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतले खोप पाइरहेका छैनन्। लक्षित उमेर समूहकाले पाउने त धेरै टाढाको कुरा हो।

मन्त्री राईका सल्लाहकार पोखरेल पहुँचका आधारमा खोप नदिएको दाबी गर्छन्। ‘पहिलो डोज लगाउन मान्छे नआएपछि संस्थागत सिफारिस गर्नेहरूलाई खोप दिइएको हो,’ पोखरेल भन्छन्, ‘तपाईलाई पनि चाहिएको छ भने आउनुस् लगाइदिएर पठाउने जिम्मा हाम्रो भयो।’

पोखरेल संस्थागत रूपमा दिइएकाले कसले कहाँ लगेर कसरी खोप लगाए भन्ने यकिन नभएको बताउँछन्। उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमै लगेर पहुँचवालालाई खोप लगाउने व्यवस्था मिलाइएपछि प्रदेश १ सरकार खोपको मामिलामा आलोचित बनेको छ।

लक्षित समूहलाई आएको खोप नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्तले पहुँचका आधारमा लगाएको भन्दै केही समयअघि सुनसरीको रामधुनी नगरपालिकाका युवाले विरोध गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नगरिकलाई भनेर पठाएको भेरोसेल खोप कर्मचारीले आफन्तलाई बाँडेको भन्दै युवाले नगरपालिका घेराउ गरे।

‘३२ वर्षको उमेर भएको मानिसलाई ६२ वर्षको बनाएर जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले खोप लगाएको पाइएको छ,’ स्थानीय सुदीप अधिकारी भन्छन्, ‘मापदण्ड र तथ्यांकबिना नै हावाका भरमा खोप बाँडिएको छ।’

खोप कार्डमा खोपको नाम, लगाएको मिति, अर्को पटक लगाउनुपर्ने मिति उल्लेख छैन।पहुँचवालालाई दिन हतारो हुँदा बिहेको कार्ड जसरी बाँडिएको अधिकारी बताउँछन्। उनका अनुसार खोप लगाउनेहरूको नामावली सार्वजनिक गर्न बुधबारसम्मको अल्टिमेटम दिइएको छ।

यस विषयमा बुझ्न बिहीबार फेरि नगरपालिका कार्यालय जाने उनको भनाइ छ।नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र पौडेल ४ हजारभन्दा बढीले खोप लगाइसकेको र बीचमा धेरै भएर ७ सय भायल खोप फिर्तासमेत गएको बताउँछन्। ‘मेयर साहेबले भनेर कोही विदेश जाने वा अत्यावश्यक परेकाहरूले लगाए होलान्। तर, खोपको दुरुपयोग भएको छैन,’ उनी भन्छन्।

भोजपुर नगरपालिका–५ बोखिमका फविन्द्र प्रधान महामारीले नागरिकको बेहाल भइरहेका बेला पहुँचका भरमा आफन्त र व्यक्ति विशेषलाई खोप दिइएको बताउँछन्। ‘संक्रमणका बेला बिरामीका लागि अक्सिजन, भेन्टिलेटर र एम्बुलेन्स पाइँदैन’, प्रधान भन्छन्, ‘अर्कोतिर सरकारी अभियानको खोप पनि लक्षित समुदायसम्म पुग्न सकेको छैन।’

पहुँचका भरमा खोप अभियान चलाउने गलत परिपाटीको विकास भएको स्थानीय युवा अगुवा नवीन प्रधानको भनाइ छ। ‘हुनेखाने, चिनेजाने र नेता तथा मन्त्रीसँग नजिक भएकाले खोप पाए। लक्षित वर्ष अहिले पनि खोप नपाएर तड्पिरहेको छ,’ उनी भन्छन्, ‘संक्रमण जोखिम क्षेत्रका नागरिकले अहिले पनि खोप पाएका छैनन्। महामारीग्रस्त क्षेत्रलाई खोपको प्राथमिकतमा राख्न सबै पक्षले दबाब दिनुपर्ने बेला भएको छ।’

कोरोना महामारी समुदायस्तरमा र दुरदराजका गाउँसम्म फैलिएको छ। तर, सरकारले सुरु गरेको खोप अभियान भने लक्षित समूहबाहेक सीमित क्षेत्रमा केन्द्रित गरिएको जनगुनासो बढेको छ। प्रदेश १ भरी नै पहुँचका भरमा खोपको असमान वितरण भइरहेको छ।

प्रदेश १ मा हालसम्म कोभिसिल्ड ४ लाख ५९ हजार र भेरोसेल १ लाख ४२ हजार डोज आइसकेको छ। प्रदेश १ सरकारको तथ्यांकबाट हालसम्म ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्डको पहिलो र ५२ हजार ८ सय ५५ जनाले दोस्रो डोजसमेत लिएको देखिन्छ। भेरोसेलको पहिलो डोज ७० हजार २ सय ६३ र दोस्रो डोज ४६ हजार ८ सय २२ जनाले लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन्।

उनका अनुसार हालसम्म खोपको दुवै डोज भने ९९ हजार ६ सय ७७ जनाले मात्रै लिएका छन्। ‘दुईवटै खोप दुवै डोज लगाउनुपर्ने हुन्छ,’ बस्नेत भन्छन्, ‘पहिलो डोज लगाउनेको तुलनामा दोस्रो डोज लगाउनेको संख्या निक्कै कम छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्